देशभर स्वास्थ्य सेवा सर्वसुलभ हुनेछ : थापा

काठमाडौँ, चैत १२ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले देशका हरेक गाउँ र सहरमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने सरकारी प्रयास भइरहेको बताएका छन् ।

रत्नश्री महिला समूहले आयोजना गरेको ‘महिला सशक्तीकरण’ सम्बन्धी चारदिने प्रशिक्षण कार्यक्रममा मन्त्री थापाले देशभर स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउन वर्तमान सरकार क्रियाशील रहेको बताएका हुन् ।

स्वास्थ्यमन्त्री थापाले पाठेघरको मुखको अर्बुदरोगको परीक्षण ७५ वटै जिल्लामा निःशुल्क गर्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार लागिपरेको उल्लेख गर्दै काठमाडौँ उपत्यकाका १३ स्थानमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना भइरहेको जानकारी दिए ।

मन्त्री थापाले भने, “राजधानीका केही स्थानमा त्यस्ता केन्द्र स्थापना भइसकेका छन्, अन्य ठाउँमा पनि शीघ्र स्थापना हुनेछन् ।”

सहरी क्षेत्रका सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने सरकारी नीति कार्यान्वयन आइसकेको उनले बताए ।

मन्त्री थापाले एउटा कार्यक्रमबाट मात्र महिला सशक्तीकरण नहुने बताउँदै यसका लागि महिला स्वयम् जागरुक हुनुपर्नेमा जोड दिएका छन् ।

पाठेघरको मुखको क्यान्सर नेपाल अधिराज्यभरी निःशुल्क परीक्षण

काठमाडौं, चैत ९ । नेपालका धेरै महिलाको मृत्युको कारणका रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्यूनीकरणका लागि अब नेपाल अधिराज्यभरी नै पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परिक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक वर्षभित्रमा देशभरका सबै जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण (भिआइए टेस्ट स्क्रिनिङ) सेवा सुरु गर्ने बताएको छ । नुवाकोटको बिदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाएको शुभकामना सन्देशमा मन्त्री गगन थापाले महिला सम्बन्धी रोगहरुको उपचार सेवा र चेतना बृद्धिका कार्यक्रमहरु तीव्ररुपमा विस्तार गरिने उल्लेख गरेका थिए । नुवाकोटमा भएको जस्तो प्रजनन् स्वास्थ्य मेला देशका २० ठाउँमा सञ्चालन गरिने मन्त्री थापाको भनाइ छ। त्यस्तै, पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपिभी भ्याक्सिन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा सञ्चालन भइरहेको मन्त्री थापाले सन्देशमा उल्लेख गरेका छन्। आगामी वर्षदेखि यस्ता कार्यक्रम क्रमशः सबै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्‍याउने मन्त्रालयको लक्ष्य रहेको मन्त्री थापाको भनाइ छ। मन्त्री थापाको सन्देशमा भनिएको छ, ‘महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन जति सजिलो छ, क्यान्सर भइसकेपछि जोगाउन त्यति नै गाह्रो छ। रोकथाम निकै सजिलो र सस्तो भएकाले त्यसलाई उपयोग गर्न सबै महिलालाई आग्रह गर्दछु।’ मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले आयोजना गरेको मेलामा मिनिल्याब, परिवार नियोजन, यौनरोग, आङ खस्ने, पोषण लगायतका विषयमा परामर्श तथा उपचार सेवा दिइएको छ। महाशाखाका प्रमुख डा. नरेशप्रताप केसीले दुई सय ७१ जनाको परीक्षण गरिएको जानकारी दिए।

