विषादीयुक्त तरकारी र फलफूल खाँदा कस्ता रोग लाग्छन्? जान्नुहोस् जोगिने उपाय

अच्युतशाली घिमिरे । नेपालमा कुल खपतको ४४ प्रतिशत तरकारी भारतबाट आयत हुने गर्छ। भारतबाट आयात हुने ९० प्रतिशतसम्म तरकारीमा विषादी प्रयोग हुने कृषि विज्ञहरुले बताउदै आएका छन्। भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएकै कारण सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ। यो परीक्षण कायमै राखेको भए उपभोक्ताको स्वास्थ्यका साथै स्वदेशी किसानलाई समेत भरपूर फाइदा पुग्ने थियो।

नेपाल भित्रै पनि दर्जन समूहका विषादी प्रयोग गरिने कुरा बारम्बार सतहमा आए पनि अर्गानोफोस्पेट र काब्रामाइटको मात्र परीक्षण हुनसक्ने स्वदेशी प्रयोगशालाको हालत देखेर हामी सजिलै अनुमान लगाउन सक्छौं, उपभोक्ताको स्वास्थ्य कति जोखिममा छ भन्ने कुरा। यस्ता विषादीबाट बच्न हामीले सकभर मौसमअनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ। अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ अनि विषादीजन्य खाद्यान्नलाई बहिस्कार गर्नुपर्छ।

स्वच्छ फलफूल र तरकारीहरुमा पाइने खनिज तत्त्व, भिटामिनहरुले शरीरमा चाँडै पचेर तुरुन्तै शक्ति प्रदान गर्न सक्छन्। यसको विषादीमुक्त सेवनले रगतको संरचनालाई मजबुद राखेर दीर्घकालीन रुपमा स्वस्थ राख्न मद्दत पुर्याकउँछ। स्वच्छ फलफूल र तरकारीहरु रेसादार हुने हुनाले कब्जियत हटाउनुका साथै पाइल्स, फिस्टुला जस्ता रोगबाट समेत बचाउँछन्। स्वच्छ फलफूलहरुमा हुने अधिक एन्टिअक्सिडेन्टले जीर्ण रोगहरु लाग्नबाट समेत बचाउँछ।

रक्तचाप सन्तुलित गर्न, प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणाली ठिक राख्न साथै विभिन्न अंगको तन्दुरुस्तीको लागि स्वच्छ फलफूल र तरकारीको महत्वपूर्ण योगदान रहन्छ। तर यिनै फलफूल र तरकारीहरु विषादीयुक्त हुँदा र यिनको सेवन गर्दा गर्भवती महिलामा समस्या ल्याउने, बालबालिकाहरु अपांग वा सुस्त मनस्थितिका जन्मिने खतरा बढ्छ।

विषादी जन्य फलफूल र तरकारीको सेवनले क्यान्सर जन्य रोगहरु उत्पन्न गर्ने, बाँझोपनका समस्याहरु उत्पन्न हुने खतरा समेत बढ्छ। त्यसैले मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट विरुवामा लागेको किरा मार्न व्यावसायिक खेतीमा प्रयोग गरिने विषादीको मात्रा घटाएर, विषादीयुक्त खाद्यान्नको आयातमा समेत कडाइ गर्नुपर्ने देखिन्छ।

केहीगरी विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा यसबाट बच्ने पहिलो सामन्य तरिका भनेको राम्ररी धुने, पखाल्ने नै हो। तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सकिन्छ। भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ।

नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ। त्यसपश्चात उक्त नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २०मिनेटसम्म डुबाएर राख्नुपर्छ। यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ। सरकारलाई खासै चासो नदिएको भए पनि उपभोक्ता आफैं सचेत भई आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु बुद्धिमानी जानेछ। स्वास्थ्य खबरपत्रिकाबाट साभार

