रोल्पामा सुरु भयो अवरुद्ध जटिल प्रसूति सेवा

रोल्पा, भदौ २६ । लामो समयदेखि अवरुद्ध जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा भदौ तेस्रो सातादेखि पुनःसञ्चालन भएको छ।

गत वैशाख अन्तिम सातादेखि दक्ष चिकित्सक नहुँदा अवरुद्ध भएको सो सेवा भदौ तेस्रो सातादेखि सञ्चालन भएको जिल्ला अस्पताल रोल्पाले जनाएको छ। सेवा अवरुद्ध हुँदा दर्जनौँ सेवाग्राही शल्यक्रियाका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए।

सेवा सञ्चालनसँगै तीन वटा जटिल प्रसूतिको शल्यक्रियासमेत गरिसकिएको जिल्ला अस्पताल रोल्पाका डा अनिल केसीले जानकारी दिए। सेवा सञ्चालन गर्न नयाँ चिकित्सक भर्नाका लागि दर्खास्त आह्वान गरिएको भए पनि कसैले आवेदन नदिएका कारण लामो समयसम्म सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ।

अस्पतालमै मौजुदा चिकित्सकलाई जटिल प्रसूतिसम्बन्धी तालीम प्रदान गरेपछि सेवा सञ्चालन गर्न सम्भव भएको जिल्ला अस्पताल रोल्पाले बताएको छ ।

सेवा निरन्तरताका लागि कम्तीमा दुई जना दक्ष चिकित्सकको व्यवस्था गर्ने भन्दै नयाँ चिकित्सक भर्नाका लागि आवेदन गरिएको भए पनि कसैको पनि दर्खास्त नपरेको बताइएको छ ।

जटिल प्रसूतिका लागि एक जना मात्र चिकित्सक हुँदा सेवा निरन्तरतामा समस्या हुने सेवाग्राही गंगा थापाले बताए। रासस

भदौ २१ गतेबाट पुनः अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, भदौ १८ । निरन्तरको वर्षापछि बाढी र पहिरोले ओपप्रोत नेपाली जनताको दुःख देख्न नसकेर आफ्नो ११ औं अनशनलाई स्थगित गरेको त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन् । काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए उनले अनसन बस्ने बताएका हुन् । ‘नेसनल मेडिकल कलेजको सम्बन्धन केही समयका लागि स्थगत भनेर झुलाउने बहाना गरिएको भन्दै डा केसीले तत्काल सम्बन्धन खारेज गर्न माग गरे अन्यथा आगामी २१ गतेबाट पुनः अनसन बस्ने चेतावनी दिएका छन् । ् उनले विगतका सम्झौता र चिकित्सा शिक्षा ऐन माथेमा प्रतिवेदन र सुझाव अनुसार नै आउनुपर्ने माग गरे। त्रिवि कार्यकारी परिषद्ले काठमाडौं नेसनललाई दिएको सम्बन्धन हिजो स्थगन गरेको हो ।

ढिलो आमा बन्दै हुनुहुन्छ भने ख्याल राख्नुहोस्

यो शास्वत सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना पनि घट्दै जान्छ । हालै सार्वजनिक भएको अध्ययनमा आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौं महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ । ब्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई महिलाहरुलाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले गर्भधारण गर्ने उपयुक्त साइत नै जुरेको छैन । बेलैमा सन्तान नजन्माएका तर रोजगारीमा संलग्न हुने महिलाहरुलाई ‘पार्ट टाइम मदर’ भनेर होच्याउने गरिएको केहीले महिलाले गुनासो गर्न थालेका छन् । आफूहरुले सासु–ससुरा, साथी र सहकर्मीहरुको आशालाई पूरा गर्न नसकेकोमा अधिकांश बिबाहित महिला चिन्तित देखिन्छन् । करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरु ढिलो सन्तान जन्माउने गरिहिरहेकै बेला विज्ञहरुले महिला उर्वरत्व जोगाउने विषयमा केही टिप्स दिएका छन् । यौनजन्य रोगहरुबाट बच्नुहोस् महिलाको उर्वरता सम्बन्धी एक तिहाई समस्या यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमान्सँग मात्र यौन सम्पर्क गर्दा पनि यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपछ । नियमित परीक्षण गर्नुभयो भने तपार्इंको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ । धुमपान छोडिदिनुहोस् धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धुमपान नगर्नेको तुलनामा धुमपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई ३ वर्ष बढी समय लाग्छ । धुमपानले अन्डाशयको काममा नकारात्मक अशर प्रभाव पर्छ । धुमपानको अशरले महिला अन्डा निस्काशन गर्न बाधा पुु¥याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुमपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअघि नै बन्द हुन्छ । अकुपन्चरबारे सोच्नुहोस् अकुपन्चरको शरिरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभीएफ गर्न, महिलाको अन्डासयबाट अन्डा निस्काशन हुने प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला हुने पिडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएको छ । अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निस्काशन गर्न पनि सहयोग पुर्‍याउँछ । सन्तुलित खाना खानुहोस् शरिरको फ्याटलाई सदैब सन्तुलित राख्नुहोस् । धेरै बढी पनि होइन, कम पनि होइन । बढी तौल र न्यून तौल दुबैले बाझोपनको समस्या ल्याउँछ । आफूलाई मन पर्ने व्यायाम गर्नुहोस र पोषणलाई पनि राम्रोसँग ध्यान दिनुहोस् । परिस्कृत वा परिमार्जित खाना र बढी चिनि सम्भव भएसम्म नखानुहोस् । खानलाई सकेसम्म प्राकृतिक अवस्थामै खानुहोस् । मोटा महिलाहरुको सेक्स हर्मन दबिने हुँदा उर्वरतामा समस्या आउन सक्छ । त्यस्तै न्यून फ्याट भएमा पनि अन्डकोशबाट अन्डा निस्काशन हुने प्रक्रियामा असर पर्छ । तपाईंको भोजनमा स्वस्थ र पोषणयुक्त खानेकुरा जस्तै माछा, पर्याप्त सागपात र गेडागुडी खानुहोस् । यदि मदिरा पिउने लत छ भने तत्कालै त्यागिदिनुहोस् । यसले बाँझोपन ल्याउनुका साथै पाठेघरमा समस्या ल्याउँछ । पारिवारिक ईतिहास बुझ्नुहोस् तपार्इं¬को शरिर र मासिक धर्मको चक्रलाई राम्रोसँग बुझ्नुहोस् । नियमित मासिक धर्मको चक्र महिला उर्वरताको शारीरिक वास्तविकता हो । यही चक्रलाई बुझेर नै महिलाको सामान्य स्वास्थ अवस्था र उर्वरताबारे बुझ्न सकिन्छ । तपाईको पारिवारिक ईतिहास विशेष गरी आमाको गाइनोलोजी र मासिक धर्म बारे बुझ्नुहोस् । यदि तपाईको आमाको ४५ वर्षसम्म मासिक धर्म भएको थियो भने तपाईंको उर्वरता पनि त्यति समयसम्म हुने सम्भावना हुन्छ । यदि आमामा मिसक्यारियज भएको वा त्यस्तै अन्य समस्या भएको थियो भने तपाईंमा पनि हुन सक्छ । -स्वास्थ्यखबरबाट

