खाने तेलभन्दा खानेपानी महंगो

रामेछाप, फागुन २५। तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ। यर्थाथ यही हो। महिनाको ३ सयले भान्सामा तेल पुर्याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ। जलवायु परिर्वनले परम्परागत स्रोतहरु सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको पानी खान स्थानीय बाध्य छन्।

 

बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी तेभन्दा खर्चिलो हुन थालेको छ ।जिल्ला सदरमुकाम मन्थलीमा वितरण गरिएको खानेपानीको मासिक शुल्क न्यूनतम ६ सय छ ।

 

‘मेरो परिवारमा ३ जना छौँ, पानी महिनाको ६ सयको लाग्छ, जब कि ३ सयको खाने तेलले महिना गुजार्छु,’ मन्थलीका टेकबहादुर भुजेलले भने। भुजेलजस्ता सामान्य आय नभएका परिवारालाई मुख रसाउने कुरा असामान्य बन्दै गएको छ। बिजुलीको भाउ महंगो भएकाले पानीको महसुल बढाउनु परेको खानेपानीका व्यवस्थापक जगदीश सुवेदीले बताए।

टर्कीमा महिलालाई आइसक्रिम खान प्रतिबन्ध !

अंकारा, टर्की । टर्कीको ऐतिहासिक शहर इस्तानबुलको एउटा नगरपालिकाले सभ्य महिलाले आइसक्रिम खान नहुने भन्ने नियम जारी गरेपछि विवाद सुरु भएको छ । नगरपालिकाले महिलाहरूलाई कसरी ‘सुसंस्कृत’ बन्ने भनेर केही नियमहरू जारी गरेको छ, जसमा उनीहरूले चाट्दै आइस्क्रीम खान नहुने बताइएको छ । नियममा भनिएको छ, “यस्तो गर्नु भद्दा लाग्दछ ।” उता सामाजिक संजाल प्रयोगकर्ताहरूले यस नियमलाई महिलाको स्वतन्त्रतामाथिको आक्रमण भन्दै आलोचना गरिरहेका छन् । दुई महिने पाठ्यक्रम तैयार इस्तान्बुल्को बागसिलर नगरपालिकाले महिलाहरूलाई ‘संस्कार’ सिकाउने दुई महिने पाठ्यक्रम समेत सार्वजनिक गरेको छ । यसमा युवतीहरूलाई सार्वजनिक स्थलहरूमा कस्तो व्यवहार गर्ने भन्नेबारे प्रवचनहरूको शृंखला राखिने बताइएको छ । नगरपालिकाका अनुसार इस्तान्बुलका सभ्य महिलाहरूलाई पारम्परिक लोकाचार आउनु पर्दछ । उनीहरूलाई विनम्र रहन, भान्साघरको काममा निपुण रहन जस्ता कामहरू समेत यस पाठ्यक्रममा सिकाइने बताइएको छ । साथै उक्त पाठ्यक्रममा महिलाहरूले पुरै मुख खोलेर कुरा गर्न नहुने भन्ने समेत सिकाइने बताइएको छ । सामाजिक संजालमा प्रश्न- आइसक्रिम चाट्न नहुने भए खाने तरिका के ? नगरपालिकाले प्रस्तावित गरेका नियमहरूबारे सामाजिक संजालमा बहस सुरु भएको छ । एउटा ग्रुप ‘लेडीज गाइडमा लेखिएको छ, “ठीक छ, महिलाहरूले आइसक्रिम चाट्नु हुँदैन । तर यसो गर्नु खराब कसरी भयो भन्नेबारे पनि केही भन्नु नि !” ग्रुपमा एक जनाले लेखेका छन्, “अचम्मको कुरा केही मानिस महिलाले आइसक्रिम खाएको देखेर पनि भयभीत छन् ।” ट्विटरमा एक जनाले लेखेका छन्, “आइसक्रिम चाट्नु हुन्न भने यसलाई खाने सही तरिका पनि त भन्नु पऱ्यो ।” एक अर्को प्रयोगकर्ताले लेखेका छन्, “त्यसो भए पुरै आइसक्रिम मुखभित्र कोच्ने या अरु कुनै तरिका छ ? भनिदिनु पऱ्यो ।” एक जना भन्छन्, आफू त आइसक्रिम चाटेरै खाने हो, कृपया यस विषयमा ज्ञान नदिनु होला ।” बस यात्रामा धेरै नबोल त्यस्तै नगरपालिकाले जारी गरेको अर्को नियम अनुसार महिलाहरूले चुइङ्गम चपाउनु र बस यात्राको क्रममा फोनमा लामो वार्तालाप गर्नुलाई समेत ‘असभ्य’ कामको श्रेणीमा राखेको छ । उनीहरूलाई फोहोर शब्द उच्चारण नगर्न भनिएको छ । त्यसका साथै महिलाहरूलाई पहिलो पटक कुनै पुरुषलाई भेट्दा उनको विवाह भए नभएको या बच्चा कति छन् जस्ता प्रश्न समेत सोध्न नहुने भनिएको छ । महिलाहरूलाई ‘सुसंस्कृत’ बन्ने तालिम दिन गणितकी प्राध्यापक आरजु अरदालाई आमन्त्रित गरिएको छ । अरदा भन्छिन्, “हाम्रो धर्म, परम्परा र संस्कृतिमा निरन्तर ह्रास आइरहेको छ । समाजबाट शिष्टाचार र विनम्रता कम हुँदै गइरहेको छ । आशा छ स्थितिमा परिवर्तन आउनेछ ।”

