अस्पतालमा डेंगुका बिरामीको चाप घटेन, ‘डेंगु खोज र नष्ट गर’ अभियान सुरु

काठमाडौंः  सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेङ्गु रोगका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जलगायतका अस्पतालमा बिरामीको चाप बढ्दो छ ।

रोगीको सङ्ख्या बढ्दै गएपछि सरकार तथा स्थानीय तहले समेत रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन् । सरकारले डेङ्गु नियन्त्रण गर्न ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।

सरुवा रोग अस्पतालमा भीड
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा धेरै बिरामी पुग्ने गरेका छन् । दैनिक ५०० जनाको डेङ्गु परीक्षण हुने गरेकोमा २५० देखि तीन सयसम्मलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । विगत १० दिनदेखि सरुवा रोग अस्पतालमा डेङ्गु पोजेटिभ बिरामीको सङ्ख्या एक हजार ५०० पुगिसकेको छ । डा. शेरबहादुर पुनलगायतको पाँच जनाको टोलीबाट अस्पताल जानेबित्तिकै डेङ्गुका लागि छुट्टै एकाइ स्थापना गरेर बिरामीको उपचार भइरहेको छ । डेङ्गुको आशङ्का गरिएका बिरामीको स्वास्थ्य परीक्षण गरिन्छ ।

डा. पुनलगायतका चिकित्सक टोलीले दैनिक ८० देखि १२० जना बिरामीलाई जाँच गरिरहेको छ । डा. पुनले आफूले डेङ्गुको लक्षण लिएर आएका बिरामीको दैनिक १२० जनासम्मको स्वास्थ्य परीक्षण गरिएको बताए । मलगायत अन्य चिकित्सकले पनि त्यही हाराहारीमा बिरामी हेरिरहनुभएको छ, डा. पुनले भने, “अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या घट्ने होइन, झन् बढ्दो छ ।”

टेकु अस्पतालमा आएका बिरामीमध्ये ताहचल, भोटेबहाल, कुलेश्वर र डल्लुका बिरामी धेरै छन् । डा. पुनले भने, “डल्लु क्षेत्रका बिरामी घरैपिच्छे आएका छन्, कुनै घरका परिवारसमेतलाई डेङ्गु फैलिएको छ ।” उनले तत्काल डेङ्गुका बिरामीको सङ्ख्या घट्ने क्रममा नरहेको बताए । यही अवस्था रहे अझै डेढ महिनासम्म बिरामी घट्नेभन्दा बढ्ने बढी हुन्छ, पुनले भने, “जबसम्म लामखुट्टेको सिजन रहिरहन्छ तबसम्म डेङ्गु घट्दैन ।”

त्रासको अवस्था छैन डा. पुनले भने, “घरघरमा डेङ्गुको सङ्क्रमण हुँदा आफूलाई पनि डेङ्गु सर्ने हो कि भन्ने चिन्ता सबैमा देखिन्छ ।” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले गाउँका भन्दा सहरी क्षेत्रका बासिन्दा जोखिममा रहेको बताए । डेङ्गु नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ छ । अहिले एसिया क्षेत्रमा डेङ्गुले महामारीको रूप लिएको भन्दै उनले कतिपय देशमा स्वास्थ्य सङ्कटकालको समेत घोषणा गरिसकेको बताए ।

टाउको र शरीर दुख्ने, ज्वरो आउने, थकाइ लाग्नेजस्ता लक्षण देखापर्नासाथ चिकित्सककहाँ जानुपर्ने उनको भनाइ छ । डेङ्गुले कुनै व्यक्ति पनि सुरक्षित नहुने भन्दै उनले नियन्त्रणका लागि सरकारले अभियान सुरु गर्नुपर्ने बताए । उनले मुलुकका ५४ जिल्लालगायत राजधानीमा समेत डेङ्गुको सङ्क्रमण देखिएकाले यसलाई राष्ट्रिय विषय बनाउनुपर्ने बताए ।

वीरमा ४५ जनालाई डेङ्गु
यसैगरी वीर अस्पतालमा आइतबार र सोमबार डेङ्गु परीक्षण गरिएकोमा ४५ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले ९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ५५ जनामा पोजेटिभ देखिएको बताए । उनले तीमध्ये केहीलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिए । अस्पतालले डेङ्गुका बिरामी सरुवा रोग अस्पतालमा रेफर गर्ने गरेकोमा बिरामी अत्यधिक आउन थालेपछि वीरमै डेङ्गुको किटको व्यवस्थासहित उपचार गर्न सुरु गरेको हो ।

पाँच हजार ९५ जनामा डेङ्गु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनदेखि भदौ २३ सम्म पाँच हजार ९५ जनामा डेङ्गु सङ्क्रमित भएको तथ्याङ्क रहेको छ ।

महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले गत वैशाखदेखि असारसम्म जम्मा तीन हजार ४२५ र साउनदेखि हालसम्म पाँच हजार ९५ जनामा डेङ्गु भएको बताए । उनले तीमध्ये काठमाडाै, डोटी, रुपन्देही, चितवनमा पाँच जनाको मृत्यु भइसकेको बताए ।

भक्तपुरमा ९७ लाई डेङ्गु
विगत केही दिनयता भक्तपुरमा फैलिएको डेङ्गु नियन्त्रण बाहिर गएको छ । भक्तपुर स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार हालसम्म भक्तपुरमा ९७ जनामा डेङ्गुको सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।

उनले केही दिनयता भक्तपुरमा अत्यधिक डेङ्गुका बिरामी देखा परेको जानकारी दिँदै नियन्त्रणका लागि समेत प्रयास भइरहेको बताए । विद्यालयमा गएर जनचेतना फैलाउने काम भइरहेको जानकारी दिँदै स्वास्थ्य प्रमुख मिजारले स्वास्थ्य कार्यालयबाट टोलटोलमा गई डेङ्गुबारे सचेतना जगाउने काम पनि भइरहेको बताए । उनले विशेषगरी भक्तपुर नगरपालिका क्षेत्रमा डेङ्गुका बिरामी अत्यधिक देखिएको बताए । गाेरखापत्र दैनिकबाट