मुखलाई प्राथमिकताका साथ राख्न उपराष्ट्रपति पुनको आग्रह

काठमाडौँ, चैत ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुखलाई स्वास्थ्यका दृष्टिले प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । विश्व मुख स्वास्थ्य दिवस–२०१७ का अवसरमा नेपाल डेन्टल एसोसिएसनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले धेरै रोग लाग्ने प्रमुख द्वार मुख भएकाले सरकारले मुख स्वास्थ्यको सेवा र उपचार ग्रामीण क्षेत्रसम्म पु¥याउन आवश्यक भएको बताए । नेता पुनले भने, “हाम्रो देशको दन्त उपचार सेवा निकै उत्कृष्ट छ । अन्य रोगका लागि विदेश नै रोज्ने ठूलाबडाले पनि दाँत उपचारका लागि बाहिर गएको सुनिँदैन । यसर्थ देशभित्र उत्पादन भएका दन्त चिकित्सक, दन्तसर्जन र दन्त विशेषज्ञलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म जाने वातावरण बनाउन सरकारसँग आग्रह गर्दछुु ।” विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले शरीर स्वस्थ भएमा दिमाग स्वस्थ हुने हुनाले स्वस्थ व्यक्तिले मात्र देशमा योगदान गर्नसक्ने बताएका छन् । मुख स्वस्थ राख्न खानेपानीसँगै अन्य खानेकुरामा नियन्त्रण र सन्तुलन राख्न सकेमा धेरै कडा रोगबाट बच्न सकिने उनले बताए । विश्व डेन्टल फेडरेसन ९ँम्क्ष्० को आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मुख स्वास्थ्य दिवस मनाइएको हो । नेपाल मेडिकल एसोसिएसनका संयुक्त कोषाध्यक्ष तथा दन्त विभाग प्रमुख डा प्रकाश बुढाथोकीले सम्पूर्ण नेपालीको दन्त उपचार गर्न पाँचहजार दन्त चिकित्सक आवश्यक परेपनि नेपालमा दुईहजार मात्र चिकित्सक हुुँदा पनि चिकित्सक बेरोजगार र जनता उपचारबाट वञ्चित हुनुपरेको गुनासो गरे ।

शाकाहारी हुनुहुन्छ यी खानेकुराहरु खाने गर्नुहोस

चैत ७ । मांसाहारीले मासु खाएर शरीरलाई आवश्यक प्रोटिनको मात्रा पूरा गर्छन् भने शाकाहारीहरुले भने प्रोटिनको पूर्तिका लागि निम्न कुराहरु खानु आवश्यक छ । मुख्यतः अमिनो एसिडबाट बनेका प्रोटिनले कोशिका र तन्तुको मर्मतका लागि महत्वपूर्ण हुन्छन् । जब शरिरमा प्रोटिनको कमी हुन्छ तब कोशिका र तन्तुका कार्यमा रोकावट आउन थाल्छ र अनेक शारिरिक समस्या निम्तिन सक्छ । त्यसैले शरिरले उत्कृष्ट तरिकाले काम गर्नका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । साथै, शरिरको ऊर्जाको मात्रा बनाइराख्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । केही आवश्यक प्रोटिनहरुबारे जानी राखौं तोफूः तोफू सोयाबिनबाट बनेको हुन्छ र प्रोटिनको एक उत्कृष्ट स्रोत हो । यसमा प्रोटिनमात्र नभई थुप्रै अन्य पोषक तत्व पनि पाइन्छन् जुन शरिरका लागि आवश्यक हुन्छ । तोफूलाई तरकारी बनाएर खान सकिन्छ । मुसुरोको दालः प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दालले पेटलाई सफा राख्न सहयोग गर्दछ । त्यस्तै अनेकौं स्वास्थ्य समस्या जस्तै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ । स्पिरुलिनाः स्पिरुलिनामा भरपुर मात्रामा प्रोटिन हुन्छ । यसका साथै यसमा म्याग्नेसियम, पोटासियम र फ्याटी एसिडजस्ता आवश्यक पोषक तत्व पाइन्छन् जुन शरिरको लागि आवश्यक छन् । ब्रोकोलीः ब्रोकोली प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । ब्रोकोलीलाई तरकारीको रुपमा प्रयोग गरेर प्रोटिन पाउन सकिन्छ । बदामः बदाम, काजू, र ओखर पनि प्रोटिनको राम्रो स्रोत हो । जईः जईमा प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो । त्यसकारण शाकाहारीले आवश्यक प्रोटिन प्राप्त गर्नका लागि प्रतिदिन आधा कप जईको सेवन गर्न सकिन्छ । सोया दुधः सोया दुध प्रोटिनमा समृद्ध छ र भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत पनि हो । टुसा उम्रेको गेडागुडीः टुसा उम्रेको गेडागुडी र भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण हुन्छ ।

