कारोबारको पहिलो दिन ओरालो लाग्यो नेप्से, कोरोबार कति ?

कारोबारको पहिलो दिन ओरालो लाग्यो नेप्से, कोरोबार कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अंकले ओरालो लागेको छ।

परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेर १ हजार ९७९ दशमलव ०२ बिन्दुमा आएको हो।

गत मंसिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक २ हजारको बिन्दुभन्दा तल झरेको हो।

आज विभिन्न ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ७१ हजार ८८० पटक खरिदबिक्री हुँदा ३ अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन्। 

वित्त समूह १ दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २ दशमलव ४२ प्रतिशतले घटेको छ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ। 

यो कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ बराबरको ४ लाख १५ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ।

६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो ।  बन्द भएको ६ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिनुभएको थियो । उहाँका अनुसार काठमाडौँबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको छ ।   उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुसी महसुस गर्दै भने, “समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुसी छौँ, निगमले नियमित उडान गर्न जरुरी छ ।” वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए । “अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौँबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौँ जाने तालिका बनाएका छौँ”, उनले भने । विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौँ उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ ।  हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो । ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताए । उनले भने, “अब तोकिएको दिन सेवा सञ्चालन हुनेगरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।”       वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा रु चार हजार २९ कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इ–सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ । पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो ।        प्रदेश राजधानी जान र आउन पुनःउडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शङ्करप्रसाद आचार्यको भनाइ छ ।

लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो :  राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन् ।  “लोकतन्त्रमा शासन प्रणालीलाई  पारदर्शी तथा जबाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो”, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।  “विकास निर्माणमा नेपाली जनताको अर्थपूर्ण सहभागिता लोकतन्त्र सुदृढीकरणका लागि अत्यन्त आवश्यक छ, यसका लागि पारदर्शिता नै मुख्य विषय हो, जुन सूचनाको हकले नै प्रत्याभूत गर्नेछ”, उनले भने। लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्त्वपूर्ण माध्यमको रूपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।  उनले सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र होइन सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने  बताए । साथै  सरकारले गरेका काम, कारबाहीबारे जनतालाई सुसूचित पनि गराउने उनले बताए।  जनताले आफूले तिरेको कर कहाँ, कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वाभाविक हक पनि भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।  संविधानको व्यवस्थाअनुसार सूचनाको हकसम्बन्धी ऐन २०६४ जारी भई अहिले कार्यान्वयनमा आएको छ । लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था हो भन्दै राष्ट्रपति पौडेलले सुसूचित नागरिक मात्रै सर्वशक्तिमान् हुन्छ र उसको स्वतन्त्रताको सर्वोच्चता स्थापित हुन्छ भन्ने मूल मान्यता र दर्शनका आधारमा लोकतान्त्रिक व्यवस्थामा जनतालाई शासन प्रणालीबारे सबै सूचना जान्न पाउने मौलिक हकको व्यवस्था गरिएको बताए।  संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हकको व्यवस्था गरेको छ ।  उनले कानुन कार्यान्वयन भएको यो अवधिमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रूपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानुनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै नबनिसकेको उनले बताए ।  “ अझै पनि कैयौँ नेपाली जनता आफ्नो यो मौलिक हकबारे अनभिज्ञ छन्, यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी छ र यसमा आपूर्ति पक्ष जति संवेदनशील हुन आवश्यक छ, त्यो भन्दा बढी जनता आफैँ आफ्नो अधिकार प्राप्त गर्न तयार देखिउन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।   संविधानको मर्म र कानुनको व्यवस्थाअनुसार स्थापित आयोगले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा आज मात्र ४ वटा राष्ट्र भाषा मैथिली, अवधि, थारु र भोजपुरीमा प्रकाशित सूचना मागकर्ताका लागि सहयोगी पुस्तिकाका कारण बहुसङ्ख्यक नेपालीमाझ सूचनाको हक पुर्याउन सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । उनले यसै गरी थप राष्ट्रभाषाहरूमा पनि यस्तो प्रकाशन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । “सूचनाको हकको नियामक निकायका रूपमा स्थापित सीमित साधन, स्रोत भएको आयोगबाट नागरिकमा आफ्नो अधिकारको प्रयोगको जागरण ल्याउने तथा कानुनको प्रभावकारी कार्यान्वयनको सबै जिम्मेवारी हो भन्ने ठान्नु उपयुक्त हुँदैन, यसका लागि सरकारको गम्भीर ध्यान जान जरुरी छ”, उनले भने । स्वाभाविक रूपमा सबै सूचना सार्वजनिक हुँदैनन् र कानुनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषयहरू पनि जनताकै हितका लागि हुन् भन्ने हामीले बिर्सन नहुने उनले उल्लेख गरे । 

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको दिन आज बस्ने बैठकमा प्रधानमन्त्री दाहाल प्रचण्डले सरकार र संसद्को बजेट अधिवेशन सञ्चालन, नीति तथा कार्यक्रम निर्माण लगायतका विषयमा सांसदहरुलाई बिफ्रिङ गर्नुका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ। नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो।  बिहीबार भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र जोड्न सक्यो । उक्त खेल जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला आफ्नो पक्षमा पार्न सफल भएको छ। त्यसैले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ ।  नेपालले त्यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो। शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

लोकप्रिय