गुद्वारमा लुकाएर एक करोड साढे आठ लाख बराबरको सुन ल्याउने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विशेष सूचनाको आधारमा गुद्वारमा लुकाएर सुन ल्याउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३८ वर्षीय शुभम् मेहरा हुन्।

उनले सुन गुद्वारमा लुकाएर ल्याएको पाइएपछि विमानस्थलमा शौच गर्न लगाएर सुन निकालिएको हो । उनले एक हजार २६८ ग्राम सुन लुकाएर ल्याएका थिए। उक्त सुनको मूल्य रु. एक करोड आठ लाख ४९ हजार पर्छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो।

हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाई ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

काभ्रेकि मनिषा घिमिरे युएईमा सर्बोत्कृस्ट नर्सको उपाधी द्वारा सम्मानित

युएई । युनाइटेड अरब ईमिरेट्स (युएई) मा कार्यरत नेपाली नर्स बर्षको सर्बोत्कृस्ट नर्सले उपाधीले सम्मानित भएकी छिन । रस अल खैमहको शेख खालिफा हस्पिटलमा कार्यरत नर्स मनिषा घिमिरेलाई अल तामायुज मेडिकल हेल्थ केयर कम्पनीले नगद पुरस्कार सहित ‘वनर्स इम्प्लोयी अफ द यिअर अवार्ड’ले सम्मानित गरेको हो । फिलिपिन्स, भारत, क्यामरून, घना लगायत १९ देशका ३०० भन्दा बढी नर्स कार्यरत उक्त कम्पनीमा जम्मा ५ जना नेपाली नर्स कार्यरत छन् । ‘हामी नेपालीहरु आफ्नो काममा ईमान्दार हुन्छौं भन्ने प्रमानित गरेको छु, अवार्डले सम्मानित हुँदा खुशी लागेको छ’ घिमिरेले भनिन् । काममा निपूर्ण र इमान्दार भन्दै कम्पनीले घिमिरेको उच्च मुल्याङ्कन गरेको छ । काभ्रेपलन्चोक घर भएकी घिमिरे ६ बर्ष देखि युएईमा कार्यरत छिन् । हाल युएईमा १० हजार भन्दा बढी नर्सहरु कार्यरत रहेको अनुमान गरिएको छ भने करिब ५० हजार भन्दा बढी महिला कामदार रहेको अनुमान छ ।

भिजिट भिसामा कडाइ : महिलालाई पारिवारिक सहमति र वडाको सिफारिस अनिवार्य

काठमाडौं : अध्यागमन विभागले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनको प्रस्ताव मन्त्रालयमा पठाएको छ । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिनेलगायत केही नयाँ प्रावधान ल्याउन प्रस्ताव गृह मन्त्रालयमा पठाइएको जानकारी दिए । साथै, उक्त प्रस्तावमा विदेश जानेहरूको हकमा १५ लाखको बीमा र १ हजार डलर अनिवार्य लिएर जानुपर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए । विभागका अनुसार जोखिममा देखिने ४० बर्ष मुनिका महिलाको लागि विदेशमा गएर समस्यामा नपरुन भनेर नयाँ केही नियम ल्याउन खोजिएको हो । यो नियम सवै देशमा लागू नभएर जोखिम मुलुकमा लागू गर्न खोजिएको विभागले जनाएको छ । साथै, पटकपटक विदेश जाने र आउने गरेका महिलाको हकमा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस आवश्क नपर्ने समेत महानिर्देशक केसीले स्पष्ट पारे । विभागले सरोकारवाला निकायसँग छलफल गरी उक्त केही नयाँ नियम संशोधनका लागि विभागले एक साताअघि मन्त्रालयमा प्रस्ताव पठाएको हो । भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले नयाँ नियम ल्याउन खोजिएको उनले बताए । भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार आवश्यक पर्नेछ । कुनै संघ, संस्था वा व्यक्तिले दुरुपयोग गरेर लैजानेलाई पनि निगरानी बढाएर भागीदार बनाउने विभाग भनाइ छ । घुम्न जाने व्यक्तिको बीमा अनिवार्य गरियो भने पनि कुनै प्रकोप आए वा अलपत्र परे बीमा बापत केही राहत मिल्ने अध्यागमन विभागको ठहर छ । गोरखापत्र अनलाइनबाट

