निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गरी निःशुल्क कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको हो ।

सूचनामा महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि निःशुल्क लोकसेवाको तयारी कक्षा सञ्चालन गरिने उल्लेख छ ।

महानगरले इच्छुक उम्मेदवारलाई नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र महानगरपालिकाको सामाजिक विकास विभागमा आवेदन पेस गर्न आग्रह गरेको छ ।

null

प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३, कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको ५ । योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

विद्यार्थीलाई समय सान्दर्भिक पाठ्यक्रम पढाऔं : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्।  पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन्।  “युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।” युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधान विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिए।  “युवा जोश, जाँगरयुक्त ज्ञान, सीप र क्षमतालाई देशले नियालिरहेको छ र योगदान खोजिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा जनसाङ्ख्यिक लाभ नेपालले लिन सक्नुपर्छ र हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नैपर्छ ।”  शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रुपान्तरण गर्न नसक्नु दुःखद् विषय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए। लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउनेभन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन निर्देशन दिए।

नेपाली सेनाले माग्यो दरखास्त

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ ।  आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो ।  रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।  आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ । 

कक्षा १२ को परीक्षा आजबाट सुरू : ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी

काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी सहभागी हुँदै छन्। नियमिततर्फ ३ लाख ९० हजार ८ सय ९५ र ग्रेडवृद्धितर्फ १ लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षामा १ हजार ५ सय २६ परीक्षा केन्द्र कायम गरिएको छ ।  परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न ५२ हजार ४ सय ७१ जनशक्ति परिचालित हुनेछन् । त्यसमा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित गरी १८ हजार ३ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । परीक्षामा २७ हजार ३ सय ७ निरीक्षक, १ हजार ९ सय ७ कर्मचारी, १ हजार ५ सय २५ केन्द्राध्यक्ष, १ हजार ९ सय ७ सहायक केन्द्राध्यक्ष र १ हजार ५ सय २५ कार्यालय सहयोगी खटिनेछन् । परीक्षामा सबैभन्दा धेरै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय काठमाडौंअन्तर्गत विद्यार्थी सहभागी हुँदै छन् ।  सो कार्यालयअन्तर्गत ३ सय २ परीक्षा केन्द्रमा १ लाख ६ हजार ४ सय ७९ परीक्षार्थी सहभागी हुँदै छन् । कम प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतअन्तर्गत ४८ केन्द्रमा १६ हजार ९ सय ८३ परीक्षार्थीेले परीक्षा दिनेछन् । जापानको एक केन्द्रमा ३२ विद्यार्थी सहभागी हुँदै छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी वागमतीमा ३ सय ७६ परीक्षा केन्द्रमा १ लाख १६ हजार ४ सय ४० र कम सुदूरपश्चिममा १ सय ५७ केन्द्रमा ४९ हजार ५ सय ६३ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौंमा १ सय ४४ केन्द्रमा ६४ हजार ८ सय ९२ विद्यार्थीले परीक्षा दिँदै छन् । कम मनाङको एउटा मात्र केन्द्रमा ४४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । मनाङ र मुस्ताङमा एक–एक केन्द्र कायम गरिएको छ । बोर्डले यो वर्षबाट इमेलबाट प्रश्नपत्र नपठाएर सबै केन्द्राध्यक्षको व्यक्तिगत पासवर्ड तयार गरी सोही आधारमा परीक्षा सञ्चालन हुनु आधा घण्टाअघि ओटीपी उपलब्ध गराएर प्रश्नपत्र पठाउने व्यवस्था गरेको छ ।  बोर्डका अध्यक्ष शर्माले पहिलोपटक नयाँ प्रविधि प्रयोग गरी प्रश्नपत्र पठाउने व्यवस्था गरेको जानकारी दिए । ‘प्रश्नपत्र डाउनलोड गर्दा केन्द्राध्यक्षले एक जना सुरक्षाकर्मीको अनिवार्य उपस्थितिमा सहायक केन्द्राध्यक्षको रोहबरमा मात्र प्रश्नपत्र डाउनलोड हुने व्यवस्था गरेका छौं’ –अध्यक्ष शर्माले भने ।  परीक्षामा जिम्मेवार पदाधिकारीबाहेक अन्यलाई मोबाइल फोन लैजान पूर्ण बन्देज गरिएको छ । स्मार्ट घडी र क्यालकुलेटर लैजान पाइने छैन। बोर्डले यो वर्षको परीक्षाफल परीक्षा सञ्चालय भएको ४५ दिनभित्र प्रकाशित गर्ने गरी तयारी थालेको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

शिक्षक महासंघको महाधिवेशन आज सुरु हुँदै

काठमाडौं। नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने घोषणा गरेको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

उपकुलपति बरालको त्रिवि सुधार्ने यस्तो छ सोचपत्र

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच(पत्र सार्वजनिक गरेका छन् ।  उपकुलपति बरालले त्रिवि उपकुलपति पदका भएको खुला प्रतिस्पर्धात्मक प्रस्तुति तथा अन्तर्वार्तामा प्रस्तुत गरेको ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच(पत्र’ त्रिविको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । उपकुलपति बरालद्धारा सार्वजनिक २३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोचपत्र’ मा विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारितास विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरताः आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरणःविश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने र विश्वविद्यालयको पारदर्शिता र जवाफदेहितासम्बन्धी अवधारणा प्रस्तुत गरिएको छ। उपकुलपति बरालले त्रिविको समग्र उत्तीर्ण दर कम देखिएकोले राष्ट्र र अभिभावकको लगानी खेर गएको बताउँदै सो खेर जान नदिने बताएका छन् हेर्नुहोस् सोचपत्र 

