५० विद्यालयको सहभागीतामा सकियो तेस्रो हिसान

काठमाडौँ, २८ माघ । उच्च माध्यमिक विद्यायल सङ्घ नेपाल (हिसान) ले सुरु गरेको ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ सम्पन्न भएको छ ।

माघ १६ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्घिचाल, कविता, वक्तृत्वकला र टङ अफ वारलगायतका खेलमा प्रतिष्पर्धा भएको थियो ।

‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नाराका साथ सम्पन्न गरिएको सो प्रतियोगिताको आज अन्तिम दिन एक कार्यक्रम गरी समापन गरिएको छ ।

कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूको योग्यता र क्षमतालाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट प्रस्फुटनका लागि यो कार्यक्रम आयोजना गरिएकोे बताए । उनले यस्तो खेलले एक विद्यालय र अर्को विद्यालयबीचको सम्बन्ध थप प्रगाढ बनाउने बताएका छन् ।

प्रतियोगितामा उपत्यकाका झण्डै ५० भन्दा बढी उच्च माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

कार्यक्रममा उत्कृष्ट र प्रथम, द्वितीय, तृतीय खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

८० पहलमान एकसाथ भिड्दै

सप्तरी, माघ २२ । नेपालमा लोप हुँदै गएको कुस्तीलाई जर्गेना गर्ने उद्देश्यले सप्तरीको तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता अायाेजना गरिएकाे छ । सरस्वती पुजनोत्सवका अवसरपारी सो कुस्ती प्रतियोगिता आयोजना गरिएको हाे । झण्डै ८ दशकदेखि सुरू गरिएकाे साे प्रतियाेगितामा यस वर्ष वर्ष ८० पहलमानहरुले भाग लिएका छन् । प्रतियोगितामा महिला र पुरुष पहलमानहरुको सहभागिता रहने आयोजकले जनाएको छ । ३ दिनसम्म चल्ने कुस्ती प्रतियोगितामा नेपाल र भारतका पहलमानहरुको सहभागीता रहनेछ ।

चेल्सी र आर्सनलसँगै आज आठ खेल हुने

काठमाडौं, माघ २२ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज आठ खेल हुँदैछन् । लण्डन डर्बि चेल्सीको मैदानमा हुने यस प्रिमियर लिगअन्तर्गत आज हुने पहिलो नेपाली समय अनुसार सवा ६ देखि चेल्सी र आर्सनल भिड्दैछन् । प्रतियोगिताअन्तर्गत आजै हुने अन्य खेलमा क्रिष्टल प्यालेस र सण्डरल्याण्ड, एभर्टन र एएफसी बोर्नमाउथ, हलसिटी र लिभरपुल, साउथह्याम्पटन र वेष्टहाम युनाइटेड, वार्टफर्ड र बर्नले, वेष्टब्रमविच आल्बियन र स्टोक सिटी तथा टोटनहाम हट्स्पर र मिडल्सब्रो भिड्दै छन् । प्रिमियर लिगको अंक तालिकामा २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

झापा गोलकपकाे फाइनलमा झापा ११ र मस्र्यांदी भिड्ने

माघ २२ । झापाको बिर्तामोडमा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताकाे दोस्रो झापा गोलकपको उपाधीका लागि झापा ११ र मर्यांदी भिड्ने भएका छन् । अाज भएकाे खेलमा मनाङ–मर्स्याङ्दीले त्रिभुवन आर्मी १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे । अब फाइनलमा झापा ११ र मर्यांदी भिड्ने भएका हुन् । शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० को भारी अन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको थियाे ।

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता काठमाडौमा हुने

काठमाडौँ, २० माघ । नेपाल तेक्वान्दो सङ्घमा आबद्ध युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप यसै महिनामा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने उक्त प्रतियोगिता यही माघ २७ देखि २९ गतेसम्म सञ्चालन गरिने भएकाे छ । अाज आयोजित एक पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नोर्बु लामाले साे जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगितामा नेपालसहित कोरिया, भारत, बङ्गलादेश, भुटान, मलेसिया, इन्डोनेसिया र सिङ्गापुर गरी करिब पाँचसय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १२ देखि १४ वर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ वर्षको जुनियर महिला तथा पुरुष र १७ वर्ष माथिको सिनियर महिला तथा पुरुषको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा फाईट (क्योरुगी) तर्फ ४० तथा पुम्सेतर्फ ३८ स्वर्ण गरी कुल ७८ स्वर्ण पदकका लागि भिड्न्त हुनेछ ।

जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुँदै

गौशाला, माघ १५ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको फुटवल रङ्गशाला निर्माणकार्य सुरु भएको छ । जिल्ला सदरमुकामको मुटु मानिएको जलेश्वर नगरपालिका–५ मा अवस्थित जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिटेल प्रोजेक्ट रिर्पोट ‘डिपीआर’ गर्ने कार्य सुरु भएको छ । तराईको जिल्लामा अन्तर्राष्ट्रियस्तरको खेल गराउने खालका ग्राउन्डको कमी भएको बेलाजलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिपिआर गर्ने काम सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । राष्ट्रिय खेलकुद परिषदद्वारा राष्ट्रिय योजनामा २०७३÷७४ मा जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्ने प्रस्ताव पारित भइसकेको राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर सञ्जीव पाठकले बताउनुभयो । उहाँका अनुसार जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटवल ग्राउण्ड निर्माण गर्ने उद्देश्यका साथ रु १० लाख बजेट छुट्याएर डिपिआरको काम सुरु गरिएको हो । ग्राउन्डको डिपिआर गर्ने जिम्मा पाएका ‘कन्सलटेन्ट कम्पनी पावर इन्टरनेसनल विल्र्डस’ प्रालिका प्राविधिकले सो रङ्गशालामा आफ्नो प्रारम्भिक कामकाज सुरु गरिसकेको छ । कन्सलटेन्ट कम्पनीका प्रमुख तथा प्राविधिक प्रेमबहादुर बमले एक साताभित्रै टेम्पो म्यापसहितको पहिलो चरणको डिपिआरको काम सकेर राष्ट्रिय खेलकुद परिषदमा रिर्पोट बुझाइसक्ने बताउनुभयो । डिपीआर रिपोर्टबाट रङ्गशाला बनाउन लाग्ने लागत, थप आवश्यकपर्ने जग्गासहितको रिपोर्ट बुझाए लगतै रङ्गशाला निर्माणका लागि थप काम सुरु गरिने इन्जिनियर पाठकले बताउनुभयो । एक बिगाहा १० कठ्ठा क्षेत्रफल रहेको जलेश्वर रङ्गशालामा खेलको लागि पर्याप्त जग्गा भए पनि दर्शकका लागि थप जग्गा आवश्यक भएको इन्जिनियर पाठकले बताउनुभयो । रासस

आहा रारा गोल्डकपको फ़ाइनल आज, विजेताले २ लाख ५१ हजार पाउने

पोखरा, माघ १५ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करणको फ़ाइनल खेल आज हूँदैछ । उपाधिका लागि आज लक्ष्मी हुन्डाई मनाङ र्मस्याङ्दी र आयोजक सहारा क्लब बीच दिउँसो साढे २ बजे पछि पोखरा रङ्गशालामा खेल सुरु हुनेछ । डिफेन्डिङ्ग च्याम्पियन मनाङ र सहाराबीच यसअघि १२ औँ संस्करणको फाईनलमा भेट भएको थियो । सो स्पर्धामा १ शुन्यले आयोजक सहारालाई पाखा लगाएको मनाङ पाँचौ उपाधिको खोजीमा हुनेछ । यद्यपी, घरेलु मैदानमा उपाधि खोसेको बदला स्वरुप साहारा डिफेन्डीङ्ग च्याम्पियनको ताज खोस्न चाहन्छ । मनाङले यसअघि दोश्रो, तेश्रो , १० औँ र १४ औँ संस्करणको उपाधि जितेको छ । विभागिय टोली आर्मीलाई हराएर साहारा फाईनल पुगेको हो भने मनाङले संकटालाई पाखा लगाएर उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

भारतमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने

काठमाडौं, माघ १० । भारतको कोलकत्तामा हुने तेस्रो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १४ पुरुष तथा सात महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् । यही माघ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी २१ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोलीलाई नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष विष्णु कार्की र नायिका रेखा थापाले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गरे । पुरुष खेलाडीमा दिवश श्रेष्ठ, सुरज श्रेष्ठ, कृष मानन्धर, सन्दीप थापामगर, डिकेश मानन्धर, सवीन थापामगर, विजय बस्नेत, सुजन कार्की, रञ्जीत तामाङ, सुशान्त मोडक, विनोद रोका, दत्त बुढा, फ्रिजल शाही र मनोज थापामगर छन् । त्यसैगरी महिलातर्फ सीता तामाङ, सपना तामाङ, निशा श्रेष्ठ, लक्ष्मी दुलाल, कृषा शेर्पा, सुजना तामाङ र पूजा ओलीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडीहरुले कुमुते र व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै टोली नेतामा नेपाल सोतोकान कराते सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पा तथा प्रशिक्षकमा कृष्णकुमार मानन्धर र गोपाल कटवाल हुनुहुन्छ । नेपाली टोली भोलि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

अन्तर्राष्ट्रिय म्याराथन पोखरामा हुने

पोखरा, माघ ७ । भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः ६० हजार, ४० हजार र २५ हजार र चार हजार रुपैयाँ पाउने छन् । सो अवसरमा छात्रछात्रा पाँच किलोमिटर र पुरुष महिला ब्ह्लिचेयर प्रतियोगिता पनि आयोजना गरिनेछ । पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः सात हजार , पाँच हजार र तीन हजार रुपैयाँ तथा ब्ह्लिचियरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए। पोखराको पर्यटकीय प्रवद्र्धन, कुनाकाप्चामा रहेका प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन एवम् सुन्दर पोखरा सहरलाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

स्याङ्जाले पायो रामपुर भलिबल कपको उपाधि

पाल्पा, माघ ७ । प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा स्याङजाले रामपुर भलिबल कपको उपाधि ले जितेको छ । रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा बिहीबार नवलपरासीलाई तीन सेटले हराउँदै स्याङजाले उपाधि जितेको हो । प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न सफल भएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख १११, द्वितीय पुरस्कार रु ५० हजार १११, तृत्तीय पुरस्कार रु २५ हजार १११ र सान्त्वना पुरस्कार रु १० हजार १११ रहेको छ ।

फुटबल खेल्न अमेरिकन टोली नेपाल आउँदै

पोखरा, माघ २ । यही माघ ४ देखि १५ गतेसम्म पोखराको रङ्गशाला हुन लागेको १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी हुनका लागि अमेरिका टोली नेपाल आउँदैछन् । सहारा क्लब पोखराको आयोजनामा संचालन हुन लागेको उक्त प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकाको अना युएसए फुटबल टिम, बंगलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने छन् । त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, रमपम झापा ११, संकटा क्लब, नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब रहने छन् । प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार १ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ रुपैयाँसहित सिल्ड, पदक र प्रमाणपत्र दिइनेछ ।

एकै दिन आठ खेल हुने

काठमाडौं, माघ १ । इङ्गलिस प्रिमियर लिग फुटबलमा एकै दिन आठ खेल हुने भएका छन् । शनिबार साँझ हुन गइरहेको सो प्रतियोगिता नेपाली समय अनुसार बेलुकी सबा ६ बजे टोटनहाम हट्स्परले वेष्टब्रमविच आल्बियनसँग खेल्ने छ । पौने ९ बजे बर्नले र साउथहाम्पटन, हलसिटी र बर्नमाउथ, सण्डरल्याण्ड र स्टोक सिटी, स्वान्सी सिटी र आर्सनल, वाटफर्ड र मिडल्सब्रो तथा वेष्टहाम युनाइटेड र क्रिष्टल प्यालेस भिड्ने छन् । प्रिमियर लिग अन्तर्गत आजै राती सबा ११ बजे हुने खेलमा लेष्टर सिटीले घरेलु मैदानमा चेल्सीको सामना गर्ने छ । जारी प्रिमियर लिग फुटबलमा २० औ चरणका खेलहरु ४९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ भने, ४४ अंक जोडेको लिभरपुल दोस्रो र समान ४२ अंक जोडेकाे टोटनहाम र म्यान्चेष्टर सिटी क्रमशः तेस्रो तथा चौथो र ४१ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ ।

