शिक्षालाई उत्पादन र रोजगारसँग जोड्न आवश्यक छ : शिक्षा मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हाम्रो शिक्षालाई उत्पादन र रोजगारसँग जोड्नु आजको आवश्यकता भएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त सभारोहमा सहभागी छात्रछात्राहरुलाई बधाई दिँदै उनले नेपालको शैक्षिक र प्राज्ञिक पहिचानलाई विश्वसामु स्थापित गराउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘आजको प्रतिस्पर्धाको युगमा नपाली मौलिक परम्परा र ज्ञान सीपलाई विश्वसामु विकसित भएका ज्ञान सीपसँग मेल गराउँदै नेपालको शैक्षिक र प्राज्ञिक पहिचानलाई विश्वसामु परिचित र स्थापित गराउनुपर्ने भएको छ ।’

मुलुकको जेठो र ठूलो त्रिविले नेपालको उच्च शिक्षाको विकासमा प्रशंसनीय भूमिका खेलेको उल्लेख गर्दै विश्वबजारमा प्रतिस्पर्धी बनाउन समय सापेक्षा यसको सुधार गर्नुपर्ने उनले बताए ।

त्यस्तै नेपाल सरकारको तर्फबाट त्रिविको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री पौडेलले दिएका छन् । उनले भने, ‘त्रिविका शिक्षक, विद्यार्थी र कर्मचारीका प्रतिनिधिसहित सरोकार राख्ने अन्य विभिन्न पक्ष लगायत पदाधिकारीहरुसँग छलफल गरी त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि सहयोग गर्न नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मन्त्री पौडेलले समारोहमा दीक्षित भएका सबै विद्यार्थीलाई बधाई दिँदै उज्जवल भविष्यको लागि शुभकामना समेत व्यक्त गरे ।

शिक्षण संस्थाले तीन दिनभित्र यी विवरण आयोगमा पेश गर्नुपर्ने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाहरुलाई आफूले संचालन गर्ने कार्यक्रमको बारेमा तीन दिनभित्र जानकारी पेश गर्नुपर्ने भएको छ । आयोगले एक सुचना जारी गर्दै विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएका शिक्षण संस्थामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्तर्फका प्रमाण पत्र तहका कार्यक्रम हालसम्म सञ्चालन भएका भएयहि शैक्षिक सत्रदेखि विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमध्ये कसका कार्यक्रम सञ्चालन हुने र नहुने कार्यक्रम विश्वविद्यालय वा परिषदबाट स्पष्ट रुपमा खुलाएर तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि हुने

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ। परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकबाट सार्वजनिक हुने छ । बोर्डकाअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्ने गरि तयार गरिएको प्रस्तावलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ। यस पटक बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने छ भने परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ। यसअघिको बोर्ड बैठकले एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

मापदण्ड पूरा गरी विद्यालय सञ्चालन

लहान: स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका विभिन्न स्थानका सामुदायिक तथा निजी विद्यालयहरु आजबाट सञ्चालनमा आएका छन् । जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा निजी विद्यालयहरु आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन् । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका विद्यालयहरु स्थानीय तहको निर्णयअनुसार नियमित सञ्चालनमा आएका छन् । विद्यालयमै सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाएर कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएअनुसार नगर क्षेत्रका विद्यालयहरु आजबाट सञ्चालनमा आएको मिर्चैया नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति श्यामकुमार यादवले जानकारी दिए । करीब ६ महिनापछि विद्यालय सञ्चालनमा आएकाले विद्यार्थीको सङ्ख्या कम भएपनि दुई सिफ्टमा गरी नियमित पठनपाठन सञ्चालनमा ल्याइएको विद्यालयहरुले जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थावमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड तयार पारेको छ । विद्यार्थीले विद्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाएको र सामाजिक दूरी कायम गरेको हुनुपर्छ ।

भोलिदेखि मिर्चैयामा विद्यालय सञ्चालन हुने

लहान: स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार असोज ११ गतेदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन हुने भएको हो । मिर्चैया नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको जनाइएको छ । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिनुपर्ने, बन्दाबन्दी अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको सूचनामा उल्लेख छ । विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन गरिएको छ । यस्तै विद्यालयमा एउटा डेस्कमा बढीमा २ जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि भनिएको छ ।  

