कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीहरुको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन्।

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरे। मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनको भनाई छ।

हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ।

शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीले अनुसन्धान थालेको समाचारमा जनाइएको छ।

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेकी छन्। यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरूको बैठकमा सहभागी हुन नेपाल आएकी उनले बिहीबार मन्त्री पुनलाई भेटेकी हुन् । युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबे  विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमणमा गरेको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिइन् । यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा इम्जा हिमतालमा जमेको हिउँ बाहिर निकालेर ताल फुट्न सक्ने जोखिम घटाइएको थियो । युएनडिपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो । आगामी दिनमा त्यस्तै जोखिममा रहेकाका सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको यूएनडिपीले जनाएको छ । भेटमा उनले युएनडिपीले नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेको बताइन् । आफूले भ्रमणका क्रममा वातावरणीय परिवर्तनका कारण नेपालले भोगेका समस्याबारे जानकारी पाएको भन्दै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’ को कार्यक्रम नेपालमा लागू गरिने बताइन्। भेटमा मन्त्री पुनले यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरूको बैठक नेपालमा राखेकामा धन्यवाद दिए । जलवायु परिवर्तनका कारण नेपाल जस्ता अल्पविकसित मुलुकहरूले भोग्नुपरेका विकराल समस्याबारे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले समेत नेपालको भ्रमण गरी जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका विकराल समस्याबारे विश्वव्यापी जानकारी गराएको स्मरण गरे । यस्तै यूएनडिपीले नेपालसहित हिन्दकुश हिमालय क्षेत्रका देशहरूका पक्षमा संयुक्त रूपमा काम गर्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग सम्झौता गरेकामा पनि खुसी व्यक्त गरे । नेपाल र यूएडिपीबीच लामो सहकार्य रहँदै आएको चर्चा गर्दै मन्त्री पुनले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे । आगामी दिनमा समेत द्विपक्षीय सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे। भेटमा यूएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबे पनि सहभागी थिइन्।

पर्यटन क्षेत्रको विकास अपरिहार्य  : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका छन् ।  बिहीबार काठमाडौंमा जाउँ हिँड रेसुंगा अभियानको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकलाई अहिलेको स्थितिबाट माथि उठाउन पनि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए । उनले मुलुकलाई समुन्नत बनाउने आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्र पनि एक भएको बताए । पर्यटन क्षेत्रको विकासद्वारा नै रोजगारी सिर्जना र मुलुक समृद्ध बनाउनसक्ने उनको भनाइ थियो । बसाइँसराइको प्रक्रियालाई पनि पर्यटकीय क्षेत्रको विकासद्वारा रोक्न सकिने बताए ।  उनले भने, 'हाम्रो मुलुक अहिले जुन स्थितिबाट गुज्रिरहेको छ, हामीले मुलुकलाई समुन्नत बनाउनको निमित्त आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्रलाई पनि एउटा महत्त्वपूर्ण आधारको रूपमा लिएका छौँ । पर्यटन क्षेत्रको विकासद्वारा नै हामीले रोजगारी सिर्जना गर्नसक्छौँ र मुलुकलाई आर्थिक रुपबाट समृद्ध बनाउन सक्छौँ । अहिले जुन हिसाबले जनसमुदायको स्थानान्तरण जसरी हुने गरेको छ, त्यो स्थानान्तरणको प्रक्रियालाई पनि यस्तै पर्यटकीय क्षेत्रको विकासद्वारा मात्रै रोक्न सकिन्छ ।'

गल्याङका सिनिय अहेबविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ । अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।उनी हाल अवकाश प्राप्त गरी आफ्नै मेडिकल सञ्चालन गर्छन ।

भारतीय प्रधानन्यायाधीश चन्द्रचुड शुक्रबार काठमाडौं आउँदै

काठमाडौं । भारतीय प्रधानन्यायाधीश धनन्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल आउने भएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।  उनी एक गोष्ठीमा सहभागी हुन नेपालको तीनदिने भ्रमणमा आउने भएका हुन् । उनी शुक्रबार  काठमाडौं अवतरण हुनेछन् ।  उनले शनिबार प्रधानन्यायाधीश श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानन्यायाधीश आइतबार स्वदेश फर्कने छन् । 

लोकप्रिय