नारी पुरुष सम्बन्धको नखोतलिएको पाटो

रामहरि कार्की

आदिमकालदेखि नारी र पुरुषको सम्बन्धलाई एक सिक्काका दुई पाटाको रुपमा हेरिँदै आएको छ । जसरी सिक्काको एक पाटोबिना अर्कोको अस्तित्व रहँदैन, त्यसरी नै नारीबिनाको पुरुष र पुरुषबिनाको नारीको अस्तित्व रहन सक्दैन । तैपनि नारी र पुरुषबीचको सम्बन्धलाई गलत तरिकाले चर्चा–परिचर्चा गर्ने, शङ्काको दृष्टिमा राख्ने भनेको हाम्रो परम्परागत रोग नै हो । जुन रोगले आजको आधुनिक पुस्ता, बौद्धिक जमात र शिक्षित पुस्तालाई पनि छाडेको छैन ।

सूचना र प्रविधिको विकासले संसार साँघुरिन थालिसक्यो । तैपनि नेपाली समाजमा नारी र पुरुषको सम्बन्धलाई गिद्धदृष्टि लाउने आँखाको सङ्ख्यामा भने कमी आउन सकेको छैन । एउटा नारी र पुरुषको सम्बन्ध भनेको केवल लोग्ने–स्वास्नीको मात्र हो र त्यो बाहेक अरु सम्बन्ध हुनु हुँदैन भन्ने भ्रममा बाँचेको छ नेपाली समाज । नारी र पुरुषबीचको सम्बन्धलाई यौनको दृष्टिकोणले मात्र केलाउनु भनेको सम्बन्धलाई साँघुरो घेराभित्र पार्नु हो । सम्बन्ध शारीरिकमात्र नभई भावनात्मक पनि हुन्छ । हरेक नारी र पुरुषबीचको सम्बन्धमा यौनसम्बन्ध नै हुनुपर्छ भन्ने मान्यता गलत हो ।

यसरी नारी र पुरुषबीच शारीरिक सम्बन्धबाहेक भावनात्मक सम्बन्ध पनि हुन्छ भनेर बुझ्दाबुझ्दै पनि कतिपय अशिक्षित वर्गले यसलाई यौनसँग मात्र जोडेर हेर्ने गर्छन् । तर, आजभोलि केही बौद्धिक वर्गको जमातले पनि नारी र पुरुषको सम्बन्धलाई केवल यौनको दायराभित्र राखेर चर्चा गर्ने क्रम तीव्र भएको पाइन्छ । अझ भन्नुपर्दा एक गिलास ह्विस्कीको चुस्की लगाउँदै नारी र पुरुषको भावनात्मक सम्बन्धलाई पनि यौनक्याम्पमा कैद गरेर चोक र गल्लीगल्लीमा चर्चा–परिचर्चा गर्नु भनेको बौद्धिक वर्गको पक्कै पनि बौद्धिक काम होइन । नारी र पुरुषबीचको भावनात्मक र शारीरीक सम्बन्ध पनि राम्रोसँग बुझ्न नसक्नेलाई साघुँरो मस्तिष्क भएकाहरुलाई बौद्धिक वर्गको पदवि दिनुको के अर्थ छ र ? के नारी र पुरुषको भावनात्मक सम्बन्धलाई झ्याली पिटेर नग्न पार्नलाई बौद्धिक वर्ग बनाइएको हो र ?

एउटा केटा र केटीसँगै हिँड्दैमा, सँगै एउटै अफिसको कोठामा बसेर काम गर्दैमा, गफ गर्दैमा, हात मिलाउँदैमा यौनसम्बन्ध भइहाल्छ भन्ने धारणले अझै पनि मस्तिष्कमा जरा हालेको छ । यसरी केटा र केटी सँगै हिँड्डुल गर्दैमा, गफ गर्दैमा शारीरिक सम्बन्ध भइहाल्छ भनेर सोच्नुलाई के यौनाङ्ग हात–गोडा र आवाजमा टाँसिएका हुन्छन् र सम्पर्क हुनलाई ? त्यसैले नारी र पुरुषको सम्बन्धलाई केवल यौन क्रियाकलापसँग दाँजेर नहेरौँ ।

नारी र पुरुषको सम्बन्ध संवेदनशीलतासँग जोडिएको हुन्छ । कुनै पनि नारी र पुरुषको सम्बन्धलाई अनावश्यक चर्चापरिचर्चा गरेर कसैको व्यक्तिगत जीवनलाई ओरालो लगाउने काम कोही कसैबाट पनि हुनुहुँदैन । चाहे त्यो शिक्षित वर्ग होस् या चाहे अशिक्षित नै किन नहोस् । यही नारी र पुरुषबीचको विविध सम्बन्धलाई बुझ्न नसक्दा संसारमा धेरै दुर्घटना भएका छन् भन्ने कुरा हाम्रो धार्मिक ग्रन्थबाट पनि प्रमाणित हुन्छ । सीता र रामको सम्बन्धमा गिद्धेदृष्टि राख्नाले सिङ्गो लङ्का र रावणको हालत के भयो ? वृन्दा र जालन्धरको सम्बन्धमा छलकपट गर्दा भगवान विष्णुको के हालत भयो ? भन्ने कुरा त हामी सबैलाई थाहा छ । त्यसैले यस्ता सम्बन्धभित्रका संवेदनशीलतालाई ख्याल गर्नुपर्छ । यस्ता कुरामा ख्याल नगर्दा कतिपय मै हँु भन्ने मन्त्री, नेताजस्ता ठूलाबडाको जागिर र करिअर दुवै चिप्लिएका छन्, कति त सडकमै आएका छन् भने कतिपय जेल जान बाध्य भएका छन् र नयाँ–नयाँ किसिमका अपराधको जन्म हुँदै गएको छ । त्यसैले नारी र पुरुषको हरेक सम्बन्ध र सम्वेदनशीलतालाई पनि विचार पु¥याएर व्यक्त गर्नुपर्छ ।