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन् । मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जनाए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए। कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् । सञ्चारविद् डा. निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताए । उनले सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न सुझाव दिए । आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश-२ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताए । पहुँच वृद्धि हुँदै गए पनि सिकाइको स्तर २० प्रतिशतको हाराहारीमा रहेको अध्ययनले देखाएको छ । उनले आसमान नेपालले समुदाय तहमा युवाहरुलाई स्वयंसेवी परिचालन गरेर करिब १० हजार बालबालिकालाई स्वाध्यायन सामग्री वितरण गरिएको जानकारी दिए । समाजका अध्यक्ष प्रकाश सिलवालले सञ्चारको एउटा धर्म शिक्षा पनि भएकाले वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन सूचना र सचेतनामूलक भूमिकाका लागि प्रदेश र जिल्लागत बहश गरिने जनाए ।

तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षक आन्दोलित

काठमाडौं : आफूहरूले तलब र सुविधा प्राप्त नभएको जनाउँदै निजी (संस्थागत) विद्यालय शिक्षक युनियन (इस्टु) ले १० बुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सो सङ्गठनले यही असोज ९ गतेसम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकामा पुनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एनप्याब्सनलाई स्मरणपत्र पनि बुझाउने इस्टुका अध्यक्ष होमकुमार थापाले बताए । निजी विद्यालयमा काम गर्ने शिक्षक/कर्मचारीलाई अहिलेसम्मको खाइपाई आएको तलबसुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने तथा निश्कासित शिक्षक तथा कर्मचारीलाई पुनःबहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने सङ्गठनको माग छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक÷कर्मचारीका अधिकार सुनिश्चित गरिनुपर्ने र ऐननियम र कानूनमा भएका प्रावधान अक्षरशः पालना गरिनुपर्ने बताए ।

