वास्तवमा को हुन् त फेसबुकका चर्चित शेरे ?

असोज ३ । हिजोआज सामाजिक सञ्जालमा सबैभन्दा बढी प्रचलित साइट भनेको फेसबुक रहेको छ । जसको हातमा पनि सजिलै देख्न सकिन्छ ।

त्यही फेसबुकमा हरेक पटक देखिने एउटा पात्र अर्थात (ब्ल्याक एण्ड ह्वाईट स्केच) निकै चर्चित छन् ति हुन् शेरे जसलाई नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले शेरे नाम दिएर ट्रोल बनाउने तथा हास्यब्यंगमा खुवै प्रयोग गर्ने गरेको पाईन्छ ।

वास्तवमा को हुन् शेरे या यो कसको चित्र हो यो धेरैलाई थाहा नहुन सक्छ, यो तस्वीर चर्चित चिनिया बास्केटबल खेलाडी याओ मिङको हो ।

सन् २००२ देखी १८ बर्षको उमेर देखी बास्केटबल खेल्न शुरु गरेका मिङ सन् २००९ मे मा एक प्रतियोगितामा खेल समपन्न भएपछि यस्तो मुख बनाई हाँसेका थिए जसलाई तत्कालै एक चित्रकारले सेतो स्केच बनाई ब्यङग्यको रुपमा प्रयोग गर्ने निर्णय गरि सामाजिक संजालमा पोस्ट गरेका थिए त्यसपछि यो स्केच सर्वत्र फेसबुकमा भाईरल बन्यो ।

सोनी ब्राभिया ओएलईडी टीभी र लेटेष्ट ब्राभिया टीभीहरु सार्वजनिक

काठमाडौं, भदौ १६ । विश्वपरिचित ब्राण्ड सोनीको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंक प्रालिले नयाँ फोरके एचडीआर (हाई डायनामिक रेन्ज) ओएलईडी टीभी, फोरके एचडीआर टीभी, पूर्ण एचडी टीभी र एक्स्ट्रा प्रोटेक्शन टीभी लाइनअप सार्वजनिक गर्ने घोषणा गरेको छ । सोनीले फोरके एचडीआर ओएलइडी टीभीलाई ‘ब्राभिया ओएलईडी’का रुपमा सार्वजनिक गरेको हो । यो टीभीले उत्कृष्ट दृष्य सम्प्रेषण गुणस्तर प्रदर्शन गर्नुका साथै ठूला आकारका टीभीमै पहिलो पटक उपलब्ध गरिएको एक्सवान एक्स्ट्रिम साउण्ड सिष्टम पनि उपलब्ध रहेको छ । यसमा रहेको ८० लाख सेल्फ ईल्लुमिनेटिङ पिक्सेलले अभूतपूर्व कालो, प्राकृतिक रंग, धमिलो रहित तस्विर र वाइड भ्यूविङ एंगलको मज्जा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । ब्राभिया ओएलइडीमा एकोस्टिक सर्फेस प्रविधिको सुविधा पनि उपलब्ध छ । यसले प्रयोगकर्तालाई स्क्रिनबाटै आवाज आइरहेको अनुभव दिनुका साथै दृष्य र आवाजको उत्कृष्ट समायोजनको मज्जाका लिन सघाव पु¥याउँछ । सोनी ब्राभिया ओएलईडी टीभी सार्वजनिक गर्न आयोजित कार्यक्रम मार्फत नै नेपाली उपभोक्ताको मागको उचित सम्बोधन गर्ने सोचका साथ कम्पनीले सोनीको २०१७ लाइनअप अन्तर्गतका ब्राभिया टीभीपनि सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यी टीभीले पनि उपभोक्तालाई क्रिस्टल क्लियर गुणस्तर सहित दृष्यको मज्जा लिने अवसर प्रदान गर्छ । कम्पनीद्वारा प्रदर्शित फोरके एचडीआर टीभीमा फोरके एचडीआर प्रोशेसर एक्सवानपनि उपलब्ध गरिएको छ । यसमा उपलब्ध अब्जेक्ट बेस्ड एचडीआर रिमास्टर र सुपर विट म्यापिङ फोरके एचडीआर प्रविधिले थप डेप्थ, टेक्चर र प्राकृतिक रंग सम्प्रेषण गर्ने कम्पनीले जानकारी दिएको छ । साथै, टीभीमा रहेको एक्स–टेन्डेड डायनामिक रेञ्ज प्रोले एचडीआर र नन् एचडीआर कन्टेण्टलाई ब्याकलाइट धमिल्याएर टीभीको हरेक कोणमा उत्कृष्ट दृष्य सम्प्रेषणमा सघाउँछ । कम्पनीद्वारा प्रदर्शित २०१७ लाइनअपमा ट्रिल्युमिनोस डिस्प्लेको माध्यमबाट जीवन्त रंगको सटिक सम्प्रेषणका लागि डिजाइन गरिएका छन् । साथै, यी टीभीमा एक्स–रियालिटी प्रो सुविधापनि उपलब्ध गरिएको छ । टीभी ब्रोडकास्ट, डीभीडी, ब्ल्यू–रे डिस्क, ईन्टरनेट भिडियो तथा डिजिटल फोटोलाई जिवन्तता प्रदान गर्न यिनमा सोनीको पृथक अल्गोरिदम डाटाबेसको प्रयोग गरिएको छ । एण्ड्रोइड टीभीले चलचित्र, संगित, तस्विर, गेम्स, सर्च, एप्स लगायतको संसार नियाल्न प्रयोगकर्तालाई सघाउँछ । त्यसैगरी, एक्स्ट्रा प्रोटेक्सन सिरिजमा डायनामिक कन्ट्रास्ट ईन्ह्यान्सरका साथै क्लियर रिजोल्यूशन ईन्हेन्सरको समेत प्रयोग गरिएको छ । साथै, ब्राभियाका टीभीलाई धुलो, चट्याङ, विद्युतिय झट्का तथा आद्र्रताबाट समेत सुरक्षा प्रदान गर्छ । ब्राभियाका टीभीमा रहेका पृथक ईमेज प्रोशेसर र डिस्प्ले डिभाइस प्रविधिले फोरके एचडीआर कन्टेण्टको उत्कृष्ट उपयोग गर्ने कम्पनीको दावी छ । नेपा हिमा ट्रेड लिंक प्रालिले नेपाली घर परिवारलाई सोनी केन्द्र तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सोनी अनुभव प्रदान गरिरहेको छ । कम्पनीले कान्तिपथ, जावलाखेल र लाबिम मल लगायत प्रिमियम बजारमा समेत सोनी केन्द्र स्थापना गरिसकेको छ ।

टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने

काठमाडौँ, भदौ १५ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिप्रेड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा रु ५० को ‘टक भ्यालु’ सहितको प्रिपे्रड सिम वितरण भइरहेको कम्पनीले जनाएको छ । टेलिकमकाअनुसार सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधासहितको सिम निःशुल्क वितरण भइरहेको छ । बाढी प्रभावित क्षेत्रका टेलिकमका ग्राहकले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन दिए सो को सट्टा अर्को सिम कार्ड टेलिकमले निःशुल्क उपलब्ध गराउने छ । यो सुविधा यही भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मानवीय गुण भएको सेक्स डल

बेइजिङ, भदौ १५ । चिनियाँ कम्पनीले मानवीय स्वभाव भएका सेक्स डल निर्माण गरेका छन् । जसले रिसाउँदा पनि गीत गाउने तथा हँसाउने गर्छन् । चिनियाँ दुई कम्पनीहरू डल स्विट डल र एक्स डल नामक कम्पनीहरूले यस्ता प्रकारका सेक्स डलहरूको निर्माण गरेका छन् । निर्माण पक्षले स्मार्ट फोनको सहायताले त्यस्ता डलहरूले रिसाएको समयमा समेत हँसाउदै गीत गाउँदै सन्तुष्टि दिन सक्ने दाबी गरेको छ। हाल यस्ता डलहरू चिनियाँ भाषामा मात्रै उपलब्ध हुने भएतापनि यसको विस्तार अन्तर्राष्ट्रिय स्तरमा समेत गरिने निर्माण पक्षले बताएको छ। यस्ता डलहरू अंग्रेजी तथा जापानी भाषामा विश्व बजारमा उपलब्ध गराइने निर्माण पक्षले बताएको छ। यस्ता डलहरूको मूल्य ४५ सय यूरो पर्ने यसको आधिकारिक निर्माण कम्पनीले बताएको छ । यस्ता डलहरू महिला तथा पुरूष दुवैका लागि उपलब्ध हुने छन्। एजेन्सी

शुरू भयो इम्बोस्ड नम्बर प्लेट

ललितपुर, भदौ १४ । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा बुधबार आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी साधनमा जडान गरिने नयाँ प्रविधिको उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेटले सवारी साधनको सुरक्षा मजबूत हुने बताए । नम्बर प्लेटसँगै सवारी साधनमा राखिने रेडियो फ्रिक्वेन्सी आइडेन्टीफाइ डिभाइस (आरएफआइडी) स्टिकरले गाडीको बारेमा सम्पूर्ण जानकारी पाउन सकिने उनको भनाइ छ । आरएफआइडी स्टिकरमा जडान गरिएको एन्टेनाले सवारी साधन कहाँ र कति दुरीमा पुगेको छ भन्ने जानकारी थाहा पाउन सकिने उनले बताए । उनका अनुसार आगामी पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने लक्ष्य रहेको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनाका प्रमुख वसन्त अधिकारीका अनुसार इम्बोस्ड नम्बर प्लेटका कारण सवारी साधनको चोरी न्युन हुनेछ । उनका अनुसार हाल सरकारी, संस्थान र निजी सवारी साधनमा यो व्यवस्था लागु गरिएको छ । रासस