नेपाली युवालाई पुनः लैजान कोरियाले थाल्यो पहल

सउल : कोभिड-१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः ल्याउन कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानुन मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफल अघि बढाएको बताइएको छ । नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गर्दै आए पनि मानव संसाधन विभाग (एचआरडी) ले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको थियो तर कोरियाको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण यो प्रक्रिया रोकिएक थियो । पछिल्लो समय एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको हो । हाल प्रवेशाज्ञा प्रक्रियाका लागि कानून मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सहजीकरण गर्दै आइरहेको छ । यो निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेको छ । कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि कम्बोडिया र श्रीलङ्काबाट श्रमिक लैजान शुरु गरे पनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाललगायत विदेशी श्रमिकलाई लैजानेबारे तयारी भइरहेका बेला कोरियामा कोभिड भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निर्णयलाई निरन्तरता दिएको थियो । कोरियाले गैरश्रमिक नागरिकलाई स्वास्थ्य मापदण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिए पनि श्रमिकको सम्बन्धमा भने कडाइ गर्दै आएको छ । यसबाट कोरिया जाने तयारीमा रहेका हजारौँ नेपाली युवा स्वदेशमा छ्न् तर प्रवेशाज्ञा सकिएर नेपाल फर्कने युवाहरू भने हवाई यात्रा खुलेसँगै कोभिड-१९ को मापदण्ड पूरा गरी नेपाल फर्किरहेका छन् । गत चैतयता प्रतिबद्ध ६ हजार ५ सय नेपाली युवाले कोरिया प्रवेशमा अनुमति पाएका छैनन् । नेपालसहित १६ राष्ट्रबाट बर्सेनि ५० हजार युवा कोरिया प्रवेश गर्ने गरेको भए पनि १० महिनायता सो क्रम रोकिएको छ । कोभिड सङ्कट लम्बिएपछि भिसा पाएका प्रतिबद्ध श्रमिक, श्रम सम्झौता गरेका र बिदामा आएका ६ हजार ५ सय नेपालीमध्ये ७ सयको रद्द भएको शाखाले जनाएको छ । कोरियाबाट हालसम्म २ हजार ५ सय ३६ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किसकेका छन् ।

विदेशमा ४३५६९ नेपाली कोरोना संक्रमित, २८४ को निधन

काठमाडौं । कोरोना संक्रमणले नेपालमा मात्र हैन, विदेशमा रहेका नेपालीमा समेत उल्लेख्य असर गरेको छ । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन । विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ । अनावश्यक यात्रा नगरौँ सङ्घले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानो भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन शुरु भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न सङ्घले आव्हान गरेको हो । सङ्घ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन अनुरोध गरेको छ ।

यूएईमा पनि मनाइयो छैठौँ संविधान दिवस

यूएई : नेपाली दूतावास अबुधाबीले छैठौँ संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डोत्तलन गरेको छ । आइतबार एक कार्यक्रमका बीच दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् । झन्डोत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझा लगायत दूतावासका अन्य कर्मचारी तथा नेपाली समुदाय र सिमित पत्रकारहरुको उपस्थिति रहेकोे थियो । झन्डोत्तलनपछि दूतावासको सभाकक्षमा संविधान दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन गर्दै उपनियोग प्रमुख धितालले नेपालको हाल लागु संविधानले राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको पूर्ण ग्यारेन्टी गरेको र विश्वका गतिशील संविधानमा नेपालको संविधान रहेको बताइन् । संविधानको सम्मान र पालना गर्दै यसलाई रास्ट्रय दिवसको रूपमा पनि मनाउन थालिएको बताउँदै धितालले यही खुसीयालीमा राजदूतको आवासमा तीन दिनसम्म दिपावली गरिएको जानकारी दिइन् । संविधान दिवसको अवसरमा विश्वको अग्लो टावर यूएईको दुबईस्थित बुर्ज खलिफामा नेपाली झण्डा गत वर्षदेखि फहराउन दूतावासले पहल गरेको र दूतावासको पहललाई यूएई सरकारले पनि उच्च सम्मान गर्दै निस्शुल्क उक्त सुविधा प्रदान गरेकोले युएईमा क्रियाशील नेपालीहरूले गौरवको अनुभूति गरेको उनले बताइन् । उनले अबुधाबीस्थित एडनक भवनमा पनि लामो समयसम्म नेपाली झन्डा सेप्टेम्बर १९ को रातमा फहराएको र दुबै स्थानमा नेपाली दूतावासका प्रतिनिधिहरु उपस्थित भएर हजारौं नेपालीसँगै खुसीयाली साटासाट गरेको जानकारी दिइन् । कार्यक्रममा राजदुत ढकालले संविधान दिवसको उपलक्ष्यमा रास्ट्रपति विध्यादेवी भण्डारीले सार्वजनिक गरेको शुभकामना सन्देश वाचन गर्दै नेपालको हाल क्रियाशिल संविधानको लोकप्रियता, व्यापकता र विशेषताबारे प्रकाश पारेका थिए । राजदूत ढकालले यो संविधान विश्वका थोरै उत्कृष्ट संविधानहरुमा पर्ने दाबी गर्दै स्थिरता र राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सफल भएको बताए । कोरोनाको कहरका कारण नेपालको महत्त्वपूर्ण दिनलाई सानो आकारमा मनाउनु परेको वाध्यता दर्साउदै राजदूत ढकालले संविधान दिवसको उपलक्ष्यमा यूएईमा कार्यरत सबै नेपालीहरुलाई सुख, शान्ति तथा सुस्वास्थको शुभकामना व्यक्त गरे । सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली समाज युएईका उपाध्यक्ष गणेश न्यौपानेले यो विषम परिस्थितिमा पनि दूतावासले नेपाली संविधानप्रति दर्साएको सम्मानका लागि दूतावास परिवार लाई धन्यवाद प्रकट गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघको तर्फबाट सहसचिव राम ढुंगेल र सदस्य रामकुमार परियारले पनि शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

पसल चोर्न आएका लुटेरा लखेटेपछि अष्ट्रेलियामा नेपाली युवतीको चर्चा

काठमाडौं : अष्ट्रेलियाको सिड्नीको अर्वनमा सोमबार साँझ १ नेपाली युवतीले पसल लुट्न आएको लुटेरालाई लखेटेको समाचारले यतिखेर चर्चा पाएको छ। रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्की साँझ ७ बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर आएका एक लुटेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्यो। एकछिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लुटेराले सिधै पवित्रा बसेको स्थानमा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो। उनले लुटेराको हात समातिन्, त्यत्तिकैमा हात हालाहाल हुँदा पवित्राले आफू छेउमा रहेको सानो तरकारी काट्ने चक्कु देखिन्। सोही चक्कु समातेपछि लुटेरा हच्कियो। उनले चक्कु लिएर लखेट्न थालिन्। लुटेरा कहाँ गयो, उनलाई पत्तो भएन। ‘अहिले सम्झँदा डर लागिरहेको छ, कसरी आँट आयो थाहै भएन,’ पवित्राले भनिन्। पसल बन्द गर्ने बेलामा आफूले दिदीलाई कुरेर बसेका बेला घटना घटेको उनले बताइन्। ‘पसलमा तरकारीको बक्स काट्न प्रयोग हुने चक्कु काउन्टर छेउमै रैछ, लुटेराले पैसामा हात हाल्न लागेपछि मलाई कसरी आँट आयो खोइ, चक्कु लिएर जाइलागेँ’ उनले भनिन्। सोमबारको यो घटनापछि स्थानीय प्रहरी आएर उनको व्यक्तिगत रिपोर्ट तथा सिसिटिभी फुटेज लगिसकेको छ। स्थानीय अष्ट्रेलियन टिभी च्यानलले समेत पवित्राको बहादुरीको गाथा प्रशारण गरिसकेका छन्।

