युरोपियन च्याम्पियन्स लिगका लागि सेल्टीक, सेभिया र नापोली  छानिए

काठमाडौं, भदौ ७ । स्कटल्याण्डको सेल्टिक फुटबल क्लव युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । प्ले अफ् चरणको अन्तिम खेलमा काजखस्तानको एफ.सी एस्टानालाई पाखा लगाउँदै सेल्टिक समुह चरणमा पुगेको हो ।

पहिलो लेगको खेल ५-० ले जितेको सेल्टिक मंगलबार राति भएको दोस्रो लेगमा ४-३ ले पराजित भए पनि समग्रमा ८÷४ को जित निकाल्दै च्याम्पियन्स लिगमा छनोट भएको हो ।

प्ले अफ् चरणका अन्य खेलमा टर्कीको ईस्तानबुल बासाक्शेरलाई हराउँदै स्पेनको सेभिया, क्रोएसियाको रिजेकालाई हराउँदै ग्रिसको ओलम्पियाकोस, फ्रान्सको निसलाई हराउँदै ईटालीको नापोली र ईजरेलको हपोईल बिरशेभालाई हराउँदै स्लोभेनियाको एन.के. मारिबोर पनि समूह चरणमा पुगेका छन् ।

एकै दिन पौडीमा तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं, भदौं २ । राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन गौरीका सिंहले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छन । प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको हिट चरणमा गौरिकाले ५० मिटर र सय मिटर फ्रिस्टाईलको छुट्टाछट्टै स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । त्यस्तै उनले सय मिटर बटरफ्लाईमा समेत राष्ट्रिय कीर्तिमान बनाएकी छन । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा गौरिकाले ५० मिटर फ्रिस्टाईल २८ दशमलव ०९ सेकेन्डमा पुरा गरिन । त्यस्तै सय मिटर फ्रिस्टाईल १ मिनेट ७९ पलमा पुरा गर्दै गौरिकाले राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाईन । त्यसैगरी, सय मिटर बटरफ्लाईमा कीर्तिमान बनाउने क्रममा गौरिकाले सो दुरी १ मिनेट ०७ दशमलव ६९ सेकेन्डमा पुरा गरिन् । प्रतियोगिताको पहिलो दिन हिजो उनले २ सय मिटर फ्रिस्टाईल र ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान बनाएकी थिईन ।

नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी, २२२ मिलियन युरोमा अनुबन्ध

काठमाडौं, साउन २० । ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अहिलेसम्मकै महँगो २ सय २२ मिलियन युरोमा खरिद गरेको हो । बहुचर्चित नेइमार प्रकरणको टुंगो लगाउँदै पिएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट २६ अर्बभन्दा बढी रुपैयाँमा नेइमारलाई खरिद गरेको हो । विश्व फुटबलमा कु्नै पनि एउटै खेलाडीमाथि खर्च गरिएको यो अहिलेसम्मकै बढी रकम हो । यसअघि म्यान्चेस्टर युनाईटेडले ईटालीको क्लव युभेन्टससँग फ्रेन्च खेलाडी पउल पोग्बा खरिद गर्दा त्यतिबेलाको सर्वाधिक रकम ९८ मिलियन युरो खर्चिएको थियो । तर यसपटक नेइमारका लागि खर्चिएको रकम पोग्बाको मूल्यभन्दा दोब्बरभन्दा पनि बढी छ । नेइमारले तलब बापत पिएसजीबाट वार्षिक ४५ मिलियन युरो अर्थात प्रति हप्ता ८ लाख ६५ हजार युरो बुझ्ने भएका छन् । पिएसजीले बार्सिलोनाबाट नेइमार खरिद गरे पनि यो प्रसंग युरोपियन फुटबल महासंघ (युएफा)सम्म पुग्ने सम्भावना देखिएको छ । अत्यधिक मूल्यमा नेइमार खरिद गर्दा युएफाको फाइनान्सियल फेयर प्ले नियम मिचिएको भन्दै स्वयं बार्सिलोनाले अपिल गर्ने चेतावनी दिइसकेको छ ।  