एटिएमजस्तै सेनेटरी प्याड मेशिन

स्याङ्जा, असार ४ । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै गरी सेनेटरी प्याड झिक्न सकिन्छ । विद्यालयका छात्राले आफूलाई आवश्यकता परेका समयमा विद्यालयमा जडान गरिएको सेनेटरी प्याड मेशिनमा एटिएमबाट कार्ड छिराएर पैसा झिके जसैगरी स्मार्ट कार्ड छिराएर प्याड निकालेर प्रयोग गर्न पाएपछि छात्रामा खुशीयाली छाएको छ । कक्षा १० की अङ्किता खड्काले विद्यालयमा भेन्डिङ मेशिन राखेपछि धेरै सहज भएको बताए । उनले भने, “मेशिन हुनुभन्दा पहिले कक्षाकोठामा पढ्दापढ्दै रजस्वला भएमा पढाइ नै छाडेर घर जानुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या छैन ।” सोही विद्यालयकी कक्षा ९ की प्रतीक्षा शर्माले रजस्वला हुँदा विद्यालयमा डराइडराइ आउनुपर्ने र बिदा मागेर कक्षाबीचमै छाडेर घर जानुपर्ने बाध्यता मेशिन आएपछि अन्त्य भएको बताए । विद्यालयकी शिक्षिका जमुना काफ्लेले मेशिन प्रयोगमा आएसँगै छात्राको सिकाइमा धेरै सहजता पाइएको अनुभव सुनाए । पहिले पहिले छात्राले लुकाउने गरेका कुरा यन्त्रको प्रयोगसँगै खुलेर राख्न थालिएको र यसले नतिजामा समेत राम्रो प्रभाव पारेकोे शिक्षिकाको भनाइ थियो । कक्षा ६ देखि माथिका छात्रालाई लक्ष्य गरी गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त सहकार्यमा रु ८८ हजारको लागतमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि विद्यालयलाई भेन्डिङ मेशिन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । रजस्वला भएकै कारण कक्षा छाड्ने विद्यार्थीले अब यो समस्याबाट छुट्कारा पाउने गाउँपालिका उपाध्यक्ष देवी थापाले विश्वास व्यक्त गरे । रासस

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

पोखरा, जेठ ३१ । २१औं शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा तीमध्ये पाँच लाख ३९ हजार अनिच्छित हुने गरेको यहाँ आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । अनिच्छित गर्भमध्ये करीब एक चौथाइ अनियोजित जन्म हुने र दुई तिहाइ गर्भपतन हुने गर्दछन् भने बाँकी गर्भ आफैं खेर जाने गरेको कृपाका सहनिर्देशक डा महेश पुरीले बताए । उनका अनुसार गर्भधारण गर्न नचाहेका १५ देखि ४९ उमेर समूहका महिलामध्ये ४४ प्रतिशत परिवार नियोजनका आधुनिक साधनको चाहना हुँदाहुँदै पनि सहज पहुँच नहुँदा उनीहरूले कि त साधन अपनाउँदैनन् कि परिवार नियोजनको परम्परागत विधि अपनाउने गरेका छन् । नेपालका सात वटै प्रदेशमा परिवार नियोजनका साधन मागअनुसार पर्याप्त हुन नसकेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशमा सबैभन्दा बढी ५२ र प्रदेश नं २ मा सबैभन्दा कम ३८ प्रतिशत माग रहेको अध्ययनका क्रममा भेटिएको छ । नेपालमा अधिकांश गर्भवती महिलाले गर्भावस्थामा र सुत्केरी अवस्थामा आउन सक्ने स्वास्थ्य समस्याबाट बच्न र त्यसको व्यवस्थापन गर्न आवश्यक पर्ने सेवा प्राप्त गर्न नसकेको उनको भनाइ छ । तथ्याङ्कअनुसार ६४ प्रतिशत गर्भवती महिलाले कम्तीमा चार पटक गर्भ जाँच गरेको र ६१ प्रतिशतले तालीम प्राप्त स्वास्थ्यकर्मीको सहयोगबाट बच्चा जन्माएको पाइएको छ । पुरीका अनुसार गर्भ वा सुत्केरी अवस्थामा हुने स्वास्थ्य जटिलता भएका महिलाहरुमध्ये २७ प्रतिशतले मात्र आमा र नवजात शिशुले आवश्यक पर्ने सेवा पाउने गरेका छन् । सन् २०१६ को अनुमानित मातृ मृत्युदर प्रत्येक एक लाख जीवित जन्ममा २३९ मातृमृत्यु दर रहेको उल्लेख गर्दै तथ्याङ्कमा जुन दक्षिण एशिया क्षेत्रको औसतभन्दा बढी वार्षिक एक हजार ६०० को सङ्ख्यामा हुन आउँदछ । नेपाल महिलाको मागअनुसार परिवार नियोजनका आधुनिक साधनको आवश्यकता पूरा गर्न करीब वार्षिक एक करोड ७० लाख अमेरिकी डलरबाट बढेर तीन करोड डलर खर्च हुने तथ्याङ्कमा उल्लेख छ । परिवार नियोजनका सेवा परिवर्तन नगर्ने हो भने १२ लाख गर्भवती महिलालाई प्रत्येक वर्ष मातृत्व र नवजात शिशु स्वास्थ्य सेवाको विस्तृत प्याकेज प्रदान गर्न १३ करोड १० लाख अमेरिकी डलर पर्न आउँछ जसको एक चौथाइ लागतले महिलाको अनिच्छित गर्भावस्थाको स्याहारको लागत पूरा गर्दछ । परिवार नियोजनका आवश्यक सेवाहरुको चाहना पूरा गर्ने हो भने अनिच्छित गर्भधारण ८७ प्रतिशतले वा चार लाख ६९ ले घट्नेछ र सोही अनुपातमा अनियोजित गर्भपतन र आफैं खेर जाने गर्भ पनि घट्ने देखिन्छ । परिवार नियोजनका साधनहरुको सम्पूर्ण आवश्यकता पूरा भएमा वार्षिक तीन सय मातृमुत्यु दरलाई घटाउन सकिने अध्ययनले देखाएको छ । मातृत्व र नवजात शिशु स्वास्थ्य सेवा पूरा गर्न सके मृत्युदरलाई घटाउन सकिने सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपाल परिवार नियोजन सङ्घ कास्की शाखाका अध्यक्ष निरञ्जन श्रेष्ठका अनुसार कास्की जिल्लामा परिवार नियोजनका पाँचै प्रकारका साधन उपलब्ध गराउँदै आएको छ । शहरी क्षेत्रभन्दा पनि विकट क्षेत्रमा परिवार नियोजन शिक्षा र साधनको पहुँच पुग्न नसकेको बताउँदै उनले जनचेतना अभिवृद्धिका साथ आगामी कार्यक्रम ग्रामीण क्षेत्र लक्षित हुनुपर्नेमा जोड दिए । गैरसरकारी संस्था महासङ्घ नेपालका महासचिव रामप्रसाद सुवेदीले सरकारले परिवार नियोजनका क्षेत्रमा लगानी बढाउँदै विकट बस्तीका जनतासम्म पुग्नुपर्नेमा जोड दिँदै त्यसका लागि स्थानीय सरकार र गैससको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । लिङ्गका आधारमा गरिने भू्रण हत्यालाई निरुत्साही गरिनुपर्नेमा जोड दिँदै उहाँले त्यसका कारण महिलाको स्वास्थ्यमा दिनप्रतिदिन जोखिम बढ्नाका साथै ठूलो धनराशि खर्च हुने गरेको बताए । परिवार नियोजनका अत्याधुनिक साधनको मागलाई परिपूर्ति गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तह, निजी क्षेत्रसँगै अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबीच सामूहिक प्रयास आवश्यक देखिएको छ । रासस

