नेपाल जुनियर फुटबल क्याम्पमा सहभागी हुन ३० हजार शुल्क

काठमाडौं, फागुन ४ । एट्लान्टिक स्पोर्टस म्यानेजमेन्टको आयोजनामा नेपालमा एसी मिलान जुनियर फुटबल क्याम्प संचालन हुने भएको छ । उक्त क्याम्पमा सहभागी हुनका लागि खेलाडीहरुले भने प्रतिव्यक्ति ३० हजार तिर्नुपर्नेछ ।

भक्तपुरस्थित मध्यपुर युथ एसोसियसन क्लबको मैदानमा चैत ८ गतेदेखि एक सातासम्म सो क्याम्प सन्चालन हुनेछ ।

इटालीको प्रतिष्ठित घरेलु लिग सिरी ‘ए’को टोली एसी मिलानसँगको सहकार्यमा नेपालमा क्याम्प सन्चालन हुन लागेको हो ।

नेपाली युवा खेलाडीहरुलाई एक सातासम्म एसी मिलानको एकेडेमीमा प्रशिक्षण गराइरहेका प्रशिक्षकहरुबाट फुटबल प्रशिक्षणका साथै अरु व्यावहारिक तथा सैद्धान्तिक शिक्षा प्रदान गरिने जनाइएको छ ।

सहभागीताका लागि खेलाडीले फागुन १७ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने छ ।

आयोजक एट्लान्टिक स्पोर्टस म्यानेजमेनटका सन्चालक हरि खड्काले एसी मिलानजस्तो विश्व चर्चित क्लबको क्याम्पमा नेपाली युवा खेलाडीले प्रशिक्षण गर्न पाउँदा खेलाडी र समग्र नेपाली फुटबललाई नै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

उदयपुर गोल्ड कपको फाइनलमा मोरङ ११

उदयपुर, फागुन २ । उदयपुर गोल्डकप फुटवलको फाइनलका लागि आज भएको खेलमा संकटालाई हराउँदै मोरङ ११ फाइनलमा पुगेको छ । गाइघाटको थरुहट रंगशालामा भएको खेलमा ए डिभिजनको संकटा क्लबलाई २–१ ले हराउँदै मोरङ ११ फाइनलमा पुगेको हो । पराजित संकटाले दुई दिनअघि मात्र आठौं सिमरा गोल्डकपको उपाधि उचालेको थियो । मंगलबार दोस्रो सेमिफाइनल खेल रुपन्देही ११ र हिमालयन शेर्पा क्लबबिच हुने छ ।

सोलिडारिटी कप जितेका खेलाडीलाई प्रचण्डले गरे सम्मान

काठमाडौं, फागुन २ । सरकारले एएफसी सोलिडारिटी कप फुटबल जितेको नेपाली टीमका खेलाडीलाई सोमबार जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री दलजीत श्रीपाइली लगायतले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको हो । उपाधि जिते लगत्तै जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको सरकारले झण्डै साढे ३ महिनापछि सोमबार खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । मलेसियामा भएको सोलिडारिटी कपको फाइनलमा लाओसलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।

सेनाको म्याराथनको उपाधी भूमिराजलाई

काठमाडौँ, माघ २९ । प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । प्रतियोगितामा निर्धारित दूरि २ घण्टा २४ मिनेट १३ सेकेण्डमा पार गरेर राईले उपाधी जित्न सफल भएका हुन् । त्यस्तै प्रतियोगितामा नेपाली सेनाका अमल्दार कृष्ण बस्नेतले दोस्रो भए भने सेनाकै राजन खत्रीले तेस्रो हुन सफल भएका छन् । उपाधि विजेता राईले १ लाख नगद पुरस्कार पाए । दोस्रो हुने बस्नेतले ५० र खत्रीले २५ हजार नगद पाए । २१ किलोमिठर दौडमा पुरुषतर्फ नेपाली सेनाका अमल्दार कल्याण बाँनिया पहिलो भए भने सिपाही रामजी बस्नेत दोस्रो र र गुल्म कार्य हुद्धा राजकुमार बिष्ट तेस्रो भए । महिला तर्फ नेपाली सेनाका प्यूठ विश्वरुपा बुढा पहिलो भइन् । आर्मीले सानुमाया कार्की दोस्रो हुँदा सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी तेस्रो भइन् । १० किमि दौडमा नेपाली सेनाका उपसेनानी रोहण श्रेष्ठ पहिलो भए । सह सेनानी सुवास लामा दोस्रो र उपसेनानी सुमन पाण्डे तेस्रो भए । महिलातर्फ उप सेनानी श्रुती कुँवर पहिलो हुँदा उपसेनानी रेखा अधिकारी दोस्रो र र उपसेनानी लक्ष्मी लामा तेस्रो भइन । छात्र तर्फको ५ किमि दौडमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीका सुरेश थापा मगर पहिलो भए भने छात्रातर्फविजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका संगिता खड्का पहिलो भएकी छिन् ।

