संसद अवरोध रोक्न सभामुखद्धारा प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् । सभामुखले प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामूहिक छलफल गरेका हुन् ।


सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि संवाद जारी राखेका छन् ।नेपाली काँग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए ।

आज ३१ औं मदन-आश्रित स्मृति दिवस

काठमाडौं । आज(बिहीबार) ३१ औं मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै छ।रहस्यमय जिप दुर्घटना हुँदा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। दुवै नेताको निधन भएको दिनको सम्झनामा जेठ ३ गते ‘मदन-आश्रित स्मृति दिवस’ मनाइन्छ। मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहातका कमिटीसहित तीनका भातृ संगठनले विभिन्न कार्यक्रम गरी मदन-आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन्। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए। चालक  लामाको २०६० सालमा हत्या भएसँगै घटना झनै रहस्यमय बनेको छ। रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै नेकपा एमालेको आलोचना हुने गरेको छ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक बोलाइए पनि संसद् चल्ने नचल्ने निश्चित भने छैन ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी भएको कांग्रेसको आरोप छ। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ। माग पूरा नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ।  जसका कारण नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेको छैन।

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

स्लोभाकिया। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई उपचारार्थ अस्पताल लगिएको छ । स्थानीय सञ्चारमाध्यमले उनको पेट पाखुरा र खुट्टामा गोली लागेको जनाएका छन् । सरकारी बैठकबाट बाहिरिने क्रममा उनीमाथि ह्यान्डलोभा सहरमामा गोली प्रहार भएको हो । घटनास्थलमा रहेका पत्रकारका अनुसार थुप्रै गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाएको आरोप एक जनालाई नियन्त्रणमा लिएको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले एक्समा घटनाबाट आफू ‘सक’ भएको जनाएका छन् ।अन्तर्राष्ट्रिय विभिन्न व्यक्तित्वले घटनाको निन्दा गरेका छन् । स्लोभाकियाको आन्तरकि मामिला सम्बन्धी मन्त्रालयले प्रधानमन्त्रीको हत्या गर्न प्रयास भएको जनाएको छ । WATCH: Slovakia's Prime Minister Fico taken to his car after shooting, current condition unknown pic.twitter.com/l7S2eaAEHp— BNO News (@BNONews) May 15, 2024

लिटरमा ७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

सन्दीपको निलम्बन फुकुवा

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले  निलम्बन फुकुवा गरेको छ। बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला गरेको हो।  यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको छ। ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले निर्णयमा भनेको छ ।

जसपा विभाजन मुद्धा:  सर्वोच्चले ८ जेठमा दुबै पक्षसँग छलफल गर्ने, राईको पार्टी दर्ता यथास्थितिमा राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै ८ जेठमा दुबै पक्षलाई छलफलमा बोलाएको छ। जसपा नेपालबाट ७ जना सांसदसहित विभाजित भएको समूहले अशोक राई नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले २४ वैशाखमा उक्त दल दर्ता गर्ने निर्णय गरेको थियो। उपेन्द्र यादवले जसपा नेपालबाट विभाजित भएको समूहको दल दर्ता कानुन विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

स्टार क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर, विश्वकप खेल्न पाउने

काठमाडौं । नेपाली टिमका पूर्व कप्तान तथा स्टार क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।   उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्‍यो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।  उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी२० विश्वकपमा खेलाउने बाटो खुलेको छ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।  तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो। त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

बिहीवार संसद्  : गृहमन्त्री लामिछाने रोष्ट्रम जाने कार्यसूची, के गर्ला कांग्रेस ?