नवीकरण नगराएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

लहान, जेठ २४ । लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए । त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर र मिर्चैयास्थित सहलेश पोली क्लिनिक पनि बन्द गर्न निर्देशन दिइएको उहाँले बताए । उनले नवीकरण नगराएका स्वास्थ्य संस्थालाई दुई महिनाको समय दिइए पनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन भने । प्रदेशलाई सुखी र समृद्ध बनाइने प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई सुखी र समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । सप्तरीको मलेठ घटनाका शहीदहरुको स्मृतिमा प्रदेश सरकारले निर्माण गर्न लागेको शहीद स्तम्भ शिलान्यासका क्रममा शुक्रबार उनले प्रदेशलाई सुखी र आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिएमात्र शहीदको सपना पूरा हुने भएकाले त्यही अनरुप प्रदेश सरकारले योजनाहरु बनाएको बताए । आफूहरुले संविधान संशोधनको मुद्दामा अझै सङ्घर्ष जारी राखेका छौँ भन्दै राजपाका नेतासमेत रहेका मन्त्री सोनलले संविधान संशोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिए । गत २०७३ साल फागुन २३ गते तत्कालीन एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरी र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा शहीद भएकाहरुको सम्झनामा प्रदेश २ सरकारले घटनास्थलमा शहीद स्तम्भ निर्माण गर्न लागेको हो । रासस

महानगर प्रमुख महर्जन अस्पताल भर्ना

काठमाडौं जेठ ७ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना भएका छन् । बुधबार उनको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको छ । आइतबार अपराह्नबाट पेट दुख्ने समस्या आएपछि उनी अस्पताल भर्ना भएका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । सुमेरु सिटी अस्पतालका जनरल सर्जन, युरोलोजिष्ट डा रवीनबाबु बस्नेतको टोलीले उनको शल्यक्रिया गरेको प्रवक्ता महर्जनले बताए । शल्यक्रियामा संलग्न चिकित्सक डा बस्नेतले दिएको जानकारीअनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस

पत्रकार मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जर्नाे’ अवार्ड

काठमाडौं, जेठ ४ । सोसाइटी अफ हेल्थकेयर जर्नालिष्ट नेपालका अध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जाेर्नाे अवार्ड २०१९’ प्रदान गरिने भएको छ । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको अवार्ड छनौट समितिको शुक्रबार बसेको अन्तिम बैठकले स्वास्थ्य विधातर्फको २५ हजार नगदसहितको हेल्थ जोर्नो अवार्ड मिश्रलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त अवार्ड एक समारोहबीच अगामी शुक्रबार राजधानीमा प्रदान गरिने छ । रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानले हरेक वर्ष स्वास्थ्य, शिक्षा, वातावरण, महिला गरि विधागत रुपमा ६ बिधाका उत्कृष्ठ पत्रकारलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । रोटरीले यो वर्षदेखि ६ वटा विधा बाहेक मिडिया हाउसलाई पनि अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । स्वास्थ्य विधा तर्फको रोटरी हेल्थ जोर्नो अवार्ड यस अगाडि स्वास्थ्य पत्रकार पदमराज जोशी, दीपक दाहाल र भगवती तिमिल्सिनाले प्राप्त गरिसकेका छन् ।

चितवनका २ निजी मेडिकलले पाए ‘कलेजो प्रत्यारोपण’ लाइसेन्स

काठमाडौँ, बैशाख ३१ । थप दुईवटा निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स पाएका छन् । लाइसेन्स पाउने दुबै मेडिकल कलेज उपत्यका बाहिरका हुन् । स्वास्थ्य सेवा विभाग अंगप्रत्यारोपण समन्वय समितिको सचिवालयका अनुसार कलेजो प्रत्यारोपण गर्ने अनुमति पत्र (लाइसेन्स) पाउनेहरुमा चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ हस्पिटल भरतपुर र चितवन मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर रहेका छन् । यी दुवै कलेजले यसअघि मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाइसकेका थिए । गत १६ बैशाखमा बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले यी दुई मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स दिएको हो । योसँगै नेपालमा कलेजो प्रत्यारोपण गर्ने संस्था चार पुगेको छ । यसअघि भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पाइसकेका छन्। भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ । अंग प्रत्यारोपण समन्वय समितिका सदस्य सचिव एवं विभागका महानिर्देशक डा गुणराज लोहनीले कलेजो प्रत्यारोपण गर्न पाउ भन्दै दिएको दरखास्त उपर जाँचबुझ तथा स्थलगत अनुगमन प्रतिवेदनका आधारमा लाइसेन्स दिने निर्णय गरेको बताए । उनले जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको हिसावमा सक्षम रहेको पाएपछि लाइसेन्स दिइएको स्पष्ट पारे । त्यसो त पुरानो मेडिकल कलेजले करीब ४ वर्षअघि अर्थात सन् २०१५ मै मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाएको थियो । चितवन मेडिकल कलेजले मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स एकै पटक पाएको हो । सीएमसीलाई मिर्गौला प्रत्यारोपण गर्ने लाइसेन्स समेत १६ बैशाखमै बसेको प्रत्यारोपण समितिको बैठकले निर्णयले गरेको थियो ।

जान्नुहोस्, पायल्सपछि कस्ता कुरामा दिने ध्यान?

काठमाडौं । पायल्स भएमा हरेक दिन शारीरिक व्यायाम गर्ने । नियमित रुपमा योग गर्ने, प्रशस्त पानी पिउने । हरियो सागपात काँचै खाने, दैनिक रुपमा फलफूल खाने । खानासँग मुला, काँक्रो र गाँजर खाने। नरिवल, अनार, स्याउजस्ता फलफूल अधिक मात्रामा खाने । पायल्स भएका विराममीले चिल्लो, पिरो, तथा मसला बढी भएको माछा मासु नखाने । पायल्स भएको पक्का भयो भने बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चिया, कफी, चुरोट तथा रक्सीजस्ता चिज उपभोग नगर्ने । पायल्सका बिरामीले हप्तामा एकपटक आवश्यकताअनुसार पेट सफा गर्ने। खानेकुरा खाँदा एकदम कम र हल्का खाने। शरीरले पचाउने गरी मात्रै खानुपर्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, वैशाख २९ । आइतबार आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन)को आह्वानमा नाइटिङ्गलको जन्मदिन (१२ मे) लाई नर्सिङ दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा नेपालमा पनि नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी ४८ हजार ९ सयभन्दा धेरै नर्स रहेको नेपाल नर्सिङ परिषदले जनाएको छ । नेपालमा नर्सिङ अध्ययनका लागि सरकारी तथा निजी लगानीका गरी साढे २ सय शिक्षण संस्था छन् । ती संस्थाले हरेक वर्ष उत्पादन गर्ने ८ हजारभन्दा धेरै नर्सहरु रोजगारी नपाउने समस्याबाट पीडित छन् । काममा विभेद हुनेगरेको पनि उनीहरुको गुनासो छ ।

कस्ता छन्, स्मरणशक्ति बढाउने तरिका?