कर्णाली प्रदेशमा विद्यालय खोल्ने तयारी

कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्नका लागि केन्द्र सरकारलाई गत जेठ र असारमा दुई पटक लिखित अनुमति मागेकामा हालसम्म कुनै निर्णय प्राप्त नभएकाले अब प्रदेश र स्थानीय तहमै निर्णय गरेर विद्यालय खोल्न लागिएको हो । मुलुकभर बन्दाबन्दी जारी गर्ने अधिकार केन्द्रको भए पनि विद्यालय तहको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी संविधानतः स्थानीय तहको भएकाले तिनले निर्णय गरेर विद्यालय खोल्न प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको हो । प्रदेशमा १० जिल्ला छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सञ्चालन गरेको भर्चुअल प्रविधिको आजको छलफलको एघारौँ शृङ्खलामा सहभागी कर्णाली प्रदेशका सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेले जोखिम नभएका माथिल्लो कर्णालीका जिल्लाका विद्यालयमा अनलाइन वा सञ्चारमाध्यमको पहुँच कम भएका क्षेत्रमा विद्यालय नखुलाइए शैक्षिक रिक्तता र क्षति बढ्ने भएकाले अब विद्यालय सञ्चालन गर्नाको विकल्प नभएको बताए । प्रदेश सरकारको सो प्रस्ताव सङ्घीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोरोना रोकथाम र व्यवस्थापन केन्द्र (सिसिएसी) मा पुगेको जनाइएको छ । प्रमुख सचिव पाण्डेले सङ्घीयता केन्द्रीयकरण र स्थानीयकरणको दोसाँधमा हुनाको स्थितिले केन्द्रले गत चैत ५ गतेको निर्णयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) रोक्दा सबैतिर प्रभावित हुनुपरेको जनाउँदै त्यतिबेला पनि आफूहरु परीक्षा र विद्यालय सञ्चालनको स्थितिमा रहेको स्पष्ट गरे । उनले स्थानीय तहले क्वारेन्टिन बनेका विद्यालयलाई निर्मलीकरण र शिक्षकको व्यवस्थापन गरी खुलाउन सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा विकास निर्देशनालयका अधिकारीलाई निर्देशन दिइएको जानकारी दिए । हिमाली जिल्लामा फागुनमा शैक्षिकसत्र शुरु भई मङ्सिरमा वार्षिक परीक्षा लिइसक्नुपर्ने भएकाले लामो समय पढाइ रोक्न नहुने प्रदेश सरकारको निष्कर्ष छ । सो प्रदेशमा दुई हजार ७१९ बाल विकास केन्द्र, तीन हजार एक सय ८७ विद्यालय र ५६ क्याम्पस तथा करीब छ लाख विद्यार्थी छन् । प्रदेशको हिमाली जिल्लामा गत फागुनमै भर्ना शुरु भई भर्ना कार्यक्रम र पाठ्यपुस्तक वितरण शुरु भइसकेको थियो । विपद् जोखिम प्रतिकार्यका लागि स्थापित नेपाल शिक्षा समूह (एजुकेशन क्लष्टर) मा कार्यरत सेभ द चिल्ड्रेनका प्रतिनिधि आत्माराम भट्टराईले प्रदेशका ४१ स्थानीय तह अर्थात् ५२ प्रतिशत कोरोनामुक्त देखिएकाले क्रमशः विद्यालय खोल्न सकिने बताए । सो प्रदेशमा इन्टरनेटमा १८ दशमलव ४० प्रतिशत बालबालिकाको मात्रै पहुँच छ । शिक्षा समूहले हालसम्म पहिचान गरेको विवरणानुसार प्रदेशमा नेपाल टेलिभिजनको पहुँचका विद्यालय नौ दशमलव ५४, स्थानीय टेलिभिजनको पहुँचका पाँच दशमलव ९१, रेडियो नेपालको पहुँचका ८३ दशमलव १९, स्थानीय एफएमको पहुँचका ७४ दशमलव १६ र कुनै पनि विद्युतीय सञ्चार साधनमा पहुँच नभएका बालबालिका नौ प्रतिशत (२० हजार ७४६) छन् । सङ्घीय सरकारले ‘वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी गत असार १ गतेदेखि वैकल्पिक विधिबाट सिकाइ निरन्तरता दिने नीति लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत जेठ १८ गते सो निर्देशिका र त्यसका लागि कार्यविधि जारी गरी असार १ देखि अनलाइन, रेडियो र टेलिभिजनबाट पठनपाठन गराउन निर्देश गरेको थियो । हाल मुलुकभरका करीब ३५ हजार विद्यालयमा ८० लाख विद्यार्थी अध्ययनरत छन् । प्रदेश, सामाजिक विकास मन्त्रालयका कामु सचिव धर्मजीत शाहीले वैकल्पिक रुपमा पठनपाठनलाई निरन्तरता दिन र विद्यालय तत्काल खोल्न स्थानीय तह र विद्यालय तहबाट सक्रियता नदेखिएको स्थितिमा प्रदेश सरकारले चाँडै आवश्यक पहल गर्ने बताए । नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष तिलक कुँवरले सुरक्षाको प्रबन्ध भएमा आफूहरु विद्यालयमा जान तत्पर रहेको स्पष्ट गरे । महासङ्घका केन्द्रीय अध्यक्ष कृष्ण थापाले विद्यालय व्यवस्थापन समितिको क्रियाशीललता बढाई शिक्षकविद्यार्थीको सुरक्षाको अनिवार्य सुनिश्चितता गरेर विद्यालय र पठापाठन सञ्चालन हुनुपर्ने बताए । महासङ्घका कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालाले सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई नै विद्यालय खोल्ने निर्णयको अधिकार दिन आग्रह गरे । महासङ्घका महासचिव गुणराज मोक्तानका अनुसार संस्थाले वैकल्पिक प्रणालीको सिकाइ निरन्तरमा देखिएका समस्या, चुनौती र सफल अभ्यासको तथ्यगत बहस गरी सहजीकरण गर्दै आएको छ । रासस

स्नातकोत्तर दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ साल माघ महिनामा सञ्चालित शिक्षाशास्त्र संकाय तर्फ एमएड दोस्रो बर्षको परीक्षाफल सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MED लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

