इमर्जिङ कप क्रिकेटमा भोलि नेपालले पाकिस्तानसँग भिड्ने

चैत १३ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानको भिडन्त हुनेछ । सोमबार उद्घाटन हुने सो प्रतियोगितमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

टोलीमा कप्तानको जिम्मेवारी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मल्लले पहिलो पटक नियमित कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् ।

उनले यसअघि घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसिसी विश्व लिग क्रिकेट प्रतियोगताअन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए ।

नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन् । त्यसैगरी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागी छैनन् भने फास्ट बलर करण केसी पनि स्वास्थ्य समस्याका कारण आराम लिएका छन् ।

वरिष्ठ खेलाडीलाई आराम दिएका कारण यस पटक तीन नयाँ खेलाडी आशिफ शेख, दिलीप नाथ र दीपेश श्रेष्ठले पहिलो पटक खेल्न लागेका हुन् ।

खेल तालिकानुसार नेपाल, आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ समूह ‘बि’ मा रहेका छन् भने समूह ‘ए’ मा भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् ।

यसअघि सन् २०१३ मा सिङ्गापुरमा भएको सो प्रतियोगिता यसपटक भने चैत १२ गतेदेखि बंगलादेशमा सुरु भएको हो । प्रतियोगिता चैत २२ सम्म चल्नेछ ।

उदयपुर गोल्डकपको उधारो रकम

बिदुर कटुवाल उदयपुर, चैत ६ । भव्य र सभ्य रुपमा सम्पन्न भएको चौथो उदयपुर गोल्डकपको रकममा उठ्न बाँकी रहेका कारण खातामा पाँच हजर एक सय ८१ मात्रै रहेको बताइएको छ । गोलपकमा २ लाख खुद नाफा भएपनि हालसम्म ती रकम उठ्न बाँकी भएका कारण खातामा नगद मौज्दात ५ हजार १ सय ८१ मात्र रहेको गोल्डकप मुल आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको आय–व्याय प्रतिवेदनमा आयोजकले बताएको छ । सार्वजानिक गरेको आय–व्ययमा गोल्डपकले खुद नाफा २ लाख ७३ हजार ५ सय ११ रुपैँया गरेपनि हाल गोल्डकपको खातामा ५ हजार १ सय ८१ रुपैयाँ मात्र रहेको मुल आयोजक समितिका संयोजक किरण राईले बताए । ‘उठ्नबाँकी ४ लाख ४० हजार ५ सय छ,’ पत्रकार सम्मेलनमा हाँस्दै भने, ‘पैसा उठेको छैन, हाल गोल्डको खातामा ५ हजार १ सय ८१ मात्र छ ।’ पत्रकार सम्मेलनमा राईले सार्वजानिक गरेको प्रतिवेदनमा खुद आम्दामी ३४ लाख ४४ हजार ५ सय गरेको छ । ‘गोल्डकपमा खर्च जम्मा ३१ लाख ७० हजार ९ सय ८९ भएको छ’ राईले पत्रकार सम्मेलनमा प्रष्ट्उँदै भने, त्यही खर्च अझै १ लाख ७२ हजार १ सय ७० तिर्न नै बाँकी छ । राईका अनुसार प्रायोजकहरुले अझै पनि गोल्डपकलाई दिन्छौ भनेको पैसा दिएका छैन्न । यस्तो खर्चको बिबरण पत्रकार सम्मेलनमा सार्वजानिक गरिएको आय व्यय प्रतिवेदन अनुसार फिल्ड तयार तथा मर्मत गर्न ३ लाख ९८ हजार ७ सय ८६ रुपैँया, सम्मान तथा पुरस्कारको लागी ४ लखा २७ हजार ६ सय, मञ्च व्यवस्थापनमा २ लाख २ हजार ५ सय ३५ रुपैँया, सहभागी खेलाडी टिमलाई जम्मा एकमुष्ट ८ लाख ९० हजार खर्च भएको संयोजक राईले पत्रकार सम्मेलनमा बताए । पुरस्कार, अतिथि सत्कार तथा सम्मानमा मोटो रकम खर्च गरिएको बताइएको छ । यसैगरी राईका अनुसार प्रचार प्रसारको लागी १ लाख २९ हजार २ सय ५०, यातयातमा १ लाख २७ हजार ६ सय ९०, औषधी खर्चमा १५ हजार १ सय ९७, अतिथि सत्कारमा १ लाख ७२ हजार ८ सय २३, खाना बासमा गाईघाटमा रहेको होटल आशा, कन्चनजंघा होटल, होटल यलाखोममा जम्मा १ लाख ६८ हजार ६ सय ७, ज्याला भत्तामा १ लाख ४२ हजार ४ सय १५, मसलन्द शिर्षकमा खर्चमा ७० हजार ७ सय ५ रुपैँया खर्च भएको संयोजक राईले बताए । यसैगरी विधि शिर्षकमा समेत खर्च भएको छ । यसरी भयो आम्दानी गोल्डकप आयोजना गर्नको लागी रमाईलो मेला समेत आयोजना गरिएको थियो । जसबाट ३ लाख आम्दामी भएको देखाइएको छ । रमाईलो मेलाबाट आम्दानी भएको रकम प्रष्ट छैन । ‘गोल्डकपमा धेरैले होटबाट बिल मिलाएर पैसा असुलेको हो ।’ मुल आयोजक समितिका सदस्य एकले भने मैले नाम खुलाउन मिल्दैन, ‘नभए कसरी हाल गोल्डकप समितिसँग ५ हजार मात्र रह¥यो त ?’ पत्रकार सम्मेलनपछि आयोजककै आय व्यय प्रति असन्तुष रहेको पाइएको छ । फेरि रमपम तयारी चाउचाउ मूख्य प्रयोजकले गोल्डकपमा ३ लाख ९४ हजार दिएको छ । त्रियुगा नगरपालिकाकाले ४ लाख, जिल्ला बिकास समितिले २ लाख ९५ हजार ५ सय, संसद भेषकुमार राउतको संसदीय कोषबाट ९८ हजार, राष्ट्रिय खेलकुद परिषदबाट २ लाख, गेट टिकट ४ लाख १६ हजार २ सय मूख्या रहेको सहयोग प्रप्त भएको मुल आयोजकका संयोजक राईले बताए । यसरीनै ५ हजारदेखि ३० हजार सहयोग गर्ने कन्ट्रकसनदेखि विभिन्न व्यक्तित्वहरु रहेका छन् । गएको माघ २७ गतेदेखि सञ्चालन भएको चौथो उदयपुर गोल्ड फागुन ५ गतेसम्म सञ्चालन भएको थियो । टिकटदेखि अन्य आयका विवरण प्रष्ट रुपमा राखिएको छैन । विभिन्न ८ क्लवले भाग लिएको गोल्डकपमा गोल्डकपको उपाधि रुपन्देही ११ ले हात पारेको थियो ।