अर्पण शर्मा, काठमाडौं । बदलिँदो जीवनशैली, तनाव, अस्वस्थ खानपान र अपूरो निद्राजस्ता विभिन्न कारणले मानिसको स्मरण शक्ति कमजार हुँदै गइरहेको छ । उमेर  ढल्किदै जाँदा स्मरणशक्तिमा कमी आउनु स्वाभाविक हो । तर, पछिल्लो समय कम उमेरमा स्मरणशक्तिमा समस्या देखिन थालेको छ । स्मरणशक्ति बढाउनका लागि विभिन्न विधि अपनाउन सकिन्छ ।  खानपानहामीले दैनिक सेवन गर्ने खाद्यपदार्थको मस्तिष्कसँग सीधा सम्बन्ध हुने गर्छ । बजारमा पाइने विभिन्न खानेकुरा, कोलड्रिंक्स र फास्ट फुडले स्वास्थ्यमा असर गरिरहेको छ । यसकारण स्मरणशक्ति बढाउने खानेकुरा जस्तैः बदाम, काजु, ओखर र अन्य नट्स आदि नियमित खानुपर्छ । दूधजन्य खाद्यपदार्थ तथा फलफूल पनि मस्तिष्कका लागि उपयोगी खाद्यपदार्थ हुन् ।  टेक्निक कुनै पनि कुरा स्मरण गर्नका लागि टेक्निक सबैभन्दा महत्वपूर्ण हो । यसलाई निमोनिक्स भनिन्छ । यस विधिअनुसार याद गर्दा बढीभन्दा बढी कुरा एकैचोटि स्मरण गर्न सकिन्छ । जस्तैः कुनै पनि स्थानको आधारमा स्मरण गर्न सकिन्छ । आफूले स्मरण गर्नुपर्ने कुनै विषयलाई कुनै अन्य परिचित स्थान वा अन्य वस्तुसँग दाँजेर स्मरण गर्न सकिन्छ । स्मरणका लागि यो एकदमै प्रभावकारी विधि हो । विश्लेषणहरेक कुरा लामो समयसम्म स्मरणमा राखिराख्न विश्लेषण एकदमै जरुरी हुन्छ । अध्ययनअनुसार कुनै कुरा हाम्रो अवचेतन दिमागमा राख्न एक मिनेटमा पढेको कुरालाई करिब तीन मिनेटसम्म विश्लेषण गर्न जरुरी हुन्छ । जसले गर्दा सूत्र, मिति वा अन्य याद राख्नुपर्ने विषय दिमागबाट कहिल्यै पनि मेटिँदैनन् । विद्यार्थीले परीक्षामा कति लेख्छ भन्दा पनि कति पछिसम्म याद राख्छ वा जीवनभरमा कति हदसम्म काम लाग्छ भन्ने कुरा महŒवपूर्ण हुन्छ । जुन सिकाइको समयमा विश्लेषणले सम्भव गराउँछ । तसर्थ, स्मरणशक्ति बढाउने उपायमध्ये विश्लेषण पनि प्रमुख हो । काम गर्दा विश्रामकरिब आधा घन्टाको सिकाइमा १० मिनेट ब्रेक लिनुपर्छ, जुन अवधिभित्रमा लिएको ज्ञानलाई सही स्थानमा राख्न सकिन्छ । लगातार लामो समयसम्म पढ्दा ज्ञान लिन सकिँदैन, यसले विद्यार्थीमा बोझ मात्रै बढाउँछ । तर, ब्रेकको समयमा युट्युब, टिभी, फेसबुक हेर्ने र भिडियो गेम खेल्ने गर्नुहुँदैन । सामान्यतया व्यक्तिको आँखाबाट ९० प्रतिशत मानसिक शक्ति बाहिर जाने भएकाले यस्ता क्रियाकलाप गर्दा मस्तिष्कले आराम गरेको मानिँदैन । ब्रेकको समयमा शारीरिक काम वा ध्यान गर्न सकिन्छ, यस्ता क्रियाकलापले मस्तिष्कको क्षमतामा वृद्धि हुन्छ । मस्तिष्कमा चित्र बनाउनेसामान्यतया कुनै फर्मुलाभन्दा चित्रित गरिएका विषयवस्तु छिटो र लामो समयसम्म याद भइरहेका हुन्छन् । तसर्थ स्मरण गर्नुपर्ने कुरा मस्तिष्कमा कुनै चित्र बनाएर पढ्दा लामो समयसम्म दिमागमा रहिरहन्छ । समूहमा पढ्नेखासगरी विद्यार्थीका लागी समूह बनाएर पढ्ने विधि स्मरणको राम्रो विधि हो । यसले सहज ढंगले मस्तिष्कमा लामो समयसम्म बस्न मदत गर्छ । र, साथीहरूको माझमा एक–अर्कासँग छलफल गर्दा राम्ररी बुझिन्छ । कुनै पनि कुरा मानिसले आफ्नो मस्तिष्कमा राख्न सक्छ । तर, यसका लागि राम्ररी बुझ्न आवश्यक हुन्छ । जसका लागि समुहमा पढ्ने राम्रो विधि हो । अनुवादकुनै कुरा बुझ्न वा याद गर्नका लागि अनुवाद गरेर पढ्न सकिन्छ । कुनै विषयवस्तुलाई अनुवाद गर्दा दिमाग सक्रिय हुन्छ । फलस्वरूप दिमागमा चाँडो बस्छ । परीक्षाको समयमा  याद गर्नुपर्ने लामा नोटलाई विद्यार्थीले अनुवाद गरेर स्मरण गर्न सक्छन् । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