वैशाख २६ बाट विद्यार्थी भर्ना सुरू हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका लागि विद्यार्थी भर्ना सुरू हुने बताएका छन् । ‘वैशाख २५ गतेसम्म बन्दाबन्दी कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्नेछ,’ मन्त्री पोखरेलले भने, ‘बन्दाबन्दीसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको छ । वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरू हुनेछ ।’ कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने मन्त्री पोखरेलले बताए । ‘बन्दाबन्दी कायमै रहे पनि केही खुकुलो गरिनेछ,’ उनले भने, ‘सम्बन्धित विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढाउनु पर्छ ।’ मन्त्री पोखरेलले सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको समेत बताए । ‘जनक शिक्षालाई सबै जिल्लामा पाठ्यपुस्तक पठाउन भनिएको छ,’ उनले भने, ‘त्यसैअनुसार निजी विद्यालयहरूले समेत तयारी गरेका छन् । प्याब्सन, एनप्याब्सनलगायत संगठनसित त्यसैअनुसार कुराकानी भएको छ ।’ कान्तिपुर दैनिकको अनलाइन संस्करणबाट

कोरोनाविरुद्ध सतर्कताः ५ चैतभित्र कक्षा ९ सम्मको परीक्षा सक्न सरकारको आग्रह

काठमाडौंः शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी ५ चैतभित्र सक्ने गरी सञ्चालन गर्न आग्रह गरेको छ । विश्वभर कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आवश्यक भएकाले मन्त्रालयले वार्षिक परीक्षा ५ चैतभित्र सम्पन्न गर्न आग्रह गरेको हो । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी शैक्षिक सत्र ०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सक्न सबै विद्यालयलाई भनेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना संक्रमणमा सतर्कता अपनाउनुपर्ने भएकाले सरकारले यस्तो निर्णय गरेको बताए । अहिले संक्रमण नदेखिए पनि जोखिम भएकाले त्यसबाट जोगिन, विद्यालयको भिडभाड कम गराउन मन्त्रालयले आग्रह गरेको हो । विद्यालयमा सभा, समारोह, वार्षिकोत्सवमा भेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न–नगराउन पनि सरकारले आग्रह गरेको छ । आगामी ६ चैतदेखि एसइई सञ्चालन हुँदै छ । कोरोना प्रभावित देशमा अध्ययन अनुमति बन्द मन्त्रालयले मंगलबारदेखि कोरोना भाइरसबाट अति प्रभावित र जोखिम भएका देशमा अध्ययन अनुमति दिनसमेत बन्द गरेको छ । चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटाली, इरानलगायतका कोरोना भाइरसबाट अति प्रभावित र अति जोखिममा भएका देशहरूमा अध्ययनका लागि अनुमतिपत्र नदिने भएको हो । एक महिना सार्वजनिक बिदा दिन आग्रह चिकित्सकहरूले एक महिना सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेका छन् । विद्यालय, कलेज, सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएमा धेरै मानिस आ–आफ्नो गाउँ जाने भएकाले काठमाडौं सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ । डा। अनुप बाँस्तोला संकटका वेला एक महिना बिदा दिएमा धेरै समस्या समाधान हुने बताउँछन् । टेकु भर्ना भएका आठजनामा कोरोना देखिएन कोरोना भएको आशंकामा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका आठजनामा कोरोना नेगेटिभ आएको छ । टेकुको आइसोलेसन वार्डमा पाँच र जनरल वार्डमा तीनजना भर्ना भएका थिए । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा इन्फ्लुएन्जा ए देखिएको निर्देशक डा। रुणा झाले बताइन् । एकजनाको परीक्षण रिपिट गर्नुपर्ने देखिएको छ भने अन्य पाँचजनामा कुनै संक्रमण देखिएन । रुघाखोकी लागेका र ज्वरो आएका बिरामीलाई हवाई यात्रामा रोक विश्व स्वास्थ्य संगठनले नेपाललाई कोराना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको भन्दै वायुसेवा सञ्चालक संघले रुघाखोकी र ज्वरो आएका यात्रुलाई जहाज नचढाउने निर्णय गरेको छ । संघले कोराना भाइरसको संवेदनशीलतालाई ध्यानमा राखी यात्रु तथा हवाईजहाजका चालक तथा अन्य क्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताएको छ । त्यस्तै, बुद्ध एयरले पनि छुट्टै विज्ञप्तिमार्फत रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ । टिकट रद्द गरेबापत नियमअनुसार भाडा फिर्ता गरिने कम्पनीको भनाइ छ । कोरोनाको प्रत्यक्ष प्रभाव ट्राफिक प्रहरीको मापसे परीक्षणमा कोरोना त्रासकै कारण ट्राफिक प्रहरीले सवारीचालकमा गर्दै आएको मापसे परीक्षण पुनर्विचार गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विनाब्रेथ लाइजर गरिने मापसे परीक्षण त स्थगित गरिसकिएको छ । ब्रेथ लाइजरबाट नियमित हुँदै आएको मापसे परीक्षण पनि स्थगित वा नियमित गर्ने भनेर ट्राफिक प्रहरी द्विविधामा छ । यसलाई टुंगो लगाउन ट्राफिक प्रहरीले विज्ञसँग परामर्शसमेत सुरु गरिसकेको छ । नयाँँ पत्रिकामा खबर छ ।