सामसुङका उपाध्यक्षलाई पाँच वर्ष जेल

भदौ ९ । दक्षिण कोरियाको एउटा अदालतले प्रविधि संसार‍को विशाल कम्पनी सामसुङका उपाध्यक्ष जे यङ लीलाई पाँच वर्षको जेल सजायको फैसला सुनाएको छ । लीले घुस खुवाएको ठहर गर्दै उनलाई जेल सजाय सुनाएको वीवीसीले जनाएको छ । दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी मानिने लीले पूर्व राष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको अदालतले ठहर गरेको छ । सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप थियो । दक्षिण कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार लीले ५० लाख डलर अनियमितता गरेको अदालतले ठहर गरेको छ। सामसुङका अरु दुईजना कार्यकारीलाई अदालतले चार÷चार वर्षको जेल सजाय सुनाएको छ । उक्त घुसकाण्डलाई लिएर पूर्व राष्ट्रपति हेमाथि महाभियोग लगाइयो ।

एसएमएसले बचायो ३२ परिवारको ज्यान

झापा, भदौ ६ । गतहप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँ पसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए । दुई जना अझै बेपत्ता छन् । झापामा बाढीका कारण १३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाका रहेका छन् । झापा गाउँपालिकामा मात्रै बाढीकै कारण सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पनि झापा गाउँँपालिका नै हो । माई र सानो माईको भङ्गालो गाउँ पसेपछि सिङ्गो झापा गाउँपालिका तीन दिन डुब्यो । गाउँपालिकाको ७ नम्बर वडा टप्पु गाउँ सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो । सोही गाउँ नजिकैका टेकबहादुर दर्नालकी श्रीमती कमला र छोरी खुशीले बाढीका कारण ज्यान गुमाए । सानो माईको नजिकै घर थियो उनीहरुको । तर, सोही गाउँका ३२ परिवारका एक सय ५० जनाले भने एसएमएसका कारण ज्यान जोगाएका छन् । कनकाई नदीमा बाढी आउने सूचना दुई घण्टा अघि एसएमएसबाट थाहा पाएपछि सो गाउँका ७८ महिला र ७२ जना पुरुषले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको स्थानीयवासी तथा खोज तथा उद्धार कार्यदलका सदस्य सुनिल हस्दाले बताए । युएसआइडीको आर्थिक सहयोग, प्राक्टिकल एक्सनको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको कनकाई बाढी पूर्व सूचना प्रणालीमार्फत बाढी आउने सूचना मोबाइलमा एसएमएस आएपछि टप्पुवासीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए । सो क्षेत्रमा तीन वर्षअघिदेखि कनकाई बाढी पूर्व सूचनासम्बन्धी काम नेपाल रेडक्रस सोसाइटी झापाले गर्दै आएको छ । सानो माई पश्चिमको गाउँ हो टप्पु । टप्पु गाउँमा पश्चिमबाट माई र पूर्वबाट सानो माईको भङ्गालो पसेपछि त्यहाँका ३२ परिवार तीन दिनसम्म डुवानमा परे । त्यो गाउँमा उद्धारका लागि न नेपाली सेनाको टोली पुग्न सक्यो न त त्यहाँ अरु कुनै निकायको उद्धार टोली नै पुग्यो । उद्धारका लागि खटिएको नेपाली सेना र प्रहरीको टोली बीचबाटोबाटै फर्किएपछि स्थानीयवासी आफैंले कोलाको थम्बाको सहारामा सानो माई पार गर्दै तीन दिनपछि सिमलवाडी पुगेर आश्रय लिएको स्थानीयवासी हस्दाले बताए । कनकाई माईको मैनाचुलीमा राखिएको बाढी पूर्व सूचना प्रणालीबाट बाढी आउनुभन्दा दुई घण्टा पूर्व नै बाढी आउने सूचना थाहा पाएर ज्यान जोगाउन पाएकामा विपद्मा पनि खुशी छन् उनीहरु । सन्थाल समुदायको बाहुल्य रहेका त्यहाँका बासिन्दा बाढी आउने विषयमा पूर्व सूचना प्रणालीका कारण बाँचेको बताउँछन् । तर, नेपाल रेडक्रस सोसाइटी झापाले समुदायमा पुगेर गठन गरेको सामुदायिक विपद् व्यवस्थापन समितिमा नरहेका दर्नाल परिवारको भने उठिवास भयो । सिमलवाडी र टप्पु जोड्ने सडकखण्ड बीच सानो माई खोलाको छेउमा घर बनाएर बसेका टेकवहादुरको न घर रह्यो न श्रीमती र छोरी नै रहे । मेचीनगर–१२ स्थित भाइ ९फुपूका छोरा० सरमान बराइलीको घरमा उहाँ अहिले श्रीमती र