रुघाखोकीबाट हुम्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो, २ सय सय बिरामी

काठमाडौं, बैशाख १५ । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’ सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदल जान तीन दिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन । जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्‍याउन सरकारले हेलिकोप्टरसमेत व्यवस्था गर्न सकेको छैन । महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीय जगत शाहीले बताए । गाउँपालिका प्रमुख बागदल मल्लले एक दर्जन बस्तीमा रोग फैलिएको जानकारी दिए । उनले संक्रमण देखिएको दुईदेखि चार दिनभित्रै बिरामीको मृत्यु हुने गरेको बताए । मैला स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीका अनुसार दुई दिनअघि १० महिने बालकको समेत मृत्यु भएको छ । पूरै गाउँ इन्फ्लुएन्जाबाट प्रभावित भएको उनले बताए । अझै हिँडेन स्वास्थ्यकर्मीको टोली विकट ताँजाकोटमा नौजनाको ज्यान गइसक्दा पनि औषधि र विज्ञसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको छैन । प्रदेश सरकारले शनिबार नेपालगञ्जबाट बाजुराको कोल्टीसम्म जहाजमा जाने र त्यहाँबाट पैदल पठाउने गरि शनिबार औषधि र उपकरणसहितको स्वास्थ्यकर्मी टोली खटाएका थियो । कोल्टीबाट पैदल ताँजाकोट पुग्न एक दिन लाग्छ । तर, प्रतिकूल मौसमका कारण कोल्टीका लागि जहाज उड्न नसकेपछि टोली नेपालगञ्जबाट अघि बढ्न सकेन । कर्णाली प्रदेश स्वास्थ्य महाशाखाका महामारी सम्पर्क व्यक्ति श्याम आचार्यको नेतृत्वमा डा। टेकराज भट्टराई र एकजना ल्याबका कर्मचारी साँझ सुर्खेत नै फर्किएको प्रदेश महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । गृहले हेलिकोप्टर पठाए आइतबार जाने सुर्खेतबाट औषधिसहित चिकित्सकको टोली ताँजाकोट ल्याउन हेलिकोप्टर उपलब्ध गराइदिन हुम्ला जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई पत्र पठाएको छ । गृहजिल्ला हुम्ला पुगेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले हेलिकोप्टरका लागि सिडिओमार्फत पहल गरेका हुन् । तर, गृहले शनिबार अबरेसम्म पनि हेलिकोप्टर उपलब्ध गराउने निश्चित नगरेको खबर प्राप्त भएको प्रदेश महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । यो समाचार नयाँ पत्रिकाबाट लिइएको हो ।

गुल्मीमा फैलिएको झाडापखाला अझै आएन नियन्त्रणमा

गुल्मी, बैशाख १३ । गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । गाउँदेखि ५ किलोमिटर टाढा रहेको ट्यांकीबाट ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी दूषित भएपछि गएको आइतबारदेखि स्थानीयहरुमा सामान्य झाडापखालाको लक्षण देखिएको थियो । दूषित पानीका कारण बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेका थिए । शुक्रबार बिहानसम्ममा बिरामीको संख्या बढेर १०४ पुगेको स्थानीय हरि छन्त्यालले जानकारी दिए । झाडापखालाको प्रकोप देखिएको ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीहरुको उपचार गरी स्थिति सामान्य बनेपछि सदरमुकाम फर्किसकेको छ । तर पनि झाडापखाला भने अझै नियन्त्रणमा आएको छैन । उक्त मुहानको पानी उमालेर खााँदा पनि मानिसहरु बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्याहरु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो । अहिले यो गाउँमा ट्यांकरबाट खानेपानी वितरण भैरहेको छ । बिरामीको स्थानीय ठाउँमा नै सञ्चालन गरिएको अस्थाइ स्वास्थ्य शिविर, गुल्मी अस्पताल र बुटवलको गौतमबुद्ध अस्पतालमा उपचार भैरहेको छ । अधिकांश विद्यार्थी पनि बिरामी परेकाले विद्यालयसमेत बन्द गरिएको छ । उज्यालो अनलाइनबाट साभार गरिएको हो ।