शिक्षकलाई मन्त्री बाँस्कोटाको आग्रहः ‘सरुवा–बढुवाका लागि नेता नगुहार्नुस्’

काभ्रेपलाञ्चोकः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षकलाई सरुवा–बढुवामा ‘घरपायक’ बनाउन नेता तथा जनप्रतिनिधि नगुहार्न आग्रह गरेका छन् । उनले आज बनेपा नगरपालिका–३ सुमारास्थित प्रभात आधारभूत विद्यालयको ३८औँ वार्षिकोत्सव तथा नवनिर्मित दुईतले छकोठे भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक सुरुवा–बढुवामा नेता तथा जनप्रतिनिधि र आफूलाईसमेत नगुहार्न आग्रह गरे । मन्त्री बाँस्कोटाले भने, ‘अब शिक्षकको समायोजनको बेला आएको छ, आफू र आफ्ना मान्छे शिक्षक भए सरुवा–बढुवामा कसैलाई भेटेर हैरान पार्ने हैन, जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनुपर्छ ।’ उनले आफ्नो मान्छे कहाँ पर्यो भनेर निगरानी गरेर नहिँड्न पनि शिक्षक युनियन, सङ्घ र सङ्गठनलाई सुझाव दिए । मन्त्री बाँस्कोटाले स्थानीय तहका जनप्रतिनिधिलाई शिक्षकको सरुवा–बढुवामा चासो नदिनसमेत आग्रह गरे । ‘शिक्षकलाई सरकारले सुविधासहित पारिश्रमिक दिएपछि समायोजनका आधारमा अभावको स्थानमा जाने र विद्यालयमा शिक्षाको स्तर बढाई असल नागरिक जन्माउनुपर्छ, यो उहाँहरुको कर्तव्य पनि हो’ उनले भने । ‘घरपायक’ मात्रै भनेर सङ्घ–सङ्गठनको नाममा आन्दोलन गरेर ‘पुल्ठो झोस्न’ नहुने उनको तर्क थियो । मन्त्री बाँस्कोटाले दुर्गम जिल्लाका विद्यार्थीले कठिनाइपूर्वक अध्ययन गरिरहेको स्मरण गर्दै सङ्घ–सङ्गठन मिलेर शिक्षकलाई शहरकेन्द्रित नबनाउन आग्रह गरे । नयाँ शिक्षा नीति आउने तर्खरमा रहेको उल्लेख गर्दै विद्यालयलाई संसार चलाउने दिमागको सर्वश्रेष्ठ प्रयोगशाला बनाउनुपर्ने उनको धारणा थियो । उनले आजै बनेपा नपा–३ वडा कार्यालय भवनको शिलान्यास गर्दै निर्माण व्यवसायीलाई तोकिएको समयमा काम नभए पैतृक सम्पत्तिबाट असुलउपर हुने र समयसीमाअघि निर्माणसम्पन्न गरे १० प्रतिशत थप्ने कानून पास गरिसकिएको बताए ।