डा. सन्दुक रुइतलाई पनि डेंगु, परिवारका अरु २ जनालाई पनि संक्रमण

काठमाडौं । नेत्र विशेषज्ञ प्राडा सन्दुक रुइत तीन दिनयता अस्पतामा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्प्तामामा भने होइन । डेंगुको संक्रमणले आफै बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमै रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीनजलाई डेंगुको संक्रमण भएको हो । ‘डेंगुको अवस्था भयावह भएर आयो’ उनले भने, ‘डेंगु फैल्याउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रुपमा चलाउन ढिला गरे झन गाह्रो हुन्छ ।’ सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने उनले बताए । पछिल्लो समय देशव्यापी रुपमै डेंगु बढेको अवस्थामा बिरामी पर्नेमा सन्दुक एक्ला स्वास्थ्यकर्मी होइनन् । कान्तिपुर दैनिकबाट

डेंगुका बिरामी मन्त्री खनाल आईसीयूमा

काठमाडौं । ‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ ।चक्रपाणि खनाल खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना भएका छन् । मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुगेका थियो । अस्पतालले उनलाई शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा।चक्रपाणी पाण्डेकाअनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ । मन्त्री खनालको अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसियूमा सारिएको पाण्डेले जानकारी दिए । यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।

काठमाडौंमा पनि देखियो डेंगु, एक जनाको मृत्यु

काठमाडौंः  लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा  मृत्यु भएको हो। ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२का वडाअध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए। उनका अनुसार अस्पतालले डेंगुको संक्रमणबाट उनको मृत्यु भएको पुष्टी गरेको छ। टेकुस्थित शुक्रराज सरुवा रोग केन्द्रले समेत रामबहादुरको मृत्यु डेंगुको संक्रमणबाट भएको प्रमाणित गरेको कमलरत्नले बताए। डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएपछि थप संक्रमण हुन सक्ने आशंकामा गाउँपालिकाले परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली उनको गाउँ भिमटार पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए। टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गर्ने र शंकास्पद रोगी भेटिएमा उपचारका लागि रिफर गर्ने रोकाले जानकारी दिए ।

यी हुन् भुँडी घटाउने अचूक उपाय

काठमाडौंः प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ । हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ । त्यसैले पेट घटाउन धेरै मानिसहरु लागिपर्न थालेका छन् । बिहानै मर्निङ वाक गर्न होस् वा योग गर्न मानिसहरु दौडिहाल्छन् । युवापुस्तामाझ त जिम जाने चलन पनि ह्वात्तै बढेको छ । त्यसो त हामीले सामान्य कुरामा ध्यान दिने हो भने पनि पुत्लुक्क निस्कने पेटलाई नियन्त्रण गर्नसक्छौं । हामीले खाने खानामा केहि परिवर्तन गर्दा हामी फिट हुनसक्छौं । कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात– दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । खैरो चामलको भात खानुहोस्– यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस् र त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहुन पनि सक्छ । गुलियोबाट टाढा रहनुहोस् यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस्– यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पानी धेरै पिउनुहोस्– पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ । काँचो लसुन खानुहोस्– बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । मांसाहारबाट टाढै रहनुहोस्– मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् । धेरै सागसब्जी खानुहोस् खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ । खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्– खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दाल चीनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ । बदामको प्रयोग गर्नुहोस्– बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन । यदि माथिका कुरालाई तपाइले प्रतिबद्ध भएर पालना गर्नुभयो भने, महिना दिनमै पेट घट्ने सहिद शुक्रराज तथा सरुवा रोग अस्पतालका जनरल फिजिसियन शेरवहादुर पुन बताउँछन् ।  

किशोरकिशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले हानी गर्छः अध्ययन

काठमाडौं । सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्याउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोररकिशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ। १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तवार्ता लिएर गरिएको सो अध्ययन द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थमा प्रकाशित छ। अध्ययनकर्ताहरूले सामाजिक सञ्जालले विशेषगरी किशोरीहरूमा शारीरिक व्यायाम र निद्रा घटाउने निष्कर्ष निकालेका छन्। सामाजिक सञ्जालले आफैँ हानी नगर्ने तर त्यसको अत्यधिक प्रयोगले भने दैनिक जीवनमा बाधा पुग्ने निष्कर्ष अध्ययनको छ। सामाजिक सञ्जालको प्रयोगले शारीरिक व्यायाम कम गराउने मात्र नभएर मानसिक स्वास्थ्यमा समेत असर गर्ने र निद्रा पनि खल्बल्याउने अध्ययनले उल्लेख गरेको छ। युएसएल ग्रेट अरमोन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थका सहलेखक रुसेल भाइनर भन्छन्, ‘सामाजिक सञ्जालको धेरै प्रयोगले धेरैजसो किशोरकिशोरीहरुको ध्यान हानिकारक सामग्रीमा पुगिराखेको हुन्छ। त्यसमाथि साइबर बुलिङको धेरै नकरात्मक पाटोहरू पनि उनीहरुले अनुभव गरिरहेका हुन्छन्।’ युनिभर्सिटी अफ सरेमा क्लिनिकल साइकोलोजीका प्राध्यापक बब प्याटर्नका अनुसार मानसिक स्वास्थ्य र दैनिक जीवन सुधार गर्नका लागि सामाजिक सञ्जालको कम प्रयोग गर्नुपर्छ। सन् २०१३ देखि २०१५ मा किशोरकिशोरीमा गरिएको एक अध्ययनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स-एप, ट्वीटर र स्न्यापच्याट दिनमा पटकपटक खोल्ने गरेको उल्लेख गरेको थियो। अध्ययनमा दिनमा ३ पटकभन्दा बढी प्रयोग गरिएकालाई बढी प्रयोग गरेको भनिएको थियो। तर अध्ययनले उनीहरूले सामाजिक सञ्जालमा कति समय बिताउँछन् भनेर उल्लेख गरेको थिएन। सामाजिक सञ्जालको बढी प्रयोगले किशोरकिशोरीमा डिप्रेसनको लक्षण देखापर्ने अध्ययनकर्ताले बताएका छन्। सामाजिक सञ्जालका कारण धेरै तनाव झेल्नेमा किशोरीहरुको संख्या ६० प्रतिशत छ भने १२ प्रतिशत किशोरहरु सामाजिक सञ्जालको बढी प्रयोगको गर्ने तथ्याङ्ककमा देखाएको छ । स्वास्थ्य खबरपत्रिकाबाट साभार

किन २८ हप्ताको गर्भपतनसम्बन्धी व्यवस्थामा विरोध भयो ?