भरतपुर कारागारमा रहेकी पाकिस्तानी महिलाको क्यान्सरका कारण मृत्यु

चितवन, भदौ १४ । चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण बुधबार बिहान मृत्यु भएको छ । खोटा चलन ९नक्कली पैसासम्बन्धी० मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी पाकिस्तानी नागरिक जुलेखा बानोको बिहान ७ बजे मृत्यु भएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिए । उनका अनुसार स्तन क्यान्सरबाट पीडित बानोको उपचारकै क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । पासपोर्ट नम्बर ए ३३७९५१८१ रहेकी उनको २०७६ वैशाख १ गतेसम्मका लागि कैद तोकिएको थियो । क्यान्सर भएपछि उपचारका लागि भन्दै उनलाई गएको फागुन ७ गते केन्द्रीय कारागार काठमाडौंबाट चितवन ल्याइएको थियो । यसअघि विराटनगर घर भएकी ४२ वर्षीया अम्बिका कामतको स्तन क्यान्सरकै कारण गत साउन १९ गते मृत्यु भएको जिल्ला कारागार चितवनले जनाएको छ । यस्तै साउन १३ गते मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको पनि कलेजोको क्यान्सरका कारण मृत्यु भएको काफ्लेले जानकारी दिए । गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको थियो । भरतपुर कारागारमा अब एकजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा अहिले पनि क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा छन् । रासस

