खेलकुदको विकासमा विशेष ध्यान दिएका छौं :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन्। 

राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए । 

“यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।”
 
आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।”

यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग विश्वास दिलाए। “नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने, “परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीहरूको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।” 

खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ

प्रधानमन्त्री ‘प्रचण्ड’ले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताए । 

उनले चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे । 

पोखरा रङ्गशाला, बेलझुण्डी रङ्गशाला, च्यासल रङ्गशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले मूलपानी रङ्गशाला, भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको बताए। 

सरकारले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको बताए।

पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमानी हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्ता उपलब्धी हुनु देशका लागि उत्प्रेरणा प्रदान गरेको बताए । उनले पछिल्लोसमय राष्ट्रिय खेलकुद परिषद्ले ६१ वटा राष्ट्रिय सङ्घहरू निक्र्यौंल गरेको बताए।

नेपालद्वारा बरोडासामु १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी २० कपमा बरोडालाई जित्नका लागि १५७ रनको चुनौति दिएको छ ।  सुरुमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले मध्य र अन्तिममा सम्हालिदा मध्यम लक्ष्य प्रस्तुत गर्न सकेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सक्यो । नेपालका कुशल मल्लले २५ बलमा अविजित ४० रनको योगदान गरे । यस्तै सन्दिप जोराले रन आउट हुनु अघि १६ बलमा २९ रन बनाए ।  यसैगरी अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए । त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९–९ रनमा गुमाएको थियो । दुबै ओपनर तीव्र गतिका बलर बाबा खानको बलमा क्याच आउट भएका थिए । दिपेन्द्रसिंह ऐरी पाँच रनमा अविजित रहे । 

टस हारेर बरोडाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए । नेपालको प्लेइङ ११  रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा । बेन्च ललित राजवंशी, प्रतिश जि।सी, विवेक यादव र आकाश चन्द ।

आयरल्यान्ड ए माथि नेपाल ए को जित

काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २ सय  १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै  ७ विकेट गुमाएर २ सय १० रन मात्र बनायो। यससँगै नेपालले तीन खेलको टी-२० सिरिज  २-१ ले गुमाएको छ । नेपाल सुरुवाती दुई खेलमा  २१ रन र ४० रनले पराजित भएको थियो ।अब आयरल्याण्ड ए र नेपाल ए बीच  एकदिवसीय सिरिज पनि हुनेछ ।  

नेपालद्धारा आयरल्यान्ड ए लाई २१४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो । नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे । कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए । पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए । आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १(१ विकेट लिए । तीन खेलको सिरिजमा नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ ।

नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै

काठमाडौं । पहिलो र दोस्रो खेलमा पराजित नेपाल ‘ए’ले सोमबार टी२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग तेस्रो खेल खेल्दैछ।  सिरिज भने एक खेल अगाडि नै आयरल्याण्ड ‘ए’ले जितिसकेको छ। तेस्रो खेल सोमबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ। आयरल्याण्डसँग नेपालले एक दिवसीय सिरिज खेल्न लागेको छ । नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।  

नेपाल ८ विकेटले विजयी

काठमाडौं। नेपालले भारतको स्टेट टोली गुजरातलाई ८ विकेटले पराजित गरेको छ ।  त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको हो ।  साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो । ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।  नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ रनमा नट आउट रहे । नेपालका ओपनर कुशल भुर्तेल १६ बलमा २ छक्कासहित १७ र आसिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजास पटेल र हेमांग पटेलले १–१ विकेट लिए । त्यसअघि नेपालका तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा गुजरात सस्तैमा समेटिएको थियो ।  गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए । नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।

गुजरातविरुद्ध जीतका लागि नेपाललाई ९९ रनको चुनौति

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध नेपालले जीतका लागि ९९ रनको चुनौति पाएको छ । टस हारेर व्याटिङ गरेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।  गुजरातलाई सस्तैमा समेट्न गुल्शन झाले घातक बलिङ गर्दै चार विकेट लिए । आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिदा गुजरात दबावमा परेको थियो । यस्तै करण केसीले पनि गुजरातलाई दबाबमा राख्न तीन विकेटको योगदान गरे । ३ दशमलब २ ओभर बलिङ गरेका करणले पनि २२ रन खर्चिएका थिए ।  यस्तै, सोमपाल कामीले एक विकट लिए । नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