काठमाडौं । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ कार्यान्वयनमा आएको छ। प्रजनन स्वास्थ्य तथा मातृत्वको अधिकारसँग जोडिएको यो ऐनलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। संविधानमा नै प्रजनन अधिकारलाई मौलिक हकका रूपमा सम्बोधन गरिएको छ। सरकारले ल्याएको यो ऐनबारे सर्वत्र प्रसंशा पनि भइरहेको छ। विकसित देशले समेत ल्याउन नसकेको ऐन ल्याएको भन्दै यसको चर्चा भएको हो। ऐन कार्यान्वयनमा आएपछि महिलाको प्रजनन अधिकार सुरक्षित हुने, महिलाको अधिकारको सूनिश्चितता हुने विश्वास गरिएको छ। ऐन कार्यान्वयनमा आएको वर्ष दिन हुँदा पनि यसको नियामावली भने भन्न सकेको छैन। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियामावली’ को मस्यौदा तयार भइसकेको बताएका छन्। मन्त्रालयको एक वर्षे कार्यकालमा नियमावलीको मस्यौदा तयार पार्नु महत्वपूर्ण उपलब्धि मानेका मन्त्री यादवले नियमावली ल्याउन तदारुकता भने देखाएको पाइन्न। नियमावली आउन बाँकी हुँदा नै ऐनमा व्यवस्था भएको गर्भपतनसम्बन्धी व्यवस्थामा भने केही स्त्रीरोग विशेषज्ञ, महिला अधिकारकर्मी, अधिवक्ताहरूले विरोध जनाएका छन्। पूर्वस्वास्थ्य सचिव तथा स्त्रीरोग विशेषज्ञ डा. किरण रेग्मी २८ हप्तामा गर्भपतन गराउन पाउने व्यवस्थाको पक्षमा छैनन्। ‘यो ऐन बनाउँदा हामीसँग रायरपरामर्श लिइएन। २८ हप्ताको बच्चालाई त बचाउन सकिन्छ, जिउँदो बच्चालाई मार्ने व्यवस्था गर्न त भएन नि!,’ उनले भनिन्। उनी बच्चा अपांग जन्मिने, अंगभङ्ग हुने अवस्थाबाहेक अन्य परिस्थितिमा गर्भपतन गर्न नहुने अडान राख्छिन्। नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज  (निसोग)का निर्वाचित प्रेसिडेन्ट प्रा डा. गणेश दंगाल २८ हप्ताको गर्भ फाल्दा गर्भ पतन भन्न नहुने बताउँछन। ‘योभन्दा पहिलेको व्यवस्थामा हाडनाता करणी, अंगभङ्ग हुनेलगायतका अवस्थामा १८ हप्तासम्मको वा जुनसुकै समयमा गर्भपतन गर्न सक्ने व्यवस्था थियो। तर अहिले २८ हप्ता भनेर समय तोकिदिएको छ। त्यसपछि यस्तो केस आए के गर्ने भन्ने बोलेको छैन,’ उनले भने। ऐन परिमार्जन गरी गर्भपतनु भन्ने शब्दसमेत परिवर्तन गरी अर्को शब्द राख्नुपर्ने उनको भनाइ छ। ‘२८ हप्ताको गर्भबाट बच्चा जन्मिएर बाँच्न सक्छ। त्यो प्रि(म्याच्यर्ड डेलिभरीु हुन्छ। त्यसलाई गर्भपतन भन्न मिल्दैन,’ उनले भने। ऐनेले व्यवस्था गरेको ‘रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भपतन गर्न सक्नेु व्यवस्थामा समेत उनले असहमति जनाए। पछिल्लो समय एचआइभी भएका महिलाले पनि स्वस्थ बच्चा जन्माएको भन्दै ऐनले यस्ता महिलाको मनोबलमा ठेस पुर्‍याउने काम गरेको बताए। न्याय तथा अधिकार संस्था नेपालकी अध्यक्ष अधिवक्ता शर्मिला श्रेष्ठको धारणा चिकित्सकहरूको भन्दा फरक छ। उनी ऐनमा परिमार्जन गर्नुपर्ने विषयका बावजुद पनि कस्तो अवस्थामा २८ हप्तासम्मको गर्भपतन गर्न सकिने कुरा स्पष्ट पारिएकोले यसको विरोध गर्नुपर्ने अवस्था नरहेको बताउँछिन्। उनले भनिन्, ‘कस्तो अवस्थामा २८ हप्ताको गर्भपतन गर्ने ऐनले स्पष्ट भनेको छ, यस्तो अवस्थामा कुनै समय तोकिनु हुँदैन। बरु २८ हप्तापछि के गर्ने कुरामा ऐन मौन छ। यस्ता जटिल अवस्थामा समय सीमा तोकिनु हुन्न।’ अधिवक्ता श्रेष्ठ ऐनमा गर्भपतन शब्द र यसको परिभाषा नै मानवअधिकारमैत्री नभएको बताउँछिन्। ‘पतन शब्द आफैमा नकारात्मक भाव दिने खालको छ, यसले अझै पनि गर्भपतनलाई अपराधको रुपमा चित्रण गरेको छ। यो शब्द परिवर्तन गरिनुपर्छ,’ उनले भनिन्। गर्भ राख्न चाहने वा नचाहने, वा गर्भ अन्त्य जस्ता शब्द राख्न सकिने उनको सुझाव छ। मिडवाइफरी सोसाइटी अफ नेपालकी अध्यक्ष डा लक्ष्मी गुरुङ पनि ऐनमा भएको व्यवस्था स्पष्ट भएको तर शब्द भने गर्भपतन राख्न नहुने बताउँछिन्। ‘यो शब्द अर्थात् २८ हप्ताको गर्भलाई गर्भपतन भन्नुभन्दा गर्भ अन्त्य भन्नुपर्छ। कस्तो अवस्थामा २८ हप्ताको गर्भ अन्त्य गर्ने भन्ने ऐनमा स्पष्ट भएकाले यसमा विवाद गर्नुपर्छ भन्ने मलाई लाग्दैन। २८ हप्ताको गर्भ गर्भपतन नभएर टर्मिनेसन हो।’ चिकित्सक र न्यायकर्मीका विचारमा केही भिन्नता भएपनि २८ हप्ताको गर्भ फाल्दा त्यसलाई गर्भपतन भन्न नहुने कुरामा भने दुवै क्षेत्रका विज्ञ सहमत देखिन्छन्। गर्भपतनका ठाँउमा अन्य कुनै उपयुक्त शब्द राख्नुपर्ने उनीहरूको भनाइ छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागमा परिवार कल्याण महाशाखाकी वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. पुण्य पौडेलले गर्भपतनको यो व्यवस्था किशोरावस्थाका महिलाकेन्द्री भएको बताइन्। ‘बलात्कार भई गर्भवति भएका महिलाले तुरुन्तै आफ्नो कुरा भन्न सक्दैनन्, तुरुन्तै गर्भवति थाहा पनि नपाउन सक्छन्। त्यसले गर्दा समय बित्छ। उनीहरूलाई मध्यनगर गरी २८ हप्तासम्म भन्ने वाक्यांश ऐनमा राखिएको हो,’ उनले स्पष्ट पारिन्। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले २८ हप्तापछि पनि गर्भपतन गर्न सक्ने व्यवस्था रहेकाले पछि के गर्ने भन्ने द्विविधा नभएको उनको भनाइ छ। ‘२८ हप्तामा जन्मिएको बच्चा बाँच्छ। जन्मनरजन्माउन पाउने अधिकार र बाँच्न पाउने अधिकार सबैलाई छ। त्यसैले विरोध आएको हो,’ उनले भनिन्, ‘२८ हप्तामा गर्ने भनेर सबैले गर्न पाइने होइन। आवश्यक भएकाले मात्र गर्ने हो। उनले १२ हप्ताको गर्भपतन गर्नेहरू पनि ७ प्रतिशत मात्र रहेको बताइन्। मन लाग्ने बित्तिकै २८ हप्ताको गर्भपतन गर्छु भनेर गर्न नपाइने उनको भनाई छ। नियमावलीको मस्यौदा बन्ने प्रक्रियामा जानकारी दिँदै डा पौडेलले नियमावलीमा २८ हप्ताको गर्भलाई गर्भपतन नभनी टर्मिनेसन अफ प्रेग्नेन्सी शब्द राखिने, एचआइभी वा दीर्घरोगका लागि पनि मापदण्ड बनाइने जानकारी दिइन्। विश्व स्वास्थ्य संगठनले विकसित देशमा २० हप्तासम्म र विकासोन्मुख देशमा २२ हप्तासम्मको गर्भलाई मात्र गर्भ अन्त्य गर्न सक्ने बताउँछ। महिला अधिकार त्यसमा पनि प्रजनन स्वास्थ्यसँग जोडिएको विषयलाई प्राथमिकता राखेर विशेष कानुन आउनु आफैंमा सकारात्मक भएपनि ऐनमा भएका केही विषय भने संशोधन गर्नुपर्ने माग उठेको देखिन्छ। यस्तो छ, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ ऐनमा गर्भपतनसम्बन्धी कानुनी व्यवस्था ऐनमा‘गर्भपतन’ भन्नाले गर्भमा रहेको भ्रुण स्वाभाविक रुपम जन्मन सक्ने हुनुभन्दा अगावै गर्भासयबाट भ्रुण बाहिर निस्कने वा निकाल्ने कार्य भनी उल्लेख गरिएको छ। ऐनको परिच्छेद ३ को दफा ३ (१)मा रहेको प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी व्यवस्था बुँदा ५ मा प्रत्येक महिलालाई गर्भपतन सेवा प्राप्त गर्ने अधिकार हुनेछ भनी लेखिएको छ। सुरक्षित गर्भपतन सम्बन्धी व्यवस्थामा कस्तो अवस्था गर्भपतन गर्न सकिन्छ भनेर उल्लेख छ। जसमा १.गर्भववति महिलाको मन्जुरीले बाह्र हप्तासम्मको गर्भ, २. गर्भपतन नगराएमा गर्भवति महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराव हुन्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सको राय भई यस्ती महिलाको मन्जुरी बमोजिम अठ्ठाइस हप्तासम्मको गर्भ ३.जर्वरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवति महिलाको मन्जुरीले अठ्ठाइस हप्ता सम्मको गर्भ, ४.रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुराीमा अठ्ठाइस हप्ता सम्मको गर्भ ५. भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाच्न नसक्ने गर्भ, गर्भको भ्रुणमा खरावी रहेको वशाणुंगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवति महिलाको मन्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भ पतन गर्न पाउने व्यवस्था छ । स्वास्थ्य खबर पत्रिकाबाट साभार