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सीईओ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदका लागि आवेदन माग गरेको छ। एक सार्वजनिक सूचना जारी गर्दै बैंकले खुला प्रतिस्पर्धात्मक माध्यमबाट सीईओ छनोट गर्न दरखास्त माग गरेको हो। इच्छुक, योग्यता पुगेका नागरिकले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखा, गणित, प्रशासन तथा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका, सम्बद्ध क्षेत्रमा १० वर्षको कार्यानुभव भएको, राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ। राजनीतिक दलको सदस्य नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न भएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता अभियोगमा कसुरदार नरहेका, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकाजस्ता शर्तहरु पालना हुनुपर्नेछ। इच्छुक आवेदकले दरखास्तका साथ व्यावसायिक कार्यायोजना समेत पेश गर्नुपर्नेछ। बैंकको वेबसाइटमा फारम उपलब्ध रहेको बैंकले जनाएको छ।

नेपाली सेनाले माग्यो दुई हजार ६१५ पदमा दरखास्त

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो ।  सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।  नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।  जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ । 

नेपाल टेलिकमले माग्यो नवौँदेखि जुनियर टेक्निसियनसम्म आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै टेलिकमले १२९ रिक्त पदमा आवेदन माग गरेको हो ।  नवौँदेखि तेस्रो तहसम्मका लागि आवेदन माग गरिएको छ । उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।  वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ ।     

प्रधानमन्त्रीलाई प्राज्ञिकहरूको धन्यवादः ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामूहिक रूपमा धन्यवाद व्यक्त गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गर्दै उनीहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको बताए । भेटमा प्रधानमन्त्री प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्बन गरिने बताए । प्रधानमन्त्रीले भने, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन भन्ने कुरा गम्भीर रूपमा सोच्दै आएको थिएँ। तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो। मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ। त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ। यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ।’’ देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘‘पार्टीमा आवद्ध हुने स्वतन्त्रता सबैलाई छ। तर, अब कुन पार्टी भनेर नहेरौँ। जो सक्षम छ, इमानदार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो। राम्रो हेरौँ, मेरिट हेरौँ। यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ। यसमा म पूर्ण प्रतिवद्ध छु।’’ भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री प्रचण्डको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैमा महत्वपूर्ण कुरा रहेको बताए । उनले भने, ‘‘प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ। यो आफैमा राम्रो नजिर हो। यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ। यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ। यसका सकारात्मक परिणाम आउँदै जानेछन्। हामी खुसी छौँ। तपाईलाई हार्दिक धन्यवाद छ।’’ छलफलमा माथेमाले सबै राजनीतिक दलहरू एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए । सार्वजनिक रूपमा अहस्तक्षेपको संकल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उनले शैक्षिक–प्राज्ञिक संस्थाहरूको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने संकल्प एवं प्रतिवद्धता राजनीतिक दलहरूको तर्फबाट आउनुपर्ने बताए । प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिवद्धता व्यक्त गर्न अनुरोध गर्नेहरूमा डा. गौरीशंकरलाल दास, डा. गोविन्द पोखरेल, डा. सन्दुक रूइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असीम ढकाल, डा. भगवान कोइराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बास्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमा लगायत ६६ जना प्राज्ञिकहरू रहेका छन् ।

विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको अवसरमा विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउनका आह्वान गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डद्धारा जारी आह्वानमा भनिएको छ, -'गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न सफल भएका छौँ। शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका छन्। यो महत्वपूर्ण प्रबन्धका निम्ति नेपाल सरकारको तर्फबाट सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै पाठ्यपुस्तकको बितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आम नागरिकमा हार्दिक अनुरोध गर्दछु।' प्रधानमन्त्री प्रचण्डले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको बताउदै यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने बताएका छन् ।  आह्वानमा प्रधानमन्त्रीले भनेका छन्,यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ। सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको छ। विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामर्थ्यले भ्याएसम्म लगानी गर्दै आएका छन् । यी प्रयासहरूलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन हाम्रा सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा लिएको छु ।’ गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न सफल भएको उनले बताए । शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको उल्लेख गरेका छन् । २०८१ को शुभारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वास समेत गरेका छन् । यस वर्ष ‘‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’’ भन्ने नाराका साथ नयाँ वर्ष विक्रम संवत् २०८१ को सुरूवात्सँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको छ।  यस्तो प्रधानमन्त्री प्रचण्डको आह्वान 

राष्ट्रिय दुग्ध विकास बोर्डले माग्यो कार्यकारी निर्देशक, दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ ।  बोर्डले शनिबार जारी गरेको सूचनाअनुसार खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो ।  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।  

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । तत्कालीन सरकारले २०७४ मा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो ।  चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याको समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन गरिनेछ । राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो । शिक्षा मन्त्रालयले आयोगको सुझावअनुसार कार्यान्वयन प्रक्रिया सुरु हुने जनाएको छ । यस्तो छ प्रतिवेदन  

ईपीएस भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्ये ६ हजार ३२१ जना उत्तीर्ण

काठमाडौं । पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा उत्पादनमुलकतर्फ सहभागी ४० हजार ५८० मध्येबाट ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्। वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उत्तीर्ण भएकाहरूले अब सीप परीक्षा दिनु पर्नेछ। ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ।उनीहरुको सिप परिक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म तय गरेको छ । उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ। त्यस्तै तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ।