सुब्बाको आवेदन भर्न अब तीन दिनमात्र बाँकी

काठमाडौं, माघ १६ । लोकसेवा आयोगद्वारा खुला तथा समावेशीबाट नायब सुब्बा (अप्राविधिक) को विभिन्न पदहरुमा उम्मेदवारहरुको लागि गत पुस २७ गते आवेदन खुला गरिएको थियो ।

अब आवेदन फाराम भर्ने म्याद १८ गते (तीन दिन) मात्र बाँकी रहेकोले इच्छुक उम्मेदवारहरुले चाँडो भन्दा चाँडो आवेदन भर्न सूचित गरिएको छ ।

लोकसेवाको तयारी गर्नेहरुका लागि यस्ता छन् प्रश्नहरु

० कर्मचारी सञ्चयकोषको स्थापना कहिले भएको हो ? – वि.सं २०१९ ० इन्द्रलाई हात्तीजस्तै सूर्यलाई के ? – घोडा ० ‘भित्री मधेश’ लाई के पनि भनिन्छ ? – दून प्रदेश ० चीनसँग सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?  – १५ वटा (चीनसँगमात्र सिमाना जोडिएका १३ वटा) ० नेपालले दक्षिण एसियाको कति प्रतिशत भूभाग ओगटेको छ ? – २.३८% ० संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको प्रधान कार्यालय कहाँ छ ? – न्यूयोर्क ० दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अन्तर्गत कतिवटा भूपरिवेष्ठित राष्ट्र छन् ? – ३ वटा (नेपाल ,भुटान अफगानिस्तान) ० विना अक्सिजन १० पटक सगरमाथा सफल आरोहण गर्ने व्यक्ति को हुन् ? – आङरिता शेर्पा ० ‘वनराजा’ उपनामले चिनिने जाति कुन हो ? – राउटे ० उपन्यास ‘साया’ का लेखक को हुन् ?  – सुविन भट्टराई ० नेपालबाट दक्षिणी ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ? – रविन्द्र बस्नेत ० हालसम्म नेपालले कति पटक सार्क शिखर सम्मेलन आयोजना गरेको छ ?  – ३ पटक ० साहित्यकार वासुदेव लुइटेललाई के भनेर चिनिन्छ ? – भुतको भिनाजु ० एटम थ्योउरीका आविष्कारक को हुन ? – जोन डाल्टन ० प्रकाश सघन माध्यमबाट बिरल माध्यममा जाँदा आवर्तित कोणको मान ९० डिग्री हुँदाको आपतित कोणलाइ के भनिन्छ ? – चरम कोण ० संयुक्त राष्ट्र संघको महासभामा सबैभन्दा बढी बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबैभन्दा कम बोल्ने को हुन् ? – दावा छिरिङ (भुटान)

लोकसेवा परीक्षाको तयारी वस्स्तुगत प्रश्नोतर

० मिस नेपाल २०१५ को उपाधि जित्ने युवती को हुन् ? – इभाना मानन्धर ० आठौं संस्करणको इन्डियन प्रिमियर लिग २०१५ को उपाधि कुन टिमले जित्यो ? – मुम्बई इन्डियन ० कुराकानी प्रिय होस, बनावटी नहोस्, स्वच्छन्द होस तर अश्लील नहोस,विद्वतापूर्ण होस तर दम्भयुक्त अनौठो होस तर असत्य नहोस भन्ने विद्वान को हुन् ? – विलियम शेक्सपियर ० विश्वको सबैभन्दा लामो ट्रेकिङ रुट द ग्रेट हिमालयन ट्रेल कन देशमा रहेको छ ? – नेपाल ० विश्वकै सबैभन्दा उचाईमा हुने एभरेष्ट म्याराथुन कहिलेदेखि शुरु भएको हो ? – सन् २००३ ० जलवायु परिवर्तनको असर न्यूनीकरणको बारेमा जनचेतना जगाउने उद्येश्यले जलाधारमा नै जलवायु भेला कहाँ सम्पन्न भयो ? – सेतीवेणी, वर्तन ० सन् २०१५ अप्रिलमा प्रकाशित विश्वका खुशी मुलुकको सूचीमा पहिलो स्थानमा पर्ने राष्ट्र कुन हो ? – स्वीट्जरल्यान्ड ० विश्वको सबैभन्दा होचा पुरुष को हुन् ? – चन्द्रबहादुर डाँगी ० जीएटीटी को सट्टामा जन्मिएको संस्थाको नाम के हो ? – डब्लुटीओ ० अनुवांशिक सिद्धान्तका पिता भनी कुन वैज्ञानिक चिनिन्छ ? – ग्रेगर जोन मेण्डल ० कागतीको रसमा कुन एसिड हुन्छ ? – साईट्रिक एसिड

लोकसेवा परीक्षाको लागि केही जानकारीहरु

१. पाँचसय पचास वर्ग किलोमिटरमा फैलेको २०७१ मा घोषित बाँके राष्ट्रिय निकुञ्ज बाघ संरक्षणका लागि स्थापना गरिएको हो । २. विस २०७० जेठ ४ गतेदेखि बागमति सफाइ महाअभियान शुरु भएको हो । ३. नेपालमा ई डब्लुएस यन्त्रको प्रचलन अब भूकम्प जानु अघि नै त्यसबारे थाहा पाउन प्रयोगमा आउने बताइएको छ । यो पहिले नै च्छोरोल्पा हिमतालमा जडान भइसकेको छ । यसको पुरा नाम अर्ली वार्निङ्ग सिष्टम हो । ४. नेपालमा १४६६ हिम ताल रहेको एसिमोडले जनाएको छ । ५. सन् २०१५ मा विश्वको सबभन्दा सुखी र खुसी रहेको देश स्वीट्जरल्याण्ड हो ।

लोकसेवा तयारी गर्नका लागि यी जान्नै कुरा

१ सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ? – बैतडी २ नेपालमा व्यवस्थित रुपमा जनगणना लिने सुरुवात वि.सं. १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ? – सेन्सस गोश्वारा ३ नेपालमा सर्बप्रथम कुन वंशका राजाहरुले राज्य गरेका थियो ? – गोपाल ४ राणाकालमा नेपाललाइ कति भागमा विभाजन गरिएको थियो ? – ३५ जिल्ला ५ नेपालमा पहिलो पटक संबिधानसभा निर्वाचन कहिले भयो ? – २०६४ चैत्र २८ ६ लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ? – अमात्य ७ राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ? – श्री ३ को कार्यलय ८सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ? क्रीतिनिधी बिष्ट

लोकसेवाले खुलायो नायब सुब्बामा आवेदन

काठमाडौं, पुस २८ । लोकसेवा आयोगले खुला तथा समावेशीबाट पुस २७ गते बुधबार विभिन्न पदहरुमा निम्न योग्यताअनुसार एक हजार एक सय १२ जना नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहका लागि दरखास्त आह्वान गरिएकामध्ये ४० प्रतिशत खुला प्रतिस्पर्धा र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिनेछ । यो आवेदन अनलाइनमार्फत भरिने व्यवस्था गरिएको छ । उम्मेदवारहले आवेदन भर्ने म्याद यही माघ १८ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर बुझाउन पाउने चाहिँ माघ २५ गतेसम्म रहेको छ । आवेदन भर्नका लागि खुलाको रु.४०० र प्रत्येक समावेशी समूहको लागि थप रु. २०० तथा परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टै रु. २००।– (दुई सय) थप दस्तुर बुझाएर भर्न पाइने छ । आयोगको नियमित क्यालेन्डरअनुसार नै दरखास्त आह्वान गरिएको हो।’ सबैभन्दा बढी प्रशासन सेवामा– आयोगले सबैभन्दा बढी प्रशासन सेवामा माग गरेको छ । प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि पाँच सय ९२, लेखा समूहका लागि दुई सय २२ र राजस्व समूहका लागि ७७ जना माग गरिएको छ । यसैगरी, न्याय सेवातर्फ न्याय समूहका लागि एक सय ६०, सरकारी वकिल समूहमा १६ र कानुन समूहमा ६ जनाको माग भएको छ । यसैगरी, लेखा परीक्षण सेवाका लागि चारजना, परराष्ट्र सेवाका लागि पाँचजना र व्यवस्थापिका–संसद्का लागि खुलातर्फ १६ जना मागिएको छ भने आन्तरिक प्रतिस्पर्धाका लागि २४ जना मागिएको छ । यो माग भने व्यवस्थापिका–संसद् आफैँले पदपूर्ति गर्नेछ । फागुन महिना पहिलो चरणको परीक्षा हुने– आयोगले देशका विभिन्न नौवटा अञ्चल कार्यालय र पाँचवटा क्षेत्रीय निर्देशनालयमार्फत नायब सुब्बाको परीक्षा सञ्चालन गर्नेछ । खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा र दोस्रो चरणको वैशाखमा हुनेछ भने लिखित परीक्षाको नतिजा साउन–भदौमा तथा सिफारिस असोज महिनासम्म गरिने आयोगले जनाएको छ ।

तल दिइएको चित्रमा सही उत्तर कति हुन्छ?

क) ४, ख) ३, ग) ५, घ) ८ . . . . . . . . . . . . . . . . . सही उत्तर घ) ८

शाखा अधिकृतको तयारी कसरी गर्ने ?

पाठ्यक्रमको संक्षिप्त परिचय  लोकसेवा आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदका लागि पाठ्यक्रम तय गरेको छ । जसलाई लिखित परीक्षा (प्रथम चरण र द्वितीय चरण) तथा अन्तिम चरण (सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता) गरी दुई भागमा विभाजन गरिएको छ । अप्राविधिक (न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद) सेवाका सबै समुहको लागि निर्धारण भएको लिखित परीक्षाका अतिरिक्त नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवाको लागि अतिरिक्त पत्रसमेत थप समावेश गरिएको छ । संयुक्त र एकीकृत परीक्षा प्रणालीको आधारमा माथि उल्लिखित सेवाका सबै समुहको लागि प्रथम, द्वितीय र तृतीय पत्र÷विषयको विषयवस्तु एउटै र अनिवार्य गरेको छ । तर चतुर्थ पत्र ऐच्छिक विषय लोक सेवा आयोगको तालिकामा दिइएका १८ वटा विषयहरुमध्ये कुनै एक विषयमात्र छनौट गर्न पाउने व्यवस्था छ । चतुर्थ पत्र ऐच्छिक विषयमा आधारित छ । लिखित परीक्षा अन्तर्गत पहिलो चरण १०० पूर्णांक र दोश्रो चरण ३०० पूर्णाकंको परीक्षा लिने व्यवस्था छ । प्रथम पत्र अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण वस्तुगत आधारमा गरिन्छ । जसमा सामान्य सचेतना, अँग्रेजी भाषा सम्बन्धि ज्ञान जस्ता विषयवस्तु समेटिएका छन् । छनौटका चरणहरु  सबैभन्दा पहिले– लोकसेवा आयोगको विज्ञापन अनुसार दरखास्त फाराम भरेका परीक्षार्थीहरुको पहिलो चरणको परीक्षा लिइन्छ । पहिलो चरण– उत्तीर्ण गरेका प्रशीक्षार्थीले मात्र दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । दोश्रो चरण– शासन प्रणाली, समसामयिक विषय र ऐच्छिक विषय गरी तीनवटा समावेश गरिएको छ । यसरी दोश्रो चरणको तीनवटैमा सफल भएका प्रशीक्षार्थीहरुमध्ये पहिलो चरण र दोश्रो चरणको अंक जोडी अधिकतम अंक प्राप्त गर्ने प्रशीक्षार्थीहरु अन्तिम चरणको लागि हुने गर्दछ । अन्तिम चरण– सूचना प्रविधि सीप परिक्षण, सामूहिक परीक्षण र व्यक्तिगत अन्तर्वार्ता लगायतका विषय समेटेका छन् । कस्तो व्यक्ति छनौट हुन सक्दछ ? पाठयक्रमलाई सरसर्ती हेर्दा यसले समेटेका विषयवस्तु बृहत देखिन्छ । समेटेका विषयवस्तुले घोकेर लोकसेवा आयोगको परीक्षा