काठमाडौँ । भोलि बिहीवार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको रोष्ट्रममा पुगेर ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।  सामान्यतया जुन मन्त्रीले जुन विधेयक संसद्मा दर्ता गरेको हो, उसैले प्रस्ताव गर्ने परम्परा रहेका कारण गृहमन्त्रीले नै प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ। यसअघि चैत २ र २७ गते कांग्रेसले यही प्रस्ताव प्रस्तुत गर्न रोकेको थियो।  कांग्रेसको अवरोध हटाउने प्रयास जारी रहेका बेला संसद् सचिवालयले जेठ १५ गतेसम्मको कार्यसूची सार्वजनिक गरेको हो। जसअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जेठ ४, ६, ७ र ८ गते नीति तथा कार्यक्रमका दफामाथि छलफल हुने र ९ गते पास गर्ने कार्यसूची रहेको छ। नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिइसकेपछि ९ गते निर्णयार्थ प्रस्तुत गर्ने तयारी सरकारको छ। यद्यपि हिजोको बैठकको कार्यसूचीमा रहेको राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधले अघि बढ्न सकेको छैन।  नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेकै समयमासमेत शून्य समय, विशेष समयसँगै केही विधेयक अघि बढाउने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने विषय पनि क्यालेन्डरमा समेटिएको छ। जसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ।  प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ।  यसैगरी १४ गते आर्थिक सर्वेक्षण गर्ने र १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्नुहुने कार्यसूचीमा उल्लेख गरिएको छ।नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको कांग्रेसले राष्ट्रपतिलाई धन्यवाद समेत नदिएर संसद अवरुद्ध गरेको छ । रास्वपाले संसदमा रबि लामिछानेले बोल्न पाउनुपर्ने बताउँदै आएको छ भने सत्तारुढ दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रबिको कुरा कांग्रेसले सुन्नुपर्ने बताएको ।  ओलीले यदि कांग्रेसले रबिको कुरा नसुने आफुहरु बोल्ने समेत चेतावनी दिएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज अर्याल संसद्को गतिरोध अन्त्य गर्न निरन्तर छलफलमा रहेको भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । त्यसैले भोलि बस्ने संसद् बैठक अवरुद्ध हुन्छ वा कुन हिसाबले अगाडि बढ्छ भन्न सकिने अवस्था छैन ।

व्यास नगरपालिकाको मत पुनः मतगणना गर्न अदालतको आदेश

दमौली । तनहुँको व्यास नगरपालिकामा खसेको मत पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो  ।  उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए।स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए। प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’, ओली र रवि छलफलमा

काठमाडौँ । संसदमा काँग्रेसको जारी अवरोधको निकास खोज्न सत्तारुढ प्रमुख घटकका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेबीच अहिले छलफल भइरहेको हो । उक्त छलफलमा जसपाका नेता पनि सहभागी छन् । सिंहदरवारमा जारी छलफलमा नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भइरहेको बताइएको छ। त्यस्तै, सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमबारेको छलफलको बाटो खुलाउने र आगामी बजेटबारे पनि कुराकानी हुने बताइएको छ । काँग्रेसले हिजो राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि सदनको कार्यसूची अघि बढाउन दिएको छैन ।

कश्मीरमा बन्धक बनाइएका ३५ नेपाली मजदुरको उद्धार

नयाँदिल्ली । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट कश्मीर पुर्‍याएका उनीहरुलाई सकुशल उद्धार गरिएको हो । दलालहरुले राम्रो आम्दानीको प्रलोभन दिई कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट, डर धम्की देखाएर बिना ज्याला काममा लगाइएको थियो।  दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छ।

रविले नबोलेसम्म कांग्रेसलाई बोल्न दिइँदैन: ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन्।संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले साे कुरा बताएका हुन्। ‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने? कहाँ हुन्छ त्यो? कांग्रेसलाई बोल्न दिइँदैन अब।’ ओलीले भने, ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ। होइन भने हामी बोल्छौँ। कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन। हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ।’ उनले संसद भोलिबाट सुचारु हुनुपर्ने बताए।‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्ने ? कांग्रेसले घरबाट ल्याएको संसद हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्नेरु कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनुपर्ने?’ ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन। कांग्रेसले रोकेर संसद अब रोकिरहनु पर्ने आवश्यक छैन।’ उनले आफूहरू मिलाउन लागिपरेको अवस्थामा उल्टै आफूहरूमाथि नै हमला गर्न खोजिएको बताएका हुन्।