अँध्यारोका कारण हक्की खेल स्थगित

विराटनगर, पुष १३। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको हक्की खेल अँध्यारोका कारण स्थगन भएको छ । निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि दुवै टोलीका खेलाडीले अँध्यारोमा खेल्न नमानेपछि खेल स्थगन गरिएको थियो । साँझ ४ बजेपछि मात्र उक्त खेल सुरु हुन लागेको थियो । “खराब प्रकाशका कारण खेल स्थगन गरिएको हो,” हक्की प्रशिक्षक राजेन्द्र पाठकले भने । उक्त खेल आज पुनः सुरुदेखि खेलाइने छ । उक्त खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ । यसअघि नेपाली सेना फाइनलमा प्रवेश गरिसकेको छ । सेनाले मध्यपश्चिमाञ्चललाई पराजित गरेको थियो । यस्तै महिला हक्कीतर्फ आजको खेलमा राउन्ड रोबिन लिगमा सुदूरपश्चिमाञ्चलले सेनालाई १–० गोलअन्तरले हरायो । जितसँगै सुदूरपश्चिमाञ्चल ६ अङ्कसहित शीर्षस्थानमा छ । आज सुप, पश्चिमाञ्चलसँग तथा सेना पूर्वाञ्चलसँग खेल्नेछन् । महिलातर्फ सुदूरपश्चिमले तीन खेलमा पूरै जित हासिल गरेको छ । आजको खेल जितेमा उसले स्वर्ण जित्नेछ । पुरुष फुटबल पुरुष फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । धरानमा सम्पन्न खेलमा मङ्गलबार समूह ‘ख’मा रहेका सेना र सशस्त्र प्रहरीले गोलरहित बराबरी खेल्दै सेमीफाइनल प्रवेश गरेपछि समीकरण पूरा भएको हो । समूह ‘ख’बाट सेनाले ७ अङ्कसहित समूह विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । पाँच अङ्क जोडेको सशस्त्र प्रहरी समूहको उपविजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ‘क’को विजेता हुँदै नेपाल प्रहरी तथा मध्यमाञ्चल उपविजेताका रुपमा यसअघि सेमीफाइनल पुगिसकेका छन् । प्रहरीले आज सशस्त्र प्रहरीसँग तथा सेनाले मध्यमाञ्चलसँग सेमिफाइनल खेल्नेछन् । तेक्वान्दो मङ्गलबार सम्पन्न पुरुषतर्फको तेक्वान्दोमा ८७ किलो तौलमा सेनाका रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । उक्त स्पर्धामा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र सशस्त्रका गोपाल पुतुवारले कास्य पदक हात पारे । यस्तै ५७ किलो तौलमा सेनाका ज्ञानी चुनाराले स्वर्ण पदक हात पार्नुभयो । मध्यमाञ्चलका करुणा थापाले रजत तथा मध्यपश्चिमाञ्चलका सपना सारु मगर र सीता तामाङले कास्य पदक जिते । यसैगरी महिला ५३ किलो तौलमा सुदूरपश्चिमकी गीता विष्टलाई हराएर प्रहरीका निमा गुरुङले स्वर्ण पदक जितिन् । मध्यमाञ्चलका रेश्मा थापा मगर र पश्चिमाञ्चलका होमकुमारी गुरुङले भने कास्य पदक जिते । बैसठ्ठी किलो तौलमा सशस्त्रकी सङ्गीता बस्यालले स्वर्ण, पूर्वाञ्चलकी सुष्मा श्रेष्ठले रजत तथा मध्यपश्चिमाञ्चलका प्रतिभा थारू र पश्चिमाञ्चलका एलिसा केसीले कास्य पदक जिते । रासस

सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना १२१ पदकसहित अग्रस्थानमा

सुनसरी, पुस १२ । पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ । हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल प्रहरी २४ स्वर्ण, २२ रजत र २५ कास्यसहित ७१ पदकका साथ दोस्रो तथा सशस्त्र प्रहरी १८–८ स्वर्ण र रजत तथा २९ कास्यसहित ६५ पदकले तेस्रो स्थानमा छ । बास्केटबल बास्केट बल महिलातर्फका प्रतिस्पर्धामा मध्यमाञ्चल विजेता बनेको छ । धरानमा सोमबार सम्पन्न फाइनलमा मध्यमाञ्चलले विभागीय टोल नेपाली सेनालाई ४०–२७ अङ्कले पराजित ग¥यो । मध्यमाञ्चलका लागि एलिना गुरुङले १३ अङ्क जोडिन् । यस्तै मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ अङ्कले हराउँदै कास्य पदक पायो । पुरुषतर्फ मध्यमाञ्चल पूर्वाञ्चललाई ६२–५८ तथा पश्चिमाञ्चल मध्यपश्चिमाञ्चललाई १०६–५४ अङ्कले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । कराँतेमा मुकुन्द्रद्वारा ह्याट्रिक सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्नुभएको छ । उहाँले सोमबार कराँतेको ६७ किलो तौलमा स्वर्ण पदक जित्नुभएको हो । मुकुन्द्रले यसअघि पाँचौँ र छैटाैँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको थियो । सो प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहमद शेखु आलमले रजत तथा नेपाल प्रहरीका भूपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक जिते । कराँतेकै पुरुष ६० किलो तौलमा नेपाल प्रहरीका रवीन्द्र कार्कीले स्वर्ण, एपिएफका मोहन कार्कीले रजत तथा मध्यमाञ्चलका राजकुमार रसैली र मध्यपश्चिमका प्रकाश घर्ती मगरले कास्य पदक पाए । पचहत्तर किलोमा सेनाका सुभाष घतानेले स्वर्ण, प्रहरीका गङ्गाराम कसुवारले रजत तथा एपिएफका वीरबहादुर रनेली र पूर्वाञ्चलका सन्त राईले कास्य पदक जिते । यस्तै पुरुष ८४ किलोमुनिको तौलमा प्रहरीका दिवस श्रेष्ठले स्वर्ण, पश्चिमाञ्चलका सुनित घर्ती मगरले रजत तथा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भीमबहादुर तामाङले कास्य पदक पाएका छन् । यसैगरी महिलातर्फ ५० किलो तौलमा सशस्त्रका अनु अधिकारीले स्वर्ण, सेनाका मिस्ली श्रेष्ठले रजत तथा पूर्वाञ्चलका जीना सुब्बा र मध्यपश्चिमका मुस्कान शाहीले कास्य पदक जित्नुभयो । पचपन्न किलो तौलमा सशस्त्रका मनिषा चौधरीले स्वर्ण, पूर्वाञ्चलका रमिता थापाले रजत तथा पश्चिमाञ्चलका पूजा दर्नाल र प्रहरीका मलिका थापाले कास्य पदकमा चित्त बुझाए । यस्तै ६१ किलोमा सशस्त्रका सपना लामालाई स्वर्ण, प्रहरीका सुनिता महर्जनलाई रजत तथा पश्चिमाञ्चलका अनु गुरुङ र मध्यपश्चिमका प्रतीक्षा बिसीलाई कास्य पदक प्राप्त भयो । अठ्सठ्ठी किलोमुनिको तौलमा प्रहरीका विभूषा थापाले स्वर्ण, प्रहरीकै अनुपमा थापाले रजत तथा पूर्वाञ्चलका मिसदोना राई र मध्यमाञ्चलका पूजा खनालले कास्य जिते । अठसठ्ठी किलोमा सशस्त्र प्रहरीका कल्पना बस्नेतले स्वर्ण, सेनाका रीता कार्कीले रजत तथा मध्यमाञ्चलका रोजिता रञ्जित र प्रहरीका मनिता मोक्तानले कास्य पदक जिते । कराँतेतर्फ १७ स्वर्ण पदकका लागि भएको खेलमा सशस्त्र