सामान्य लाग्ने तर खतर्नाक गल्तीहरु

चैत ६ । दैनिक जीवनयापनका क्रममा सामान्य लाग्ने तर गल्तीहरु गरिरहेका हुन्छौं । त्यस्ता गल्तीहरुले गम्भिर असर पारिरहेका हुनसक्छन् तर तिनलाई हामी वास्ता गर्दैनौ । जस्तो कसिलो जिन्स पहिरिनुदेखि खानापछि तुरुन्तै ब्रस गर्नुसम्मका कामहरु हेर्दा गर्दा सामान्य लाग्छन् तर ति गल्तीहरुले गम्भिर असर पारिरहेका हुन्छन् । गर्दा सामान्य लाग्ने तर परिणाम गम्भिर हुने विभिन्न गल्तीहरु यसप्रकार छन् : कसिलो जिन्स लगाउनु : फिटिङ्स अनि कसिलो जिन्सका कपडा लगाउने अहिले फेसन नै बनेको छ । तर, फेसनेवल हुने चक्करमा यति कसिलो जिन्स पनि पहिरिनु हुन्न कि, जसले स्वास्थ्यमा असर गरोस् । किनभने कसिलो जिन्सले हाम्रो छाला एवं मांशपेशीलाई निरन्तर दबाब दिन्छ । नसामा पनि दबाव पैदा गर्छ । यसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ । असहज महसुष हुने त छदैछ, स्वास्थ्यमा पनि नोक्सान पुर्‍याउँछ । खाना खाए लगत्तै ब्रस गर्नु : दाँत सफा राख्नका लागि खाना खानसथा तुरुन्तै ब्रस गर्ने वानी हुन्छ कत्तिको । तर त्यस्तो वानीले स्वास्थ्यमा असर पार्ने अध्ययनले देखाएको छ । खाना खाएको कम्तीमा तीस मिनेट वा एक घण्टा पछि मात्र ब्रस गर्नुपर्छ । खाना पछि तुरुन्तै ब्रस गर्दा खानासँगको रसायनिक प्रतिक्रियाले गर्दा दाँतको प्राकृतिक इनामेल खिइन्छ । बरु, खाना खानसाथ पानीले राम्ररी कुल्ला गर्नुपर्छ । हाँच्छ्यु रोक्ने प्रयास : जब हामीलाई हाँच्छ्यु आउँछ, रोक्ने प्रयास गरिन्छ । हाँच्छ्यु त्यसबेला आउँछ, जतिबेला हाम्रो शरीरमा कुनै गडबडी हुन्छ । त्यसैले हाँच्छ्यु रोक्दा शरीरमा थप दबाव पैदा हुन्छ । परफ्युमको प्रयोग : परफ्युममा सिन्थेटिक तत्व मिश्रण गरिएको हुन्छ, जसले तिब्र सुगन्ध दिन्छ र प्राकृतिक तेलभन्दा सस्तो पनि हुन्छ । यहि सिन्थेटिक तत्वले गर्दा हामीलाई चक्कर आउने, वान्ता आउने समस्या हुनसक्छ । यो आँखा, गला र छालाको लागि पनि हानिकारक हुन्छ । त्यसैले प्राकृतिक तेलयुक्त परफ्युम प्रयोग गर्नुपर्छ । सस्तो प्लाष्टिक बक्सको खाना : हामी कतिपय खानेकुरा सस्तो प्लाष्टि बक्समा राख्छौं । तर, यो कृत्रिम रसायनिक पदार्थले बनेको हुन्छ । प्लाष्टिक ब्याग लचिलो बनाउनका लागि त्यस किसिमको रसायन मिसाइएको हुन्छ । उक्त रसायन खानेकुरामा सजिलै फैलन्छ जो हामीले सेवन गर्दा शरीरलाई असर गर्छ । त्यसैले एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग : हाम्रो छालाको सतहमा धेरैजसो उपयोगी ब्याक्टेरिया हुन्छ । यसले हाम्रो शरीरलाई सुरक्षा दिइरहेको हुन्छ । तरएन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग गर्दा नराम्रो ब्याक्टेरियालाई शरीरमा प्रवेश गर्नका लागि अनुकुलता मिल्छ । त्यसैले एन्टिब्याक्टेरियल साबुन हप्तामा दुई पटकसम्म मात्र प्रयोग गर्नुपर्छ ।  

हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल !

डा. ओम मूर्ति अनिल चैत ४ । कोलेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा बढि भएमा सो बोसो रगतको नलिको भित्तामा बसेर नलिलाई साघुरो बनाउछ, जसले रक्तप्रवाहमा कमी हुनसक्छ । उच्च कालेस्टेरोलले मुटुको रक्तनली (कोरोनरी आर्टरी) साँघुरो भएर बन्द हुने अवस्थामा पुग्न सक्छ । यस्तो अवस्थालाई हर्टअट्याक भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल हो । रगतमा कालेस्टेरोलको मात्रा बढी हुने प्रमुख २ कारणहरु हुन्छन् । पहिलो धेरै चिल्लो खाना र दोस्रो वंशाणुगत कारण हुन्छ । रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्ष्यण देखिदैन । हाइ कालेस्टेरोलको लक्ष्यणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ । त्यसैले २० वर्ष भन्दा माथीका सबै मानिसले कम्तिमा पनि वर्षमा एकपटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ । खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ । कालेस्टेरोल जाँच रगतमा कालेस्टेरोलको मात्रा थाहा पाउन गरीने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । कालेस्टेरोलको मात्रा थाहापाउन कम्तिमा ९ देखि १२ घण्टाको खालिपेटमा रगतको लिपिड प्रोफाइल परीक्षण गराउनुपर्छ । लिपिड प्रोफाइलमा रगतमा ५ वटा कोलेस्टेरोलको जाँच गरिन्छ । १, टोटल कोलेस्टेरोल यसले रगतमा राम्रो र नराम्रो दुबै कोलेस्टेरोलको पुरै मात्रा देखाउछ । यो परीक्षणबाट एलडिएल, एचडिएल वा ट्राइग्लीसराइड मध्ये कुन बढी छ भन्ने थाहा हुदैन । तसर्थ टोटल कोलेस्टेरोलको जाँचमात्र गरेर ढुक्क हुनुहुदैन । २, एलडिएल कोलेस्टेरोल एलडिएल कोलेस्टेरोललाई नराम्रो कोलेस्टेरोल भनिन्छ । यो बढ्नु सबैभन्दा बढी खतरा मानिन्छ । एलडिएल कोलेस्टेरोलको मात्रा बढेमा यो रक्तनलीको भित्ता बसेर नलीलाई साघुरो बनाउछ । सामान्य मानिसमा एलडिएल कोलेस्टेरोल १३० भन्दा कम हुनुपर्छ र १६० भन्दा बढी भएमा औषधि सेवन गर्नुपर्ने हुन्छ । तर मधुमेहका बिरामी, हर्टअट्याक भइसकेका र मुटुको रक्तनलिमा समस्या भएका बिरामीमा एलडिएल कोलेस्टेरोलको मात्रा १०० भन्दा कम हुनुपर्छ । एलडिएल कोलेस्टेरोलको मात्रा जति कम भयो हर्टअट्याकको सम्भावना त्यति नै कम हुन्छ । ३, एचडिएल कोलेस्टेरोल एचडिएल कोलेस्टेरोललाई राम्रो कोलेस्टेरोल भनिन्छ । यसले रक्तनलीलाई साघुरो हुनबाट जोगाउछ । यो कोलेस्टेरोल मुटुका लागि राम्रो मानिन्छ । एचडिएल कोलेस्टेरोल को मात्रा जती बढी भयो त्यति नै राम्रो मानिन्छ । यसको मात्रा पुरुषमा ४० भन्दा बढी र महिलामा ४५ मिलिग्राम भन्दा बढी हुनुपर्छ । ४, भिएलडिएल कोलेस्टेरोल यो कोलेस्टेरोलको त्यति महत्व हुदैन तर यसको मात्रा पनि सामान्य हुनु राम्रो मानिन्छ । ५, ट्राइग्लीसराइड कोलेस्टेरोल ट्राइग्लीसराइड पनि मुटु रोगसंग सम्बन्धीत हुन्छ । तर यसलाई एचडिएल र एलडिएल भन्दा कम महत्व दिइन्छ । ट्राइग्लीसराइड बढी भएकामा पनि मुटु रोग बढी भएको पाइन्छ । ट्राइग्लीसराइड मदिरा र चिल्लो पदार्थका खानाका कारणले बढ्छ । ट्राइग्लीसराइड ५०० मिलिग्राम भन्दा बढी भएमा पैन्क्रियाजमा खराबी भएर पैन्क्रियाटाइटिस भन्ने रोग लाग्नसक्छ । मधुमेहि र मुटु रोगीमा ट्राइग्लीसराइड १५० देखी २०० मिलिग्राम भन्दा कम हुनुपर्छ । हाइ कोलेस्टेरोल नियन्त्रण गर्ने ६ उपाय १. चिल्लो खाना कम खाने २. फलफुल र सागसब्जि बढी खाने ३. नियमित शारीरिक व्यायाम गर्ने ४. तौल घटाउने ५. चुरोट र मदिरा छाड्ने ६. डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्ने

जीवनशैली परिवर्तन गरे मुटुरोगबाट बच्न सकिन्छ

चैत ३ । विश्वभर महिलाहरुको मृत्यु हुने मुख्य कारणमध्ये मुटुरोग पनि एक हो । विशेषज्ञहरुकाअनुसार महिलाहरुले आफ्नो जीवनशैली परिवर्तन गरे मुटुरोगको जोखिमबाट बच्न सकिन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर वर्षेनि करिब १ करोड ७० लाख मानिसले मुटुरोगकै कारण अकालमै ज्यान गुमाइरहेका छन् । वर्ल्ड हार्ट फाउन्डेसनले अमेरिकामामात्रै करिब ४ करोड ३० लाख महिलाहरु मुटुरोगबाट पीडित भएको डरलाग्दो तथ्यांक गत महिनामात्रै सार्वजनिक गरेको थियो । यस तथ्यांकले पुरुषको तुलनामा महिलाहरुलाई मुटुरोग बढी रहेको त छैन भन्ने प्रश्न देखापरेको छ । डा.म्यारी एन म्याकलुग्लिनले महिलाहरुले जीवनशैली परिवर्तन गर्न महत्वपूर्ण पाँच सुझाव दिएका छन् । १. तनावको परीक्षण महिलाहरुले अनिवार्य रजनोवृत्ति (मिन्सुरेसन) सुरु भएको १० वर्षपछि स्वास्थ्य तनावको परीक्षण गर्नुपर्दछ । यस्तो परीक्षणमा मुटुरोगबारे पारिवारिक इतिहास, मोटोपनाको समस्या छ ÷छैन जाँच गरिन्छ । यस्तो परीक्षणमा मुटुरोग विशेषज्ञसँगको स्वास्थ्य परामर्शअनुसार शारीरिक अभ्यास गर्नुपर्ने हुन्छ । उकालो चढ्दा श्वासप्रश्वास फुलेमा वा छातीको चाप बढी भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्दछ । २. भावनात्मक तनावमाथि नियन्त्रण महिलाहरुमा पुरुषको तुलनामा भावनात्मक तनावको तह बढी हुन्छ । यस्तो तनाव कम गर्न योगा, मेडिटेसन वा अन्य कुनै मनोरन्जनात्मक कार्यबाट कम गर्नुपर्ने हुन्छ । मुटुरोगको कारणमा भावनात्मक तनावको प्रभाव पुरुषको तुलनामा महिलामा बढी हुने गर्दछ । ३, हृदयघात (हार्ट अट्याक)को लक्षणबारे पूर्वजानकारी विशेषगरी हृदयघात पुरुषलाईमात्र हुन्छ वा मद्यपान तथा धूमपान गर्नेलाईमात्र हुन्छ भन्ने भ्रमले महिलाहरु मुटुरोगका लक्षणबारे चासो दिँदैनन् । महिलाहरुले पनि हृदयघात तथा मुटुरोगसम्बन्धी लक्षणबारे सचेत भइ निरन्तर मुटुको परीक्षण गर्नुपर्दछ । ४. मद्यपान (रक्सि)माथि नियन्त्रण मद्यपानले ‘कोलेस्ट्रोल’ बढाउन मद्दत गर्दछ । यसबाट हृदयघात र स्ट्रोकसमेत हुनसक्छ । महिलालेमात्र नभइ पुरुषलेसमेत मद्यपान (रक्सि)माथि नियन्त्रण गर्नु जरुरी छ । ५, यात्रामा सावधानी लामो समयका लागि यात्रा गर्दा प्रर्याप्त पानी पिउने र खुट्टा यताउती चलाइरहनु पर्दछ । यसले मुटुमा रगत सन्चारमा सहयोग गर्नुका साथै ‘ब्लड क्लट्स’ रगतको थप्पा नसामा जम्ने समस्या हुनबाट जोगाउँछ । एजेन्सी