उतीर्ण गर्न भन्दा पनि भएका व्यक्तिले उतीर्ण गर्न सक्ने अवस्था रहेको छ । पहिलो पत्रमा समावेश गरिएका विषयवस्तुबाट विशेष गरी सिक्न सक्ने क्षमता र अँग्रेजी भाषाको ज्ञान भएका उम्मेदवार छनौट गर्न मदत पुगेको छ । दोश्रो पत्रमा समावेश गरिएका राज्य र शासन, संविधान र कानून, सार्वजनिक सेवा र सार्वजनिक व्यवस्थापन, श्रोत व्यवस्थापन र योजना तथा तेश्रो पत्रमा समावेश गरिएका सामाजिक, आर्थिक, विकास, वातावरणसंग सम्बद्ध मामिला जस्ता विषयवस्तुले सो विषयमा ज्ञान र अध्ययन समेत भएको विकास प्रशासन संचालन गर्न सक्ने दक्ष, सक्षम, प्रतिस्पर्धी उम्मेदवार छनौट गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी पाठ्यक्रमले समावेश गरेका ऐच्छिक विषयले गर्दा विश्वविधालयका उत्कृष्ट उम्मेदवारलाई निजामती सेवामा आकर्षित गर्ने गरेको छ भने सूचना प्रविधि सीप परिक्षण मार्फत बदलिदो परिवेशमा निजामती सेवालाई आवश्यक पर्ने सूचना प्रविधिमैत्री उम्मेदवार छनौट हुने गरेको छ । यसरी नयाँ पाठ्यक्रमले प्रशासनको आधुनीकिकरण गर्न योग्य व्यक्ति छनौट गर्न सहयोग पुर्याएको छ । तयारीको रणनीति कस्तो हुनुपर्ला  निजामती सेवा नेपालको प्रतिष्ठित सेवा हो । देश र जनताको सेवा गर्न निजामती सेवा एउटा उत्तम विकल्प हुनुका साथै यसमा भविष्यको अवसर पनि रहेको छ । त्यसैले निजामती सेवालाई आफ्नो वृत्ति विकासको आधार वनाउन चाहने व्यक्तिहरुले माथि उल्लेखित पाठ्यक्र्रमलाई ध्यानमा राखेर खदिलो तयारी गर्नु जरुरी छ । परीक्षार्थीहरुले खासगरी निम्न कुरामा ध्यान दिन सके राम्रो हुनेछ  ० नियमित रुपमा अध्ययन गर्ने । ०  पाठ्यक्रमका सबै विषयलाई समान महत्व दिएर अध्ययन गर्ने । ० आफ्नो क्षमतामा विश्वास राखी नआत्तिकन अध्ययनलाई जारी राख्ने । ० घोकेर पढ्नुभन्दा बुझेर पढ्ने जसले गर्दा विश्लेषणात्मक क्षमताको विकास गर्न सकिन्छ । ० बुँदाहरु सम्झिनका लागि साना साना सुत्रहरु बनाएर पढ्ने । ० संभव भएसम्म लोक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिसँगबाट क्ष्मभब लिने । ० संभव भएसम्म छोटो समयका लागि ट्यूसन क्लासमा जाँदा राम्रो हुने । ० समूहमा बस्ने र छलफल गर्ने गरेमा अध्ययन थप प्रभावकारी हुने । ० अन्त्यमा, ओपन म्याइन्डेड भएर धैयर्तापूर्वक अध्ययन गर्न सके अवश्य पनि सफलता हासिल हुन्छ ।

उम्मेद्वारले कसरी गर्ने अन्तर्वार्ताको तयारी ?