यूएईस्थित नेपाली दूतावास भन्छः समस्यामा परेका नेपालीलाई सधै हाम्रो साथ

यूएईः यूएईस्थित नेपाली दूतावासले कोरोना भाइरसको महामारीका कारण अफ्ट्यारोमा परेमा नेपालीलाइ आफ्नो साथ सधै रहने बताएको छ। मंग्लवार प्रेस बिज्ञप्ति जारी गर्दै दूतावासले युएईमा अफ्ट्यारोमा परेका नेपालीहरुलाइ दूतावासले निरन्तर सहयोग गर्दै, सम्झाउदै र साथ दिदै आएको कुरा स्मरण गराउदै सामाजिक संजालमा भाइरल भएको भिडियोमा बोलिएका कुरा दूतावासको आधिकारिक भनाइ नभएको स्पष्ट पारेको छ। सोमबार युएईमा अलपत्र परेका केहि नेपालीहरु अबुधाबी स्थित नेपाली दूतावासमा आफुहरु समस्यामा रहेको जानकारी गराउदै उद्दारको लागि पहल गरिदिन अनुरोध गर्दा दूतावास भित्र बाट एक जना कर्मचारीले “उद्दार गर्ने काम हाम्रो हैन ” भन्ने आवाज सहितको भिडियो सामाजिक संजालमा भाइरल भएपछि दूतावासले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। बिज्ञप्तिमा भनिएको छ “कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा समेत समस्यामा परेका नेपालीहरुले देखाएको धैर्यता प्रति दूतावास धन्यवाद व्यक्त गर्दछ ।आगामी दिनलाई सहज बनाउन र चार्टर्ड उडान गराउन दूतावास निरन्तर प्रयासरत छ” । मंग्लवार देखि युएईमा अलपत्र परेका नेपालीहरुलाइ चार्टर्ड उडान मार्फत नेपाल लैजाने तयारी गरिएको भएपनी सोमबार साझ उडान रद्द भएको जानकारी गराए सङ्गै समस्यामा रहेका नेपालीहरु आक्रोशित भएका छन् ।

अनुमति प्राप्त नभएपछी नेपाल एअरलाइन्सको दुबई उडान रद्द

युएई ।संयुक्त अरब इमिरेट्सबाट काठमाडौँको लागि जुन १६ र १८ तारीख मंगलवार र विहीवारका तय भएको उडान रद्द भएको छ। स्रोतका अनुसार एयरलाइन्सको  चार्टर्ड उडानका लागि  संबंधित निकाएको अनुमति प्राप्त नभएको पछी हाललाई उडान स्थगन भएको हो । नयाँ उडान मिति भने प्राप्त हुनासाथ जानकारी गराइने दूतावास स्रोतले जानकारी दिएको छ । गत जुन ११ तारीख दूतावासले एक सुचना जारी गर्दै कोरोना भाइरसको महामारीका कारण युएईमा अलपत्र परेका नेपालीहरु लाई सरकारले निर्धारण गरेको प्राथमिकता क्रम अनुसार लैजाने भन्दै युएईका लागी पहिलो चार्टर्ड उडान दुबई बाट जुन १६ र १८ को लागि तोकेको थियो ।

मलेसियन सरकारले भन्यो- भिषा सकिएकाहरू आफ्नो देश फर्कनू

मलेसियाः मलेसियन सरकारले १ जनवरीदेखि भिसा सकिएका आप्रवासी कामदारलाई लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कने अवसर दिने भएको छ । मलेसिया स्थित नेपाली दूतावासका अनुसार यसरी स्वदेश फर्कन चाहनेहरूले कुनै जरिवाना तिर्नु नपर्ने र १२ मेदेखि २६ सम्म स्वदेश फर्किसक्नुपर्ने छ । यसरी फर्किनेहरूले मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउन पर्ने छैन । दूतावासले जारी गरेको सूचनाअनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यहीँ अवधिमा भिसा सकिएको र नविकरण गर्नुपर्ने भएमा १२ मेदेखि १ महिनाभित्र कार्यालय समयमा मलेसियन अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै एपमार्फत् समय र अनुमति लिनुपर्ने उल्लेख्य गरिएको छ। भिसा नविकरणका लागि मोबाइलमा प्लेस्टोरबाट powerq एप डाउनलोड गर्ने सकिने र पुत्रजया बाहेक अन्य राज्यमा आवेदन दिन परेमा https://sto.imi.gov.my/ वेबभसाइटमा लग इन गरी कार्यालय समयमा बुक गर्नु पर्नेछ ।