धुम्रपानबाट यसरी पाउन सकिन्छ छुटकारा

काठमाडौं । कुलतमा फसेका व्यक्तिले यसबाट छुटकारा पाउन सबैभन्दा पहिले आफ्नो समस्या पहिचान गर्नुपर्ने हुन्छ । धूम्रपान, मदिरासेवन तथा ड्रग्सका कारण व्यक्तिगत स्वास्थ्य तथा समाजमा असर परिरहेको छ भन्ने बुझेपछि मात्रै प्रयोगकर्ताले परिवर्तनका लागि निर्णय लिन सक्छन् । त्यस्तै, तनाव कत्तिको छ, जीवन कसरी चल्दै छ, स्वास्थ्यमा ड्रग्सको असर कति परेको छ, यी र यस्ता प्रश्न आफैँसँग गर्नुहोस् । आफ्ना लागि ड्रग्सभन्दा महत्वपूर्ण कुराहरू के–के छन्, जस्तो– परिवार, करिअर, तपाईंको स्वास्थ्य, तपाईंले माया गरेर घरमा पालेका जनावर, तपाईंकी श्रीमती वा गर्लफ्रेन्ड । यस्ता कुराको सूची तयार गर्नुहोस् । -ड्रग्स प्रयोग गर्दा तपाईंको जीवनमा के भइरहेको छ र यसलाई त्याग गर्दा तपाईंलाई आर्थिक र सामाजिक रूपमा के कस्ता फाइदा हुन्छन् भनेर सोच्नुहोस् । -तपाईंलाई ड्रग्स छाड्न के कुराले अवरोध गरिरहेको छ भनेर आफैँलाई प्रश्न गर्नुहोस् । -यसअघि छाड्नका लागि के–कस्ता प्रयत्न गर्नुभएको थियो र कहिले सफल हुनुभयो वा किन असफल हुनुभयो भनेर सम्झनुहोस् । -स्पष्ट लक्ष्य बनाउनुहोस् । जस्तो, कहिलेबाट छाड्न सुरु गर्नुहुन्छ वा कम गर्दै लैजानुहुन्छ । -आफ्नो घर, कार्यालय वा आफू गइरहने स्थानबाट ड्रग्स वा त्यसको स्मरण गराउने वस्तु हटाउनुहोस् । यसलाई बिर्संदै जानुहोस् र अन्य कुरामा रमाउनुहोस् । -आफ्नो परिवार र साथीलाई कुलत छाड्न लागेको विषय जानकारी गराउनुहोस् र उनीहरूलाई सहयोग गरिदिन आग्रह गर्नुहोस् । विश्वस्त व्यक्तिसँग आफ्ना अनुभव साट्नुहोस् । तपाईंको दुव्यर्सनीलाई उनीहरूले कसरी लिइरहेका छन् भनेर सोध्नुहोस् । नयाँ पत्रिकाबाट साभार