फूटबल स्टार रोनाल्डोले भने ‘मेरो उदेश्य कर छल्ने थिएन’

साउन १८ ।   रियल म्याड्रिडका अग्रपङ्तीका फुटबल खेलाडी क्रिस्ट्रियानो रोनाल्डोले आफूमाथि लगाइएको करछली आरोपमा निर्दोष रहेको दावी गरेका छन्। स्थानीय समयअनुसार सोमबार स्पेनी अदालतलाई उनको प्रतिनिधित्व गर्ने जेस्टिफ्युट संस्थाले अदालतलाई जानकारी दिन लेखेको पत्रबारे जानकारी गराउन जारी गरिएको विज्ञप्तिमा फुटबल स्टार रोनाल्डोले भनेका छन्, “मैले कहिल्यै केही लुकाएको छैन नत मेरो कल छल्ने उद्देश्य रहेको थियो । ” उनले भने, “मैले सधैँ सवतस्फूर्त रूपमा मेरो कर तिर्ने गरेको छु । यो हाम्रो कर्तब्य हो । जसले मलाई चिन्छ उसलाई मेरो सल्लाहकारलाई मैले के सोधेँ भन्ने बिषयमा जानकारी छ । म समस्या चाहन्न र समयसमयमा तिर्नुपर्ने सबै कुरा कानूनी दायरामा रहेर तिर्ने गरेको छु ।” रोनाल्डोमाथि एक करोड ४७ लाख ६ हजार यूरो बराबरको कर छली गरेको आरोप लागेको छ ।

सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुने

काठमाडौं, साउन १७ । अमेरिकाको लस एन्जलस शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने सम्भावना बढेको छ । यसअघि सन् २०२४ कै ओलम्पिक आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो । सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए । दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनुपर्ने दाबी गर्दा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले निर्णय गर्न सकेको थिएन । अहिले लस एन्जलसले सन् २०२४ को दाबी छोड्दै पेरिसलाई सजिलो बनाईदिएको छ । गएको जुनमा सम्पन्न आइओसी बैठकले पेरिस र लस एन्जलसले आपसी सहमतिमा आलोपालो ओलम्पिक खेल आयोजना गर्न सक्ने निर्णय गरेको थियो । लस एन्जलसको पछिल्लो भनाईपछि अब सन् २०२४ को ओलम्पिक खेल पेरिसमा र २०२८ को लस एन्जलसमा हुने भएको छ । यसअघि सन् २०२० को ओलम्पिक खेल भने जापानको टाकियोले आयोजना गर्दैछ ।

नेइमार बार्सिलोना छाडेर पिएसजीमा अनुबन्ध हुने

काठमाडौं, साउन १४ । बार्सिलोनाका फरवार्ड स्टाइकर नेइमार क्लब छाडेर पिएसजीमा अनुबन्ध हुन लागेका छन् । ब्राजिलियन खेलाडी नेइमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्ध हुन बार्सिलोना छाड्ने तयारी गरेका हुन् । पिएसजीसँग सम्झौता अन्तिम चरणमा नेइमार पुगेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ क्लबसँग सम्झौता गर्न नेइमार तयार भएको र अनुबन्धन सम्झौता मंगलबारसम्म हुने बताइएको छ । नेइमारलाई पिएसजीले १९ करोड ७० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्न लागेको हो । पछिल्लो केही हप्तादेखि नेइमारले बार्सिलोना छोड्ने तयारी गरेका खबर आउने गरेका थिए । अहिले भने सम्झौता अन्तिम चरणमा पुगेको र उनी पिएसजी जाने लगभग पक्का जस्तै भएको बताइएको छ । नेइमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गर्ने भएका छन् ।

पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करण २६ भदौंमा

काठमाडौं, साउन ४ । नेपाल खेलकुद पत्रकार मञ्च९एनएसजेफ०ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ । दुई चरणको स्थानीय निर्वाचनका कारण केही ढिलाई भएपनि एनएसजेफको २२ औं वार्षिक उत्सवको अवसर पारेर उक्त मितिमा गर्न लागिएको जानकारी दिएको छ । यस पटक पुरस्कार स्वरुप उत्कृष्ट खेलाडीलाई दिइने बाइकको संख्या वृद्धि गर्दै ३ बाट ४ पुर्याइएको छ । २०७३ मा नेपाली खेल क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई भदौ २६ गते कमलादीस्थित प्रज्ञा भवनमा सम्मान गरिने भएको हो । कूल ८ विधामा प्रदान गरिने अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष र महिलाका साथै पिपल्स च्वाइस अवार्डको विजेतालाई बाइक प्रदान गरिदै आएको छ । तर यसवर्ष अर्को एक विधाका उत्कृष्टले पनि बाइक पाउने भएका छन् ।

नेपाली जन प्रगतिशील मंच युएई द्वारा खेलाडीलाई सम्मान ।

सुसान आचार्य साउन ४ । युएई नेपाली जनप्रगतिशील मन्च युएईले एएफसी यु–२३ च्याम्पियनसीपको छनोट खेलका लागि युएई आएका फुटबल खेलाडीहरुलाई यही जुलाई १८का दिन नेपाली दुतावासमा भएको एक कार्यक्रमका वीच सम्मान गरेको छ । नेपाली जनप्रगतिशील मन्च अवुधावीका अध्यक्ष तथा केन्द्रिय सदस्य दिपक न्यौपानेको नेतृत्वमा क्षेत्रीय सल्लाहकार ज्ञानेन्द्र राई, सहसचिव दामोदर सिंह, सबिन अधिकारी, अमृत राई, रामकुमार तिरुवा लगायत अबुधावी क्षेत्रीय समितिको टोलीले खेलाडीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । नेपाली फुटबल टोली एएफसी यु–२३ च्याम्पियनसीप छनोट खेल खेल्नको लागि गत जुलाई १३ मा अल ऐन आइपुगेका थिए । आफ्नो पहिलो खेल युएईको फुटबल टिमसँग गत शनिबार खेलेको नेपाली टोली ५–० ले पराजित हुन पुगेको थियो भने सोमबार सम्पन्न दोस्रो खेलमा २–० ले उज्वेकिस्तानसँग पराजित हुन पुगेको थियो । अबको अन्तिम खेल नेपाली टोलीले बुधबार लेवनानसँग खेल्नेछ । नेपाली फुटवल टोलीका कप्तानबिमल घर्ती मगरले अत्याधिक गर्मीका कारण नेपाली टिमले अपेक्षा गरिए अनुरुप खेल्न नसकेको बताएका थिए ।

स्टेडियममा भयो झडप, ८ को मृत्यु, ४९ घाइते

काठमाडौं, साउन १ । सेनेगलमा फुटबल रंगशालाको पर्खाल भत्कँदा ८ जनाको मृत्यु भएको छ भने अरु कम्तीमा ४९ जना घाइते भएका छन् । अश्रुग्यासबाट बच्न सयौं समर्थकहरु एकैपटक कमजोर पर्खाल चढ्न खोज्दा पर्खाल भत्किएपछि सो घटना भएको हो । सेनेगलको राजधानी डकारमा रहेको डेम्बा दियोप रंगशालामा स्टेड डे एम्बोर र युनियन स्पोर्टिभ वाकमबीच लिग कप फुटबलको फाइनल खेल भइरहेको समयमा दुई विपक्षी समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेकाे थियाे । भागदौड मच्चिनुपूर्व अतिरिक्त समयमा सकिएको खेल स्टेड डे एम्बोरले २–१ गोलले जितेको थियो ।

यू–२३ च्याम्पियनसिप छनोट खेलमा नेपालको फराकिलो हार

काठमाडौं, असार ३१ । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएइसँग पराजित भएको छ । शनिबार साँझ भएको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ५–० को फराकिलो गोल अन्तरले पराजित भएको हो । युएईको तेह्नान विन मोहमद रंगशालामा भएको खेलमा नेपाल सुरुदेखि नै युएईका अगाडि कमजोर देखिएको थियो । कमजोर डिफेन्सका कारण नेपाल पहिलो हाफमै युएईसँग ४ – ० ले पछि परेको थियो । नेपालले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ७१ औं मिनेटमा नेपालका सुमन लामाले गरेको गोललाई रेफ्रीले अफसाइड दिएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल युएईले ५ – ० ले जित्यो ।

१९ वर्ष मुनिको विश्वकप क्रिकेट छनौटका लागि नेपाली टोलीको घोषणा, टोलीमा को–को परें ?