नाङ्गै भएर खान पाइने विश्वकै पहिलो रेस्टुरेन्ट बन्द हुँदै

फ्रान्सको राजधानी पेरिसमा रहेको संसारकै पहिलो नांगै खाना खान पाउने (न्युडिस्ट) रेस्टुरेन्ट ‘ओ’नेचुरल’ ग्राहक नपाएर बन्द हुने भएको छ । ‘ओ नेचुरल’ व्यवस्थापनले आउँदो महिना रेस्टुरेन्ट बन्द हुने जनाएको हो । यो रेस्टुरेन्ट १५ महिनाअघि खुलेको थियो । सन् २०१६ मा रेस्टुरेन्ट खोल्ने बेला सहसंस्थापक स्टेफानु साडाले आफूहरुले लुगा बिहीन प्रेमी अर्थात नग्नता प्रेमीहरुका लागि ग्यास्ट्रोनोमी अर्थात पाक तथा खानपान कला उत्कृष्ट रुपमा प्रस्तुत गर्न चाहेको बताएका थिए । अहिले रेस्टुरेन्टले आफ्नो वेबसाइटमा बन्द गर्नु पर्ने बेला आएको उल्लेख गरेको छ । स्टेफानु र उनका जुम्ल्याहा भाइ तथा साथी व्यवसायी माइकले सेवाग्राही पर्याप्त नभएकाले बन्द गर्नु पर्ने अवस्थामा आएको उल्लेख गरेको द गार्जियनले जनाएको छ । यस्तै मौसम चिसो भएका कारण पनि रेस्टुरेन्ट बन्द हुन लागेको हो । यो रेस्टुरेन्ट खुल्ने बेला देखि नै यसको व्यापक आलोचना हुन थालेको थियो । यस रेस्टुरेन्टको प्रमुख विशेषता भनेको यहाँ चेन्जिङ रुम र लकर सुविधा रहेको छ जहान सेवाग्रहिउइले आफ्ना लुगा तथा अन्य मूल्यवान वस्तु  राख्ने गर्दछन् । यस रेस्टुरेन्टमा क्यामेरा तथा मोबाइल खाना खाने टेबलमा प्रतिबन्धित रहेका छन् । यहाँ आउने ग्राहकहरूलाई रेस्तुरेंतले भित्र लगाउन आफ्नै चप्पल दिने गरेको छ । यसका सीमित ग्राहकहरू भने यो बन्द हुने समाचारले दुःखित भएका छन् । एजेन्सी

यो तस्वीरमा फोन लुकेकाे छ, के तपाई पत्ता लगाउन सक्नुहुन्छ ?