सबैभन्दा महत्वपूर्ण कुरा जागिर आफ्नो योग्यता अनुरूप छ कि छैन जान्नु नै हो। जागिर पाइसकेपछि आफूले त्यहाँ गर्नुपर्ने कामका बारेमा पत्ता लगाउनुपर्छ। आफूबाट कम्पनीले के चाहन्छ ? त्यो पनि महत्वपूर्ण हुन्छ। त्यसैले यसलाई पनि विश्लेषण गर्नुपर्छ। आफ्नो कला, क्षमता, पेसागत दक्षता एवं व्यक्तिगत गुण कम्पनीको मागअनुसार छ–छैन पत्ता लगाउनुपर्छ। कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार गर्नुपर्छ। आफ्नो गुण र कम्पनीको माग  जब कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार हुन्छ, तब जागिरको अवश्यकतासँग आफ्नो गुण र योग्यता दाज्नुपर्छ। आफ्नो कला, शैक्षिक योग्यता, अनुभव, पेसागत योग्यता, दक्षता, क्षमता एवं कम्प्युटर स्किलजस्ता कम्तीमा ११ वटा कुराको सूची तयार पार्नुपर्छ, जुन अन्तर्वार्ताकारसँग शेयर गर्न काम लाग्छ। आफ्नो सूची र जागिरको आवश्यकता मिल्छ कि मिल्दैन रुजु गर्नुपर्छ। यति भएपछि अन्तर्वार्तामा सोध्न सकिने सम्भावित प्रश्नको जवाफका लागि तयार हुनुपर्छ। कम्पनीका बारेमा जानकारी  कुनै पनि संस्थामा जागिर सुरु गर्नु अगावै उक्त संस्थाका बारेमा जानकारी राख्नु महत्वपूर्ण हुन्छ। त्यसैले कुनै संस्थामा अन्तर्वार्ता दिन जाने हो भने सम्बन्धित संस्थाका बारेमा जानकारी लिनुपर्छ। यसले आफूलाई अन्तर्वार्तामा उत्तर दिन मात्र होइन, जागिरका लागि निर्णय गर्न पनि सजिलो बनाउँछ। कम्पनीका बारेमा त्यहाँको काम गर्ने शैली, काम गर्ने वातावरण एवं त्यहाँका हुनेवाला सहकर्मीहरूका बारेमा थोरै भए पनि जानकारी लिनुपर्छ। अन्तर्वार्ताका लागि प्राक्टिस  आफूसँग सोध्न सकिने केही नमुना प्रश्नको सूची तयार गर्नुपर्छ। जसका लागि केही जानकार व्यक्तिहरूको अथवा इन्टरनेटको सहयोग लिनुपर्छ। यसले अन्तर्वार्तालाई सहज बनाउन मद्दत गर्छ। आफ्नो घरका सदस्यहरूमध्ये एक जना वा साथीहरूमध्ये एकजनासँग अन्तर्वार्ताको प्राक्टिस गर्न सकिन्छ। पहिरनमा ध्यान  कुनै पनि काम हतारमा गर्नुहुँदैन। अन्तर्वार्तामा जानुभन्दा अघि नै पहिरन तयार राख्नुपर्छ। अन्तर्वार्ताका लागि र्फमल ड्रेसमै जानु उपयुक्त हुन्छ। यसले व्यक्तित्व झल्काउनुका साथै आफूलाई अफिसियल बन्न पनि मद्दत पुर्‍याउँछ। फर्मल ड्रेस आइरन गरेर राख्नुपर्छ। भनिन्छ– ‘फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ सैले झुक्किएर पनि क्याजुअल ड्रेसमा अन्तर्वार्ता दिन जानुहुँदैन, किनभने त्यसले आफ्नो इम्प्रेसन खराब बनाउन सक्छ। स्थान र समय  अन्तर्वार्ताका लागि कहाँ जानुपर्ने हो ? त्यहाँ जाने बाटो कताबाट कता हो ? कुन समयमा पुग्नुपर्ने हो ? सबै कुराको जानकारी लिनुपर्छ। कार्यालयमा गएर कोसँग भेट्ने भन्ने कुरामा पनि स्पष्ट हुनुपर्छ। के–के लैजाने ? के नलैजाने ?  सामान्यतया अन्तर्वार्ताको समयमा केही चिज छुटाउनु हुँदैन। तीमध्ये आफ्नो बायोडाटाको अतिरिक्त कपी र अनुभवका पत्रहरूका कपीको साथमा रिफरेन्स महत्वपूर्ण हुन्छ। त्यसबाहेक आफ्नो शैक्षिक योग्यताका सर्टिफिकेटलगायत ट्रेनिङ्गका सर्टिफिकेटहरू पनि लानु राम्रो हुन्छ। अन्तर्वार्ताको समयमा मोबाइल बज्नु हुँदैन, चुइंगगम, चकलेट वा अन्य चिजहरू मुखमा राख्नु हुँदैन। कसरी प्रस्तुत हुने ?  अन्तर्वार्ता दिने कोठामा छिर्नुअघि के म भित्र छिर्न सक्छु भनेर सोध्नुपर्छ। अन्तर्वार्ता लिने मानिसको अघि पर्ने बित्तिकै नर्भस हुनु हुँदैन। हडबडाउनु हुँदैन। अन्तर्वार्ता लिने मानिसको प्रश्नको जवाफ संयमितरूपमा राम्रोसँग, स्पष्ट आवाजमा दिनुपर्छ। सकेसम्म उक्त पदका लागि आफू उपयुक्त भएको कारण उल्लेख गर्नुपर्छ। अनावश्यक कुरा गर्नुहुँदैन। सुन्नुहोस र सोध्नुहोस् अन्तर्वार्ता लिने व्यक्तिको कुरा ध्यान दिएर सुन्नुपर्छ। कुनै कुरामा कन्फ्युज भए शिष्टतापूर्वक प्रश्न सोध्न हिचकिचाउनु हुँदैन भने अनावश्यक कुरा पनि गर्नुहुँदैन।

लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे

काठमाडौँ , म‌ंसिर २७ । देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन। आर्थिक वर्ष २०७२/७३ का लागि गरिएको विज्ञापनमा खुला, आन्तरिक, समावेशी सबैमा दरखास्त नपरेको जानकारी आयोगले दिएको छ।  दलित, अपाङ्ग, महिला, मधेसी, जनजातिका लागि समावेशीतर्फ छुट्टाइएका पदहरूमा समेत दरखास्त परेनन्। आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन।  यस्तै, १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन भएकोमा कुनै पनि उम्मेदवार परीक्षा दिन आएनन्। आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले कुल १२६ वटा विज्ञापनबाट १७२ पदका लागि दरखास्त आह्वान गरिएकोमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको बताए।  कोइरालाले भने, ‘दरखास्त नपर्नुको मुख्य कारणमा सम्बन्धित पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुग्नु, तल्लो तहमा कार्यरत कर्मचारीको माथिल्लो पदमा दरखास्त दिने अवधि नपुग्नु, सम्बन्धित पदका लागि अनुभव नहुनु र यस्ता जनशक्ति बाहिर कतै व्यस्त रहनुले पनि दरखास्त नपरेको हो। ’ आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत नारायण पोखरेलले शैक्षिक योग्यता तोक्ने, सेवा समूह सञ्चालन गर्ने कार्य सम्बन्धित मन्त्रालयले हो, सेवा प्रवेश गरेकाले आफ्नो योग्यता वृद्धि गर्न नसक्नु पनि दरखास्त नपर्नुको कारण भएको बताए। आयोगका अनुसार, दरखास्त नपरेका पदहरूमा नेपाल स्वास्थ्य सेवातर्फ ११ औँ तह तथा राजपत्राङ्कित तृतीय श्रेणीतर्फ नेपाल इन्जिनियरिङ सेवाका पदहरू धेरै छन्।  राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत अमिन, सहायक महिला विकास निरीक्षक, फरेस्टरलगायत सबै पदमा निकटतम तल्लो पदमा कुनै उम्मेदवार नहुने कारणले आन्तरिक प्रतियोगितातर्फबाट पूर्ति हुने पदहरूमा कुनै दरखास्त नपरेको हो। यसैगरी, नेपाल स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदहरूमा आवश्यक न्यूनतम योग्यता र सेवा अवधि तथा अनुभवको कमी एवम् केही पदको शैक्षिक योग्यताको जटिलताका कारणले कुनै दरखास्त नपरेको जानकारी आयोगले दिएको छ। नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियररिङ समूह, माइनिङ इन्जिनियरिङ पद, सिभिल एभियसन समूह, सिभिल एभियसन अपरेसन उपसमूहको सिभिल एभियसन इन्जिनियरको शैक्षिक योग्यताको जटिलताले दरखास्त नपरेको निष्कर्ष आयोगको छ।  यसरी दरखास्त नपरेका पदहरूमध्ये अधिकांश पदमा आन्तरिक प्रतियोगिताका लागि विज्ञापन आह्वान गरिएको थियो।  