५० देशका ५० लाख विदेशीको आँखामा नेपाली लेन्स

  यी दुई वृद्धवृद्धासँगै भूकम्पबाट अति प्रभावित धादिङ जोगीमाराका ८६ वर्षीय खुँडा चेपाङ र सिन्धुपाल्चोक मेलम्चीका ८४ वर्षीय कृष्णबहादुर दनुवारको दिनचर्या पनि मोतीबिन्दुको निःशुल्क शल्यक्रियापछि फेरियो । संयोगले यी चारै जनाको आँखाको शल्यक्रिया गर्ने व्यक्ति थिए, नेपालका डाक्टर सन्दुक रुइत । अर्को संयोग के भने, चारै जनाको शल्यक्रियापछि राखिएको ‘लेन्स’ पनि नेपालमै उत्पादित ‘इन्ट्राअकुलर लेन्स’ थियो । उक्त लेन्स तिलगंगा आँखा प्रतिष्ठानबाट उत्पादन गरिएको हो । मोतीबिन्दु भएका बिरामीको उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रियामा अपारदर्शी बनेको आँखाको प्राकृतिक लेन्स निकालेर ल्याबमा बनाइएको लेन्स प्रत्यारोपण गरिन्छ । यस्तो लेन्सलाई ‘इन्ट्राअकुलर लेन्स’ भनिन्छ । तिलगंगा आँखा प्रतिष्ठानबाट उत्पादित लेन्स अहिलेसम्म ५० देशमा बिक्री भइसकेको छ । तथ्यांक अनुसार, एक वर्षको अवधिमा उत्पादित तीन लाख २५ हजार लेन्स ती देशमा बिक्री भएका हुन्। ‘नेपालमा हरेक वस्तु आयात भइरहेको समयमा नेपालमै उत्पादित लेन्स ५० भन्दा बढी देशमा निर्यात हुनु खुसीको कुरा हो’, प्रतिष्ठानका प्रशासन प्रमुख भगीरथ बानियाँले भने । उनका अनुसार, तिलगंगाको ल्याबमा बन्ने आँखाको लेन्स विश्वका उत्कृष्ट लेन्समध्ये पर्छ। ५० लाख लेन्स निर्यात तिलगंगामा लेन्स उत्पादनका लागि छुट्टै ल्याब छ । तिलगंगा आँखा केन्द्र अन्तर्गत रहेको उक्त ल्याब अष्ट्रेलियाका डाक्टर डा. फ्रेड हलोजको सहयोगमा स्थापित भएको हो । ल्याबमा उत्पादन भएको लेन्स अहिलेसम्म विश्वका ५० देशमा गरी ५० लाख वटा निर्यात भइसकेको प्रोडक्सन म्यानेजर चन्द्र खनालले जानकारी दिए । उनका अनुसार, लेन्सको माग हरेक वर्ष बढ्दो क्रममा छ। ल्याबबाट हाल वार्षिक ५ लाख लेन्स उत्पादन हुँदै आएको छ । उत्पादित लेन्समध्ये ६५ प्रतिशत विदेश निर्यात हुने मार्केटिङ म्यानेजर सन्तोष शर्माले बताए । शर्माका अनुसार, विदेशमा लेन्स बिक्रीका लागि अहिले १७ देशमा सञ्जाल छ भने ५० भन्दा बढी देशमा अस्पताल, सरकार वा एनजिओमार्फत बिक्री हुने गर्छ। उत्पादित लेन्समध्ये नेपालमा भने वार्षिक साढे एक लाखको हाराहारीमा खपत हुने गरेको तथ्यांकले देखाउँछ । नेपालका अस्पतालमा आँखाको उपचारका लागि आउने बिरामीमध्ये ८० प्रतिशत भारतीय हुने भएकाले लेन्स पनि सबैभन्दा धेरै भारतीय नागरिकमा प्रत्यारोपण हुने गरेको छ। ‘हाम्रो उत्पादनको अधिकांश हिस्सा विदेशमा नै निर्यात हुन्छ,’ प्रोडक्सन म्यानेजर खनालले भने, ‘हरेक दिन माग बढ्दै गएकोले क्षमता वृद्धि गर्न लागिरहेका छौं ।’ उनका अनुसार, नेपालमा उत्पादित ‘इन्ट्राअकुलर लेन्स’ युके, टर्की, अष्ट्रेलिया, न्युजिल्यान्ड जस्ता विकसित देशसँगै अफ्रिका, म्यान्मार, अफगानिस्तान, पाकिस्तान, कम्बोडिया, भियतनाम जस्ता गरिब तथा विकासोन्मुख देशमा समेत निर्यात हुन्छ । तिलगंगाको ल्याबबाट अहिले रिजिड पिएमएम र फोल्डेबल गरी दुई थरी लेन्स उत्पादन हुँदै आएको छ । रिजिड पिएमएम पुरानो प्रविधिबाट बनाइने लेन्स हो भने फोल्डेबल नयाँ प्रविधि हो । फोल्डेबल लेन्स राख्न आँखामा सानो प्वाल पारे पुग्छ भने रिजिडमा शल्यक्रियाका क्रममा अलि ठूलो घाउ बनाउनुपर्ने हुन्छ । मानिसको आँखाको पावर फरक–फरक हुने भएकोले यी दुई थरीका लेन्स पनि सयभन्दा बढी मागमा वर्गीकरण गरेर उत्पादन हुन्छ । प्रविधिमा आएको विकाससँगै ल्याबले नयाँ लेन्स उत्पादनको तयारी समेत गरिरहेको छ। ल्याबमा एउटा लेन्स पूर्णरुपमा तयार हुन एक महिना लाग्छ । सुरुमा कच्चा पदार्थलाई अत्याधुनिक मेसिनमा राखेर लेन्सको आकार दिने काम हुन्छ । त्यसपछि त्यसमा दृष्टि मिलाउने, पोलिसिङ गर्ने, संक्रमणमुक्त बनाउने लगायतका प्रक्रिया पूरा हुँदै प्याकेजिङ गर्दासम्म एक महिना लाग्छ। सरकारको १० करोड सहयोग तिलगंगामा उत्पादित लेन्सको माग विश्वबजारमा बढ्दै गएपछि नेपाल सरकारले यसको क्षमता विस्तारका लागि १० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रतिष्ठान अन्तर्गत रहेको लेन्स ल्याबोरेटरीलाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले गत बैशाख २८ गते १० करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको हो। उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल र डा. सन्दुक रुइतबीच हस्ताक्षर भएको समझदारीपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको उच्च माग पूरा गर्न वार्षिक १५ लाख लेन्स उत्पादन गर्न कारखाना स्थापना गर्नुपर्ने उल्लेख छ। यसैगरी सम्झौतामा कृत्रिम लेन्स उत्पादन तथा त्यसका लागि आवश्यक सहायक सामग्री र कच्चा पदार्थ समेत उत्पादन गर्ने उद्योग स्थापनाको लागि सरकारले सहजीकरण गर्ने, उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक समन्वय गर्ने उल्लेख छ । हाल तिलगंगाले लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ अमेरिका र बेलायतबाट आयात गर्दै आएको छ। साँघुरो भयो ल्याब लेन्सको बढ्दो मागसँगै यसको उत्पादन गर्ने पूर्वाधार साँघुरो हुँदै गएको छ । अहिले तिलगंगाकै पुरानो भवनको एक छेउमा लेन्स उत्पादन गर्ने ल्याब छ । पशुपति क्षेत्र विकास कोषले दिएको पाँच रोपनी क्षेत्रमा रहेको तिलगंगा क्षेत्र आँखा अस्पताल सञ्चालनसँगै लेन्स उत्पादन गर्न निकै साँघुरो भएको प्रशासन प्रमुख भगीरथ बानियाँ बताउँछन्। बानियाँका अनुसार, सरकारको सहयोगमा अन्यत्र छुट्टै स्थानमा ल्याब स्थापना गर्ने तयारी भइरहेको छ । ‘कम्तीमा १०/१२ रोपनी क्षेत्रफल भएको क्षेत्रमा ल्याब विस्तार गर्न जरुरी छ,’ उनले भने, ‘यसको विस्तारसँगै नयाँ–नयाँ प्रविधिका लेन्स समेत उत्पादन हुने छन्।’ वार्षिक १५ लाख लेन्स उत्पादन गर्न सरकारले अहिले दिएको १० करोड रुपैयाँ निकै थोरै रहेको प्रशासन प्रमुख बानियाँ बताउँछन् । ‘यसका लागि कम्तीमा पनि ८० करोड रुपैयाँ चाहिन्छ’ उनले भने, ‘तर, सरकारले उद्योगका रुपमा स्थापना गर्ने भनेकाले थप सहयोग बढ्दै जाने विश्वास लिएका छौं।’ नेपालमा उत्पादन सस्तोमा तिलगंगामा उत्पादित लेन्स नेपालका अस्पतालमा निकै सस्तोमा पाइन्छ । यस्तो लेन्स निर्माण गर्न ल्याबलाई ४ सय २५ रुपैयाँ लागत लाग्छ । तर, नेपालीहरुलाई तिलगंगाले २ सय २५ रुपैयाँमा नै बिक्री गर्ने गरेको छ । नेपालीलाई बिक्री गर्दा भएको घाटा तिलगंगाले विदेशमा निर्यात गर्ने लेन्सबाट पूर्ति गर्छ। विदेशमा पनि नेपाली लेन्स तुलनात्मक रुपमा सस्तोमै पुग्ने गरेको तिलगंगाले जनाएको छ । विदेशमा एउटा लेन्सको मूल्य ४ डलरदेखि २२ डलरसम्म पर्ने मार्केटिङ म्यानेजर सन्तोष शर्माले जानकारी दिए । निर्यात हुने देशको आर्थिक अवस्थाको आधारमा मूल्यमा केही तल–माथि पर्ने गरेको छ। ‘खरिद गर्न सक्ने देशसँग केही बढी पैसा लिने गरिएको छ भने गरिब देशमा सस्तोमा दिन्छौं,’ उनले भने, ‘तिलगंगा गैरनाफामूलक संस्था भएकाले सस्तो दरमा गुणस्तरीय लेन्स उत्पादन गरिरहेका हौं।’ यसरी सुरु भयो लेन्स उत्पादन मोतीबिन्दुको शल्यक्रियापछि आँखामा राख्ने लेन्स ज्यादै महँगोमा किन्नुपर्ने अवस्था थियो । विश्वबजारमा यस्तो लेन्सको मूल्य एक सय ५० देखि २ सय डलसम्म पथ्र्यो । आर्थिक अवस्था कमजोर भएका नेपालीहरुले ती लेन्स किन्न सक्दैनथे । फलस्वरुप मोतीबिन्दुका कारण धेरै नेपालीेहरु अन्धोपनको सिकार हुने गरेका थिए। सन् १९९० तिर अष्ट्रेलियन डा. फ्रेड हलोज नेपालमा थिए । उनले पैसा नभएकै कारण कसैले दृष्टि गुमाउनु हुँदैन भनेर सस्तोमा लेन्स उत्पादन गर्नुपर्ने योजना बनाए । यसका लागि उनले आफूले सक्दो सहयोग गर्ने भन्दै नेपालमा लेन्स उत्पादन गर्न तिलगंगामा मेसिन जाडन गरे। सन् १९९२ मा लेन्स उत्पादन गर्ने ल्याब तयार भयो । त्यसको दुई वर्षपछि ल्याब उद्घाटन भएको थियो । आँखामा राखिने लेन्स संवेदनशील कुरा भएकाले त्यसको सबै प्रक्रिया पूरा गर्दै ‘क्लिनिकल ट्रायल’ पास गर्नुपर्ने हुन्थ्यो । सबै प्रक्रियामा पास भएपछि सन् १९९६ देखि लेन्सको बिक्री–वितरण सुरु भएको हो। त्यसबेला एउटा लेन्स तयार हुन तीन डलर खर्च लाग्थ्यो । तिलगंगाले उत्पादित लेन्स विश्वबजारमा ६ देखि १० डलरमा पठायो । सय डलर पर्ने लेन्स सस्तोमा पाउने भएपछि चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलंका लगायतका देशमा नेपाली लेन्सको माग ह्वात्तै बढ्यो । नेपाली लेन्स पुग्नु अगाडिसम्म थाइल्यान्डमा लेन्सको सरकारी मूल्य नै ८० डलर थियो । तर, नेपालको लेन्स गएपछि मूल्य स्वाट्टै घटेर २० डलरमा आयो । सुरुमा तिलगंगाबाट रिजिड पिएमएम लेन्स उत्पादन हुन्थ्यो । सन् २००४ देखि फोल्डेबल लेन्स उत्पादन सुरु भएको हो। दोस्रो विश्वयुद्धको उपहार आँखाको लेन्स बनाउन पोली मिथाइल मेथाक्राइलेट नामक प्लाष्टिक प्रयोग हुन्छ । यो प्लेनको ककपिटमा राखिने सिसा बनाउने प्लाष्टिक नै हो । उक्त प्लाष्टिकलाई मेडिकल रुपमा मिलाएर आँखाको लेन्स बनाइएको हो। यो प्लाष्टिकको लेन्स बनाउन सकिन्छ भन्ने ज्ञान दोस्रो विश्वयुद्धपछि आएको हो । दोस्रो विश्वयुद्धका क्रममा पाइलटको आँखामा प्लेनको ककपिटका सिसाको टुक्रा परेका थिए । लामो समयसम्म पनि उक्त सिसाले आँखामा कुनै असर नगरेपछि यसको महत्व बुझिएको हो । त्यसपछि यसको थप अध्ययन गर्दै आँखामा राख्न मिल्ने लेन्सका रुपमा विकास गरिएको हो। के हो मोतीबिन्दु, किन राखिन्छ लेन्स ? डा. बेन लिम्बु आँखाको भित्रपट्टि एउटा पारदर्र्शी लेन्स हुन्छ । सोही लेन्स अपारदर्शी हुनुलाई नै मोतीबिन्दु भनिन्छ । मोतीबिन्दुको समस्या उमेर पाको हुँदै जाँदा प्रायः सबैलाई हुन्छ । यो समस्या ५० वर्ष माथिकालाई बढी हुने गर्छ । आँखामा चोटपटक लागेमा तथा मधुमेहका रोगीहरुमा पनि मोतीबिन्दुको समस्या देखिन सक्छ। घाममा बढी काम गर्ने र जोर्र्नीको दुखाइ कम गर्न स्टेरोइड जस्ता औषधिको प्रयोग अत्यधिक मात्रामा गरे मोतीबिन्दु हुन सक्छ । मोतीबिन्दु भए–नभएको सामान्य चेकजाँचबाट पत्ता लगाउन सकिन्छ । तर, उपचारमा ढिलो भएमा जलबिन्दु पनि हुन सक्छ । जलबिन्दु भएमा आँखाको ज्योति सधैंका लागि गुम्न सक्छ । मोतीबिन्दुको शल्यक्रिया गर्न १० देखि २० मिनेटसम्म लाग्छ । शल्यक्रियापछि आँखामा पट्टी लगाएर बिरामी घर फर्किन सक्छन् । मोतीबिन्दुको शल्याक्रियामा अपारदर्र्शी बनेको आँखाको लेन्स निकालेर त्यसको ठाउँमा ‘इन्ट्राअकुलर लेन्स’ राखिन्छ। -स्वास्थ्यखबरबाट  

