नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित भएको छ ।

मध्याह्न ११ः४५ मा ओमनको अल अमरेत क्रिकेट ग्राउण्ड –१ मा सुरु हुने खेल वर्षाका कारण केहि ढिलो सुरु हुने भएको हो । अहिले खेल हुने मैदानमा हल्का वर्षा भइरहेको कारण पिच कभरले ढाकिएकोछ । त्यसैले खेलमा ओभर घटेर केहि ढिलो सुरु हुने भएको छ ।

नियमित समय अनुसार ११ः१५ मा टस हुनुपर्नेमा पानी नरोकिएको कारण टस हुन सकेको छैन । 

दुवै टोलीका खेलाडी मैदानमा आई पुगिसकेका छन् । 

नेपाल आज हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

नेपाल र हङकङबीच ९ टी –२० आई खेल हुँदा दुवै टोली समान ४ खेलमा विजयी भएका छन् भने एक खेल वर्षाको कारण रद्द भएको थियो ।

१० टोली सहभागी रहेको प्रिमियर कपको विजेताले एसिया कप टी २० प्रतियोगिता खेल्न पाउनेछ ।

अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु, प्रधानमन्त्रीद्धारा उद्घाटन (तस्बिरहरु)

काठमाडौं। चितवनमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु भएको छ । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुने छ। पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट व्यवस्था गर्छौं :  प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन्। बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए। “गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।” क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोट्र्स् हब’ का रूपमा विकास हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिताहरू सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताए। खेलकुदमा नयाँ अवसर सिर्जना भएसँगै युवामा शारीरिक एवं मानसिक स्फूर्ति, सामाजिक जीवनका बहुआयमिक क्षेत्रमा विकास गर्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा रहेको युवा पलायन रोक्नसमेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले राष्ट्रिय, प्रदेशस्तरीय एवं स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताको बहुआयमिक महत्त्व रहने बताए। चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच हजारभन्दा बढी खेलकर्मीले यस प्रतियोगितामा प्रत्यक्ष सहभागी हुने भएकाले चितवनका कला संस्कृतिको समेत प्रवर्द्धन हुने बताए।  

फ्रेन्डसिप कपको च्याम्पियन बन्यो नेपाल

काठमाडौं। एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितानमा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो ।  जितका लागि एक सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोली गुजरात निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५८ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाए। यस्तै आशिफ शेखले ३४, कुशल मल्लले अविजित ३१, कुशल भुर्तेलले २१ र दीपेन्द्रसिंह ऐरीले सात रन बनाए। बलिङमा गुजरातका जयमति पटेल, सेन पटेल, तेजास पटेल र जाला युजराजसिंहले एक एक विकेट लिए।  नेपाल गुजरातमाथि ह्याट्रिक जित निकालेको हो । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो । नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो । 

नेपाल ‘ए’विरुद्ध आयरल्यान्ड वुल्भ्सको ‘क्लिन स्वीप’

काठमाडौं । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड वुल्भ्सले ‘क्लिन स्वीप’ गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६९ रनको सहज जित निकाल्दै वुल्भ्सले शृंखला क्लिन स्वीप गरेको हो। खेलमा वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.४ ओभरमा २१५ रनमा आलआउट भयो। नेपालका अर्जुन कुमालले शतक बनाए पनि टिमको हार टार्न सकेनन्। उनले ११८ बलमा १४ चौकासहित १०२ रनको योगदान गरे। अर्जुन साउदले ३६, नरेन भट्ट र रुपेश सिंहले समान १५ रन बनाए। देव खनाल ११ रन जोडेर आउट भए। भीम सार्की ‘गोल्डेन डक’ भएका थिए। नेपाललाई सस्तैमा समेट्न वुल्भ्सका बेन ह्वाइटले पाँच विकेट लिए। १० ओभर बलिङ गरेका ह्वाइटले एक मेडन फ्याँक्दै ६२ रन खर्चिए। गाभिन होइले चार र म्याथ्यु फोस्टरले एक विकेट हात पारे। त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो। आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १०७ रन जोडे । उनले १२९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । पेटर मुरले ४४, म्याथ्यु हम्फ्रेसले २३, मोर्गन टोपिङले २१, फियोन ह्यान्डले २० रन थपे । बेन ह्वाइटले १९ र गाभिन होइले १४ रन बनाए । नेपालका रिजन ढकाल र रञ्जीत कुमारले समान तीन विकेट लिए । विकास आग्री र साहब आलमले एकरएक विकेट हात पारे । घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ र दोस्रो खेलमा ११४ रनले विजयी भएको थियो ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध अर्जुन कुमालको शतक

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालका ओपनर अर्जुन कुमालले शतक प्रहार गरेका छन् । आइतबार आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट कुमालले १०० रन पूरा गरेका हुन् । उनले ११४ बलमा १४ चौका प्रहार गरे । जारी खेलको ३३.३ ओभर सकिँदा नेपालले पाँच विकेट गुमाएर १९८ रन बनाएको छ । हाल क्रिजमा अर्जुनसँगै रहेका रुपेश कुमारले १० रन बनाएका छन् । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वुल्भ्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८४ रन बनाएको थियो ।  

नेपालद्धारा गुजरातलाई १७७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइतबार भारतको वापीमा टस जितेर पहिले ब्याटिङ खेलेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाउन सफल भयो। कप्तान रोहितले ४७ बलमा पाँच चौका र चार छक्कासहित ७४ रन बनाए। आसिफ शेखले ३४ र कुशल मल्लले ३१ रन थपे । कुशल भुर्तेलले १९ रन जोडे । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले समान सात रन बनााए। गुजरातका जयमित पटेल, स्हेन पटेल, तेजस पटेल र जाला युभराजसिन्हले समान एक विकेट लिए । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति भारत भ्रमणमा रहेको नेपाल लिग चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै विजेताका रूपमा फाइनलमा पुगेको हो । गुजरातले भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो। त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसिएसनले प्रतिस्पर्धा गरेका थिए ।