के तपाईले आज क्वाँटी खानु भो त ? यस्ता छन् क्वाँटीका १२ फाइदा

काठमाडौं । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो। हामीले क्वाँटी विशेष गरेर जनैपूर्णिमाको दिन खाने गर्छौं। यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो। यो टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार हो। नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ। गेडागुडीलाई टुसा उम्रनेगरी पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। विभिन्न नौ गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने चलन छ। शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको छुटै महत्व छ। क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो। क्वाँटीमा काब्रोहाइडे«ड, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबरका साथै आइरनको मात्रा पनि प्रशस्त मात्रामा पाइन्छ। यो खानेकुरा बच्चादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ। बच्चाहरूको जाउलोमा पनि मसिनो गरेर क्वाँटी पिसेर खुवाउँदा निकै फाइदा पुग्छ। यसले कुपोषणबाट जोगाउँछ। शरीरमा आवश्यक पौष्टिक तत्वको पूर्ति गराउँछ। वृद्धावृद्धालाई पनि यो खुवाउँदा यसले शरीरमा शक्ति दिन्छ। हामीले क्वाँटीको सुप बनाएर पनि खान सक्छौं। खानासँग मिसाएर पनि प्रयोग गर्न सक्छौं। गर्भवती महिलाका लागि यो झनै उपयुक्त हुन्छ। माछामासु धेरै नखाने मानिसका लागि पनि गेडागुडी फाइदाजनक हुन्छ। यसलाई भिजाएर घरमै चटपटेका रूपमा पनि खान सकिन्छ। प्रोटिन, भिटामिन तथा मिनिरल्स पर्याप्त मात्रामा भएकाले शरीरका मांशपेशीलाई मजबुत बनाउन क्वाँटीले सहयोग गर्छ। क्वाँटीमा ज्वानो र अन्य मरमसला हालेर बनाउने भएकाले धेरै पोषणतत्व पाइन्छ। क्वाँटीलाई हामी हप्तामा दुई पटक पनि खान सक्छौं। क्वाँटीका फाइदा रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ पाचनशक्तिमा सुधार आउँछ मधुमेह नियन्त्रणमा सहयोग गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ। उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ रोग प्रतिरोधात्मक शक्ति बढाउँछ बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोगी स्मरणशक्ति वृद्धि गराउँछ मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्‍याउँछ । स्वास्थ्य खबरपत्रिकाबाट

के हो ओमिबायोसिस? जान्नुस् लक्षण, कारण र जोगिने उपाय

काठमाडौं । ओमिबायोसिस शरीरको ठूलो आन्द्रामा प्रोटोजोवाको संक्रमणबाट हुने रोग हो । विभिन्न माध्यमबाट इन्टामोका टिस्टोलिटीका नामक प्रोटोजोवा शरीरमा प्रवेश गरेपछि ओमिबायोसिस हुने गर्छ । खासगरी वर्षायाममा ओमिबायोसिस बढी देखिने गर्छ । फोहोर वातावरण, खानेकुरा छिट्टै सड्ने, जथाभावी पानी जम्ने र फोहोर हुने भएकाले यो मौसममा बढी जोखिम रहने गर्छ । ओमिबायोसिस संसारभर देखिए पनि दक्षिण एसियामा बढी समस्या छ । प्रोटोजोवा एकदेखि चार हप्तामा पूर्ण रूपमा विकसित भइसकेको हुन्छ । लक्षण –कुनै पनि माध्यमबाट एन्टोमिबा हिस्टोलिटीका नामक प्रोटोजोवा मुखको सम्पर्कमा आएपछि खाद्यनली हुँदै ठूलो आन्द्रामा गएर बस्छ । जसले बिस्तारै ठूलो आन्द्राको भित्तामा असर गर्न थाल्छ । ओमिबायोसिसको संक्रमण बढ्दै गएपछि आन्द्रामा अल्सर, खकार उत्पादनमा वृद्धि, रक्रश्राव र पखाला लाग्नेजस्ता समस्या देखिन थाल्छन् । –बिस्तारै बिरामीमा बान्ता हुने, ज्वरो आउने र कडा खालको डायरिया अर्थात् दिशासँगै रगतसमेत देखापर्न थाल्छ । पेटमा ग्यास भरिने, तौल घट्दै जाने र छालामा समस्यासमेत हुन सक्छ । कतिपयमा अत्यधिक पेट दुख्ने समस्या पनि हुने गर्छ । –कतिपय अवस्थामा अमिबा विकसित भएर दिमागमा पनि जान सक्छ । जुन निकै घातक हुन्छ । अमिबा दिमागमा पुगेमा स्वाद र बास्ना महसुस गर्ने क्षमतामा परिवर्तन हुने, ज्वरो आउने, एक्कासि टाउको दुख्ने, भ्रम हुने, बान्ता हुने, ह्याल्युसनेसन हुने, शरीर ब्यालेन्स नहुने आदि लक्षण देखिन थाल्छन् । –यस्ता लक्षण एकदमै छोटो समयमै देखिन थाल्छन् । शरीरमा अमिबा छिटो फैलिने भएकाले पनि जोखिमपूर्ण हुने गर्छ । कारण –फोहोर पानी र खानेकुराबाट अमिबाको संक्रमण हुने गर्छ । खासगरी दूषित पानीको सम्पर्कले अर्थात् जमेको पोखरी वा तलाउमा पौडी खेल्दा, फोहोर पानी चलाउँदा, दूषित पानी पिउँदा अमिबाको संक्रमण हुन सक्छ । –फोहोर खानेकुरा, बासी, भुइँबाट टिपेर खाँदा, काँचै खाइने खानेकुरा सफा नगरी खाँदासमेत अमिबाको संक्रमण हुन्छ । यसबाट रोगप्रतिरोधी क्षमता कम भएका व्यक्ति बढी प्रभावित हुने गर्छन् । –संक्रमित व्यक्तिसँगको सम्पर्क, चुम्बनबाट पनि अमिबा सर्न सक्छ । कसरी बच्ने? –काँचै खाइने खानेकुरा राम्ररी सफा गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ । – दूषित पानी र खानेकुरा खानुहुँदैन । बाहिरबाट आएपछि राम्ररी हातमुख धोएर मात्र खानेकुरा खान सकिन्छ । दूषित पानीको सम्पर्कमा सकेसम्म जानुहुँदैन । –लक्षण देखापरेमा चिकित्सकको सल्लाह लिनुपर्छ । अमिबाको प्रोटोजोवा शरीरमा एकदमै छोटो समयमा फैलिनसक्ने भएकाले घातक हुने गर्छ । तसर्थ, छिटो उपचार गर्नुपर्ने हुन्छ । –ओमिबायोसिस भएमा औषधिको सेवनबाट निको पार्न सकिन्छ । ग्यास्ट्रोइन्टेस्टनल भइसकेको अवस्थामा शल्यक्रियाबाट पनि उपचार गर्न सकिन्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