भरतपुर अस्पतालमा डायलायसिस सेवा संचालन

चितवन, भदौ ११ । भरतपुर अस्पतालमा आजदेखि मिर्गौलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको आरम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि पालो नपाएर सरकारी अस्पताल आएको बताउनुभयो । अस्पतालमा १२ उपकरण रहेकाले एकै पटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिने छ । मरासिनीका अनुसार सेवाका लागि छ प्राविधिकले तालीम लिएर आइसकेका छन् । अन्य छ जना तालीममा नै छन् । शुरुमा दुई चरणमा २४ जनाको डायलासिस गरिने छ । थप प्राविधिक तालिम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने उहाँले बताउनुभयो । ती उपकरण सरकारले खरिद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो । समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताउनुभयो । जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीको मात्र डायलायसिस हुने गरेको छ । राजभण्डारीका अनुसार चितवनसहित छिमेकी जिल्लाका बिरामीलाई पनि सेवा दिन सकिने छ । भरतपुरका दुई मेडिकल कलेजमा १४ र रत्ननगरको मिर्गौलारोग केन्द्रमा छ मात्र उपकरण छन् । निजी क्षेत्रका मेडिकल कलेजमा उपकरण बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती व्यहोर्दैैै आएका बेला सरकारी अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा शुरु भएपछि बिरामी लाभान्वित हुने भएका छन् । रासस

सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी (विज्ञप्ती)