काठमाडौं, असार २९ । आगामी सन् २०१८ मा न्युजिल्याण्डमा हुने १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर बेंकटापथी राजु प्रमुख रहेको छनौट समितिले नेपाली खेलाडीहरुको घोघणा गरेको हो । समितिमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र १९ वर्ष मुनिकाको राष्ट्रिय टोलीका प्रशिक्षक बिनोदकुमार दास पनि रहेकाछन् । नेपालले अफगानिस्तान, सिंगापुर र मलेसियासँग विश्वकप प्रवेशका लागि प्रतिष्पर्धा गर्दैछ । नेपाली टोली आगामी शनिबार सिंगापुर प्रस्थान गर्दैछ । १९ वर्षमुनिको नेपाली टोलीमा निम्न खेलाडी पर्न सफल भएका छन १. सन्दिप लामिछाने ९कप्तान० २. दिपेन्द्र सिंह ऐरी ३. मोहम्मद असिफ शेख ४. सन्दिप सुनार ५. प्रकाश केसी ६.अनिल कुमार साह ७. पवन सर्राफ ८. रोहित कुमार पौडेल ९. ललित नारायण राजवंशी १०.प्रनित थापा मगर ११. अदिल खान १२.किशोर महतो १३. रिजन ढकाल १४. शहाब आलम वैकल्पिक खेलाडी १. सन्दिप जोरा २. विक्रम कुमार भुसाल ३. रसिद खान ४. सुशान्त सिंह थापा

एन्डी मरे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिए

काठमाडौं, असार २९ । विश्व नम्बर एक ब्रिटिश टेनिस खेलाडी एन्डी मरे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । साविक विजेता मरे २४ औं वरियताका अमेरिकन खेलाडी साम क्वरेसंग पराजित भएका हुन् । तीन सेट सकिंदा २-१ ले अघि रहेको अवस्थामा पछिल्ला दुई सेट लगातार गुमाउदै मरे प्रतियोगिताबाट बाहिरिएका हुन् । मरे विरुद्धको खेल क्वेरेले ३-६, ६-४, ६-७, ६–१ र ६–१ को सोझो सेटमा जिते । यो खेल हारेसँगै ब्रिटिश खेलाडी मरेले शीर्ष वरियता गुमाउने सम्भावना बढेको छ । विम्बल्डन टेनिसकै अर्को खेलमा क्यानाडाका मिलोस राओनिकलाई हराँउदै स्विट्जरल्याण्डका रोजर फेडेरर पनि सेमिफाइनलमा पुगेका छन् । राओनिक विरुद्धको खेल फेडेररले ६-४, ६-२ र ७-६ ले जितेका हुन् । यसैगरी लक्जेम्बर्गका जायल्स मुलरलाई हराँउदै क्रोएशियाका मारिन सिलिच र सर्वीयाका नोभाक जोकोभिचलाई हराँउदै चेक गणतन्त्रका टामस बर्डीच पनि सेमीफाईनलमा पुगेका छन् । बर्डीच विरुद्धको दोस्रो सेट चलिरहँदा चोटका कारण जोकोभिचले खेल छाडेपछि बर्डीच सेमिफाइनलमा पुगेका हुन् ।

यु–२३ नेपाली फुटबल टोलीको बिदाइ

काठमाडौँ, असार २८। संयुक्त अरब इमिरेट्समा हुने एएफसी २३ वर्षमुनि (यु–२३)को च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर बिदाइ गरे । यही असार ३१ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल समूह डीमा परेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनान छन् जसमा नेपालले आफ्नो पहिलो खेल युएईसँग शनिबार खेल्दै प्रतियोगिताको उद्घाटन हुनेछ । त्यसैगरी दोस्रो खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग भिड्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनल प्रतियोगिताको लागि छनोट हुने प्रावधान छ । त्यस्तै आयोजकका हैसियतले चीन भने प्रतियोगितामा सिधै छनोट हुनेछ । नेपाली टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

मेक्सिकोका प्रशिक्षकमाथि ६ खेलको प्रतिबन्ध किँन ?

