अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्।रिपोटर्स क्लबको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताए ।

“सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनेइनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।” 

सूचना–प्रविधिभन्दा बाहिर रहेर मानव अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा विश्व आइपुगेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विश्वका सबै क्षेत्रमा सूचना–प्रविधिको निर्णायक भूमिका रहेको उल्लेख गरे। 

null

“हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सूचना–प्रविधिका कारण हाम्रो राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक महत्त्वलाई हामी सबैले आत्मसात गर्नैपर्छ ।”

उनले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकारहरू सुदृढ गर्दै संविधानको प्रगतिशील कार्यान्वयन सुनिश्चित गर्नु र त्यसको जगमा समाजवादउन्मुख समृद्धि हासिल गर्नु रहेको बताए। 

प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको राष्ट्रिय अभियान नै थाल्नुपर्ने बेलामा मुलुकलाई पछाडि फर्काउने या यथास्थितिमै राख्ने या कुनै पनि कोणको अतिवादलाई प्रश्रय दिने गतिविधिलाई अब कसैले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारे।उनले भने, “आजको आवश्यकता बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्थामा परिवर्तन गर्दै देशमा आशाको सञ्चार गर्नु हो ।”

नयाँ संविधान निर्माणपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभ्यासमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय प्रणालीअनुरूपका आवश्यक ऐन, कानुनहरूको तर्जुमा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नु आजको राष्ट्रिय कार्यभार बन्न पुगेको स्पष्ट पारे। 
 

बिनानिष्कर्ष सकियो राप्रपाको बैठक, शुक्रबार पुनः बस्ने

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ। बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए। अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।  यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ। सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति मुछिएको आरोप दलहरूले लगाउँदै आएका छन्। यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा कांग्रेससँगै राप्रपा पनि सो मागमा रहेको छ । यी विषयहरूमा के गर्ने भन्ने सामान्य छलफल भएको तामाङले बताए।“पशुपतिजी पनि आउनु भएन। सामान्य छलफल गरेर पर्सीलाई बैठक बस्ने कुरा भयो र हामी उठ्यौँ,” उनले भने।

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ।खड्काको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो। सल्लाहकार खड्काको निधनले सिङ्गो पार्टीलाई स्तब्ध बनाएको भन्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गरेका छन्।माओवादीले भनेको छ( ‘प्राध्यापक खगेन्द्र खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागी अपूरणीय क्षति भएको छ। राष्ट्रले एक बौद्धिक होनहार व्यक्तित्व गुमाएको छ।’ विक्रम संवत् २००८ साल असोज १२ गते उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ मा जन्मिएका खड्का लामो समय कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आएका थिए। खड्का २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए। हाल टोखा नगरपालिका धापासीमा बस्दै आएका उनका ४ छोरीहरू रहेका छन्। सल्लाहकार खड्काको अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि बुधबार साँझ ६ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ।

डेढ वर्षपछि भारतमा चीनका नयाँ राजदूत

काठमाडौं । करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले १८ महिनाको असाधारण ढिलाइपछि शुई फेइहोङलाई भारतका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । यसबारे औपचारिक घोषणा नभए पनि चीनको विदेश मन्त्रालयले अफगानिस्तान र रोमानियाका लागि राजदूत भइसकेका शुई अब भारतका लागि चीनको राजदूत हुने समाचार एजेन्सी पीटीआईलाई पुष्टि गरेको छ । ६० वर्षीय शुईले छिट्टै नयाँ दिल्लीमा आफ्नो पद सम्हाल्ने छन्। उनले सन् २०२२ को अक्टोबरमा भारतमा आफ्नो कार्यकाल पूरा गरेका सन विडोङको स्थान लिनेछन् । सुन वेइडोङ भारतमा आफ्नो कार्यकाल अघि पाकिस्तानका लागि चीनका राजदूत पनि थिए र हाल उपविदेश मन्त्री छन् र चीनको दक्षिण एसिया नीतिलाई सम्हाल्ने जिम्मेवार छन् । शुईको नियुक्ति भारत र चीनबीच लामो समयदेखि चलिरहेको सैन्य गतिरोध समाधान गर्नका लागि विभिन्न चरणको वार्ताको बीचमा आएको हो।मे २०२० मा लद्दाखमा भएको हिंसात्मक सैन्य झडपपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ। 

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो ।   त्यसैगरी आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा स्थिर रहँदै प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

लोकप्रिय