नेपालगन्ज गोल्ड कपको उपाधी रुपन्देहीलाई

काठमाडौं, चैत ३ । दोस्रो नेपालगन्ज गोल्डकपको उपाधी रुपन्देही ११ ले जितेको छ । बिहीबार भएको फाइनलमा संकटा क्लबलाई टाइब्रेकरमा हराउँदै रुपन्देहीले उपाधी जितेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । ६५ मिनेटमा पेनाल्टिबाट संकटाले अग्रता लिएपनि ८८ औँ मिनेटमा रुपन्देहीले बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । प्रतियोगिताको विजेता रुपन्देहीले पाँच लाख र उपविजेता संकटाले साढे दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

चैत २५ देखि व्याकुल माइला गोल्डकप फुटबल हुने

ओखलढुंगा, चैत ३ । ओलखढुंगामा यही चैत २५ गतेदेखि व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रियगानका रचनाकार व्याकुल माइलाको नाममा आयोजना हुने गोल्डकप प्रतियोगिता उनको जन्मथलो ओखलढुंगाको हिलेपानीस्थित दूधकोसी किनारमा हुँदै आएको छ । विगतका वर्षहरुमा कोजाग्रत पूर्णिमादेखि सुरु हुँदै आएको प्रतियोगिता यस वर्ष भने बाढीले मैदानमा क्षति पुर्‍याएका कारण चैतमा गर्न लागिएको हो । प्रतियोगिताको छैटौं संस्करणको रुपमा हुने यस प्रतियोगितामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठमाडौं, ललितपुर, सोलुखुम्बुलगायतका जिल्लाबाट १७ ओटा टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