मलेसियामा नेपाली युवकको मृत्यु

मलेसियाः सप्तरीबाट रोजगारीको सिलसिलामा मलेसिया गएका १ युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए । परियोजना संयोजक यादवका अनुसार मलेसियाको सलेङ्गर जिल्लास्थित आई ४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा खाना खाने क्रममा अचानक उनी बेहोस भई ढलेका थिए । सो क्रममा उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको जनाइएको छ । ३ वर्षदेखि मलेसियामा उनी कार्यरत थिए । ४ दिनअगाडि मात्रै मलेसियामै सप्तरीको बलान बिहुल गाउँपालिका–२ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका थिए । यादव ३ महिनाअघि मात्र वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । त्यस्तै, डेढ महिनाअघि सप्तरीको राजविराज–१० बिरौल निवासी २५ वर्षीय विष्णुदेव मण्डलको पनि मलेसियामै मृत्यु भएको थियो । गत चैत २ गते राति एक्कासि उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । तीनै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

काठमाडौंः विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । डा .सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ । उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा नुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा. हेमराज शर्माले बताए । उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ । यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन् । स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ । रासस

पोर्चुगलमा १ नेपालीको मृत्यु

पोर्चुगलः पोर्चुगलको फारोमा १ नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ ५ वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनी पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए । लडेर आगोमा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पुर्‍याइएको थियो । उनको मष्तिस्कमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ । घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुगेका थिए । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।

प्रमुख सेनानी विष्टको सुडान शान्ति मिसनमा निधन

काठमाडौंः नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको हृदयघातका कारण निधन भएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमै रहेका बेला उनको निधन भएको हो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा कार्यरत प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको नेपाली सेनाले पुष्टि गरेको छ । हृदयघातबाट निधन भएका विष्टको शव अल्फासेरस्थित राष्ट्रसंघीय अस्पालमा राखिएको छ। उनको शवलाई सुडानको राजधानी खार्तुमस्थित अस्पतालमा पोष्टमार्टम गरेपछि नेपाल ल्याइनेछ । विष्टको निधन अप्रेशन रुपमा व्रिफिङकै क्रममा ढलेपछि भएको खुलेको छ । बिष्टको घर ललितपुरको सानेपा हो । उनका एक छोरा र एक छोरी छन्। विष्टको शव खार्तुममा पोष्टमार्टमपछि संयुक्त राष्ट्रसंघले एयर एम्बुलेन्सबाट नेपाल पठाउने भएको छ । विश्‍वमा अहिले कोरोनाको महामारी चलिरहेकाले तत्कालै उनको शव नेपाल आइपुग्‍न कठिनाई हुने भएको छ । ४० बेसिकका सैनिक अधिकृत विष्ट २०७३ फागुनमा स्टाफ कलेज पास गरेका थिए। मेजर रहेका बेला उनी मुगुको रारामा श्रीदल गुल्मका गुल्मपति पनि भएका थिए ।

कोरोना संक्रमणबाट अमेरिकामा नेपालीको मृत्यु

काठमाडौंः अमेरिकामा बस्दै आएका एक नेपालीको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचथर घर भएका रमेश (लीली) सम्वाहाङ्फे रहेका छन् । उनी कोरोना संक्रमण भएपछि केही दिअघि अस्पताल भर्ना भएका थिए । सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्यूयोर्कमा बस्दै आएका थिए । उनले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गरिरहेका थिए । मृतक सम्वाहाङ्फेकी श्रीमती र दुई छोरा पनि अमेरिकामै बस्दै आएका छन् ।

जापानमा नेपाली युवकको मृत्यु

काठमाडौंः जापानको राजधानी टोकियोमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ घर भएर हाल जापानमा रहेका अनुप धामी रहेका छन् । उनी आफ्नै कोठमा मृत फेला परेका जापानमै रहेका भक्त जोशीले बताए । धामीको शव परिक्षण भइसकेको तर रिपोर्ट नआएकाले मृत्युको कारण नखुलेको जोशीले जानकारी दिए ।