बीएस्सी दोस्रो बर्षको नतिजा सार्वजनिक (सूचनासहित)

काठमाडौंः भुवन विश्वविद्यालयले स्नातक तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ साल श्रावण–भाद्रमा सञ्चालित ४ बर्षे बीएस्सी दोस्रो बर्षको परीक्षाफल आज सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BSC लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरी त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

८ कक्षासम्म रंगीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने

काठमाडौंः कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो । त्यसमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनजस्ता सम्बन्धित संस्थामा अनियमितता र कर्मचारीको आन्दोलनले काममा नकारात्मक असर पारेको हुन्थ्यो । राजनीतिक स्थिरता र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको व्यवस्थापन सुधारसँगै आगामी शैक्षिक सत्रका लागि आउँदो चैत मसान्तभित्र पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरण भइसक्ने भएको छ । पाठ्यपुस्तक छपाइको प्रगति अवस्था बुझ्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको मन्त्रालयको टोलीलाई केन्द्रले यस वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध हुने विश्वास दिलाएको हो । सोही लक्ष्यका साथ आवश्यक मेशिन र कागजको प्रबन्ध गरी काम भइरहेको केन्द्रको व्यवस्थापन पक्षले अवगत गराएको छ । केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा २ देखि ४ सम्मका एक करोड ७५ लाख पाँच हजार ८०० थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिएकामा हालसम्म शतप्रतिशत छपाइ गरेको छ । कक्षा ५ देखि १० सम्मका दुई करोड ७२ लाख तीन हजार ४१४ थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा हालसम्म ९७ लाख थान उत्पादन भई ४६ दशमलव प्रगति भएको छ । सरकारले माध्यमिक तहसम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने दायित्वअन्तर्गत त्यसको रकम सम्बन्धित स्थानीय तहमा निकासा गर्छ भने पाठ्यपुस्तक उत्पादन र वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र तथा निजी क्षेत्रका मुद्रणलाई जिम्मेवारी दिइएको छ । सरकारले आधारभूत तहको पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी रङ्गीन पाठ्यपुस्तक छपाइ गर्न दिएको निर्देशनबमोजिम ‘उड फ्रि’ कागजमा रङ्गीन पाठ्यपुस्तक छपाइ भइरहेको छ । केन्द्रले हाल दुई सत्रमा मेशिन सञ्चालन गरी कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक दैनिक एक लाख थानभन्दा बढी सङ्ख्यामा छपाइ गरिरहेको केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले ती कक्षाका पाठ्यपुस्तकको ‘सिआरपी’ पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त भएकाले आउँदो चैत २० गतेभित्र छपाइ सकाएर चैत मसान्तभित्र बिक्री वितरणका लागि पठाइसक्ने गरी कार्य गरिरहेको बताए । कूल रु ५० करोड अधिकृत पूँजी रहेको सो केन्द्रमा विगतमा रु दुई खर्ब संचित नोक्सानी रहेकामा गत वर्ष निर्वाचन आयोगका काम गरेपछि त्यसबापत रु साढे एघार करोड नाफा भई केही राहत मिलेको प्रबन्ध सञ्चालक तिमिल्सनाले जनाउनुभयो । गत वर्ष केन्द्रलाई चालू पूँजीका लागि अर्थ मन्त्रालयले रु ५० करोड सहुलियत ऋण दिएकामा रु १० करोड फिर्ता गरिसकेको छ । केन्द्रले सरकार र बैंकहरुलाई तिनुपर्ने अझै रु एक अर्ब ३४ करोड ऋण छ भने यसको वार्षिक ब्याज रु १४ करोड हुन्छ । केन्द्रले बाँकेको खजुरामा प्रेस स्थापना गरी सञ्चालनमा ल्याएको छ भने पाठ्यपुस्तकका अतिरिक्त उत्तरपुस्तिका, अभ्यास पुस्तिका, प्रश्नपत्र, इ–विल्डिग, सवारी दर्ता प्रमाणपत्रलगायत विभिन्न संवदेनशील सामग्री छपाइ गरी आफूलाई आत्मनिर्भर बनाउन थालेको छ । “हामीसँग चौबिसैं घण्टा चल्न सक्ने मेशिन छ, पाठ्यपुस्तकबाहेकका कामसमेत ल्याइ त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गरेमा संस्था आत्मनिर्भर बन्नेछ”, तिमल्सिनाले भने । प्रवक्ता चित्र आचार्यका अनुसार पाठ्यपुस्तक भण्डारण गर्न थप नौ गोदाम बनाइएको र रु १५ करोडको अत्याधूनिक चार रङ्गको ३२ पेज छपाइ गर्ने दुई वेभ मेशिन र एक चार रङ्गको छपाइ गर्ने जापानी मेशिन खरिद गरेको छ । उक्त मेशिनले दु्रत गतिमा छपाइ गरिरहेको जनाइएको छ । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक यसअघि नै रङ्गीन छापिन थालेका थिए । आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक पर्ने पाठयपुस्तकमध्ये कक्षा २ देखि ५ सम्म र कक्षा ९ र १० का पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरणका लागि केन्द्रका नौ कार्यालयका गोदाममा भण्डारण गरिएको छ । नेपाल सरकारको राष्ट्रिय नीतिअनुरुप विगत ६५ वर्षदेखि केन्द्रले विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । रासस