५० विद्यालयको सहभागीतामा सकियो तेस्रो हिसान

काठमाडौँ, २८ माघ । उच्च माध्यमिक विद्यायल सङ्घ नेपाल (हिसान) ले सुरु गरेको ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ सम्पन्न भएको छ । माघ १६ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्घिचाल, कविता, वक्तृत्वकला र टङ अफ वारलगायतका खेलमा प्रतिष्पर्धा भएको थियो । ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नाराका साथ सम्पन्न गरिएको सो प्रतियोगिताको आज अन्तिम दिन एक कार्यक्रम गरी समापन गरिएको छ । कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूको योग्यता र क्षमतालाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट प्रस्फुटनका लागि यो कार्यक्रम आयोजना गरिएकोे बताए । उनले यस्तो खेलले एक विद्यालय र अर्को विद्यालयबीचको सम्बन्ध थप प्रगाढ बनाउने बताएका छन् । प्रतियोगितामा उपत्यकाका झण्डै ५० भन्दा बढी उच्च माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा उत्कृष्ट र प्रथम, द्वितीय, तृतीय खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

नेपाली गीतमा छमछमी नाचे भारतीय क्रिकेट खेलाडीहरु (भिडियो)

माघ २७ । भारतमा जारी दृस्टीबिहिन बिश्वकप अन्तर्गत नेपाल र भारत बीचको खेल पछि भारतीय क्रिकेट टिम नेपाली गितमा छमछमी नाचेका छन् । ‘मासु मिठो भालेको, माछा तारेको …,’ बोलको गीतमा नेपाली खेलाडीहरु तथा भारतीय खेलाडीहरु सँगै नाचेका थिए । खेल पत्रकार दिपेन्द्र गुरुङका अनुसार खेलमैदानमा नेपाली क्रिकेट खेलाडीहरुले भारतीय गानामा र भारतीयले खेलाडीहरुले नेपाली गानामा नाचेका थिए । यस्ताे छ भिडियाे    

हिमाल चढेका पण्डितलाई नगदले सम्मान

काठमाडौँ, माघ २७ । नेपाल पर्यटन बोर्डले अल्ट्रा धावक सञ्जय पण्डितलाई रु दुई लाख ७५ हजारसहित सम्मान गरेको छ । हालै अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मासिफ आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही पण्डितलाई बोर्डले कदरस्वरुप सम्मान गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा बोर्डका सदस्य कृष्ण अर्यालले उक्त रकम बराबरको चेक र सम्मानपत्र प्रदान गरेका हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा साहसिक हिमाल आरोहणको माध्यमबाट चिनाउन भूमिका खेलेकाले पण्डितलाई सम्मान गरिएको बोर्डले जनाएको छ । पण्डितले सगरमाथा मनास्लुसहित विश्वका ११ विश्व शिखर सफलतापूर्वक आरोहण गरेका थिए । उनले अफ्रिकाको शिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गरेका थिए । उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालको पहिलो विश्व पर्वतारोही हुन् । पण्डितले अन्टार्टिकाकै अर्को चर्चित पर्वत माउन्ट रजम्यान पनि सफलतापूर्वक आरोहण गरेका थिए ।

कास्कीमा खेल मैदान निर्माण

पोखरा, माघ २३ । प्र्रयत्नशील युवा क्लब मौजाको सक्रियतामा कास्कीकाे उत्तरीभेगस्थित मौजा गाविस वडा नं १ देउरालीमा करिब रु ३० लाखको लागतमा भलिबल र बास्केटबल मैदान निर्माण गरिएको छ । उक्त सुविधासम्पन्न खेल मैदानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, गाविसबाट रु तीन लाख ५० हजार र स्थानीयवासीबाट रु २१ लाख ५० हजार प्राप्त भएको थियो । खेल मैदानसहित आवश्यक भौतिक संरचना निर्माणका लागि मौजामा जन्म भई हाल रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहनुभएका व्यक्ति एवम् पोखरा र काठमाडौँका बासिन्दाबाट आर्थिक सहयोग जुटाइएको निर्माण समितिका सदस्य सीम गुरुङले जानकारी दिए । क्लबको आयोजनामा वसन्त पञ्चमी मेलाका अवसरमा आयोजित अन्तरक्लब भलिबल तथा छेलो प्रतियोगिता पहिलो पटक आफ्नै सुविधासम्पन्न खेलमैदानमा सम्पन्न गर्न पाएकामा हर्षित हुँदै उनले भने, “ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गाउँ मौजामा कृषि र पर्यटन प्रवद्र्धनमा पनि हामी जोड दिन्छौँ ।” समुद्री सतहबाट करिब एक हजार ४०० मिको उचाइमा अवस्थित तथा पोखराबाट लगभग १५ किमीको दूरीमा रहेको सो गाउँ प्रचुर पर्यटकीय सम्भावना भएर पनि उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