प्रहरीले आठ, नेपाली सेनाले पाँच तथा नेपाल प्रहरीले चारस्वर्ण पदक प्राप्त गरेका छन् । सेपाकताक्रोे सेपाकताक्रो खेलमा सोमबार महिला डबल्सतर्फ पश्चिमाञ्चले स्वर्ण जितेको छ । धरानमा सम्पन्न फाइनलमा उसले सेनालाई २१– १२ र २१–१२ ले लगातार पराजित गरेको हो । मध्यमाञ्चलले कास्य पदक लियो । पुरुष टिम इभेन्टस्मा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलसँग तथा सेनाले सुदूरपश्चिमाञ्चलसंँग फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्नेछन् । फुटबल पुरुष फुटबलमा नेपाल प्रहरी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ख’ बाट प्रहरी विजेता तथा मध्यमाञ्चल उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । धरानमा सोमबार पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३– १ गोलले हराएपछि प्रहरी हेड ‘टु’ हेडका आधारमा समूह विजेता हुँदै सेमिफाइनल पुग्न सफल भएको हो । आज सशस्त्र प्रहरी र नेपाली सेनाबीच तथा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलकाबीच खेल हुनेछ । बुद्धिचाल धनकुटामा जारी बुद्धिचाल प्रतियोगितामा नेपाली सेनाका भूपेन्द्र निरौला र मध्यमाञ्चलका मदनकृष्ण कायस्थले अग्रता बनाएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार चौथो तथा पाँचौँ चरणका खेल सम्पन्न भएका छन् । भूपेन्द्रले चौथो चरणमा मध्यमाञ्चलका आशिष फुयाँललाई तथा पाँचौँंमा पूर्वाञ्चलका परशुराम राईलाई पराजित गर्नुभयो । यस्तै चौथो चरणमा मध्माञ्चलका रिजेन्द्र राजभण्डारीलाई पराजित गर्नुभएका मदनले पाँचौँं चरणमा सेनाका केशव श्रेष्ठमाथि जित हासिल गर्नुभयो । पाँचौँ चरणको खेल सकिँदासम्म भूपेन्द्र र मदनको समान ४ दशमलब ५ अङ्क छ । यस्तै सेनाका हिमाल लामाको चार अङ्क भएको छ । हिमालले चौथो चरणमा पूर्वाञ्चलका प्रकाश नेपाल तथा पाँचौँ चरणमा पूर्वाञ्चलकै सिङ्गेश्वर दासलाई पराजित गरे । सेनाका केशव श्रेष्ठ तथा सजिन महर्जन, मध्यमाञ्चलका क्षितिज भण्डारी, रिजेन्द्र राजभण्डारी र नवीन तण्डुकार तथा पूर्वाञ्चलका परशुराम राईको समान ३ दशमलब ५ अङ्क छ । यस्तै सशस्त्रका सुमित पन्त, मध्यमाञ्चलका आशिष फुयाँल, सुरज पण्डित र राजीव कार्की, पूर्वाञ्चलका प्रकाश नेपाल, सिङ्गेश्वर दास र सुमन श्रेष्ठ तथा सुदूरपश्चिमाञ्चलका प्रकाश ओझा र मोहनप्रसाद भट्टको समान तीन तीन अङ्क रहेको छ । महिलातर्फ सेनाका सिन्दिरा जोशी र मोनालिसा खम्बुको समान ४ दशमलव ५ अङ्क छ । सिन्दिरा र मोनालिसाबीच पाचौँं चरणको खेल बराबरीमा टुङ्गिएको छ । सशस्त्र प्रहरीका शान्ता थापा, मध्यमाञ्चलका पूर्णिमा जयसवाल र पूर्वाञ्चलका खुस्बु थापाका समान चार अङ्क छ । सेनाका सुजना लोहनी र सुरुचि थिङ, मध्यमाञ्चलका सविना श्रेष्ठ र बिना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी र आश्मा थापा तथा पश्चिमाञ्चलका अञ्जु शर्माका समान तीन अङ्क रहेको छ । यस्तै पूर्वाञ्चलका सुशीला गुरुङ र पश्चिमाञ्चलका नमन सेढाईंको समान २ दशमलव ५ अङ्क छ । प्रतियोगिताअन्तर्गत आज छैटौँ र सातौं चरणका खेल हुनेछन् । एथलेटिक्स  एथलेटिक्सको दुई सय मि दौडको पुरुषतर्फ मध्यपश्चिमाञ्चलका यामसाजन सुनार र महिलातर्फ नेपाली सेनाका कृष्णा चौधरीले सोमबार स्वर्ण जितेका छन् । यसअघि दुवैले एक सय मि दौडमा समेत स्वर्ण पदक जितेका थिए । सुनसरीको इटहरी रङ्गशालामा सम्पन्न खेलमा सुनारले निर्धारित दूरी २१.