दुईदिन देशभर सबै बालबालिकाहरुलाई भिटामिन ‘ए र जुकाको औषधि खुवाउँदै

काठमाडौं, वैशाख ६ । २०७६ नेपाल सरकारले शुक्रबार र शनिबार देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.आरपी बिच्छाका अनुसार २८ लाख बालबालिकालाई अभियानमा समेट्ने सरकारको लक्ष्य छ । कार्यक्रमका लागि ५४ हजार महिला स्वयंसेविका र प्रत्येक जिल्लाबाट जनस्वास्थ्य कर्मचारी खटिनेछन् । प्रदेश अन्तर्गतका स्थानीय तहले नै कार्यक्रम सञ्चालन गर्ने उनले बताए । बालबालिकालाई संक्रामक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रति गरिएको छ रोगप्रतिरोधी क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धी रोगबाट बचाउन भिटामिन ए खुवाउने गरिन्छ । भिटामिन ए तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशैं परेकोले कात्तिक १४ र १५ गते खुवाइएको थियो । कर्मचारी समायोजन फ्रक्रियाले कार्यत्रम प्रभावित हुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्क्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको छ । मुलुक संघीयतामा गएसंगै ७ सय ५३ वटै स्थानीय तहले यो कार्यत्रम सञ्चालन गर्ने जिम्मा पाएका छन् ।

३०० प्रतिशतले बढ्यो, विश्वभर दादुराका बिरामीको संख्या

जेनेभा, बैशाख ०३ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाइ छ । विश्वभरबाट संकलित प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो, डब्लुएचओले भनेको छ । विगत दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढ्दै गएको पाइएको थियो र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ । डब्लुएचओको वक्तव्यमा भनिएको छ, संकलित तथ्यांक प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई संकेत गरेको छ । धेरै देशमा दादुराका बिरामी निकै ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ । यस वर्ष विश्वका १७० देशबाट संकलित तथ्यांकमा एक लाख १२ हजार १६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १६३ देशको तथ्यांकमा २८ हजार १२४ जनामा दादुरा देखिएको थियो । हावाबाट सङ्क्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरू उठ्ने गर्छ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्छ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करीब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् । यो समाचार लोकान्तरबाट लिइएको हो ।

चितवन मेडिकल कलजे सुरु गर्यो टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया, स्वास्थ्यमन्त्री यादवद्वारा उद्घाटन