त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीएय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रका आधारमा नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको दावी गरेको छ । त्रिवि कार्यकारी परिषदले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४/७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्वन्धन दिएको थियो । उक्त निर्णयविरुद्द देशव्यापी आलोचना र संसदमा समेत ज़रूरी महत्वको प्रस्ताव दर्ता भएपछि त्रिवीले बिज्ञप्ति निकालेर बचाऊ गरेको छ ।

सरकारी चिकित्सकले निजी क्लिनिक चलाउन नपाउने

धनुषा, भदौ ९ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन् । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा पुगेका मन्त्री पोखरेलले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँग अन्तक्र्रिया गर्दै सरकारी चिकित्सकहरुलाई निजी क्लिनिक नचलाई दिन निर्देशन दिएका हुन् । उनले भने, ‘निजी क्लिनिक नचलाई दिनुस्, यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ ।” जनकपुर अञ्चल अस्पतालबारे निकै गुनासो आएपछि स्वास्थ्यमन्त्री पोख्रेलले डा रामपरीक्षण यादवलाई मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बाटहटाइ दुई साताअघि मात्र नियुक्त गरेका मेसु डा. कल्पना बछारलाई लक्षित गर्दै भने, – “निजी क्लिनिक बन्द गर्ने कामको शुरुवात मेसुबाटै हुनुपर्दछ । आफै निजी क्लिनिक सञ्चालन गर्नेले अरुलाई निर्देशन दिनसक्दैन । त्यसैले मेसुले अबिलम्व निजी क्लिनिक बन्द गर्नुपर्दछ ।” बिरामीको अत्याधिक चाप रहने यस अस्पताल सुधार गर्नुपर्नेमा जोड दिंदै उनले अब हामीले क्षेत्रीय होइन, प्रान्तीय दृष्टिकोणले नीति बनाउनुपर्ने र यहाँ रहेका क्षेत्रीय प्रयोगशालालाई प्रान्तीय प्रयोगशालाको रुपमा विकसित गर्नुपर्ने धारणा व्यक्त गरे । विगत करिब दुई वर्षदेखि सञ्चालन हुननसकेको यस अस्पतालको आइसीयु सेवा शीघ्र सञ्चालन हुने बताउँदै उनले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापनमा संवेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । अन्तक्र्रियामा सहभागी चिकित्सकले यस अस्पतालमा भौतिक पूर्वाधारका साथै जनशक्ति अभाव रहेको गुनासो गरेका थिए । ‘दैनिक झण्डै एकसय महिलालाई प्रसूति सेवाका लागि दुई विज्ञ, चार मेडिकल अधिकृत र १६ जना नर्स मात्र छन् । सयजना बिरामीलाई तीन नर्सले कसरी स्याहार गर्ने रु’ प्रसूति रोग विशेषज्ञ डा रामनरेश पण्डितको गुनासो थियो । रासस

कब्जियतबाट जोगिने  ८ घरेलु उपाय

कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन् । विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ । कब्जियतबाट मुक्त हुने आठ तरिका पानी पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन । धारा वा कुवाको सफा पानी तताएर वा ‘प्युरिफाई’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियत भइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ। फाइबरयुक्त खाना हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएर पैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हित गर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठूलो मूल्य चुकाइरहेका छाै‌ँ । जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागि महत्वपूर्ण औषधि नै साबित भएका छन् । फलफूल तथा सागसब्जी ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमा प्रशस्त फाइबर र तरल पदार्थ हुन्छ । यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावना हुँदैन र भइसकेको कब्जियत पनि निको हुन्छ । गेडागुडी भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित उपभोगले कब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ । तेल जैतुनको गेडा, सब्जीको रस, भटमासको तेल, तिलको गेडा पनि कब्जियत उपचारमा प्रयोग हुन्छ । यी खाद्य पदार्थमा निकै न्यून मात्रामा चिल्लो पदार्थ हुनुका साथै आन्द्रालाई चिप्लो बनाई पेटको उकुसमुकुस र डम्म हुनबाट रोकिदिन्छ । उखुको जुस, खुदो र मह कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ । अंगुर र कागती उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वारमार्फत निष्कासन गरिदिन्छ । थोरै मात्र अंगुर र कागती जुसले पनि यो समस्यालाई तत्कालै समाधान गरिदिन्छ । व्यायाम विज्ञहरुका अनुसार उठबसलगायतको शारीरिक व्यायाय पनि आन्द्रामा रहेको स्टुल फाल्नका लागि उपयुक्त तरिका हो ।