७० सेकेन्ड तथा कृष्णाले २६.९० सेकेन्डमा पूरा गरे । यस्तै महिला आठ सय मि दौडमा सेनाका सरस्वती भट्टराईले दुई मिनेट १९.४२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जित्नुभयो । महिला ४०० मि हर्डल्समा सेनाका दुर्गा देवकोटाले एक मिनेट १०.०२ सेकेन्ड समय खर्चेर स्वर्ण जिते । महिला ट्रिपल जम्पमा प्रहरीका केशरी चौधरीले ११.६७ मिटर जम्प गर्दै स्वर्ण पदक हात पार्नुभयो भने पुरुषतर्फ सेनाका डिल्ली खत्रीले १४.०४ मि जम्प गर्दै स्वर्ण जित्नुभयो । डिस्कस थ्रोको पुरुषतर्फ सेनाका विनोद राई तथा महिलातर्फ सेनाका अमृता महतोले स्वर्ण जितिन । टेबल टेनिस टेबल टेनिसतर्फ मिक्स डबल्समा नेपाल प्रहरीका दीप साउन र नवीता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ अङ्कले पराजित गर्दै स्वर्ण पदक जित्यो । यस्तै सशस्त्रका पुरुषोत्तम वज्राचार्य र सोनु थापा मगर तथा सेनाका कृष्ण थापा मगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझायो । भारोत्तोलनमा कमला र कमल राजविराजमा जारी भारोत्तोलनको महिला ५८ किलोमा सेनाका कमला श्रेष्ठ र पुरुषको ८५ किलोमा कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कमलाले स्न्याचमा ६६ किलो र क्लिन एन्ड जर्कमा ७९ किलो भार उठाउँदै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गर्नुभयो । स्न्याचमा कमलाले झन्ट कटवालले २०६२ सालमा बनाएको ६५ किलोको कीर्तिमान भङ्ग गर्नुभयो । त्यस्तै कुलमा पनि कमलाले झन्टले नै बनाएको १४२ किलोको कीर्तिमान तोडे । क्लिन एन्ड जर्कमा उहाँले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा बनाएको ७८ किलोको कीर्तिमान तोडेका हुन् । १० अौं सागका स्वर्णधारी कमलले क्लिन एन्ड जर्कमा १५५ किलो भार उठाउँदै श्रीलङ्कामा भएको १० आैँ सागमा ज्ञानबहादुर श्रेष्ठले स्थापित गरेको १५४ किलोको कीर्तिमान तोडे । उहाँले स्न्याचमा १०५ किलोसहित २६० किलो भार उचाले। पुरुषतर्फ ६९ किलोमा मध्यपश्चिमाञ्चलका प्रकाश केसीले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा १२५ किलो भार उचाले । यस्तै पुरुष ७७ किलोको स्न्याचमा ८५ किलो र क्लिन एन्ड जर्कमा १२० किलो तौल उठाउँदै सेनाका सुरेन्द्र श्रेष्ठले स्वर्ण जिते । कबड्डी   कबड्डी महिलातर्फ नेपाल प्रहरी, सेना, मध्यमाञ्चल र पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फ सेना र सशस्त्रबीच तथा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीच सेमिफाइनलमा आज भिडन्त हुनेछ । अहिलेसम्मको खेलको पदक तालिकाः टोली स्वर्ण रजत कास्य जम्मा नेपाली सेना ६५ -३५- २१ -१२१ नेपाल प्रहरी २४ -२२- २५ -७१ सशस्त्र प्रहरी १८ -१८ -२९ -६५ मध्यमाञ्चल १२- २४- ३०- ६६ पूर्वाञ्चल ४- ८- २४- ३६ पश्चिमाञ्चल ४- १६- १६- ३६ सुदूरपश्चिमाञ्चल २- ५- ३०- ३७ मध्यपश्चिमाञ्चल ५ -६ -२२- ३३ जम्मा – १३४- १३४- १९७- ४६५ रासस