चितवन, चैत २५ । मुलुक केन्द्र भागमा रहेको राजधानीबाहिर मेडिकल सिटीका रुपम परिचित चितवनमा न भिट्रो फर्टिलाइजेसन अर्थात टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया सुरु गरिएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले जिल्लामा नै पहिलो पटक आइभिएफ प्रविधिवाट महिलालाइ कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो । कलेजले विश्व स्वास्थ्य दिवसको अवसर पारेर अस्पताल अन्र्तगतकै चितवन मेडिकल फर्टिलिटि सेन्टर स्थापना गर्दै टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए । अस्पतालले अत्याधुनीक प्रजनन् संरक्षण सेवा सहितको टेष्ट टयूव वेवी सेन्टरको स्थापना गरेको उनले बताए । जहाँ ईन विट्रो फर्टिलाइजेशन, इन्ट्रा साइटोप्लाज्मिक स्र्पस इन्जेक्सन र भ्रुण बैङ्किङ सेवाहरु प्रदान गर्नेछ । न भिट्रो फर्टिलाइजेसन अर्थात टेष्ट टयुव बेबी गर्भाधान प्रक्रियाको एक समारोहका विच नेपाल सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्धघाटन गरेका थिए । झण्डै १ बर्षको लामो प्रयासपछि राजधानी काठमाडौँ जाने बाध्यता हटाउनसगैँ सहज रुपमा आफ्नो ठाउँमा गुणस्तरीय सेवा दिन टेष्ट टयुव बेबी गर्भाधान कार्य सुरु गरेको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रो।डा।हरिशचन्द्र न्यौपानेले जानकारी दिए । सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री यादवले सरकारले समेत नयाँ नयाँ उपचार सेवा दिने लक्ष्य राखेको अवस्थामा निजि क्षेत्रको पहलमा चितवनमा चितवन मेडिकल कलेज सुरु गरेको यो आम जनताको लागि लाभ दायिक हुने विश्वास व्यक्त गरे भने यस्तो सेवालाई सर्वसुलभ र विश्वसनीय नै गुणस्तरीयमा समेत ध्यान दिन आग्रह समेत गरेको थिए । कलेजका अस्पताल निर्देशक प्रो.डा. दयाराम लमसालले स्वागत मन्तव्य व्यक्त गर्दै लगानी, प्राविधि र जनशक्तिको हिसाबले कठिन भएपनि सरकारको निति तथा कार्यक्रम भित्र रहेर स्वास्थ्य आमा बुवा र वच्चाको लागि यो सेवा सुरु गरिएको जानकारी दिए । नेपालमा १५ प्रतिशत विवाहीत उमेर समुहका दम्पतीहरु निसन्तान समस्यामा छन् । अधिकास गर्मी स्थानमा कामको खोजीमा जाने ३८ प्रतिशत नेपाली कामदार शुक्राणु घट्दै जाने जोखीममा छ । भने झण्डै ६० प्रतिशत दम्पती उन्नत उपचारको खोजीमा विदेश गईरहेका छन् । चितवन मेडिकल कलेजका स्त्री प्रसुती तथा रोग विभाग प्रमुख डा. उपेन्द्र पण्डितको अगुवामा यो सेवा सुरु गर्ने लागेको हो । आगमी १ हप्ता भित्र चितवनमा जन्मिने वेव िप्रक्रिया सुरु गर्ने उनले बताए । उनका अनुसार अनुसार चितवन मेडिकल कलेजमा दैनिक २ देखि ३ जना दम्पत्तिहरु यस्तो समस्या लिएर अस्पताल आउने गरेका छन् । उनका अनुसार फर्टिलिटि सेन्टर स्थापना संगै सन्तान नभएका तर सन्तानको रहर भएका दम्पत्तिले विदेशमा गई उपचार गर्न पने बाध्यताको अन्त्य भएको अस्पताले जनाएको छ । झण्डै ३ करोडको लगानीमा आएको सेन्टरभित्र छुटाछुटै ल्याब, अपरेशन कक्ष, विर्य संकलन, चेकजाँच, डे«स चेन्ज, परामर्श कक्ष तथा विर्शाम कक्षहरुको व्यवस्था गरिएको छ । काठमाडौँमा ३ लाख रुपैयाँसम्म खर्च लाग्ने भएको यो सेवा चितवनमा भने १ लाख ५० हजार रुपौयाँ देखि २ लाख ५० हजार रुपौयाँमा सर्वसाधारण सेवा लिन सक्नेछन् । यसरी निकालिन्छ टेष्ट टयुव बेबी यसमा विशेषज्ञहरुले एक मानिसको शरीरबाट ओभम झिकेर यसलाई प्रयोगशालामा निशेचन गराएर गर्भाशयमा भ्रुणलाई स्थानान्तरण गर्दछन् । अनि आइभिएफ प्रविधिवाट महिलालाइ कृत्रिम गर्भाधान गरिन्छ । आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा एउटा थालमा राखिन्छ । जहाँ निषेचन हुन्छ । निषेचित भ्रुणलाई करिब ४८ घन्टा पछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । भ्रुण प्रतिस्थापन गरेपछि सामान्य शिशु सरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन सक्छ । महिलाको डिम्ब र पुरुषको शुक्रकिट प्राकृतिक रूपमा निषेचित नभई प्रयोगशालामा उपयोग गरिने सिसाको थालमा हुने भएकाले यो प्रविधि अन्तर्गत जन्मिएका लाई टेस्ट ट्युब बेबी समेत भन्ने गरिन्छ ।

किन पर्छ कपालमा चाया? जान्नुहोस् बच्ने उपाय

काठमाडौं, चैत १२ । जाडो र गर्मी दुबै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ। टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो बेला टाउकोमा सेता, मसिना फुस्रा दाग देखिन्छन्, जसलाई हामी चाया भन्छौँ । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना वढी हुन्छ। कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ। शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोग जस्ता कारणले पनि चाया पर्छ। तनाव, थकान, चिन्ता र एलर्जीको कारण पनि चाया पर्छ । चाया पर्न नदिन सरसफाई र सन्तुलित भोजनमा ध्यान दिनुपर्छ। भिटामिनयुक्त खाना खाने, नियमित रुपमा कपाल नुहाउने, स्याम्पु र तेलको प्रयोग गर्दा पनि ध्यान दिन सके चाया पर्ने सम्भावना रहँदैन। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।