८० पहलमान एकसाथ भिड्दै

सप्तरी, माघ २२ । नेपालमा लोप हुँदै गएको कुस्तीलाई जर्गेना गर्ने उद्देश्यले सप्तरीको तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता अायाेजना गरिएकाे छ । सरस्वती पुजनोत्सवका अवसरपारी सो कुस्ती प्रतियोगिता आयोजना गरिएको हाे । झण्डै ८ दशकदेखि सुरू गरिएकाे साे प्रतियाेगितामा यस वर्ष वर्ष ८० पहलमानहरुले भाग लिएका छन् । प्रतियोगितामा महिला र पुरुष पहलमानहरुको सहभागिता रहने आयोजकले जनाएको छ । ३ दिनसम्म चल्ने कुस्ती प्रतियोगितामा नेपाल र भारतका पहलमानहरुको सहभागीता रहनेछ ।

चेल्सी र आर्सनलसँगै आज आठ खेल हुने

काठमाडौं, माघ २२ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज आठ खेल हुँदैछन् । लण्डन डर्बि चेल्सीको मैदानमा हुने यस प्रिमियर लिगअन्तर्गत आज हुने पहिलो नेपाली समय अनुसार सवा ६ देखि चेल्सी र आर्सनल भिड्दैछन् । प्रतियोगिताअन्तर्गत आजै हुने अन्य खेलमा क्रिष्टल प्यालेस र सण्डरल्याण्ड, एभर्टन र एएफसी बोर्नमाउथ, हलसिटी र लिभरपुल, साउथह्याम्पटन र वेष्टहाम युनाइटेड, वार्टफर्ड र बर्नले, वेष्टब्रमविच आल्बियन र स्टोक सिटी तथा टोटनहाम हट्स्पर र मिडल्सब्रो भिड्दै छन् । प्रिमियर लिगको अंक तालिकामा २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

झापा गोलकपकाे फाइनलमा झापा ११ र मस्र्यांदी भिड्ने

माघ २२ । झापाको बिर्तामोडमा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताकाे दोस्रो झापा गोलकपको उपाधीका लागि झापा ११ र मर्यांदी भिड्ने भएका छन् । अाज भएकाे खेलमा मनाङ–मर्स्याङ्दीले त्रिभुवन आर्मी १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे । अब फाइनलमा झापा ११ र मर्यांदी भिड्ने भएका हुन् । शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० को भारी अन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको थियाे ।

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता काठमाडौमा हुने

काठमाडौँ, २० माघ । नेपाल तेक्वान्दो सङ्घमा आबद्ध युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप यसै महिनामा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने उक्त प्रतियोगिता यही माघ २७ देखि २९ गतेसम्म सञ्चालन गरिने भएकाे छ । अाज आयोजित एक पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नोर्बु लामाले साे जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगितामा नेपालसहित कोरिया, भारत, बङ्गलादेश, भुटान, मलेसिया, इन्डोनेसिया र सिङ्गापुर गरी करिब पाँचसय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १२ देखि १४ वर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ वर्षको जुनियर महिला तथा पुरुष र १७ वर्ष माथिको सिनियर महिला तथा पुरुषको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा फाईट (क्योरुगी) तर्फ ४० तथा पुम्सेतर्फ ३८ स्वर्ण गरी कुल ७८ स्वर्ण पदकका लागि भिड्न्त हुनेछ ।

जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुँदै

गौशाला, माघ १५ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको फुटवल रङ्गशाला निर्माणकार्य सुरु भएको छ । जिल्ला सदरमुकामको मुटु मानिएको जलेश्वर नगरपालिका–५ मा अवस्थित जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिटेल प्रोजेक्ट रिर्पोट ‘डिपीआर’ गर्ने कार्य सुरु भएको छ । तराईको जिल्लामा अन्तर्राष्ट्रियस्तरको खेल गराउने खालका ग्राउन्डको कमी भएको बेलाजलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिपिआर गर्ने काम सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । राष्ट्रिय खेलकुद परिषदद्वारा राष्ट्रिय योजनामा २०७३÷७४ मा जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्ने प्रस्ताव पारित भइसकेको राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर सञ्जीव पाठकले बताउनुभयो । उहाँका अनुसार जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटवल ग्राउण्ड निर्माण गर्ने उद्देश्यका साथ रु १० लाख बजेट छुट्याएर डिपिआरको काम सुरु गरिएको हो । ग्राउन्डको डिपिआर गर्ने जिम्मा पाएका ‘कन्सलटेन्ट कम्पनी पावर इन्टरनेसनल विल्र्डस’ प्रालिका प्राविधिकले सो रङ्गशालामा आफ्नो प्रारम्भिक कामकाज सुरु गरिसकेको छ । कन्सलटेन्ट कम्पनीका प्रमुख तथा प्राविधिक प्रेमबहादुर बमले एक साताभित्रै टेम्पो म्यापसहितको पहिलो चरणको डिपिआरको काम सकेर राष्ट्रिय खेलकुद परिषदमा रिर्पोट बुझाइसक्ने बताउनुभयो । डिपीआर रिपोर्टबाट रङ्गशाला बनाउन लाग्ने लागत, थप आवश्यकपर्ने जग्गासहितको रिपोर्ट बुझाए लगतै रङ्गशाला निर्माणका लागि थप काम सुरु गरिने इन्जिनियर पाठकले बताउनुभयो । एक बिगाहा १० कठ्ठा क्षेत्रफल रहेको जलेश्वर रङ्गशालामा खेलको लागि पर्याप्त जग्गा भए पनि दर्शकका लागि थप जग्गा आवश्यक भएको इन्जिनियर पाठकले बताउनुभयो । रासस

आहा रारा गोल्डकपको फ़ाइनल आज, विजेताले २ लाख ५१ हजार पाउने

पोखरा, माघ १५ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करणको फ़ाइनल खेल आज हूँदैछ । उपाधिका लागि आज लक्ष्मी हुन्डाई मनाङ र्मस्याङ्दी र आयोजक सहारा क्लब बीच दिउँसो साढे २ बजे पछि पोखरा रङ्गशालामा खेल सुरु हुनेछ । डिफेन्डिङ्ग च्याम्पियन मनाङ र सहाराबीच यसअघि १२ औँ संस्करणको फाईनलमा भेट भएको थियो । सो स्पर्धामा १ शुन्यले आयोजक सहारालाई पाखा लगाएको मनाङ पाँचौ उपाधिको खोजीमा हुनेछ । यद्यपी, घरेलु मैदानमा उपाधि खोसेको बदला स्वरुप साहारा डिफेन्डीङ्ग च्याम्पियनको ताज खोस्न चाहन्छ । मनाङले यसअघि दोश्रो, तेश्रो , १० औँ र १४ औँ संस्करणको उपाधि जितेको छ । विभागिय टोली आर्मीलाई हराएर साहारा फाईनल पुगेको हो भने मनाङले संकटालाई पाखा लगाएर उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

भारतमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने

काठमाडौं, माघ १० । भारतको कोलकत्तामा हुने तेस्रो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १४ पुरुष तथा सात महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् । यही माघ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी २१ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोलीलाई नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष विष्णु कार्की र नायिका रेखा थापाले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गरे । पुरुष खेलाडीमा दिवश श्रेष्ठ, सुरज श्रेष्ठ, कृष मानन्धर, सन्दीप थापामगर, डिकेश मानन्धर, सवीन थापामगर, विजय बस्नेत, सुजन कार्की, रञ्जीत तामाङ, सुशान्त मोडक, विनोद रोका, दत्त बुढा, फ्रिजल शाही र मनोज थापामगर छन् । त्यसैगरी महिलातर्फ सीता तामाङ, सपना तामाङ, निशा श्रेष्ठ, लक्ष्मी दुलाल, कृषा शेर्पा, सुजना तामाङ र पूजा ओलीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडीहरुले कुमुते र व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै टोली नेतामा नेपाल सोतोकान कराते सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पा तथा प्रशिक्षकमा कृष्णकुमार मानन्धर र गोपाल कटवाल हुनुहुन्छ । नेपाली टोली भोलि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

अन्तर्राष्ट्रिय म्याराथन पोखरामा हुने

पोखरा, माघ ७ । भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः ६० हजार, ४० हजार र २५ हजार र चार हजार रुपैयाँ पाउने छन् । सो अवसरमा छात्रछात्रा पाँच किलोमिटर र पुरुष महिला ब्ह्लिचेयर प्रतियोगिता पनि आयोजना गरिनेछ । पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः सात हजार , पाँच हजार र तीन हजार रुपैयाँ तथा ब्ह्लिचियरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए। पोखराको पर्यटकीय प्रवद्र्धन, कुनाकाप्चामा रहेका प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन एवम् सुन्दर पोखरा सहरलाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।