छोरीको काज किरियामा बस्नुभएको छ । उहाँसँगै जेठी श्रीमतीपट्टिकी साइँली छोरी पनि किरिया बसेका छन् । झापा गाउँपालिका–७ का पूर्व सूचना कार्यदलका संयोजक विकाश टुडूका अनुसार सामुदायिक विपद् व्यवस्थापन समिति ९सिडिएमसी० मा आबद्ध गाउँका ३२ घर परिवारले बाढी आउँदा कसरी बच्ने भन्ने विषयमा जानकारी लिएका थिए । तर, दर्नाल परिवार भर्खरै मात्र पहाडबाट बसार्इँ सरेर आएकाले बाढीबाट कसरी बच्ने भन्ने विषयको ज्ञान नभएका कारण अत्तालिएर भाग्दा ज्यान गुमाउनु परेको स्थानीयवासी बताउँछन् । “बाढीबाट कसरी बच्ने भन्ने विषयमा जानकारी नभएको भए टप्पु गाउँका हामी कोही पनि ज्यूँदो भेटिने थिएनौं” – खोज तथा उद्धार कार्यदलका सदस्य आकृति टुडूले भने । पूर्व सूचना प्रणालीकै कारण गर्भवती महिलाको उद्धार गर्न पाएका कारण सुनिल पीडामा पनि खुशी हुनुहुन्छ् । उहाँ आफ्नो पीडा भुलेर भन्छन् – “कनकाई माईमा पानीको सतह बढेर सतह नाध्न थालेपछि हामीले कसैलाई भाग्न दिएनौं । कोही भाग्न नपाएका कारण गर्भवती महिला, वद्धवृद्धा र बालबालिका सबैको ज्यान बच्यो ।” हस्दाले भने – ‘तालिमपछि हामीले ट्युब, लाइफ ज्याकेट, टायर लगायतका सामग्री राखेका थियौं, त्यतिले नपुगेपछि हामीले कोलाको थम्बा प्रयोग गरेर पनि टप्पुवासीको उद्धार गर्न पाएकामा खुशी छु ।’ टप्पुवासीले बाढी आउने सूचना पाएपछि उनीहरुले पनि खतराको साइरन बजाएका थिए । बाढी आएलगत्तै मोबाइल सम्पर्क टुटेका कारण उनीहरुले घर–घरमा पुगेर बाढी आउने भन्दै सबैलाई खबर गरेका थिए । “मोबाइल सम्पर्क विच्छेद नभएको भए आफूहरुलाई जिल्लामा रहेको सूचना सञ्जाल र मैनाचुली स्टेशनबाट पनि टेलिफोन आउने थियो” – स्थानीय गोपाल थपलियाले भने । टप्पुवासीको पहिलो आवश्यकता स्वास्थ्योपचार बाढीका कारण टप्पुवासीले पालेका धेरै पशुचौपाया मरेका कारण टप्पु लगायत झापा गाउँपालिकाका धेरै स्थानमा यतिबेला दुर्गन्ध फैलिएको छ । धेरै पशुचौपायालाई बाढीले बगाएर मरेपछि जताततै दुर्गन्ध फैंलिएसँगै सरुवा रोगको खतरा बढेको स्थानीय तर्सला टुडूले बताए । उनले भने “यहाँको पहिलो आवश्यकता भनेको औषधि उपचार हो । बाढीबाट जसोतसो ज्यान जोगायौं । अब रोग लाग्यो भने चाहीँ के गर्ने रु न बस्ने घर छ न सुत्ने ओच्छ्यान नै ।” बाढी आउने सूचना आफूहरुले दुई घण्टा अघि नै थाहा पाएपनि मुसलधारे बर्षाका कारण अन्नपात र घरमा रहेको अन्य सामग्रीलाई सुरक्षित गर्न नसकिएको उनको भनाइ थियो । आपत्कालीन अवस्थाका लागि त्यहाँका सर्वसाधरणले प्रत्येक महिना प्रतिपरिवार २०÷२० रुपैयाँ बचत गरेको रकमले दुई दिनसम्म प्राण धानेको कार्यदलकै तुर्सला बताउँछन् । इलामको माई नगरपालिकास्थित मैनाचुलीमा १९७१ सालमा स्थापना भएको जलमापन केन्द्र गत साता माई खोलामा आएको बाढीले बगाएको छ । बाढी आउनुभन्दा ५ घण्टा अघिसम्मको सूचना दिनसक्ने जलमापन केन्द्र बगाएपछि अहिले अझ बढी चिन्तित छन् त्यस क्षेत्रका सर्वसाधारण ।झापा गाउँपालिका–७ निवासी आकृति टुडू भन्छन् – “जलमापन केन्द्र भएन भने हामी टप्पुवासी मात्र होइन आसपासका बासिन्दाले पनि बसाइँ सरे हुन्छ ।” झापासहित इलामको माई र देउमाई नगरपालिका तथा माङ्सेवुङ गाउँपालिकामा बाढी पूर्व सूचना प्रणाली सञ्चालनमा रहेको वरिष्ठ परियोजना अधिकृत राकेशकुमार साहले बताए । उनका अनुसार झापामा मात्रै १० हजार एक सय ४५ जना मानिसले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । झापामा १५ वटा र इलाममा १० वटा समुदायमा यो परियोजना सञ्चालनमा रहेको छ ।वर्षेनी कनकाई नदीमा आउने बाढीले झापावासीलाई दुःख दिने गरेपछि उनीहरुले कनकाई नदीमा तटबन्धन गर्न माग गरेका छन् । दुई मुठ्ठी चामल र एउटा त्रिपालले आफूहरुको समस्या समाधान नहुने भन्दै दीर्घकालीन सोचका साथ कनकाई नदीमा बाँध बाँध्न उनीहरुले सरकारसँग माग गरेका छन् ।