निमावि लाईसेन्स परीक्षाको कापी परीक्षण शुरू, कहिले सार्वजनिक हुन्छ नतिजा?

भक्तपुरः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको कापी परीक्षणको काम शुरू गरेको छ । १ सय ८० जना परीक्षकले कापी परीक्षणको काम गरिरहेको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । लाईसेन्स परीक्षाअन्तर्गत निमाविका लागि ५६ हजार एक सय ४० परीक्षार्थी सहभागी भएको उनले बताए । नतिजा सार्वजनिक हुन भने समय लाग्नेछ ।

शीतलहर र चीसोका कारण वीरगञ्जका विद्यालय १० दिन बन्द

पर्साः हिउँदे शीतलहर र चीसोका कारण प्रदेश नम्बर २ को एक मात्र वीरगन्ज महानगरपालिकाले पनि आफ्नो क्षेत्रका सबै विद्यालयहरु १० दिन बन्द गर्ने निर्णय गरेको छ। वीरगन्ज महानगरपालिकाले सामुदायिक र संस्थागत दुवै तर्फ गरी ३११ वटा विद्यालय १० दिन विदा दिने निर्णय गरेको हो। जिल्लाका अरु पालिकाहरुले आफ्नो क्षेत्रका विद्यालयहरु चिसोको कारण बन्द गरेको दुईदिन पछि वीरगन्ज महानगरपालिकाले पनि आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मौसमी प्रकोपको कारण विद्यालय जाने आउने बालबालिकाको स्वास्थ्य विग्रन सक्ने भन्दै १० दिन सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए। आगामी ९ पुसबाट आगामी १८ पुससम्मका लागि महानगर क्षेत्रका सबै विद्यालयहरु विदा गरिएको छ। यो निर्णय आईतबार नै गरिउको उनले बताए। मौसम अनुकुल भए विदा रद्ध महानगर क्षेत्रमा अहिले ९० वटा सामुदायिक विद्यालय र २२१ वटा संस्थागत विद्यालयहरु छन्। ती सबै विद्यालयहरु मौसमी अनुकुल भएमा विदा रद्ध हुने गरी भन्दै वर्षे बिदामा कट्टा हुनेगरी विदा गरिएको महानगरपालिकाको निर्णयमा उल्लेख गरिउको छ। पर्सामा यो भन्दा अगाडी पोखरिया नगरपालिका, सखुवाप्रसौनी, छिपहरमाई, विन्दवासिनी, जगरनाथपुर, र कालिकामाई गाउँपालिकाहरुले पनि चीसोका कारण आगामी शुक्रबार सम्मका लागि आफ्नो क्षेत्रका सबै विद्यालयहरु बन्द गरिसकेका थिए। वीरगन्ज महानगरले भने मौसम अनुकुल भए विदा रद्ध हुने भनी विकल्प दिएर विदा गरेको जनाएको छ।