उपत्यकामा डेङ्गु फैलनसक्ने

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौं उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो । रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताए । डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौं उपत्यकामा डेङ्गु सार्ने लामखुटे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो । प्रमुख लालले भने, “काठमाडौं वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडौंमा डेङ्गु सङ्क्रमित देखिएको थियो । महाशाखाका प्रमुख लालले गोरखापत्रसँंग कुरा गर्दै भने, “काठमाडौंको हावापानी, वातावरण, पानी, खाल्डाखुल्डी, पानी जम्ने ठाउँजस्ता विषयले काठमाडौं डेङ्गुको उच्च जोखिम रहेको पाइएको छ । ’’ उन्ले डेङ्गु सार्ने लामखुट्टेले सफा पानीमा अन्डा पार्ने र अन्डा पारेको भाँडा, प्लास्टिक, गमला, पोखरी, खाल्डाखुल्डी जस्ता ठाउँमा अन्डा भित्तामा टाँसिएर रहने भएकाले सतर्क हुनुपर्नेमा जोड दिए । प्रदेश नं। १ को सुनसरीमा मात्र यस वर्ष तीन हजार ४२५ जनामा डेङ्गु देखा परेको छ । पाँच वर्ष अघिसम्म १२ जिल्लामा देखिएको डेङ्गु पाँच वर्षको बीचमा ५६ जिल्लामा फैलिइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

यी हुन्, नवजात शिशुमा संक्रमणका कारण र रोकथामका उपाय

काठमाठौं, धेरै नवजात शिशु संक्रमण भई जन्मेको एक महिना नपुग्दै मर्छन् । संक्रमण के होे ? किन हुन्छ ? र यसबाट कसरी शिशुलाई बचाउने ? यसबारे सामान्य जानकारी भएमा शिशुलाई मृत्युको मुखबाट बचाउन सकिन्छ । समस्या नवजात शिशुमा संक्रमण भन्नाले जन्मेको २८ दिनभित्र शिशुको रगतमा कीटाणुले खराबी गर्नु हो । संक्रमण भन्नाले निमोनिया मेनेन्जाइटिस, मिर्गौलासम्बन्धी समस्या आदिलाई जनाउँछ । प्रत्येक एक हजार जीवित जन्ममध्ये १ देखि ८ नवजात शिशु संक्रमणको उच्च जोखिममा हुन्छन् । नेपालमा १९ प्रतिशत नवजात शिशुको मृत्यु संक्रमणकै कारणले हुन्छ । जन्मेको पहिलो घन्टा तथा पहिलो दिन र पहिलो हप्ता शिशुलाई राम्रो स्याहार दिएमा रोकथाम गर्न सकिने मृत्यु दुईतिहाइले कम हुन्छ । संक्रमणको जोखिम कसमा बढी ? तौल कम भएमा (२५०० ग्राम भन्दा कम) जन्मनासाथ निस्सासिएको भएमा वा नरोएमा प्रसूतिको केही दिनअघि आमालाई ज्वरो आएको भएमा वा संक्रमण भएमा नवजात शिशुलाई आमाको दूधबाहेक अन्य चिज खुवाएमा नाभीमा तथा आँखामा विभिन्न चिज लगाएमा नवजात शिशुलाई छुनुपूर्व हात राम्रोसँग नधोएमा वा सरसफाइको कमी भएमा संक्रमण भएको कसरी थाहा पाउने ? छिटो–छिटो सास फेरेमा, कडा कोखा हानेमा शिशुले आमाको दूध राम्ररी चुस्न नसकेमा कम्प छुटेमा, ठसठस कनेमा छाम्दा बढी तातो वा धेरै चिसो भएमा तारन्तार बान्ता गरिरहेमा शिशुको चाल सुस्त भएमा नाइटो रातो भएमा वा पिप बगेमा रोकथाम र उपचार गर्भावस्थामा आमाले नियमित गर्भजाँच गराउने तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने गर्भका वेला आमा बिरामी भए तुरुन्त उपचार गराउने । शिशुलाई जन्मेको जतिसक्दो छिटो आमाको दूध चुसाउने र यसलाई निरन्तरता दिने नाभीमा केही नलगाई सफा र सुक्खा राख्ने शिशुमा खतराको चिह्नको शंका लागेमा डाक्टरको सल्लाह लिन तुरुन्त स्वास्थ्य संस्था जाने । शिशु कमतौलको भएमा आमा वा अभिभावकको नांगोे छातीमा शिशुको छाती टाँसी न्यानो बनाएर राख्ने । नयाँ पत्रिकाबाट