आयरल्यान्ड वुल्भ्सद्धारा नेपाल ‘ए’लाई दियो २८५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । स्टेफन डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ सामु २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रनको योगफल खडा गरेको हो ।

फ्रेन्डसिप कप उपाधिका निम्ति गुजरातको सामना गर्दै नेपाल

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति नेपाली क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको सामना गर्दैछ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेकोछ । यसैगरी, गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । बरोडा भने लिग चरणबाटै बाहिरिएको हो । प्रतियोगिताको फाइनल भारतको वापीमा हुनेछ । नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई आठ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा पुनः गुजरातलाई आठ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँगै ३७ रनले पराजित भएको थियो । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति नेपालले भारत भ्रमण गरेको हो ।

चितवन आउँदै प्रधानमन्त्री, अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गरिने

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउँदै छन् । उनी दिउँसो १ बजे चितवन आउँने कार्यक्रम रहेको  राष्ट्रिय खेलकुद परिषद् (राखेप) बागमति प्रदेशले जनाएको छ । चितवनमा प्रधानमन्त्री प्रचण्डले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० काे समुद्घाटन गर्ने छन् । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८०को समुद्घाटन  साँझ ४ः०० बजे राखिएको छ । खेल भरतपुरको  गौतम बुद्ध क्रीकेट रङ्गशालामा हुनेछ । भरतपुर भ्रमण वर्षलाई लक्षित गरेर राष्ट्रिय खेलकुद परिषद् बागमति प्रदेशको आयोजनामा सो गर्न लागिएको  हो ।   

एक दिवसीय क्रिकेटमा नेपालको लज्जास्पद हार

काठमाडौँ। तीन एक दिवसीय शृंखलाअन्तर्गतको आज भएको तेस्रो खेलमा नेपालको लज्जास्पद हार भएको छ । म्याथ्यू हाम्फ्रेज एक्लैले ६ विकेट लिएपछि आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल एविरुद्धको तीन एक दिवसीय शृंखला २–० ले आफ्नो पक्षमा बनाएको छ। शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ११४ रनले पराजित गरेको हो। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। आयरल्यान्डले दिएको १७५ रन पछ्याएको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्रै बनायो। नेपालका भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। आयरल्यान्डका म्याथ्यू हम्फ्रेजले सर्वाधिक ६ विकेट लिए। ४.५ ओभर बलिङ गरेका उनले १ मेडनसहित ८ रन खर्चिए। यस्तै,फिओन ह्यान्ड र थोमस मेयसले २२ विकेट लिए।  

आयरल्यान्डलाई जित्न नेपाल ए सामु १७५ रनको चुनौति

काठमाडौं । आयरल्यान्ड ए ले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको चुनौति पेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भयो । आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । २०.३ ओभरमा ९४ रन बनाउँदा ७ विकेट गुमाइसकेको अवस्थामा आयरल्यान्डलाई आठौं विकेटका लागि गेभिन र लियाम म्याकार्थीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए । नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

आयरल्यान्ड ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ नेपाल

काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलबाट नेपालले एक परिवर्तन गरेको छ । यू(१९ का ओपनर अर्जुन कुमाललाई बेन्चमा राखेको छ भने अर्का युवा ब्याटर नरेन भट्टलाई मौका दिएको छ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो । ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ । नेपाल ‘ए’को प्लेइङ ११ : विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल । नेपालको बेन्च : रञ्जित कुमार, रुपेशसिंह, अर्जुन कुमाल र विकाश आग्री ।

एक दिवसीय सिरिज:  आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल ‘ए’

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले शुक्रबार एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानममा शुक्रबार बिहान ९ः३० बजे सुरु हुनेछ। बुधबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो। आज नेपाल घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।

फ्रेन्डसिप कप  :  आज भारतको बरोडा क्लबसँग खेल्दै नेपाल

काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी(२० फ्रेन्डसिप कपमा लगातार तीन जीत निकालेको नेपालले आज चौथो खेल खेल्दैछ । एक खेल अगाडि नै फाइनल पुगेको नेपालले शुक्रबार बरोडा क्लबसँग खेल्दै छ ।  यो खेल दिउँसो २ः ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ । पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनल पुगेको थियो ।  नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

राखेपको ६० औं वार्षिकोत्सव : ६ विधाका १८ जना सम्मानित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।  वार्षिकोत्सवको अवसरमा राखेपले विभिन्न ६ विधामा ५ खेलाडी, समान १–१ प्रायोजक, स्थानिय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा ८ कर्मचारी गरी १८ जना सम्मानित गरेको छ । सम्मानीति हुनेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य डा.उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कृत गरेका थिए । यी विभिन्न ६ विधामा पुरस्कृत हुनेहरू सिनियरको पुरुषमा एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङ सर्वोत्कृष्ट खेलाडी । जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडी । पारा एथलिट खेलाडी अवार्ड पौडीका भीमबहादुर कुमाल । उत्कृष्ट स्थानिय तह नवलपरासीको मध्यविन्दु नगरपालिका । उत्कृष्ट राष्ट्रिय खेल संघ नेपाल भलिबल संघ । कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राई सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहाल उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहाल परिषद् सेवा पुरस्कार । प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कार । कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठ करार सेवा पुरस्कार । नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की उत्कृष्ट खेल पत्रकार सम्मान ।