एजेन्सी । सामान्य देखिने यस तस्वीरले इन्टरनेटमा धेरैको दिमाग रिंग्याएको छ । यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन् । उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन् । फोटोमा फोन लुकेको छ भन्ने जोयाको दाबी छ ।

नशाले मात्तिएक बृद्धले काटे आफ्नै पुरुष अङ्ग

नयाँ दिल्ली । मानिसहरु सनकमा के सम्म गर्दैनन् । यस्तै अचम्मको घटना भएको छ भारतमा । भारतको बैङ्गलोर निवासी एकजना ५७ वर्षीय व्यक्तिले आफ्नै लिङ्ग छेदन गरेको समाचार यतिखेर भाइरल बनेको छ । बैङ्गलोरको सोनादेवानाहाली निवासी ती वृद्धले लिंगछेदनकै कारण जीवन गुमाएका छन् । नानजप्पा नाम गरेका ती व्यक्ति पेशाले एक मजदूर हुन् । उनी एकदमै पियक्कड थिए । नशामा धूत् बनेपछि उनले बेलुका आफ्नै लिंग काटेका थिए । खबरका अनुसार, अस्पताल पुग्नुभन्दा अगाडि नै उनको मृत्यु भइसकेको थियो । लिङ्ग छेदन भइसकेपछि उनी घरमै भुईंमा लडेका थिए । उनका छोरा उक्त समयमा बाहिर काममा थिए । उनका छोराले आफ्नो बाबुले यस्तो कदम किन उठाएको भन्ने बारेमा थाहा नभएको बताएका छन् । यस घटनाबारे प्रहरीमा कुनै जाहेरी नपरेको प्रहरी अधिकारीले बताएका छन् ।   Feature Image: Symbolic only

एउटै टुना माछा ३४ करोड ७२ लाखमा बिक्री !

टोकियो, पुष २१ । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर .रु ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । “टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गर्नुभएको थियो । यसअघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । “यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,” जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदाताहरुलाई बताए । “पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,” उनले बताए । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ । एजेन्सी

ओठ सुन्दर बनाउने चक्‍करमा लाग्दा अस्पतालको बेडमा !

एजेन्सी । संसारमा समयसमयमा अलि अचम्मका घटना सुनिदै आएका छन् । आज पनि एक अलि अचम्मको घटना जानकारी गराउँदै छौं । ओठ सुन्दर बनाउने चक्‍करमा लागेकी एक युवती अस्पतालको बेडमा पुगेकी छन्। २९ वर्षीया रच्यल न्यापेर नामकी युवतीले ओठको आकार मोटो बनाउने इन्जेक्सन दिएपछि दुखाइ सहन नसकेर उनी अस्पतालको बेडमा पुगेकी हुन्। समाचारमा बताइएअनुसार ओठ मोटो बनाउन इन्जेक्सन लगाएकी थिइन्। इन्जेक्सन लगाइसकेपछि उनलाई सही नसक्नु पीडा मात्र भएन ओठको आकार ३ गुणा मोटो भएको थियो। पीडा सहन नसकेर उनी ब्युटिसियनकहाँ गइन् । ब्युटिसियनले ओठमा एलर्जी भएको भन्दै वरफले सेकिदिइन्। यसो गर्दा पनि दुखाइ र ओठको मोटाइ नघटेपछि अन्त्यमा उनी अस्पताल जान बाध्य भइन्। लन्डनको एक क्लिनिकमा उपचार गरेको ७२ घन्टापछि उनको ओठको आकार सामान्य अवस्थामा आएको छ । उनी अहिले पूर्व अवस्थामा फर्किएकी छन्। सुन्दर बन्ने बाहनामा आफूले पाउनुसम्म दुख पाएपछि अरु महिलालाई सौन्दर्यको पछाडी नलाग्न सल्लाह दिएकी छन्।