कालिकोटमा औषधी अभाव

कालिकोट, भदौ ७ । जिल्ला अस्पताल कालिकोटमा औषधी चरम अभाव भएको छ। सरकारले स्वास्थ्य क्षेत्रको बजेट स्थानीय तहमा नै विनियोजन गरेको र जिल्ला जनस्वास्थ्य कार्यालयलाई औषधी खरिद बजेटको व्यवस्था र अख्तियारी नहुँदा जिल्ला स्वास्थ्य कार्यालयमा अभाव भएको हो। जिल्ला अस्पतालमा कुनै प्रकार औषधी नभएको एक महिना भएको आफूहरुसँग औषधी खरिद गर्ने बजेट पनि नभएको र औषधीको व्यवस्था गर्न मन्त्रालय र विभागलाई पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीले बताए। ‘जिल्ला अस्पतालमा औषधीको अभाव भएको एक महिना भइसक्यो’, उनले भने, ‘हामीले मन्त्रालय विभागलाई औषधी मागका लागि पत्राचार गरेका छौं। तर, कुनै जवाफ आएको छैन।’ जिल्लामा औषधीको अभाव हुनुमा स्वास्थ्य क्षेत्रको बजेट स्थानीय तहमा नै निकासा भएको स्थानीय तहले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजित नगरेका कारणले समस्या आएको डा.अलीले बताए। ‘सबै बजेट स्थानीय तहमा नै निकासा भएको छ।’ उनले भने,–‘स्थानीय तहले स्वास्थ्य क्षेत्रमा बजेट नै विनियोजन गरेनन्।’ जिल्ला अस्पतालमा औषधी अभाव रहेको, जिल्ला अस्पताल भएका कारणले औषधी खरिदका लागि सबै स्थानीय तहले जिल्ला अस्पतालमा औषधी खरिद र अस्पताल गुणस्तरका लागि बजेट विनियोजन गर्नुपर्ने खाँडाचक्र नगरपालिकामा प्रमुख जसीप्रसाद पाण्डेले बताए। जिल्ला अस्पतालमा औषधी चरम अभाव भएको विषयमा पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी गिरिधर सुवेदीले बताए।

जोन्सन एन्ड जोन्सन पाउडर प्रयोग गर्दा क्यान्सर

काठमाडौं, भदौ ७ । अमेरिकाको एक अदालतले क्यान्सरपीडित एक महिलालाई जोन्सन एन्ड जोन्सन कम्पनीले ४१ करोड ७ लाख अमेरिकी डलर अर्थात् करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ । लस एन्जेलसस्थित अदालतका न्यायाधीशको इजलासले क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा उक्त आदेश दिएको हो । जोन्सन एन्ड जोन्सन कम्पनीको टेलकम पाउडर प्रयोगका कारण महिलाको गर्भाशयमा क्यान्सर भएपछि क्षतिपूर्ति दिन अदालतले आदेश दिएको हो । अदालतले ६३ वर्षीया इभा इचेभर्रियालाई उक्त रकम उपलब्ध गराउन आदेश दिएको बताइएको छ । ती महिलाले ११ वर्षको उमेरदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गर्दै आएको बताएकी छन् । तिघ्राको काछ वरपर उनी नियमित रुपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्थिन् । अमेरिकाका विभिन्न अदालतमा कम्पनीविरुद्ध शृङ्खलाबद्ध सुनुवाई हुँदै आएको छ । तर हालसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्ति पाउन पाउने इचेभर्रिया पहिलो बनेकी छन् । पाउडर प्रयोग गरेकै कारण आफूलाई डिम्बासयको क्यान्सर भएको भन्दै अन्य महिलालाई जोन्सन एन्ड जोन्सनको टेलकम पाउडर प्रयोग नगर्न सल्लाह दिएकी छन् । तर कम्पनीका प्रवक्ता कैरोल गुडरिचले भने अमेरिकी अदालतको यो फैसला गलत भन्दै अपील गर्ने बताएका छन् । वैज्ञानिक हिसाबले पनि सो पाउडरमा खराबी नहुने भन्दै उनले अमेरिकी अदालतको फैसला गलत भएको बताएका छन् ।(एजेन्सी)

कञ्चनपुरमा कालाजारका बिरामी फेला

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उनीमा कालाजार भएको पुष्टि भएको हो । पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएका तर आफूसँग उपचारका लागि आर्थिक अभाव भएको बताए । निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाएपनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको उनले बताए । एक सातादेखि पदमलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । चिकित्सकका अनुसार सेन्डफ्लाइ नामक भुसुनाको टोकाइले सार्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ । साँझ र राति भुसुना बढी सक्रिय हुने गर्दछन् । लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ ।

चितवनमा स्क्रब टाइफसबाट एक जनाको मृत्यु, स्वाइनफ्लुका १०० बिरामी भेटिए

चितवन, साउन २३ । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबार बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि अघिल्लो आवमा १०९ जनामा रोग देखिएकामा चारजनाको मृत्यु भएको थियो । यो आव लागेपछि स्क्रब टाइफसबाट मृत्यु भएको यो पहिलो हो । उनले जिल्लामा साउन महिनाको अहिलेसम्म २६४ जना बिरामीको परीक्षण भएकामा ७५ जनामा टाइफस रोग लागेको पाइएको जानकारी दिए । सत्ताइसभन्दा बढी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा गुणनिधि शर्माका अनुसार ती जिल्लामा सयभन्दा बढीमा सो रोग देखिएको छ । सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ । ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता भएको शर्माले बताए । माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । नेपालमा २०७२ सालमा पहिलोपटक सो रोग देखा परेको थियो । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले जानकारी दिए । चितवनमा उक्त रोगको परीक्षणका लागि किटको समेत अभाव छ । जिल्लामा स्वाइनफ्लुका १०० बिरामी चितवनमा स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा एएच९ एन० का एक सयजना बिरामी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले गएको जेठ १९ देखि यही साउन ९ गतेसम्मको प्रतिवेदनअनुसार १३७ बिरामीको परीक्षणमा यसरी एनएच१ एन१ फेला परेको जानकारी दिए । भरतपुर अस्पतालमा भाईरल ज्वरोका बिरामी बढेको भन्दै अस्पतालका फिजिसियन डा। भोजराज अधिकारीले फ्लु ए पोजेटिभका बिरामीसमेत आइरहेको बताए । उनले बढी गर्मी र पानी पर्ने मिक्स समयमा यस्ताखालका बिरामी बढी आउने गरेको जानकारी दिए । स्वाइनफ्लु लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ । अन्य रोगको संक्रमण भएकालाई अझ बढी असर गर्ने चिकित्सकको भनानइ छ । रासस