असार २४ ।  मेक्सिकोको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक आन कार्लोस ओसोरिओमाथि ६ खेलको प्रतिबन्ध लागेको छ । खेल पदाधिकारीमाथि अभद्र व्यवहार गरेको आरोपमा दोषी पाइएपछि ओसोरिओमाथि ६ खेलको प्रतिबन्ध लगाइएको विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ । यस्तै उनले ४ हजार २४ पाउण्ड स्ट्रलिङ (५ लाख ३६ हजार रुपैयाँ) जरिवाना पनि तिर्नु पर्नेछ । गएको आइतबारमा रुसमा फिफा कन्फेडेरेशन कपमा तेस्रो स्थानका लागि भएको खेलमा पोर्चुगलसँग पराजित भएपछि ओसोरिओले प्रतिक्रिया जनाएका थिए । मेक्सिकोका कोलम्बियन प्रशिक्षक ओसोरिओले आक्रामक रवैया देखाएको फिफाको भनाई छ । निर्णय तत्काल लागु हुने फिफाले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिको अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो ।  

पोखरालाई खेलकुदको राजधानी बनाउन बजेट विनियोजन

पोखरा, २० असार । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रङ्गशाला मन्त्रालयको प्राथमिकता परेको जानकारी दिनुभयो । सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पाँचदेखि छ खेल पोखरामा गरिन लागेको र खेलकुद सुरु गर्नुभन्दा अघि नै त्यसका लागि सुरु गरिएका पूर्वाधार सम्पन्न गरिने विचार व्यक्त गर्दै सचिव दाहालले समग्र खेलकुदको लागि राज्यबाट वार्षिक रु दुई अर्ब २४ करोड मात्रै छुट्टाइनु ज्यादै न्यून भएको जिकिर गर्नुभयो । उहाँले पोखरा रङ्गशालाको पूर्वाधार विकासका लागि मन्त्रालयले रु तीन करोड ५० लाख छुट्टाएको बताउनुभयो । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रङ्गशालाको हातामा मिडिया सेन्टर निर्माणका लागि रु २० लाख विनियोजन भएको जानकारी गराउनुभयो । मञ्चका जिल्ला अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव रञ्जन अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । रासस

ओलम्पिक दिवसमा सञ्चारकर्मी दौड र सम्मान

पोखरा, असार १० । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका उपलक्ष्यमा भूतपूर्व खेलाडी मञ्च कास्कीद्वारा स्व‍ शिवशङ्कर रञ्जित दोस्रो पुरुष तथा महिला सञ्चारकर्मी दौड प्रतियोगिता गरिएको छ । ‘स्वास्थ्य र शान्तिका लागि खेलकुद’ भन्ने नारासहित आयोजित पाँच किमी दूरीको दौडको पुरुषर्फ  भीम थापा, विजय नेपाली र देवेन्द्र पुन तथा पत्रकार महिलातर्फ पार्वती थापा, सपना अधिकारी र सुष्मिता सुवेदी क्रमशः प्रथम, द्वितीय र तृतीय भई रु सात, पाँच र तीन हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे । सोही समारोहमा भूपू खेलाडी मञ्च कास्कीद्वारा सञ्चालित अग्रज पत्रकार सम्मानबाट यस वर्ष वरिष्ठ पत्रकार नारायण कार्कीलाई पनि सम्मान गरियो । प्रतियोगितामा पोखराका विभिन्न सञ्चारमाध्यममा कार्यरत १४ पत्रकार महिलासहित ३७ जनाको सहभागिता थियो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतियोगिताका विजयी सञ्चारकर्मीलाई प्रमाणपत्र एवम् पदक प्रदान गर्दै आवश्यक भौतिक संरचना तयार गरी पोखरालाई खेलकुदको तालिम केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए  ।