महिलाद्वारा २७ वर्षीय युवकको लिङ्ग छेदन

नयाँ दिल्ली, पुस १३ । भारतको महाराष्ट्र राज्यको थाने भन्ने सहरमा एक महिलाले अन्य दुई जनासँग मिलेर २७ वर्षीय एक युवकको लिङ्ग काटिदिएकी छिन् । ती महिलाले ती युवकले उनलाई सधैँ पछ्याएर हैरान पार्न थालेपछि उनले उक्त कदम चालेको बताएकी छिन् । उनले उक्त युवकले आफुलाई उत्पीडित गरेको आरोप लगाएकी छिन् । बिहिबार सार्वजनिक भएको उक्त घट्ना थाने जिल्लाको मानपाडा क्षेत्रको नान्दिवली गाउँमा भएको प्रहरीले जनाएको छ । प्रहरीले ती युवक र घटनामा संलग्न ४२ वर्षीय महिला एउटी टोलमा बस्ने जनाएको छ । महिलाका अनुसार उक्त युवकले गत केही हप्तादेखि उनलाई पछ्याउने र अभद्र टिप्पणी गर्ने गरेका थिए । प्रहरीलाई दिएको बयानमा ती महिलाले आफूले कुनै प्रतिक्रिया नजनाएपछि झनै हौसिएका ती युवकले महिलाका पतिलाई समेत, ‘म तिम्री स्वास्नीलाई मन पराउँछु’ भन्दै हैरान पार्ने गरेका थिए । यस कुरामा पति-पत्नी बीच झगडा समेत भएको थियो । उक्त महिलाले ती युवकलाई ‘पाठ’ सिकाउँ आफूले उक्त कदम चालेको बताएकी छिन् । प्रहरीले उक्त महिला र उनका दुवै सहयोगीहरूलाई हिरासतमा लिएको बताएको छ । घटनामा संलग्नहरूको पहिचान भने गोप्य राखिएको छ ।

कुखुराको खुट्टा भाँचेपछि चार दिनदेखि हिरासतमा !

बाँके, पुष १० । कुखुराको खुट्टा भाँचेको अभियोगमा बाँकेमा एक जना प्रहरी हिरातमा छन् । नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका हुन् । गत म्रसिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो । घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले कुखुराको खुट्टा भाँचेको आरोपमा नभई अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको बताए । प्रहरीले दुवै पक्षलाई पटक-पटक राखेर मिलाउने प्रयास गरे पनि सहमति हुन सकेको थिएन । नागरिक अगुवाहरूले स्थानीय तहको न्यायिक समितिले हेर्नुपर्ने विषयमा प्रहरी अनावश्यक रूपमा फँसेको टिप्पणी गरेका छन् ।

‘फोन नचलाउनुस्, १ लाख डलर जित्नुस्’ प्रतियोगिता, यस्तो छ भाग लिने तरिका

कठमाडौं, पुष ७ ।  यदि तपाई एक वर्षसम्म बिना स्मार्टफोन रहनुसक्नु हुन्छ भने तपाईका लागि मौका छ करोडपति बन्ने । यो खबर साँचो हो । भिटामीनवाटरले तपाईका लागि करोडपति बन्ने अवसर ल्याएको हो । भिटामिन वाटर प्रसिद्ध कोकाकोला कम्पनीकै उत्पादन हो । कम्पनीले भारतमा एउटा प्रतियोगिता शुरु गरेको छ । यो प्रतियोगिता अन्तर्गत विजेतालाई १ लाख डलर दिइने छ । यो प्रतियोगितामा भाग लिने प्रतिष्पर्धिहरुले एक वर्षसम्म स्मार्टफोनको प्रयोग गर्न पाउने छैनन । स्मार्टफोनको साटो कम्पनीले प्रतियोगीहरुलाई कतै कल गर्नका लागि सन् ९६६ मा बनेको एउटा हेण्डसेट दिनेछ । सिएनबिसीसँग कुरा गर्दै भिटामिनवाटर का एशोसिएट ब्राण्ड म्यानेजर नतालिया सुरजले भने, “हामीलाई लाग्छ, यो नै एउटा मौका हो एक लाख जित्ने ।” रोचक त के छ भने यो प्रतियोगितामा भाग लिन तपाईले जागिर छोडनु पर्दैन । जागिर या काम गरिरहेकै अवस्थामा प्रतियोगितामा भाग लिन सकिने छ । प्रतियोगिताको नियम अनुसार, तपाईले ल्यापटप या डेस्कटप कम्प्युटर भने प्रयोग गन सक्नुहुन्छ तर यसमा कम्पनीबाट दिने फोनमात्रै प्रयोग गर्न सकिने छ । कसरी भाग लिने त ? यो प्रतियोगितामा भाग लिन नाम दर्ता गर्ने अन्तिम समयसीमा ८ जनवरी २०१९ सम्म मात्र रहेको छ । प्रतियोगितामा भाग लिन आफ्नो विवरणसहित एकवर्षसम्म स्मार्टफोन प्रयोग नगर्दा तपाई के गर्नुहुनेछ ? भन्ने प्रश्नको समेत उत्तरसहित हैशटैग #nophoneforayear र #contest  लेखेर ट्विटर या इन्स्टाग्राममा पठाउनु पर्ने छ । प्राप्त आवेदन र उत्तरका आधारमा भिटामीन वाटरले कुनै एकजनालाई चयन गर्ने छ । र, २२ जनवरीका दिन प्रतियोगीलाई पुरानो हेण्डसेट कम्पनीका तर्फबाट दिइने छ । एक वर्षसम्म स्मार्टफोन चलाउँदिन भन्ने लागेको छ भने तपाई पनि यो प्रतियोगितामा भाग लिन सक्नुहुनेछ ।

नेपालमैं अप्रेसनबाट कृतिम याेनी, पाेखराकी यी युवतीले पाइन् नयाँ जीवन !

