सबै स्थानीय तहमा दन्त चिकित्सकको दरबन्दी दिन डेन्टल एशोसिएशनको माग

विश्व स्वास्थ्य दिवस ‘ह्यापी माउथ इज अ ह्यापी बडी’ भन्ने नाराका साथ मनाईदै

सबै स्थानीय तहमा दन्त चिकित्सकको दरबन्दी दिन डेन्टल एशोसिएशनको माग

काठमाडौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसिएशनले देशभरका सबै स्थानीय तहका दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गर्न सरकारसमक्ष माग गरेको छ । 
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिशनले सरकारसँग यस्तो माग गरेको हो । मार्च २० तारिखका दिन विश्वभर मुख स्वास्थ्य दिवस बनाइने गरिन्छ । यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘ह्यापी माउथ इज अ ह्यापी बडी’ रहेको छ । 
एशोसियसनले संसारको ९० प्रतिशत जनसंख्याको आफ्नो जीवनमा एकपटक दाँत किराले खाने, गिजाको समस्या एवं मुखको क्यान्सरको समस्याबाट पीडित हुनसक्ने उल्लेख गरेको छ । मुखको क्यान्सर सुर्ति तथा सुर्तिजन्य पदार्थ र अल्कोहल सेवन गर्नेहरुमा उच्च जोखिम रहने बताइएको छ । 
विकसित मुलुकहरुमा मुख तथा दन्त उपचारमा कुल स्वास्थ्य बजेटको ५ देखि १० प्रतिशत खर्च हुने भएपनि नेपालमा दन्त उपचारमा न्युन बजेट रहेको भन्दै एशोसिएशनले सरकारको ध्यानाकार्षण गराएको छ ।
एशोसियशनका अध्यक्ष डा. प्रणय रत्न शाक्यले विश्व मुख स्वाथ्य दिवस संसारभर भव्य रुपमा मनाइने भएपनि नेपालमा भने यसको प्रभाव कम रहेको बताए । मुख स्वास्थ्य दिवसलाई स्थान दिन माग गर्दै आफूहरुले विभिन्न काम गर्दै आएको बताए । 
कान्ति बाल अस्पतालमा कार्यरत डा. कुम्भराज जोशीले मुख स्वास्थ्य सम्बन्धी समस्या आउँदा धेरै ध्यान नदिइने गरिएको पाइएको बताएका छन् । मुख स्वास्थ्य सम्बन्धी समस्या धेरै भएपनि त्यसको उपचार र समस्या समाधानका लागि हुनुपर्ने पहल नभएको बताए । 
अहिले वार्षिक रुपमा एक हजारभन्दा बढी दन्त चिकित्सकहरु उत्पादन भइरहँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । जनशक्ति उत्पादन भइरहँदा पनि मुख स्वास्थ्य सम्बन्धी समस्या समाधान हुन बाँकी रहेको बताए । साथै, उनले तत्काल दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गर्न पनि सरकारको ध्यानाकार्षण गराए । 
‘स्थायनीय सरकारमा पनि दन्त चिकित्सकहरुको दरबन्दी बनाइयोस् । त्यो भन्दा माथिल्ला अस्पतालहरुमा दन्त चिकित्सक र विशेषज्ञ दन्त चिकित्सकहरुको दरबन्दी यथाशीघ्र सञ्चालन गरियोस् भन्ने हाम्रो माग छ,’– उनले भने । 
एशोसिएशनका महासचिव डा.विश्व प्रकाश ठकुरीले आफूहरुले गरेको जस्ता कार्यक्रम नेपाल सरकारले बजेट विनियोजन गरेरै गर्नुपर्ने बताए । उनले अरु दिवसजस्तै सरकारले आगमी दिनमा सरकारले मनाउन पर्ने भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकार्षण गराए । 
स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो समय नसर्ने प्रकृतिका रोगहरुको भयावह अवस्था आउन सक्ने भएकाले दरबन्दी त्यतातिर केन्द्रीत रहेको बताए । पछिल्लो समय मधुमेह, उच्चरक्तचाप, मृगौला रोग, मुटु रोग हुँदै दाँत तथा मुख सम्बन्धी रोगको प्रकोप बढ्दो रहेको बताए । सबै क्षेत्रमा आवश्यक दरबन्दी सरकारले दिन नसके पनि  दाँत तथा मुख स्वास्थ्यका क्षेत्रमा विगतका तुलनामा धेरै काम भइरहेको बताए । डा. बुढाथोकीले स्थानीय तह, प्रदेशस्तरका अस्पतालमा  दन्त चिकित्सकहरुको व्यवस्थापनको काम विभागबाट भइरहेको बताए । पुरानो ओरल हेल्थ पोलिसीलाई अब ओरल हेल्थ स्टाटेजीको रुपमा विकसित गरिने पनि उनले बताए । 
प्रत्येक वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रले पनि अब दाँत तथा मुख स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । अस्पतालहरुले पनि गर्छन । हामीले कमसेकम भएका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएर काम गर्न सक्ने बनायौं भने विस्तारै दरबन्दी सिर्जना गर्न हामीलाई सजिलो हुन्छ । 
अहिले हरेक जिल्लामा रहेका जिल्ला अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल र विशिष्टिकृत अस्पतालहरुमा पनि डेन्टल सर्जन र विशेषज्ञहरुको दरबन्दी राखेको उनले बताए । १५ बडेको अस्पतालमा पनि एक जना दन्त चिकित्सक दिनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । ती भन्दा तल्लो तहका अस्पताल र स्वास्थ्य संस्थाहरुमा त्यही भएका जनशक्तिहरुलाई तालिम दिएर काम गरिनुपर्ने बताए । 
साथै, विभागमा मुख स्वास्थ्य दिवस मनाउने गरी कार्यतालिका रहेको बताए । उनले आफ्नो पेसालाई उच्च र सम्मानित बनाउन दिवस मनाउन आवश्यक रहेको बताए ।  साथै उनले अब दाँत तथा मुखसम्बन्धी रोगबारे जनचेतना फैलाउने कार्यमा  लाग्न दिवस नै कुरेर नबस्न समेत उनले सबै दन्त चिकित्सकहरुलाई आग्रह गरे ।

नेपाललाई वेस्टइन्डिज ए ले दियो १६१ रनको लक्ष्य

काठमाडौं । वेस्टइन्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो । रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

बझाङमा मतगणना सुरु

धनगढी । बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी (रासस)। जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।            लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । दुर्घटनामा सत्यवति–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शङ्कर विक घाइते भएको प्रहरी नायब उपरीक्षक पोख्रलले बताए । घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।     

बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरातर्फ आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५, हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ यात्री सवार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका निम्ति लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले बताए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्‍याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ । थप विवरण आउन बाँकी छ,” शर्माले भने । तनहुँबाट रिजर्भका निम्ति बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्कने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । रासस

लोकप्रिय