यस्ता पदमा फेरि विज्ञापन गर्दा पनि दरखास्त आएन भने ती पदहरूलाई खुलातर्फबाट पदपूर्ति गरिनेछ। राजपत्राङ्कित तृतीय श्रेणीका लागि रेखा विशेषज्ञ पद र नवौँ तहको कन्सलटेन्ट ग्यास्ट्रोइन्टोरोलोजिकल सर्जन पदका लागि गरिएको खुला विज्ञापनमा एउटा पनि दरखास्त परेन।  यसैगरी, स्वास्थ्य सेवाका लागि कम्तीमा ४४ वटा विज्ञापन आन्तरिक प्रतियोगिताका लागि गरिएकोमा एउटा पनि दरखास्त नपरेको पाइएको छ।  यस्तै, इन्जिनियरिङ, कृषि, शिक्षा सेवाका लागि आह्वान गरिएका विज्ञापनमा पनि कोही उम्मेदवारको दरखास्त परेन। आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन।  यस्तो हुनुको कारणमा एउटै उम्मेदवार धेरै वटा विज्ञापनको लिखित परीक्षाको नतिजामा छनोट भएका, अन्तर्वार्तामा अनुपस्थित भएका, प्रयोगात्मक परीक्षामा सामेल नभएका, शैक्षिक योग्यता र अनुभव नभएका आदि कारणले ती पदमा सिफारिस हुन सकेन। यस आर्थिक वर्षमा आन्तरिक प्रतियोगितात्मक परीक्षा, खुला तथा समावेशीतर्फबाट पदपूर्ति हुन नसकेका विभिन्न श्रेणी÷तहतर्फका विभिन्न सेवा, समूहका २० पदहरूमा उम्मेदवारको सिफारिस हुन नसकेको जानकारी आयोगले दिएको छ। आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत पोखरेलका अनुसार, फाराम भर्ने विदेश जाने, परीक्षामा उपस्थित हुन नसक्नु, दुर्गम रहनुजस्ता विविध कारणले ती पदमा सिफारिस नभएको हो। खरिदार पदका लागि आन्तरिक प्रतियोगितातर्फ विज्ञापन भएको सङ्ख्याभन्दा सिफारिस हुने सङ्ख्या कम छ भएको पाइएको छ।  यसो हुनुको कारण कार्यालय सहयोगी पदमा स्थायी नियुक्ति भई तीन वर्ष नपुगेका वा सङ्ख्या नै थोरै भएकाले पनि यस्तो भएको हो।  नेपाल सरकारले कार्यालय सहयोगी पदमा खुलातर्फबाट पदपूर्ति नगर्ने निर्णय गरेकाले पनि उम्मेदवारको सङ्ख्या कम भएको हो। यसैगरी, आयोगका क्षेत्रीय निर्देशनालय तथा अञ्चल कार्यालयहरूबाट विभिन्न श्रेणी तथा तहअन्तर्गतका सेवा समूहका  १८३ पदका लागि भएको लिखित परीक्षाबाट कुनै पनि उम्मेदवार छनोट हुन नसकेको जानकारी आयोगले दिएको छ। यस्तै, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुने पदहरूमा सम्भाव्य उम्मेदवार सङ्ख्याको कमी, बढुवा हुनेभन्दा निकटतम तल्लो श्रेणी÷तह तथा तह कायम नरहेको खुला तथा समावेशी दलहरूमा सङ्ख्याभन्दा न्यून सङ्ख्यामा लिखित तथा आन्तरिक अन्तर्वार्ताबाट छनोट हुने आदि कारणले राजपत्र अनङ्कित श्रेणीका ५१ पदमा कोही पनि सिफारिस भएनन्। आयोगले १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन गरेकोमा कोही पनि उम्मेदवार परीक्षा दिन नै आएनन्।  यो पनि आन्तरिक प्रतियोगितात्मक परीक्षा थियो। यो खबर आजको गोरखापत्रमा छापिएको छ ।