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर

काठमाडौं, साउन १८ । एनसेलका ग्राहकमा निकै लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेल प्रा. लिले सापटी सेवा सफलतापूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ जस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् । सापटीको यो नयाँ योजना यही बुधबार (साउन १८) देखि लागू हुनेछ । सापटी सेवाअन्तर्गतको रकममा वृद्धि गरी दोब्बर बनाइए पनि ग्राहकले पुरानै सेवा शुल्क रु २ (कर बाहेक) मा यो सेवाबाट लाभ लिन सक्नेछन् । आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भई अफ्ठ्यारो परेको अवस्थामा ग्राहकलाई आवश्यक सञ्चार सेवा सुनिश्चित गर्नका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आइरहेको छ । ‘‘सापटी ग्राहकहरुले एकदमै मन पराएको सेवाहरु मध्य एक हो । त्यसैले यो सेवा संचालनको पाँच वर्ष पुरा भएको उपलक्ष्यमाआफ्ना ग्राहकका लागि सापटी सुविधा अन्तर्गत डबल सापटी योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ । यसले ग्राहकलाई थप मुल्य प्रदान गर्दै ब्यालेन्स रिचार्ज तत्काल गर्न नसकिएको अवस्थामा पनि सम्पर्कमा रहिरहन योगदान पुर्याउने विश्वास छ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । दुई महिनावा सो भन्दा बढि समयदेखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने सबै ग्राहकले यो सेवाअन्तर्गत सापटी लिन सक्नेछन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कलगर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् । प्रिपेड सेवाका ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार सापटी लिन सक्नेछन् । त्यसैगरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप लिइएको रु ४० र सेवा शुल्क बापतको रु २ (कर बाहेक) ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ४० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले १७१०९ डायल गरिे सापटी सेवाको बारेमा जानकारी लिन सक्नेछन् । डबल सापटी योजना ९० दिनको लागिमान्य रहनेछ । प्रिपेडग्राहकले आवश्यकताअनुसार आफ्नो मेन ब्यालेन्स रु ५ वा सो भन्दाकम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । पुनः सापटी सुविधा लिन पहिलेको सापटी चुक्ता भएको हुनुपर्नेछ । ग्राहकले एस्ट्रिक्स ९०१ ह्यास डायल गरी सापटीको बाँकी रकमको जानकारी लिन सक्नेछन् ।

एनसेलको फोरजी सेवा अब थप १० शहरमा

काठमाडौं, साउन १७ ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिंदै यी शहरहरुमा यहि मंगलबार (साउन १७) देखि आधिकारीक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबार देखि दु्रत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको अनुभव लिन सक्नेछन् । आफ्नो सिम कार्ड अझै फोरजी सिममा परिवर्तन नगरेका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् । ‘‘थप १० शहरमा एनसेलको फोरजी सेवा विस्तार भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छु । फोरजी सेवालाई द्रुत गतिमा विस्तार गर्दै धेरै भन्दा धेरै ग्राहकलाई नयाँ प्रविधि तथा अवसरको लाभ प्रदान गर्न एनसेल प्रतिबद्घ छ भन्ने स्पष्ट उदाहरण हो । १० वटा शहरमा भएको यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा अब १५.०६ प्रतिशत जनसंख्यामा पुगेको छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध छ । पछिल्लो सेवा विस्तार सँगै एनसेलको फोरजी सेवा देशका विभिन्न भागमा रहेका १७ शहरमा पुगेको छ । साथै थप १० वटा शहरमा एकै साथ फोरजी सेवा सञ्चालनमा आएको अवसरमा एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु पनि छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने बारेमा जानकारी लिन सक्नेछन् । फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै ग्राहकलाई दु्रत गतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजीटल नेपाल निर्माणमा योगदान पुर्याउने आफ्नो लक्ष्य अनुरुप हामी देशका विभिन्न भागमा क्रमशः फोरजी÷एलटिई सेवाको पहुँच बढाउदै जानेछौं,’’ शर्माले भने । फोरजी÷एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् । एनसेलका ग्राहकले आफ्नो आवश्यकता बमोजिम रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरी आकर्षक डेटा, टक टाइम र एसएमएसको मजा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न आर्कषक डेटा प्याक लिन पनि सक्छन् ।  