आँखा उपचारसम्बन्धी सम्मेलन सुरु

चैत ३ । मेची आँखा अस्पतालको आयोजनामा विहीबारदेखि बिर्तामोडमा आँखा रोग विशेषज्ञहरुको त्रिदिवसीय राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल र भारतका ख्यातिप्राप्त चिकित्सकको खोज तथा अनुसन्धान– आविष्कारमाथि विचारविमर्श तथा प्रमाणित तथ्यहरुका बारेमा प्रस्तुति रहने सो सम्मेलनमा नेपालभरिका एक सय ८० र भारतका १० नेत्र रोग विशेषज्ञको सहभागिता रहने आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा पुरुषोत्तम जोशीले जानकारी दिए । सम्मेलनले बिर्तामोड घोषणापत्र पनि जारी गर्नेछ । आयोजक समितिका अध्यक्ष डा जोशीका अनुसार सो अवसरमा एक सय पाँच विशेषज्ञले प्रस्तुति दिनेछन् । कार्यक्रममा १९ औँ नेपाल अफ्थाल्मिक सोसाइटी कन्फरेन्स र ११ औँ इस्टर्न रिजनल अफ्थाल्मिक कन्फरेन्स पनि हुने अस्पतालका प्रशासकीय प्रमुख सुरज रौनियरले जानकारी दिए। विसं २०५३ सालमा स्थापित सो अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुृङ जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई आँखा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

अब डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशतसम्म भत्ता

काठमाडौ, चैत २ । सरकारले डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने भएको छ । स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी, गुणस्तरीय एवं पहुँचयोग्य बनाउन स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो। मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बैठकले ‘स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७३’ पास गरिसकेको छ । उक्त कार्यविधिमा स्वास्थ्यका कर्मचारीले आठ वटा सूचकका आधारमा सुरु तलबको ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउनेछन् । कार्यविधि अनुसार स्वास्थ्यका कर्मचारीलाई सूचकका आधारमा ५ देखि २५ नम्बरसम्म प्रदान गरिनेछ । उक्त आधारमा कर्मचारीले प्राप्त गरेको अंकभारका आधारमा भत्ता प्रदान गरिने व्यवस्था छ । कार्यविधिमा कर्मचारी भनेर स्वास्थ्य सेवामा आबद्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवाका अन्य कर्मचारी भनेर परिभाषित गरिएको छ । यस्तै, स्वास्थ्य संस्था भनेर मन्त्रालय माताहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र अन्तरङ्ग सेवा सञ्चालन हुने स्वास्थ्यचौकी रहेका छन् ।

एचआइभी सङ्क्रमित बढ्दै

पाल्पा, चैत २ । पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या २ सय ९५ पुगेका छन् । तीमध्ये १ सय ५७ पुरुष र १ सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार, सङ्क्रमित मध्ये १८ वर्ष मुनिका ३८ जना छन् । सङ्क्रमितमध्ये ९१ पुरुष र ८० महिला गरी कुल एक सय ७१ जनाले निःशुल्क औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गर्नेमा १८ वर्षमुनिका २७ बालबालिका रहेका छन् । उनीहरुले जिल्लाको एकमात्र मिसन अस्पताल पाल्पाबाट निःशुल्क रुपमा औषधि सेवन गरिरहेको सूचना अधिकारी ज्ञवालीले बताए । गत आर्थिक वर्षमा जिल्लामा २ सय ६५ जना एचआइभी सङ्क्रमित रहेको थिए । गत वर्षको तुल्नामा चालु आर्थिक वर्षमा २७ जना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ४१ जनाले समाजमा खुलेर बसिरहेका छन् । बाँकी सङ्क्रमित अझैपनि घरपरिवार, आफन्त र समाजका डरले रोग लुकाएर बस्न बाध्य भएको सूचना अधिकारी ज्ञवालीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले एचआइभी न्यूनीकरण र उनीहरुलाई समाजमा आत्मसम्मानपूर्वक बँच्नका लागि विभिन्न तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