टी-२० सिरिज : नेपाल गुजरातसँग खेल्दै, यस्तो छ टिम नामावली

काठमाडौं  । त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आजको खेल नेपाल र भारतको स्टेट टोली गुजरातबीच हुनेछ। खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानीमा खेल हुनेछ। नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऎरि र कुशल मल्ल प्रमुख हतियार हुन्। डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन राम्रो छैन। त्यो सुधारको आवश्यक देखिन्छ।विवेक यादव, सन्दिप जोरा र प्रतिश जिसि जस्ता युवा खेलाडीलाई मौका दिएर हेर्न सक्छ । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द । गुजरातको टोली : उमांग पटेल (कप्तान), अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।

नेपाल ‘ए’विरुद्ध आयरल्याण्ड ‘ए’ ४० रनले विजयी

काठमाडौं । दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’सँग ४० रनले पराजित भएको छ। २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा अलआउट भएपछि दोस्रो खेलमा पनि पराजित भएको हो। यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले पराजित गरेको थियो। योसँगै आयरल्यान्डले तीन टी–२० शृंखला २–० ले आफ्नो पक्षमा बनाएको हो। आयरल्यान्डले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सक्यो। 

अन्तिममा सम्हालिन नसक्दा नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमको शतकका बाबजुद नेपाल ए २१ रनले पराजित भएको छ ।  टीयु क्रिकेट मैदानमा भएको नाटकीय खेलमा अन्तिममा सम्हालिन नसक्दा नेपाल ए पराजित हुन पुग्यो ।   नेपाल ‘ए’का ओपनर लोकेशले आठ छक्का र आठ चौकाको मद्दतमा ५२ बलमा शतक बनाउँदा नेपाल बलियो अवस्थामा थियो । २२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लोकेश र आरिफ शेखले महत्वपूर्ण साझेदारी गर्दै विजय नजिक पु¥याएका थिए ।  नेपाल १९.३ ओभरमा अलआउट हुँदा पछिल्लो १४ बलमा ६ विकेट गुमाएको थियो ।  नेपालले ६ विकेट गुमाउने क्रममा ७ रन जोडेको थियो ।   लोकेशले आरिफ सेखसँग मिलेर व्यक्तिगत शतक हान्ने क्रममा नेपालको पाँच ओभरमा १०४ रन हानेको थियो । तर चौथो विकेटको रुपमा लोकेश बम १०६ रनमा आउट भएपछि नेपालको संकट सुरु भयो । लगत्तै आरिफ सेख २६ बलमा ४९ रन बनाउँदै पेभिलियन फर्के । कप्तान विनोद भण्डारीले १६ रन जोडेका थिए । त्यस बाहेक नेपालका अन्य व्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् ।  त्यसअघि आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२२ रन बनाएको थियो । 

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । नेपाल ‘ए’का ओपनर लोकेशले आठ छक्का र आठ चौकाको मद्दतमा शतक बनाएका हुन् । २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५.१ ओभरमा तीन विकेट गुमाएर १८३ रन बनाएको छ । नेपालले पछिल्लो पाँच ओभरमा १०४ रन हानेको छ । यो २०.४ को रनरेट हो ।

नेपाल एले टस जितेर आयरल्यान्ड एविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाल एका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।  नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका निकालेर नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुने तय गरेको छ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१, २३, र २५ गते हुनेछ । नेपाल एको प्लेइङ ११ मा कप्तान विनोद भण्डारी सँगै लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी रहेका छन् । ए टिमका पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्रीलाई आज बेन्चमा राखिएको छ ।

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी २० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो । खेल रद्व हुने भएपछि दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले खेलको अर्को तालिका बनाउने जनाएको छ । लगातार हल्क वर्षा भएपछि टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन वटा टी २० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ । यस खेलसहित क्यानले पुनस् नयाँ तालिका सार्वजनिक गर्नेछ ।

टी २० सिरिज : नेपाल र आयरल्याण्ड ‘ए’बीच खेल हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग बिहीबारदेखि नेपाल ‘ए’ले टी–२० सिरिज खेल्दैछ। पलिलो खेल बिहीबार दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन–तीन खेलको टी–२० र एक दिवसीय सिरिज खेल्न लागेको हो। आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले विनोद भण्डारीको कप्तानीमा टिम घोष्णा गरेको छ। नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग आज पहिलो खेल हुनेछ । दोस्रो खेल शुक्रबार र अन्तिम खेल शनिबार हुने क्यनले जनाएको छ । आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम अर्थात् फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ। आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपालको जित

काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । यो सँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका सोमपाल कामी र कुशल मल्लले ३ ३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १ १ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए । सन्दीप जोराले १० बलमा १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी २० सिरिज खेल्न जानेछ ।