आइसिसी अध्यक्ष मनोहरले दिए राजीनामा

दिल्ली, चैत २ । शशांक मनोहरले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ ९आइसिसी० को अध्यक्ष पदबाट एक्कासी राजीनामा दिएका छन् । उनी ८ महिनाअघि मात्र आइसिसीको अध्यक्ष नियुक्त भएका थिए । भारतीय क्रिकेट बोर्डका पूर्व अध्यक्ष मनोहरले बुधबार आइसिसीलाई आफ्नो राजीनामा सुम्पिएका थिए । आइसिसीमा भारतको भूमिकालाई कमजोर बनाएको भन्दै पछिल्लो समय उनको ठूलो आलोचना भएको थियो। मनोहरलाई २०१६ मा स्वतन्त्र व्यक्तिको रुपमा कुनै बोर्डसँग सम्बन्धित नभई अध्यक्ष छानिएको थियो। उनको कार्यकाल २ वर्षको थियो । मनोहर माथि क्रिकेटको सुपरपावर मानिने भारत, इङ्ल्यान्ड र अस्ट्रेलियाको भूमिकालाई कमजोर पारेको र आर्थिक रुपमा बलियो मानिएको भारतलाई घाटामा पुर्याएको आरोप छ । उनले आइसिसीका सिईओ डेभिड रिचर्डसनलाई राजीनामा सुम्पिने क्रममा आफूले बिना कुनै भेदभाव काम गरेको बताएका छन् । उनले नीजि कारणले राजीनामा गरेको बताएका छन् र आफूलाई सबैबाट सहयोग भएकोमा धन्यबाद भनेका छन् । एजेन्सी

पारसले बंगलादेशमा हुने इमर्जिङ टिम्स कप नखेल्ने

काठमाडौ, फाल्गुन ३० । नेपालका कप्तान पारस खड्काले मार्च २५ देखि अप्रिल ४ मा बंगलादेशमा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताएका छन् । केही साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरेका खड्काले गत सोमबारमात्र अभ्यासमा फर्किएका थिए । प्रशिक्षक जगत टमाटा र पारसले सञ्चारमाध्यमसँग शुक्रबार साँझ वा खेल हुने दिन बिहान मात्र खेल्ने र नखेल्ने निर्णय हुने बताए पनि हाल भने पारसले खेल्ने सम्भावना नरहेको बताएका छन् । पारसले आफ्नो स्थिति निश्चित नभएको धेरै सुधार भएकाे बताएका छन्र । पारसले खेलाडीको मनोबल बढाउनका लागि मात्रै आफू ड्रेसिङरुममा बसेको बताउँदै अप्रेसनबाट पूर्ण रुपमा ठिक हुन केही समय लाग्ने र त्यसका लागि हतार नगर्ने बताएका छन् । उनले आफूले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप र मार्चमा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताइसकेको जानकारी दिएका छन् । नेपाली राष्ट्रिय टोलीले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको केन्यासँग हुने दुई खेलका लागि दिल्लीमा अभ्यास खेल खेले पनि पारस भारत गएका थिएनन् । इमर्जिङ टिम्स कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका अन्डर २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाले प्रतिष्पर्दा गर्ने छन् ।

बार्सिलोनासँग ६–१ ले हारेपछि पिएसजीका खेलाडी संकटमा

काठमाडौं, फागुन २८ । वार्सिलोनासँग च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा ६–१ ले पराजित भएपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी (पिएसजी) को खराब दिन सुरु भएको छ। पहिलो लेगको खेल ४–० ले जितेको फ्रेन्च क्लब दोस्रो लेगमा ६–१ को खराब नतिजा भोग्दै बाहिरिएको थियो । वार्सिलोनासँगको लज्जास्पद पराजयपछि घर फर्किएको पिएसजीका खेलाडीलाई बोउरगेट विमानस्थलमा सयौं दर्शकले गाली बेइज्जती गरेका थिए। विमान स्थलको पार्किङ क्षेत्रमा राखिएको खेलाडीको केही गाडी तोडफोड पनि भएको क्लबले जनाएको छ । समर्थकको अप्रिय व्यवहारबाट बच्न विमानस्थलबाट तुफान बाहिर निस्किने क्रममा मिडफिल्डर थियागो मोटाको गाडीले एक समर्थकलाई छोएको बताइएको छ। क्लबका खेलाडीहरूलाई आफ्नो परिवार कसरी जोगाउने भन्ने समस्या भइरहेको बेला ‘ला’ इक्युप’ पत्रिकाले अर्को सनसनी खेज खुलासा गरेको छ । र्सिलोनासँगको खेल अगाडि क्लबका दुई खेलाडी रातभरी पार्टीमा व्यस्त थिए । ‘ला’ इक्युपको टेलिभिजन संस्करणमा मिडफिल्डर ब्लास माटाउडी र मार्को भेराटी राती अबेरसम्म नाइट क्लबमा रहेको समाचार सार्वजनिक भएको थियो । यो समाचारपछि क्लबका समर्थक झन् भड्किने डरले पिएसजीले समाचारको खण्डन गरेको छ। क्लबले एकै दिन दुईवटा विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, ‘जुन प्रकारले अनुचित प्रचारबाजी गरिएको छ, पराजयको कारण त्यो हुँदै होइन । पत्रिकाले हचुवाको भरमा, समाचारको पुष्टी नगरि सार्वजनिक गरेको छ। यसमा कुनै सत्यता छैन ।’ भेराटीका एजेन्ट डोनाटो डि काम्पलीले पत्रिका माथि कानुनी उपचार खोजिने जानकारी दिए । जुन समाचार ‘ला’ इक्युपले लेख्यो, त्यो निराधार छ। हामी कुन विषयलाई समातेर मुद्धा दायर गर्ने भन्ने कुराको तयारी गरिरहेका छौंं’, एजेन्ट काम्पलीले भने।