काठमाडौंः महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् । पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनको योनी र पाठेघर नै नभएको पत्ता लगाएका थिए । त्यसपछि उनलाई चिकित्सकहरुले शल्यक्रिया गरी योनीमार्ग बनाइदिएका छन् तर पाठेघर नभएका कारण भविष्यमा उनको सन्तान भने हुनेछैन । इशान बाल तथा महिला अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डा. आशा सिंहको नेतृत्वमा बालरोग विशेषज्ञ डा.आरपी चौधरी, डा. सुमनबिक्रम अधिकारी र एनेस्थेसिया चिकित्सक डा. छन्दबहादुर बुढाथोकीको टोलीले सातघण्टा लामो शल्यक्रियापछि ती युवतीको योनीद्वार बनाएको हो । उपचारमा संलग्न डा. सिंहले समान्यतया १२ वर्षदेखि महिनावारी हुने गरे पनि ती युवतीको २६ वर्षसम्म पनि महिनावारी नभएको जानकारी दिए । यो अत्यन्त जटिल शल्यक्रिया हो, उनले भने,“योनी नभएको महिलाको शरीरमा योनी बनाउनु ठूलो चुनौती थियो ।” पेशाले एयर होस्टेज ती युवतीको योनीको कृत्रिम रुपमा शल्यक्रिया गरी बनाइएको छ । डा. आरपी चौधरीले ती युवतीमा पिसाब फेर्ने मात्रै प्वाल रहेको भन्दै शल्यक्रियाका माध्यमबाट कृत्रिम योनी बनाइएको बताए । उनले यस्तो समस्या दुर्लभ मात्रै देखापर्ने बताए। युवतीले योनीको समस्याका बारेमा आफ्नो प्रेमीलाई समेत भनिसकेको र अबको केही महिनाभित्रै विवाह गर्ने तयारीमा रहेकी छन् । शल्यक्रिया गरी बनाइएको योनीले महिनावारी हुने र यौन सम्पर्क गर्न पनि सकिने डा. चौधरीले बताए । चौधरीले पाठेघर नभएका कारण सेरोगेसीको माध्यमबाट बच्चा पाउनसक्ने जानकारी दिए । अति नै दुर्लभ र जटिल शल्यक्रिया भएको दाबी गर्दै उनले ती युवतीको शारीरिक तथा जैविक बनौट र बाहिरी यौनाङ्ग महिलाको भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको जानकारी दिए । त्यस किसिमको दुर्लभ समस्या चारदेखि पाँच हजार जनामध्ये एक जनामा देखिने भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको अवस्था भने अति दुर्लभ रहेको चिकित्सकहरूको भनाइ छ । साधारणतया यस किसिमको समस्या किशोर अवस्थामा रजस्वला सुरु हुने बेलामा मात्रै पहिचान हुने गर्दछ । युवतीले महिला तथा प्रजनन् विशेषज्ञ कन्सल्ट्यान्ट डा.आशा सिंहसँग परामर्श लिएर शल्यक्रियाको लागि योजना बनाउनुभएको थियो । शल्यक्रिया अघि युवतीको अल्ट्रासोनोग्राफी, एमआरआई र हर्मोनल परीक्षण गरिएको थियो । युवतीको बाहिरी यौनाङ्ग र शारीरिक बनौट महिलाको भएता पनि समस्याको बारेमा परीक्षणपछि मात्र दुर्लभ र जटिल स्थिति रहेको पत्ता लागेको थियो । युवतीलाई यस शल्यक्रियाको जटिलताको बारेमा परामर्श तथा जानकारी गराई शल्यक्रियाको लागि तयार गरिएको थियो । शल्यक्रियामा आन्द्राको सानो भागलाई निकालेर यौनाङ्ग सोही भागबाट बनाई शल्यक्रिया गरिएको जानकारी दिइएको छ । क्रियाशील नभएको दुई गर्भाशय भने अनुमति लिएर शरीरबाट निकालिएको थियो । डा. सिंहले ती युवतीलाई शल्यक्रिया पछि सातौँ दिनमा घर फर्काइएको जानकारी दिँदै यस किसिमको जटिल शल्यक्रियामा लामो समयसम्म चिकित्सकसंँग ‘फलोअप’मा बस्नुपर्ने बताए । गोरखापत्र दैनिकमा सराेज ढुंगेलकाे रिपाेर्ट साभार गरिएकाे आवरण तस्वीर: यस्तै प्रकृतिकाे उपचारबाट नयाँ जीवन बाँचिरहेकी एक अमरकी युवती, डेलिमेलबाट