कारागारभित्र यौन सम्बन्धका लागि विशेष कोठा राखिने

काठमाडौं । कैदीलाई प्रजनन् अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयअन्तर्ग कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन् अधिकार दिने व्यवस्थाप प्रस्ताव गरिएको छ । मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौनसम्र्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ । मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद, अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको,। सन्तान जन्माउन इच्छुक् र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिनेछ । नागरिक दैनिकबाट

‘माया मेट्रो अस्पताल’ नवजात शिशु स्याहार र तथा प्रसुती सेवाको हव बन्दै

डा. मोहन साउँद । एक वर्ष अगाडिदेखि गुणस्तरीय, सर्वसुलभ तथा एउटै छानामुनी बहु दक्ष विशेषज्ञ सेवाहरु सहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस माया मेट्रो अस्पतालले आफ्ना सेवाहरुबाट छोटो समयमै सुदूर पश्चिम प्रदेशका जनताको मन जित्दै आएको छ । अस्पताल सञ्चालनको प्रारम्भिक दिनमा महिनाको १÷२ वटा नर्मल डेलिभरी र ५÷६ वटा सिजरेयिन डेलिभरी हुने यस अस्पतामा हालका दिनमा आएर दैनिक रुपमा १÷२ वटा नर्मल डेलिभरी र उति नै संख्यामा सिजरेयिन डेलिभरी भईरहेका छन् । प्राइभेट अस्पताल भन्ने वित्तिकै अप्रशेन मात्र हुन्छ, अप्रशेन मात्र गर्छन भन्ने भ्रमलाई चिर्न सफल भएकै कारण माया मेट्रो अस्पतालमा प्रसुती व्यथाले च्यापेका महिलाहरु ढुक्कसंग डेलिभरी गराउन आउन थालेका छन् दुई जना अनुभवी र दक्ष स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टरहरु रविन्द्र देव भट्ट र डा. संगीता भण्डारीले २४ सै घण्टा प्रसुति सम्बन्धि सेवा प्रदान गर्नु, सफा, शान्त र स्वच्छ अस्पतालमा डेलिभरी हुने र जटिल डेलिभरीको समेत सहजै व्यवस्थापन हुने हुदा सुत्केरी गराउनेको संख्या दिनप्रतिदिन बृद्धि हुदै गएको छ । प्रारम्भिक दिनहरुमा अत्यन्त जटिल गर्भावस्थाका महिलाहरुलाई दक्ष जनशक्ति हुदाहुदै पनि भौतिक पूर्बाधारहरुको अभाव (जस्तैः आईसियु, एनआईसियु) मा बिरामीहरुलाई अन्यत्र रेफर गर्नु पर्ने हुन्थ्यो । माया मेट्रोमा यी सेवाहरु सञ्चालनमा आएसंगै आईसीयु र एनआईसीयुको अभावमा जटिल गर्भावस्थाका महिलाहरुको सेवामा सहजता थपिएको छ । त्यसैले अव जटिल डेलिभरीलाई स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा नेपालगञ्ज, काठमाण्डौं र भारत जान पर्ने समस्याको अन्त्य भएको छ । आईसीयु, एनआईसीयु सेवा सुचारु भएसंगै आईयुएफ(टेष्ट ट्युव) प्रबिधिबाट गर्भाधारण गरेका महिलाहरुको डेलिभरी गन्तव्य माया मेट्रो अस्पताल बन्दैछ । यसका साथै महेन्द्रनगर, डडेल्धुरा,पहाडी क्षेत्र तथा सेती अञ्चल अस्पतालबाट रेफर भएका जटिल बिरामीहरु समेत यहाँ सेवा लिएर लाभान्वित भएका छन् । त्यसैले आगामि दिनमा यो अस्पताल प्रसुति सेवाका लागि रेफरल सेन्टर बन्ने निश्चित छ । (बालरोग बिशेषज्ञ डा.साउँद लेखक माया मेट्रो अस्पतालमा कार्यरत छन् ।) पश्चिम टुडेबाट

जान्नुहोस्, के हो पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस?

काठमाडौं, साउन २१ । पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस एक किसिमको एन्टिरेट्रोभाइरल थेरापी हो, जोे एचआइभी संक्रमण हुनबाट जोगिन प्रयोगमा ल्याइन्छ । एड्सको रोकथाममा प्रयोगमा ल्याइने एआरटी औषधिअन्र्तगत यो पनि पर्छ । विशेषगरी, एचआइभी संक्रमितसँग असुरक्षित यौनसम्पर्क भएमा, रगतको सम्पर्कमा आएमा, संक्रमितले प्रयोगमा ल्याएका सिरिन्ज उपयोग गरेमा वा रोग सर्न सक्ने विभिन्न अवस्थामा पोस्ट–एक्सपोजेर प्रोफिलेक्सिस औषधि प्रयोगमा ल्याइन्छ । औषधि प्रयोग विधि –पछिल्लो समयमा पोस्ट-एक्सपाजेर प्रोफिलेक्सिस औषधि धेरै प्रयोगमा आउने गरेको पाइन्छ । सुरुको अवस्थामा संक्रमण भएको थाहा नहुने भएकाले एचआइभी संक्रमणको जोखिम भएमा अधिकांशमा यो औषधिको प्रयोग गर्ने गर्छन् । –विशेषगरी, संक्रमितको रगत सम्पर्कमा आउन सक्ने स्थान र अवस्था (जस्तै, अस्पताल, जथाभावी सिरिन्जको प्रयोग आदि) मा बढी प्रयोगमा ल्याइन्छ । –पोस्ट एक्सपोजर प्रोफिलेक्सिस औषधि जति छिटो प्रयोगमा ल्याउन सक्यो त्यति नै प्रभावकारी हुन्छ । घटना भएको ७२ घन्टाभित्रमा प्रयोगमा ल्याइसक्नुपर्ने हुन्छ । –औषधिको प्रयोगपछि मानिसमा कमजोरीपन देखिन्छ । खासगरी बान्ता, डाइरिया हुने र डर लाग्ने भएकाले अन्य समस्या पनि हुन सक्छन् । अन्य संक्रमण हुन सक्ने जोखिमसमेत बढ्छ । खासगरी उनीहरूमा मनोवैज्ञानिक असर पर्ने भएकाले स्वास्थ्य समस्या देखिन्छन् । –यो औषधि पूर्ण मात्रा अर्थात् २८ दिनसम्म लगातार प्रयोगमा ल्याउनुपर्छ । अन्यथा संक्रमणको जोखिम उच्च रहन्छ । –मनोवैज्ञानिक दृष्टिले कमजोर तथा कतिपय व्यक्तिमा अत्यधिक तनावले गर्दा मानसिक स्वास्थ्यमा असर पर्ने हुन सक्छ । तसर्थ उनीहरूलाई उचित परामर्श दिनुपर्छ । घरपरिवार र समाजले पनि विशेष हेरचाह गर्न जरुरी हुन्छ । यो जानकारी भेरी अञ्चल अस्पतालमा कार्यरत एचआइभी फोकल पर्सन डा. संकेत रिसालले नयाँ पत्रिका दैनिकबाट लेखेका छन् ।