भोलिको खेल खेलाडी केसी आज अस्पताल भर्ना

काठमाडौं, फागुन २७ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् शनिवार नेपाल र केन्याबीच खेल हुँदैछ । तर नेपाली टोलीमा समावेश रहेका फास्ट बलर करण केसी भने अस्वस्थ भई आज अस्पताल भर्ना भएका छन् । ‘एपेन्डिक्स’ भएका कारण अस्पताल भर्ना भएको केसीको तत्काल अपरेसन गर्नुपर्ने डाक्टरहरुले भनेको नेपाली टोलीका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलका लागि केन्याको टोली विहीबार राति नै काठमाडौं आइसकेको छ । भोलि हुने खेलका लागि करणको स्थानमा टोलीमा कसलाई समावेश गर्ने भन्ने विषयमा आइसीसीसँग छलफल भइरहेको शिवाकोटीले बताए । प्रतियोगितामा हालसम्म ८ खेलबाट ८ अंक नै जोडेको केन्या अंकतालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट ६ अंक बटुलेको नेपाल छैटौं स्थानमा छ ।

फिलिपिन्सविरुद्व खेल्न एन्फाले छान्यो फुटबल खेलाडी

काठमाडौँ, फागुन २७ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्वको खेलका लागि आज २७ खेलाडी छनोट गरेको छ । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो चरणमा रहेका ३६ खेलाडीमध्येबाट उनीहरु छनोट गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाएको छ । त्यस्तै चोटका कारण राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ टोलीमा परेनन् । गत वर्ष बङ्गलादेशमा भएको बङ्गबन्धु कप र भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गरेका श्रेष्ठको अहिले खुट्टामा चोट लागेको छ । त्यतिबेला नेपालले दुवै खेलमा स्वर्ण पदक हात पारेको थियो । छनोट हुनेमा विकेश कुथु, किरण लिम्बू, विशाल श्रेष्ठ, एलन न्यौपाने, रवीन श्रेष्ठ, विराज मर्हजन, अनन्त तामाङ, अद्वितीय चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, जितेन्द्र कार्की, विमल बस्नेत तथा मानबाहदुर तामाङ छन् । त्यसैगरी विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, राजेन्द्र रावल, विमल घर्ती मगर, रञ्जन विष्ट, भरत खवास र करण लिम्बू छनोटमा परेका छन् । एसियन कप छनोटको आफ्नो पहिलो लेगमा नेपालले फिलिपिन्ससँग आगामी चैत १५ मनिलाको रिजाल मेमोरियल स्टेडियममा खेल्नेछ ।

म्याग्दीमा चौथो राष्ट्रिय ब्याडमिन्टन

काठमाडौं, फागुन २३ । गंगटा युथ क्लबको आयोजनामा म्याग्दीमा चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । यसअधिका तीन संस्करण राजधानीमा भएको भएपनि यस पटक भने म्याग्दीमै हुने आयोजक गंगटा युथ क्लबको भनाइ छ । प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल, भेट्रान्स डबल र १७ वर्षमुनिको पुरुष एकल गरी कुल पाँच विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला युगलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने पुरुष एकलतर्फको विजेताले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । आगामी चैत ९ गतेदेखि १२ गतेसम्म संचालन हुने यस प्रतियोगता म्याग्दी जिल्लाको पर्यटन प्रबद्र्धन तथा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगितालाई राजधानीबाट सारिएको आयोजकले बताएको छ ।

चैत्रमा महिला अन्तर्राष्ट्रिय तेक्वान्दो हुने

काठमाडौं, फागुन २२ । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा यही चैत्र २३ गते प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भनिएको उक्त प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान लगायतको सहभागिता हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नन्दा बस्याले दिएको जानकारी अनुसार ६ वटा राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने भएको छ । हरेक दुई वर्षमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको प्रतियोगिता पहिलो पटक २०७१ को फागुनमा आयोजना गरिएको थियो । जुन राष्ट्रियस्तरको थियो । प्रतियोगितालाई अझ व्यापक बनाउने उद्देश्यसाथ योपटक अन्तर्राष्ट्रिय प्रतियोगता गर्न लागिएको संयोजक बस्यालले बताए । तेह्र स्पर्धामा समावेश दुईदिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा खेल हुनेछ । जुनियरमा ४०, ४२ र ४४ तथा सिनियरमा ४६, ४९, ५३, ५७, ६२ र ६७ केजी वजनसमूहमा प्रतिस्पर्धा गराइने छ । पुम्सेमा यु–१५, यु–१९ र प्लस १९ र समूहगततर्फ खेलाडीले आ–आफ्नौ कौशल प्रदर्शन गर्नेछन् । गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले प्रतियोगितामा भाग लिन पाउने छैनन् । पाँच क्षेत्र, विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभूवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी ८ टिमका ९६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । २० महिला निर्णायक परिचालन गरिने छ । ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको जानकारी दिइयो ।

तलव नपाएपछि अर्जेन्टिनी फुटबल खेलाडी हडतालमा

फागुन २१ । पारिश्रमिक नपाएको भन्दै अर्जेन्टिनाका फुटबल खेलाडी हडतालमा उत्रिएका छन् । खेलाडीको हडतालका कारण अर्जेन्टिनाको घरेलु फुटबल ठप्प भएको छ । सोही कारण अर्जेन्टिनी फुटबल संघले शुक्रबार तय गरिएको पहिलो श्रेणीको फुटबल क्लबबीचको दुई वटा बेग्लाबेग्लै खेललाई स्थगित गरेको थियो । संघले समस्या समाधानका लागि खेलाडी युनियनलाई गुहारेको छ । हडतालका कारण शुक्रबार हुने भनिएको रोसारियो र गुड्यो क्रुजबीच रोसारियोमा तय भएको तथा सान लोरेन्जो र बेल्ग्रानोबीच ब्युनोज आयर्समा हुने भनिएको खेल रोकिएको थियो । अर्जेन्टिनामा अहिले थुप्रै क्लबहरू आर्थिक समस्याबाट गुज्रिरहेका छन् र उनीहरूले केही महिनादेखि खेलाडीलाई तलब दिन सकेका छैनन् । युनियनले खेलाडीहरूले बाँकीको रकम नपाउदासम्म हडताल जारी रहने जनाएको छ । हडतालमा २ सय क्लबका खेलाडीहरूको संलग्नता रहेको बताइएको छ । अर्जेन्टिनी फुटबलमा टेलिभिजन प्रसारणको रकममा गडबडी भएपछि समस्या उत्पन्न भएको थियो। संघका केही सिनियर पदाधिकारीले प्रसारण अधिकारबाट आएको रकम गडबडी गरेको आरोप लागेको थियो। एजेन्सी