जित्नेलाई दोहोरो पुरस्कार

धनगढी, पुस ११ । विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका तर्फबाट विजयी खेलाडीलाई दोहोरो पुरस्कार मिल्ने भएको छ । सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पनि नगद पुरस्कार प्रदान गर्ने राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले घोषणा गरेका छन् । स्वर्ण पदक जित्नेलाई नगद रु १० हजार, रजत पदक जित्नेलाई नगद रु पाँच हजार र काँस्य पदक जित्नेलाई नगद रु तीन हजार पुरस्कार दिने केन्द्रीय सदस्य कुँवरले जानकारी दिए । खेलाडीको हौसला बढाउन र उत्प्रेरणा दिनका लागि आफूले व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेको कुँवरको भनाइ छ ।

सात स्वर्णसहित सेना पहिलो स्थानमा

 झापा, पुस ११। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धुलाबारीमा आज दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका १८ स्वर्ण पदकमध्ये सेना सात स्वर्ण पदकसहित अग्रस्थानमा रहेको छ । यस्तै मध्यमाञ्चल पाँच स्वर्णसहित दोस्रो स्थानमा तथा नेपाल प्रहरी तीन स्वर्ण हात पार्दै तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आयोजक पूर्वाञ्चलले एक–एक स्वर्णमा चित्त बुझाएका छन् । आज सम्पन्न खेलमा नेपाली सेनाका लागि ५२ किलोमुनिको तौलमा लीला अधिकारी, ६३ किलोमुनिको तौलमा फूपु ल्हामू खत्री, ७८ किलोमुनिमा पुनम चौधरी, ५० किलोमुनिमा तिलकबहादुर देउजा तथा ६० किलोमुनिको तौलमा सुदिप बोहराले स्वर्ण पदक जिते । यस्तै नेपाल प्रहरीका सञ्जित डङ्गोलले ७३ किलोमुनिको तौलमा, श्रीराम मकाजुले ९० किलोमुनितर्फ र राजन जोशीले १०० किलो तौलभन्दा बढी तौलमा स्वर्ण पदक जिते । मध्यपश्चिमका लागि एक मात्र स्वर्ण ४४ किलोमुनिको तौलमा सोनु भट्टले जिते । आज सम्पन्न जुडो खेलमा महिलातर्फ ४४ किलोमुनिको तौलमा पश्चिमाञ्चलका सोमिया तामाङले रजत तथा सुदूरपश्चिमका विमला महत र नेपाली सेनाका सुमित्रा राईले कास्य पदक जिते । ५२ किलोमुनि तौलमा प्रहरीका दिलकुमारी छत्यालले रजत तथा सशस्त्र प्रहरीका देविका खड्का र कविता नेपालीले कास्य पदक प्राप्त गरिन् । यस्तै, ६३ किलोमुनि तौलमा प्रहरीका निशा चौधरीले रजत तथा मध्यपश्चिमका दिलमाया ऐरी र आयोजक पूर्वाञ्चलका दिलकुमारी सिजालीले कास्य पदक जितेका छन्। ७८ किलोमुनिको तौलमा पूर्वाञ्चलका बबिता चौधरीले रजत तथा प्रहरीका भावना घर्तीमगर र कृष्णा राईदासले कास्य पदकमा चित्त बुझाए । यसैगरी पुरुषतर्फ ५० किलोमुनिको तौलमा पश्चिमाञ्चलका मनोज आचार्यले रजत तथा सशस्त्र प्रहरीका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चव्रmबहादुर रोक्काले कास्य पदक प्राप्त गरेका छन् । ७० किलोमुनिको तौलमा प्रहरीका उमेश मगरले रजत तथा पूर्वाञ्चलका विकास भुजेल र दिनेश मगरले कास्य पदक जितेका छन् । यस्तै ७३ किलोमुनिको तौलमा मध्यमाञ्चलका रामबहादुर तामाङले रजत तथा प्रहरीका निर्दोष चलाउने र सेनाका जगतबहादुर सारुले कास्य हात पारे । ९० किलोमुनितर्फ पश्चिमााञ्चलका सञ्जय महर्जनले रजत तथा सेनाका सूर्यमान लामा र सुदूरपश्चिमका चन्द्रप्रसाद चौधरीले कास्य जिते । यसैगरी १०० किलो बढी तौलमा सेनाका कुलमान तामाङले रजत तथा पूर्वाञ्चलका बच्चुलाल चौधरी र सुदूरपश्चिमका आशिष ओझाले कास्य पदक प्राप्त गरेका छन् । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल जुडो सङ्घका केन्द्रीय अध्यक्ष दीपक बज्राचार्यलगायतले मेडल वितरण गरेका थिए । रासस