डाइटिङ गर्नु कति फाइदा कति वेफाइदा

फागुन ३० । युवाहरू डाइटिङ अहिले फेसन जस्तो बनेको छ । जो कोहीले पनि डाइटिङ गरिरहेका हुनछन् । विशेषतः अझ किशोरीहरु डाइटिङप्रति निकै आकर्षित हुनछन् । तर चिकित्सकहरु भने युवा अवस्थामा डाइटिङ गर्न प्रोत्साहन गर्दैनन् । ‘यो उमेर भनेको शरीरको हरेक अंग विकसित हुने अवस्था भएकाले निश्चित उमेरपछि शारीरिक विकासक्रम रोकिन्छ । विकासक्रम रोकिएपछि कुनै पनि प्रयासमा यसलाई फर्काउन सकिँदैन’– चिकित्सकहरु भन्छन् । किशोरावस्थामा शारीरिक वृद्धिका लागि अत्याधिक क्याल्सियमको जरुरत पर्छ । यस अवस्थामा डाइटिङ गर्नाले शरीरलाई आवश्यक क्यालोरी तथा पोषक तत्व शरीरले लिन पाउँदैन, जसले शारीरिक विकासक्रम अवरुद्ध हुन्छ । किशोरीमा डाइटिङले महिनावारी गडबड हुने वा रोकिने जस्ता नकारात्मक असर पुर्‍याउँछ । युवा अवस्थामा जंकफुड धेरै सेवन गर्नाले पनि यसले शरीरमा नकारात्मक असर पु¥याईरहेको हुन्छ । युवा अवस्थामा वजन कम गर्ने सर्वश्रेष्ठ विधि शारीरिक व्यायाम हो । यस्तो अवस्थामा डाइटिङले वजन कम गर्नु मूर्खता हो । अनावश्यक तौल घटाउन अन्य विधि पनि अपनाउन सकिन्छ । तौल कम गर्ने उचित विधि – खानाको मात्रा होइन जंकफुड वा फास्टफुड कम गर्ने – तरल पदार्थको सेवन बढी गर्ने – हरियो सागसब्जी बढी खाने – ताजा सलाद खाने – नियमित शारीरिक व्यायाम गर्ने

हात्तीपाइलेविरूद्द ‘औषधि सेवन गराउने अभियान’

काठमाडौ, फागुन ३० । विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोगको रुपमा चिनिएको हात्तीपाइले रोगविरुद्धको औषधी सर्वसाधारणले सेवन नगरेपछि अव ‘औषधि सेवन गराउने अभियान’का रुपमा सञ्चालन गर्ने भएको छ । सरकारले निःशुल्क रुपमा वितरण गरेको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गरे मर्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि स्थानीयले डरले सो औषधीको सेवन नगरेका हुन् । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पत्रकार सम्मेलन गरी आगामी चैत ५, ६ र ७ गते पहिलो चरण तथा चैत १७, १८ र १९ गते दोस्रो चरणमा यो अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । यसअघि फागुन २१, २२ र २३ गते सञ्चालन गर्ने भनिएको यो अभियान स्थागित भएको थियो । महाशाखाले ३० जिल्लाका दुई वर्ष माथिका एक करोड आठ लाखलाई यो अभियानमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागेको हो । अभियानमा १० हजार ४४९ स्वास्थ्यकर्मी र ५४ हजार ६६६ स्वास्थ्य स्वयम्सेवक परिचालन हुने निर्देशक डा. आचार्यले बताए । दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारे रोगी, एकहप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि सेवन गर्न नहुने उनले बताए । सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले लिएको छ ।

यस्ता छन् अण्डा खाँदा हुने फाइदाहरु

फागुन २८ । अण्डा हामीले धेरैले प्राय खाने कुरामा पर्छ । तर अण्डा खाए केकति फाइदा हुन्छ भन्नेबारे भने कमैलाई थाहा होला । यस्ता छन् अण्डा खाँदा हुने फाइदाहरु – अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ । – शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन । – अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पु¥याउँछ । त्यही भएर ब्रेकफास्टमा अण्डा लिने गर्नुभयो भने दिनभरि तपाईंलाई काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ । – अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छन् । – बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले ‘इनर्जी बुस्टर’को काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ । – अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पु¥याउँछ । खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ ।

‘नेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने रोगबाट’