अब देशैभर फोरजी

काठमाडौं, साउन १७ । नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फेरजी) सेवा देशैभर पुर्याउने गरी कार्ययोजना तयार पारेको छ । द्रुत गतिको मोबाइल इन्टरनेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्याउने गरी कार्ययोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।  

अब घरैबाट चेक डिपोजिट

एजेन्सी । अब घरैबाट आफ्नो बैंक खातामा चेक डिपोजित गर्न सक्ने प्रविधिको विकास भएको छ । बेलायतमा भर्खेरै विकास गरीएको प्रविधिको प्रयोग गरी घरै बसेर स्मार्टफोनबाटै बैंकमा चेक डिपोजिट हुने भएको हो । स्मार्टफोनबाट चेकको फोटो बैकमा पठाएर चेक डिपोजिट गर्न सकिने भएको बताइएको छ । योसंगै अब बैकसम्म जानुपर्ने झण्झटबाट धेरै मानिसहरुले मुक्ति पाउने भएका छन । प्रविधीको विकासले मानिसको जीवनशैली दिनप्रतिदिन सहज र सुलभ बनाइरहेको समयमा अब प्रविधिकै कारण चेक डिपोजिट गर्नका लागी बैक समेत जान नपर्ने भएको हो । बिबिसीले बताए अनुसार सरकारले यस विषयमा अध्यया सुरू गरिसकेको छ । यदी यो व्यवस्था लागू भए चेक क्लियर हुनका लागी समय पनि थोरै लाग्ने निश्चित छ ।

अब सिमकार्डमा निगरानी !

काठमाडौं, असार १९ । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सिमकार्ड प्रयोगलाई नियमन गर्ने प्रकृया शुरु गरेको छ । प्राधिकरणले नेपालमा मोबाइल सेवा प्रदान गरिरहेका दूरसंचार कम्पनीका सिमकार्डहरुको सूचनालाई डिजिटाइजेसन गर्ने उदेश्यले नयाँ निर्देशिका ल्याउने तयारी गरेको हो । यसको लागि प्राधिकरणका सह निर्देशक मिनप्रसाद अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यटोली गठन भएको छ । संयोजक तथा प्राधिकरणका प्रवक्ता अर्यालले मोबाइल सिमकार्ड प्रयोगलाई नियमन गर्न कानूनी आधार तयार पार्न अध्ययन गरिने जानकारी दिए । कार्यटोलीले सिमकार्डको डिजिटाइजेशन, अपरेटरको भूमिका र सिमकार्ड लिँदा लिईने फिंगरप्रिन्टलगायतको बारेमा अध्ययन गर्ने प्रवक्ता अर्यालले बताए ।

रिपिटर टावर जडानसँगै मोवाइल लिनेको संख्या बढ्यो

रसुवा, असार ११ । प्रत्येक नागरिकलाई सञ्चारको पहुँच पुर्याउने सरकारको नीतिअनुरुप नेपाल टेलिकमले जिल्लाका विभिन्न ठाउँमा रिपिटर टावर जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकम रसुवा शाखाका प्रमुख जनक डाँगीका अनुसार धुन्चे, टिमुरेको खैदी, गोल्जुङ भन्ज्याङ, ठाडे जिवजिवे क्षेत्रमा मोबाइल सेवाका लागि रिपिटर टावर जडान भइसकेको र दुर्गम क्षेत्र यार्सा र डाँडागाउँ ठूलोगाउँका लागि कालिका स्थानमा रिपिटर टावर सञ्चालनमा ल्याइने भएको छ । ठाउँठाउँमा रिपिटर टावर जडान भएका कारण २० हजार रसुवालीले मोबाइल सेवा लिइसकेको नगारिक समाजको अनुमान छ । राष्ट्रिय जनगणनाका आधारमा यहाँको जनसङ्ख्या ४३ हजार छ । गाउँपालिका, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने कार्य पनि अगाडि बढाइएको टेलिकमका प्रमुख डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार अप्टिकल फाइबरको व्यवस्था भने धुन्चे सदरमुकामसम्म भइसकेको छ । यस्तै ल्यण्ड लाइन फोन नेपाल–चीनको अन्तर्राष्ट्रिय क्षेत्र टिमुरे सिमाना स्याफ्रुबेसी, धुन्चे, कालिकास्थान र जिवजिवे गरी मुख्य पाँच स्थानमा ९६४ थान उपलब्ध गारइएकामा ३५० वटामा इन्टरनेटकोे सुविधासमेत उपलब्ध गराइएको र यसबाट रु ६० लाख शुल्क उठ्ने गरेको नेपाल टेलिकमले जनाएको छ । सञ्चार सुबिधाले दूरदराजका ग्रामीण बासीमा उमङ्ग छाएको स्थानीय पण्डित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