पाँच जिल्लामा वितरण गर्न किनिएको पोषिलो पीठो गुणस्तरहीन

काठमाडौं, साउन ९ । सरकारले कर्णालीका पाँच जिल्लामा वितरण गर्न किनेको पोषिलो पिठो गुणस्तरहीन पाइएको छ  । दुई वर्षसम्मका बालबालिका र गर्भवतीलाई वितरण गरिने पिठोमा भिटामिन ‘ए’ नभएको परीक्षणबाट पुष्टि भएको छ । पोषिलो पिठोमा अत्यावश्यक तत्व नै नभएपछि अहिले वितरणमा रोक लगाइएको परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले बताए । विश्व खाद्य कार्यक्रमले गुणस्तर मापन गर्दा भिटामिन ‘ए’ नपाइएको उनले जानकारी दिए । यसैकारण केही महिनाका लागि पौष्टिक पिठो वितरण कार्यक्रम स्थगित हुनसक्ने अधिकारीहरूको भनाइ छ । सरकारले कुपोषण उच्च रहेको कर्णालीका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पामा २० तथा सोलुखुम्बुमा १० वर्षदेखि पोसिलो पिठो वितरण गर्दै आएको छ । यसका लागि सरकारले गतवर्ष आठ करोड बजेट विनियोजन गरेको थियो । ६ जिल्लाका लागि विनियोजित बजेट अर्थ मन्त्रालयले ७७ वटै जिल्लामा पठाएको थियो । पछि त्यो रकम परिवार कल्याण महाशाखाले फिर्ता गराएको थियो । शारदा ग्रुपले बनाएको पिठो गुणस्तरहीन प्रदेश सरकारले पिठो किनिदिन आग्रह गरेपछि तत्कालीन आपूर्ति महाशाखा (हाल व्यवस्थापन महाशाखा)ले कर्णालीका लागि पिठो खरिद गरेको थियोे । उसले थापाथलीस्थित शारदा ग्रुपले बनाएको पिठो तीन करोड रुपैयाँमा खरिद गरेको थियो । त्यही पिठो परीक्षण गर्दा अत्यावश्यक भिटामिन ‘ए’ तत्व नभेटिएको हो । सोलुखुम्बुका लागि भने सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । तर, बजेटभन्दा बढीको टेन्डर परेपछि खरिद पक्रिया अघि बढ्न सकेन । सरकारले खरिद गर्ने पोसिलो पिठोको वितरण र गुणस्तर मापनको काम भने विश्व खाद्य कार्यक्रमले गर्छ । कुपोषणबाट हुने बाल मृत्युदर कम गर्न सरकारले कर्णाली र सोलुखुम्बुमा दुई दशकदेखि दुई वर्षसम्मका बालबालिका र गर्भवती महिलालाई पौष्टिक तत्वयुक्त पिठो वितरण गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यो कार्यक्रम प्रभावकारी देखिएको छैन । कर्णाली क्षेत्रमा कुपोषण अझै व्यापक छ । कुपोषणका कारण बाल मृत्युदर पनि उच्च छ । फापर, कोदो, जौ, मार्सी धान, रातो दाल उत्पादन हुने हिमाली र पहाडी जिल्लामा स्थानीय उत्पादनको विविधतायुक्त उपभोगलाई प्रोत्साहन गर्न नसक्दा कुपोषण बढेको विज्ञहरू बताउँछन्  । किन खाने पोसिलो पिठो भिटामिन ए, पोलिक मिसिन, आइरन, आयोडिन, भिटामिन बी कम्प्लेक्स, क्याल्सियम मिसाएर पिठो तयार गरिन्छ । वितरण गर्नुअघि विश्व खाद्य कार्यक्रमले विदेशमा लगेर यसको परीक्षण गर्छ । पिठोको म्याद एक वर्षको हुन्छ । यसको सेवनबाट कुपोषण, एनिमिया, भिटामिन एको कमीबाट हुने समस्या, रतन्धोजस्ता समस्या कम हुँदै जान्छन् । पराजुलीका अनुसार ६ जिल्लाका २१ हजार जनाले यस्तो पिठो प्रयोग गर्ने गरेको तथ्यांक छ । पौष्टिक पिठो दिनको सय ग्राम अर्थात् महिनामा तीन किलो खान सुझाइएको छ । पानी, दूध वा जसरी खाए पनि हुन्छ । पोषिलो पिठो पाउन गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगेर जाँच गराउनुपर्छ । स्वास्थ्य जाँचकै क्रममा पिठोका लागि फारम पनि भराइन्छ । कार्यक्रम नै स्थगित हुने सम्भावना वितरणपूर्व गरिएको परीक्षणमा पिठो गुणस्तरहीन पाइएपछि कार्यक्रम स्थगित हुने सम्भावना बढेको छ । ‘गुणस्तरहीन पिठो खरिद गरिएकाले यस वर्ष कार्यक्रम रोकिने अवस्थामा पुगेको छ,’ परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले भने, ‘अहिलेसम्म पुरानो स्टकले धानेको छ । अभाव हुन नदिने प्रयास गरिरहेका छौँ ।’ कार्यक्रम रोकिन नदिन तत्काल खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरिएको उनले बताए । ‘आगामी चार महिनामा खरिद गरी सम्बन्धित स्थानमा पुर्याउने कोसिस गर्दैछौँ,’ उनले भने । नयाँपत्रिकादैनिकबाट