१६ औँ योजना योजना सार्वजनिक: उत्पादन र रोजगारीलाई प्राथमिकता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रतिशत हुने लक्ष्यसहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत रहेको मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य राखेको जनाएको छ । पाँच वर्षमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । हाल प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको छ । आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुग्ने लक्ष्य राखिएको छ भने उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतमा सिमित गर्ने लक्ष्य लिइएको छ। त्यस्तै हाल २० दशमलव ३ प्रतिशत रहेको निरपेक्ष गरिवी १२ दशमलवमा सिमित गर्ने लक्ष्य रहेको योजना आयोगले जनाएको छ। पञ्चवर्षीय योजनामा साक्षरता दर ८५ प्रतिशत, बेरोजगारी दल ५ प्रतिशत, विधुतमा र इन्टरनेटमा पहुँच पुगेको जनसंख्या शत प्रतिशत पुर्‍याउने लक्ष्य छ। उत्पादन र रोजगारीलाई प्राथमिकता दिने गरि आवधिक योजना तयार गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले जानकारी दिए । उनले तीनै तहका सरकारको ध्यान पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचकमा परेको असरलाई न्यूनीकरण गर्न खोजिएको बताए। उनले मुलुकको वास्तविक समस्या समाधान गर्नेगरि योजना तयार गरिएको बताए।योजना कार्यान्वयनका लागि सम्बन्धीत मन्त्रालय वा केन्द्रित निकायले आ-आफ्नो व्यवसायिक योजना तयार गरि कार्यान्वयन गर्ने आयोगले जनाएको छ । त्यस्तै योजना कार्यान्वयनका लागि आयोगले सहजीकरण गर्ने जनाएको छ ।

फुट्यो पार्टी, दोब्बर ठूलो बन्यो केन्द्रीय समिति

काठमाडौं ।उपेन्द्र यादवले आफु नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पार्टी फुटेर सानो बनेको भएपनि केन्द्रीय समिति भने दोब्बर ठूलो बनाएका छन् । गत वैशाख २३ गते अशोककुमार राईसहितका ३२ जना नेताहरूले नयाँ दल खोलेपछि उनले पार्टी पुर्नगठन गरेका हुन् । यसअघि भएको विधान महाविशेनमा निर्णय संशोधन गर्दै मंगलबार र बुधबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समित बैठकले केन्द्रीय समितिको संख्या १५१ बाट बढाएर २५१ पुर्‍याएको हो । केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्य र पदाधिकारीको संख्या थप गर्ने निर्णय लिएको हो ।विधान संशोधन गर्ने निर्णय गरेको जसपाले पदाधिकारी संख्या पनि हेरफेर गरेको छ। जसअनुसार विधान अधिवेशनले १५१ सदस्यीय बनाएको केन्द्रीय समिति अब बढाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको हो । जसपाले विधान अधिवेशनका निर्णयमा संशोधन गर्दै यसअघि १ जना महासचिव हुने व्यवस्था हटाएर २ जना महासचिव रहने निर्णय गरेको छ।उता पहिले ३ जना उपाध्यक्ष रहेकोमा अब केन्द्रीय कार्यकारिणी समितिले ५ जना उपाध्यक्ष राख्ने निर्णय गरेको छ । बैठकले जेठ २८ र २९ गते हुने महाधिवेशनका लागि जेठ १० गतेभित्रमा महाधिवेशन प्रतिनिधि चयन गरिसक्ने निर्णय पनि गरेको छ ।

१६औँ योजनाले उत्पादन र रोजगारीलाई जोड दिएको छ :  डा. श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले १६औँ आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन्। ‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाई तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने । पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उनले बताए । श्रेष्ठले १६औँ योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताए ।१५औँ योजनाभन्दा आकारमा आधा सानो १६औँ योजना रहेको भन्दै उनले मन्त्रालयका सूक्ष्म कार्यक्रम नराखिएका कारण आकार घटेको बताए । अहिलेसम्म महत्त्वाकाङ्क्षी योजना बनेको भन्दै उनले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेर १६औँ योजना तयार गरीएको बताए ।