स्पेनिस लिगको शीर्षस्थानमा उक्लियो वार्सिलाेना

काठमाडौं, फागुन १९ । लस पाल्मसले रियल म्याड्रिडलाई उसैको घर सान्टियागो बेर्नाबेउमा ३–३ गोलको बराबरीमा रोकेपछि यो साता स्पेनिस लिगको शीर्षस्थानमा बार्सिलोना उक्लिएको छ। बेर्नाबेउमा म्याड्रिडलाई कहिल्यै हराउन नसकेको पाल्मसले बराबरीमा रोक्यो। म्याड्रिडका लागि आज सबैभन्दा ठूलो दूर्भाग्य केही साताअघि मात्र चोटबाट मैदानमा फर्किएका गारेथ बेलको रातो कार्ड बन्न पुग्यो। पहिलो हाफको खेल १–१ को बराबरीमा टुँगिएको अवस्थामा दोस्रो हाफमा थुप्रै नाटकीय अवस्था सिर्जना भयो। इस्कोले ८ मिनेटमा म्याड्रिडलाई पहिलो अग्रता दिलाए। तर, त्यसको दुई मिनेटपछि नै टानाले गोल फर्काउदै पहिलो हाफको खेललाई १–१ को बराबरीमा ल्याएका थिए। गारेथ बेलले दोस्रो हाफको २ मिनेटपछि नै दोहोरो पहेँलो कार्ड खाए। उनको बर्हिगमनसँगै घरेलु टोली दबाबमा देखियो। बेल बाहिरिएको ९ मिनेटपछि डिफेन्डर सर्गियो रामोसबाट डिबक्सभित्र बल क्लियर गर्ने मामिलामा ठूलो चुक भयो। उनले हातले बल रोकेपछि पाल्मसले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। जसलाई जोनाथन भियराले गोलमा परिणत गरे। पाल्मसले दोस्रो हाफको ११ मिनेटको खेलभित्र ३–१ को अग्रता बनाएको थियो, जब जर्मनी मिडफिल्डर केभिन प्रिन्स बोएटिङले भ्रमणकारी टोलीले पेनाल्टीको अवसर पाएको तीन मिनेटपछि अर्को गोल थपे। पराजयको सम्मुख पुगेको म्याड्रिडको उद्धार क्रिस्टियनो रोनाल्डोले गरेका थिए। उनले अन्तिम ४ मिनेटमा दुई गोल गर्दे आफ्नो टोलीको हारलाई टालेका थिए। रोनाल्डोले ८६ मिनेटमा पेनाल्टी र ८९ मिनेटमा कर्नरबाट पाएको बललाई गोलमा परिणत गरेका थिए। पाल्मससँगको बराबरीपछि म्याड्रिडले घरेलु मैदानमा १–१ अंक बाँडेको छ। केही समय अगाडि बार्सिलोनाले ६–१ गोलले स्पोर्टिङ गिजोनलाई पराजित गरेको अवस्थामा म्याड्रिड यो साता ला लिगाको शीर्षस्थानबाट तल झरेको छ। बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ भने क्याटलान क्लबभन्दा एक खेल कम खेलेको म्याड्रिड को २४ खेलमा ५६ अंक छ।

कप्तान पारस खड्का भए सद्भावनादूत

काठमाडौं, फागुन १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयंसेवक नेपालको पहिलो सद्भावनादूतमा नियुक्त भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरबारस्थित कार्यालयमा बुधबार बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयंसेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावनादूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले वि.सं. २०७२ को भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनःनिर्माण गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएकाले यस काममा सहभागी हुन आमनेपाली युवालाई आग्रह गरे । उनले पुनःनिर्माणका लागि प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा पहिलो चरणमा करिब एक हजार स्वयंसेवक इन्जिनियर विद्यार्थीलाई आगामी शुक्रबारदेखि खटाउन लागेको जानकारी दिए । त्यस्तै, कप्तान खड्काले राष्ट्रिय स्वयंसेवकको सद्भावनादूतमा नियुक्त हुनु आफ्ना लागि गौरवको विषय भएको बताए ।

तिलोत्तमा गोल्डकपमा संकटा फाइनलमा

काठमाडौं, फागुन १८ । बुटवलमा १९ औँ तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा संकटा क्लब पुगेको छ । बुटवलको देवी नगरमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा जारी आजको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै संकटमा फाइनलमा पुगेको हो । संकटाका तर्फबाट चेतनकुमार थारुले २६ औं मिनेटमा र दोश्रो हाफको इन्जुरी समयमा सुशील केसी र ४३ औं मिनेटमा मार्टिनले गोल गरेका थिए । बिहीबार हुने अर्को सेमिफाइनलमा घरेलु टोली रुपन्देही ११ र नेपाल आर्मीले खेल्ने छन् ।

प्रधानमन्त्री कप भलिबल : एपिएफ र रेल्वे फाइनलमा

बाँके, फागुन १७ । नेपालगञ्ज रङ्गशालामा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ र रेल्वे टिम इण्डिया फाइनलमा पुगेका छन् । रंगशालाको कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा नेपालको विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै भारतको रेल्वे टिम फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागीय टोली एपिएफ फाइनलमा प्रवेश गरेको हो । रेल्वेले आमीलाई २५–१६, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । दोस्रो खेलमा एपिएफले नेपाल पुलिसलाई २५–१३,२५–७ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत फाईनल र तेस्रो स्थानका लागि बुधबार प्रतिष्पर्धा हुने भएको छ ।