२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

रियो दे जेनेरियो । कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय युवकले ९१ वर्षीया वृद्धासँग विवाह गरेको समाचारले प्राथमिकता पाएको छ । ब्राजिलका २३ वर्षीय युवा मौरिसियोले ९१ वर्षीय योलाण्डासँग विवाह गर्दा धेरैलाई अचम्म नलागेको हैन । तर विवाह पछि भने ठुलो आपत आइलाग्यो । ती युवक झन्डै जेल जाने अवस्थामा समेत पुगेका थिए । २३ वर्षीय उक्त युवक आफ्नो पढाइ पूरा गर्ने फिराकमा थिए तर उनीमाथि आर्थिक समस्या बढ्दो क्रममा रहेको थियो । यस्तोमा उनको पढाइको लागि आवश्यक खर्च जुटाइदिने शर्तमा वृद्ध महिलाले आफूसँग विवाहको प्रस्ताव राखेकी थिइन् । युवकले आफ्नो लागि निकै राम्रो उपाय रहेको भन्दै उक्त प्रस्ताव स्वीकार गरेका थिए । यस्तोमा महिलाले आफूलाई मिल्ने पेन्सन पनि आफ्नो शेषपछि भर्खरै पति बनेका युवकलाई दिने बताएकी थिइन् । यद्यपि उनीहरु हनिमुनको लागि गएको अवस्थामा बिछ्यौनामा नै महिलाको ज्यान गएको थियो । महिलाको निधन भएपछि युवक पेन्सनको दाबी गर्न पुगेका थिए तर अधिकारीहरुले युवकलाई महिलाको पेन्सन पाउनका लागि विवाह गरेको आरोप लगाएका थिए । युवक जेल जानेसक्ने अवस्था पनि आएको थियो तर उनी जेल जानबाट भने बचेका थिए ।

ब्राजिलका डाक्टरहरूल गरे चमत्कार; वर्ष दिन अघि मरिसकेकी महिलाको पाठेघरबाट जन्मियो स्वस्थ शिशु