एनसेल डेटा बण्डलिङ्ग सहित हुवावे पि टेन प्लस बजारमा

काठमाडौं, असार १०।  एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन  नेपाली बजारमा सार्वजनिक गरेको छ । विश्व प्रसिद्घ क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस् दिंदै फोटोलाई अझै राम्रो बनाउँछ । नवीन प्रविधिको नमुनाको रुपमा यसमा हुवावे सुपरचार्ज जस्ता विषेशता रहेका छन् जसले पि टेन प्लसलाई सबै भन्दा एडभान्स फोटोग्राफी स्मार्टफोन बनाएको छ । एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क पाउँनेछन् । यो सहकार्यले ग्राहकलाई विषेश लाभ सुनिश्चित गर्दै उनीहरुलाई उत्कृष्ट डेटा सेवाको अनुभव प्रदान गर्ने विश्वास एनसेल र हुवावेले लिइएको छ । नेपालको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग सहकार्य गरी आफ्नो अत्याधुनिक स्मार्टफोन किन्ने ग्राहकलाई निःशुल्क एनसेलको डेटाका प्रदान गर्न पाएकोमा आफु खुसि रहेको हुवावे टेक्नोलोजिज्ले बताएको छ । हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बिमा, काठमाडौंमा डोर टु डोर र भिआइपी टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विषेश सुविधाहरु प्रदान गरेको छ । बण्डलिङ्ग अन्तर्गतको डेटाको सेवाको मजा लिन हुवावे पि टेन प्लस ग्राहकले उतm मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ । त्यस पश्चात ग्राहकले अफर अन्तर्गतको डेटा पाउने र फोरजी लगायतको दु्रत गतिको इन्टरनेट सेवाको मजा लिदै आफ्ना कार्यहरु उच्च गतिमा गर्न सक्नेछन् । एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका, नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुचारु गरिसकेको छ । साथै, कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिई कार्य गरिरहेको । कम्पनीले आफ्नो ‘इन्टरनेट सबैका लागि’ थिम अन्र्तगत ग्रामिण र दुर्गम क्षेत्रमा रहेका ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्नका लागि थ्रिजी नेटवर्कको विस्तार पनि गर्दैछ । ‘‘हामीले मोबाइल ब्रोडब्याण्डमा ग्राहकको पहुँच बढाउदै डिजिटल नेपाल निर्माणको परिकल्पनालाई साकार बनाउन योगदान पुर्याउने प्रतिबद्घता बमोजिम अबको ६ महिनामा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा उपलब्ध हुने गरी फोरजी नेटवर्कको विस्तार गर्दैछौ र थ्रिजी सेवाको पहुँच पनि एक वर्षमा दोब्बर बनाउदै कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउँदै छौं । मोबाइल ब्रोडव्याण्ड र ग्राहक अनुभवमा मोबाइल डिभाइसले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ किनकी डिभाइसको माध्यमबाट ग्राहकले विविध सेवा तथा अवसरहरु उपयोग गरी लाभ लिने हो । त्यसैले नविन विषेशता र क्षमता भएका स्मार्टफोनहरुमा पहुँच हुनु महत्वपुर्ण हुन्छ । हुवावेसँग सहकार्य गर्दै ग्राहकका लागि आफ्नो डेटा सेवा उपलब्ध गराउदा हामी हर्षित छौं । यसले ग्राहकलाई थप मूल्य तथा विभिन्न अवसरहरुको लाभ प्रदान गर्ने विश्वास छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । पि टेन प्लस मोडल अन्र्तगतका स्माटफोन ६४ जिबि आन्तरिक मेमोरी रहेको छ भने यी आकर्षक सुनौलो, कालो र चाँदीको रङ्गमा उपलब्ध छन् । एनसेलको १० जिबि डेटा, विषेश डिजाइन रहेको पि टेन प्लस क्यामेरा लेन्स किट, डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा, सिटिसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टा भित्र प्रदान गरिने बिक्रि पछिको भिआईपि सेवा र घर(घर गई हुवावेका प्रतिनिधीहरुले प्रदान गर्ने विक्री पछिको सेवा सुविधाले पि टेनलाई अझ विशेष बनाएको छ । पि टेन प्लस स्मार्टफोनमा स्टुडियोको जस्तो रि(लाइटिङ्, राम्रा फोटो निकाल्नका निमित्त थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स(साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम, दु्रतगतिमा पावर चार्ज लगायतका विशेषताहरु रहेका छन् । हुवावेले पि टेन प्लसका साथ साथै नेपाली बजारलाई लक्षित गर्दै अन्य विभिन्न मोवाइल सेटहरु पनि सार्वजनिक गरेको छ । हुवावेले आफ्नो वाई सिरिज अन्र्तगत नवआगन्तुक स्मार्टफोन ग्राहक देखि युवाको चाहनालाई ध्यानमा राख्दै नयाँ स्मार्टफोनहरु भित्राएको छ । हुवावेले २०१७ सिरिजको नयाँ पुनरावृत्ति अन्तर्गत वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट ल्याएको छ । साथै युवा वर्गलाई लक्षित गर्दै वाई सेभेन प्राइम ल्याएको छ जुन् स्मार्टफोन २०१६ मा ल्याइएको र एकदमै रुचाइएको वाई सिक्स मोडलको नयाँ संस्करण हो ।