पाल्पामा ज्वरोका कारण पाँचजनाको मृत्यु

पाल्पा, साउन २१ । ज्वरोका कारण पाल्पामा पछिल्लो १५ दिनमा पाँचजनाको मृत्यु भएको छ । उपचारका लागि तानसेनमा रहेको लुम्विनी मेडिकल कलेज प्रभासमा भर्ना भएका पाँचजनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । अत्याधिक ज्वरो आउने, शरीर दुख्ने, वान्ता हुने जस्ता समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको हो । उपचारका लागि अस्पतालमा भर्ना भएकी मदाने–१ गुल्मीकी १६ वर्षकी अनिता बिष्टको साउन ६ गते, रैनादेवी–१ सिद्धेश्वर पाल्पाका ६५ वर्षका मानबहादुर कुमालको १४ गते, माथागढी–३ कसेनी पाल्पाकी २८ वर्षकी चन्दा रानाको १९ गते, माथागढी–४ झडेवा पाल्पाकी ६७ वर्षकी बसन्ती कुँवरको २० गते  र माथागढी–३ कसेनीकै ७४ वर्षका मानबहादुर चिदीको उपचारको क्रममा शनिबार बिहान ज्यान गएको हो । ज्वरोकै कारण अस्पताल भर्ना भएकी मदनपोखरा पाल्पाकी २१ वर्षकी निरमा सारुलाई शुक्रबार मात्रै हेलिकप्टर मार्फत काठमाडौं रिफर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ज्यान जानुको यकिन कारण खुलेको छैन । स्वाइन् फ्लुले ज्यान गएको भन्ने हल्लाको पुष्टि नभएको भन्दै सूचना अधिकारी ज्ञवालीले परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाएको जानकारी दिनुभयो । १५ दिनकै बिचमा उपचारको क्रममा ५ जनाको ज्यान गएपनि लुम्विनी मेडिकल कलेज, प्रभासले जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार मात्रै जानकारी गराएको हो । एक महिना अघिदेखि नै पाल्पामा रुघाखोकी, ज्वरो र मुत्रनलीको समस्या भएका बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

ओम अस्पतालको लापर्वाही : पत्थरीको अपरेसन गर्दा विरामीको ज्यान गयो

काठमाडौं, साउन १९ । राजधानीको धोवीखोलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा पत्थरीको अपरेसन गर्न भर्ना भएकी एक विरामीको मृत्युले स्थिती तनावग्रस्त बनेको छ । गोर्खा घर भइ हाल चाबहिलमा बस्दै आएकी ५५ बर्षे नन्दकुमारी लामिछानेको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरुले डाक्टरहरुको लापर्वाहीले उनको मृत्यु भएको आरोप लगाएका छन् । विरामीको के कति कारणले मृत्यु भयो भनि सोध्न खोज्दा अस्पताल प्रशासनले वेवास्ता गरेको र उल्टै प्रहरी बल प्रयोग गरी घटनालाई लुकाउन खोजेको आरोप लगाएका छन् । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिषरमा केहीबेर नाराजुलुस समेत गरेका थिए । चिकित्सकहरुले भने आफूहरुले अपरेसनमा कुनै लापर्वाही नगरेको सोही क्रममा विरामीलाई हृदयघात भएको र उनको मृत्यु भउको बताएको छ । बुधवार उपचारका लागि हिडेर गएकी लामिछानेको लामिछानेको शल्यक्रियाको क्रममा मृत्यु भएको हो । स्वस्थ मान्छेलाई चिकित्सकले मारेको मृतकका आफन्तको आरोप छ । अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भइरहेको छ ।

राजधानीमा स्वाइन फ्लुबाट मर्नेको संख्या चार पुग्यो

काठमाडौ, साउन १९ । स्वाइनफ्लु नेपालमा देखिएसँगै राजधानीमा त्यसबाट मर्नेको संख्या चार पुगेको छ । पटिल्लो पटक धापासीस्थित ग्रीनसिटी अस्पतालको आइसियूमा उपचाररत ३६ वर्षीया एक महिलाको स्वाइन फ्लुका कारण मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। एक साताअघि काठमाडौँमै स्वाइन फ्लुका कारण शिक्षण अस्पतालमा दुई र ग्रान्डी इन्टरनेसनल अस्पतालमा एक जनाको मृत्यु भइसकेको छ। विगत सात महिना यता ८२ जनालाई स्वाइन फ्लुको पुष्टि भएको र त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जनाएका छन्।