चिकित्सा क्षेत्रले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी उपलब्धि हासिल गरेको छ । हाल मात्रै एउटी मृत महिलाको पाठेघर प्रत्यारोपण गरेकी अर्की महिलाले कुशलता पूर्वक एउटा बच्चा जन्माएकी छिन् । यसलाई चिकित्सा क्षेत्रकै महान उपलब्धिको रूपमा लिइएको छ । तर यस उपलब्धिबारे खुलासा भने निकै पछि गरिएको छ । हालै गरिएको एक अध्ययन अनुसार ब्राजिलको साओ पाउलोमा सेप्टेम्बर २०१६ मा ३२ वर्षीय एक महिलामा ४५ वर्षीय मृत महिलाको पाठेघर प्रत्यारोपित गरिएको थियो । ‘द लासेंट’ भन्ने संस्थाको अध्ययनबाट यस कुराको खुलासा भएको हो । जस अनुसार प्रत्यारोपण गरिएकी ती महिलाले डिसेम्बर २०१७ मा बच्चा जन्माएकी थिइन् । यस सफलताले पाठेघरको समस्याले बाँझोपनको समस्या झेलिरहेका महिलाहरूलाई ठुलो सफलता मिल्ने आकलन गरिएको छ । उनीहरूलाई कुनै जीवित पाठेघरदाताको आवश्यकता नरहने जनाइएको छ । साओ पाउलोको एउटा अस्पतालमा २०१६ को नोभेम्बर महिनामा  १० घण्टा लगाएर गरिएको शल्यक्रियामा उक्त प्रत्यारोपण सफल भएको थियो । यस प्रत्यारोपणमा दानकर्ताको पाठेघर लगायत यससँग सम्बद्ध नसा, रक्तनली साथै शरीरको तल्लो भागका सबै अवयवहरूमा जोडिएको थियो । साओ पाउलो विश्वविद्यालयका डाक्टर र प्रसिद्ध लेखक डेनी एजेनबर्गले यसबारे बोल्दै भनेका छन्, “मृत दानकर्ताहरूका अङ्गहरू प्रत्यारोपण गर्ने प्रविधि विकास हुनु भनेको बढी भन्दा बढी व्यक्तिहरूको पहुँच उपचारसम्म पुऱ्याउनु हो ।” यसरी उपचार गरिएकी महिलालाई एमआरकेएच सिंड्रोम भन्ने समस्या रहेको थियो । यस समस्याबाट ग्रसित महिलाहरूमा पाठेघर पूर्ण रूपले विकसित भएको हुँदैन । चिकित्सकीय तथ्यांक अनुसार प्रत्येक ४ हजार ५ सय महिलामा एक जनामा यस्तो समस्या देखा पर्ने गर्दछ । पाठेघर दान गर्ने महिलाको भने स्ट्रोकका कारण मृत्यु भएको जनाइएको छ । उनको प्रतिरोधात्मक क्षमताले प्रत्यारोपित अङ्गलाई हानि नपुऱ्याओस् भनेर प्रत्यारोपण पछि ती महिलालाई रोग प्रतिरोधक क्षमता कमजोर बनाउने औषधि दिइएको थियो । पाँच महिना पछि प्रत्यारोपित पाठेघरलाई शरीरले स्वीकार नगरेको कुनै संकेत मिलेन र उनको महिनावारी नियमित हुन थाल्यो । प्रत्यारोपणको सात महिना पछि उक्त पाठेघर भित्र निशेचित अण्ड राखिएको थियो । जसको १० दिन पछि डाक्टरहरूले ती महिला गर्भवती भएको घोषणा गरेका थिए । अध्ययनले जनाए अनुसार यसरी गर्भाधान गरिएको ३५ हप्ता ३ दिनमा सिजेरियन विधिबाट ती महिलाले अढाई किलोग्राम तौल भएकी बालिका जन्माएकी थिइन् । सिजेरियनको क्रममा प्रत्यारोपित गर्भ झिकिएको थियो र त्यसमा कुनै पनि प्रकारको अनियमितता देखिको थिएन ।

बैतडीमा पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…

बैतडी, कार्तिक २५ । बैतडीको पाटन नगरपालिका ४ बस्ती जोलाबाँजमा आगलागी हुँदा करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आइतबार बिहान आगो लागेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । आइतबार बिहान साढे ४ बजे आगलागीबारे थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए । आगलागी भएको खबर पाउने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुर्‍याएको भएपनि दमकलमा पानी नभएका कारण फेरि फर्केर पानी भरेर दमकल ल्याइएको उनले बताए । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। गाईवस्तुका लागि हिउँदमा खुवाउन जमा गरेको पराल र खर आगलागिबाट जलेर नष्ट भएको हो। आगलागीस्थलमा पुगिसकेको दमकलमा पानी नभएका कारण समयमै आगो नियन्त्रणमा आउन नसकेकाले बढी क्षति भएको प्रहरीले जनाएको छ । दमकल पानी नहुनुले बढी क्षति भएको भन्दै स्थानीयहरुले पनि असन्तुष्टि जनाएका छन् । ‘दमकलमा पानी भएको भए धेरै क्षति हुने थिएन। केही खर र पराल जोगाउन सकिन्थ्यो । बिहान चालकलाई हामीले नै बोलाएर ल्याएका हौं’, प्रहरी निरीक्षक सिंहले भने, ‘दमकलमा पानी नभएको कुरा घटनास्थल पुगेर मात्रै थाहा भयो। पछि फर्केर जाँदा पानी लिएर आउँदा ढिलो भयो ।’ दमकलका चालक विनोद केसीले भने दमकलको पम्पले पानी नफालेका कारण समस्या भएको दावी गरे । पम्पले पानी नफालेपछि पुनः खोलाबाट पानी थपेर आगो निभाएको उनले बताए । अन्नपूर्णपोष्टबाट

रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

मस्को । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ  । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् । खुले देखि नै आफ्ना विविध विशेषताहरूका कारण चर्चामा रहेको यो वेश्यालयको संचालक कम्पनीले यस अघि नै स्पेन र इटालीमा यस्तो वेश्यालय संचालनमा ल्याइसकेको छ । द सनमा प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको बताइएको छ । यहाँ राखिएका सेक्स दलहरूको तापक्रम नियन्त्रण गर्न सकिने र यिनको गुप्ताङ्गमा समेत तापक्रम नियन्त्रण प्रणाली रहेको बताइएको छ । यति मात्र नभएर यी डलहरूले ग्राहकहरूको इच्छा अनुसार ‘फोहोर कुरा’ समेत गर्न सक्छन् । अर्थात कुनै ग्राहकले यिनीहरूसँग ‘फोहोर कुरा’ गर्न चाहेको खण्डमा यिनीहरूले त्यसो समेत गर्न सकिने गरेर यिनीहरूलाई निर्माण गरिएको छ । समाचारहरूमा जनाइए  अनुसार ‘आर्टिफिसियल इन्टेलिजेन्स’बाट संचालन हुने यी डलहरू अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्छन् । त्यसका साथै यिनीहरूलाई लचकदार बनाइएकाले ग्राहकले चाहेको आसन समेत उपलब्ध गराउन तिनीहरू सक्षम रहेको जनाइएको छ । स्थानीय मिडियाका अनुसार यी डलहरूको नाम ‘एमा’ राखिएको छ र ५ फीट ४ इन्च अग्ला यिनीहरूलाई ग्राहकले छुँदा यिनले प्रतिक्रिया दिने गरेको बताइएको छ । तर समाचारहरूमा यस्तो सेवा लिन चाहने ग्राहकले भने निकै ठुलो रकम खर्च गर्नु पर्ने जनाइएको छ । यस्ता डलहरूसँग एक घण्टा समय बिताउन ८० डलर खर्च गर्नु पर्ने छ जुन नेपाली मुद्रामा लगभग साढे नौ हजार हुन आउँछ । एजेन्सी

फ्रिज विष्फोट हुँदा परिवारको एकै चिहान

नयाँ दिल्ली, असोज १४ । भारतको मध्यप्रदेश राज्यको ऐतिहासिक शहर ग्वालियरमा घरमा राखेको फ्रिजमा विष्फोट हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । भारतीय मीडियाहरूमा प्रकाशित समाचार अनुसार घरमा सर्ट सर्किटका कारण लागेको आगोबाट फ्रिजको कम्प्रेसर पाइपमा विष्फोट हुँदा उक्त दुर्घटना भएको थियो । प्राप्त समाचार अनुसार उक्त विष्फोटपछि छिमेकी घरको छात भत्केको र उक्त घरमा सुतिरहेका चार जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ५० वर्षी अंतराम सिंह परिहार, उनकी ४५ वर्षीय पत्नी उमा र उनका दुई छोरीहरू १४ वर्षीय खुशी र ११ वर्षीय कशिश रहेका छन् । परिहारका १७ वर्षीय छोरा भने उक्त घटनामा बाँच्न सफल भएका छन् । मृत्यु हुने दुई किशोरीहरू जिल्लास्तरका जुनियर बक्सिङ च्याम्पियन रहेको बुझिएको छ । यसमा जेठी खुशी राष्ट्रिय र कान्छी कशिश प्रदेश च्याम्पियनसिप खेल्ने तयारीमा थिइन् । उक्त घटनाको जांच गर्न आएको बम डिस्पोजल टोलीले लगभग दुई-तीन बजे राति सर्ट सर्किटको कारण अवकाशप्राप्त सैनिक चरण सिंहको घरमा आगो लागेको थियो । उक्त आगलागी भान्सासम्म फैलिएपछि ग्यास सिलिण्डरको पाइप जलेको र यसले फ्रिजको कम्प्रेसर पाइपभित्र रहेको ग्यासको प्रेसर बढेर विष्फोट भएको र उक्त विष्फोटले भान्सा कोठाको पर्खाल भत्किएर परिहारको छतमाथि खसेर उक्त दुर्घटना भएको थियो ।