कृषकलाई मोबाइल वितरण

पोखरा, असार ६ । जिल्ला कृषि विकास कार्यालय, कास्कीले कृषकलाई ४३ थान मोबाइल, वर्षा मापन यन्त्र र थर्मोमिटर वितरण गरेको छ । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत कार्यालयले जिल्लास्थित छ वटा सेवा केन्द्रभित्रका २६ कृषक समूह सहकारी र १७ पशु फार्मका लागि ४३ सेट मोबाइल, वर्षा मापनयन्त्र र थर्मोमिटर वितरण गरेको हो । कार्यालयका बाली संरक्षण अधिकृत स्तुती आचार्यका अनुसार कृषि सम्बन्धी अधिकांश समस्याको समाधान गर्ने उद्देश्यका साथ ती सामग्री प्रदान गरिएको हो । सामग्री वितरणले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने विश्वास लिइएको छ । रासस

मौलिक नेपाली खेल बाघचाल जस्तै आयो टाइगर ट्राप एन्ड्रोइडमा, तपाईंलाई लत लगाउने छ यसले

काठमाडौं, जेठ २० । इसानी टेक्नोलोजीले टाइगर ट्राप नामक रमाइलो मौलिक नेपाली खेलको एन्ड्रोइड एप्लिकेशन सार्बजनिक गरेको छ । लोकप्रिय परम्परागत नेपाली खेल बाघचालमा आधारित यो नयाँ एप्लिकेसन अत्यन्तै रमाईलो र क्रिएटिभ छ । पराम्परागत बाघचाललाई नयाँ स्वाद र रोचकता थपेर टाइगर ट्राप गेम खेल्नु पर्ने हुन्छ । गेमको नामले बताएझै विभिन्न १५ लेभलमा रहको यो गेम जित्न गोट अर्थात बाख्राले बाघलाई ट्राप ९घेराबन्दी० मा पार्नुपर्छ । निकै चातुर्यतापूर्वक खेल्नु पर्ने यस खेलमा बाघले बाख्रालाई खानबाट जोगाउनु पर्ने हुन्छ । परम्परागत बाघचाललाई अझ रोचक ढङ्गले विभिन्न लेभलमा यस गेममा प्रस्तुत गरिएको छ । आयातकारमा मात्र नभइ त्रिभुजाकारमा पनि लेभलहरु विकास गरिएका छन् । यस खेलका मूख्य फिचरहरु १. गोट मोड, मल्टिप्लेयर मोडहरु (टु प्लेयर मोड र ब्लुटुथ मोड) गरी तीन ओटा फरक मोड, २. बढ्दो कठिनाइसहितका विभिन्न लेभलहरु ३. गेमप्लेलाई सजिलो बनाउन पावर प्लेको प्रयोग ४. फेसबुकमा अचिभमेन्ट सेयर गर्न सकिने यसमा निकै राम्रो ग्राफिक्सको प्रयोग गरिएको छ । यसका लेभल पार गर्नका लागि निकै ट्रिक र दिमाग लागाउनु पर्ने हुन्छ । यस खेलको नियम नजान्नेका लागि हिन्ट तथा हेल्प पनि दिइएको छ भने लाइफलाईन पनि राखिएको छ । यसलाई गुगलको प्ले स्टोरबाट निम्न लिंकमा क्लिक गरेर डाउनलोड गर्न सकिन्छ ।