काठमाडौं, फागुन २७ । केही समय पहिलेसम्म हैजा, औलो, झाडापखालालगायतका सरुवा रोगको महामारी भएको नेपालमा अहिले भने नसर्ने रोगले जरा गाड्दै जान थालेको छ । खाना र जीवनशैलीमा आएको परिवर्तनले नसर्ने कडा रोग लाग्ने त्यसैका कारण मृत्यु हुने नेपालीको संख्यामा दिनदिनै वृद्धि हुँदै गएकाले ग्रामीण तहबाटै नसर्ने रोगको परीक्षण गर्ने तयारी सरकारले थालेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने र ४० प्रतिशतको मृत्यु सरुवा रोगका कारण हुने गरेको छ । सरुवा रोगका कारण धेरै मानिसको मृत्यु हुन थालेपछि सरकारले ८२ वर्षअघि नै सरुवा रोग केन्द्रको स्थापना पनि गरिसकेको छ भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसमा काम गरेको छ । तर, पछिल्लो समय एकाएक बढेको नसर्ने रोगको नियन्त्रणका लागि भने अझै चुनौति थपिएको छ । सरकारले १२ प्रकारका कडा रोग लागेका बिरामीलाई रु एक लाख आर्थिक सहयोग दिँदै आएको छ भने मिर्गौलाको निःशुल्क डायलासिस गरेको छ । वैशाखबाट मिर्गौलाको प्रत्यारोपण पनि निःशुल्क गरिने स्वास्थ्यमन्त्री गगनकुमार थापाको भनाइ छ । १५ वर्षमुनि र ७० वर्षभन्दा माथिका बालबालिका र वृद्धवृद्धालाई मुटुको उपचार निःशुल्क छ भने यसै वर्षदेखि बाथ–मुटुरोगीको पनि भल्व शल्यक्रियालगायत फागुन १५ गतेबाट उपचारसमेत निःशुल्क गरिसकेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा। ऋषिकुमार काफ्लेले असन्तुलित खाना, जङकफुड सेवन गर्ने, पर्याप्त पानी नपिउने, धूमपान र मद्यपान गर्ने र शारीरिक व्यायाम गर्दै नगर्ने कारण नसर्ने रोगको जोखिम बढाएको बताए । क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, हृदयघात, मिर्गौला फेलजस्ता नसर्ने रोगको परीक्षण र उपचारमा जानका लागि स्वास्थ्य मन्त्रालयले ‘पेन प्याकेज’ कार्यक्रमअन्तर्गत् देशभरका एक हजार स्वास्थ्य चौकीबाट यसै वर्षबाट सेवा दिने तयारी गरेको छ । स्वास्थ्यमन्त्री थापाकाअनुसार त्यसका लागि परीक्षण उपकरण खरिद गर्ने, जनशक्तिलाई तालिम दिनेलगायतका काम सुरु भइसकेको छ । यो सेवालाई आगामी वर्ष सबै स्वास्थ्यचौकीमा विस्तार गर्ने मन्त्रालयको योजना छ । काठमाडौंमा १० सहरी हेल्थ प्रमोसन सेन्टर खोल्न नीतिगत निर्णय गरी तयारीका लागि स्थानसमेत टुंगो लगाइ काम अगाडि बढाइसकेको छ । रोग लाग्न दिनुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उत्तमकार्य भएकाले जीवनशैली स्वास्थ राख्नुपर्ने चिकित्सको सुझाव छ ।

सफा पानीले जाेगाउन सक्छ मिर्गौलालाई

काठमाडौँ, फागुन २५ । सफा पानीको पर्याप्त मात्रामा पिउनाले मिर्गौला रोगबाट बच्न सकिन्छ । अधिकांश मानिसको मिर्गौला विग्रिनुमा पानी कम पिउने कारण नै हुन्छ । पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्षदिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेका छन् । खाडीमुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ । मानिसहरु लामो समयसम्म काम गर्ने आवश्यक मात्रामा पानी नपिउने र शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर (नदुख्ने औषधि) खाने र अत्याधिक मासु सेवन गर्ने गरेकाले धेरैको मिर्गौलामा समस्या देखिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिराम काफ्ले बताउँछन् । शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो। यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मिर्गौलाको हो । तर पर्याप्त पानी पिउँदा मिर्गौलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको हो । पानी मात्र होइन खानामा आएको परिवर्तनले मोटोपनले पनि मिर्गौला खराबीको जोखिम बढाएको छ । मोटोपनले पनि मिर्गौला खराब गर्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने सम्बद्ध चिकित्सकको भनाइ छ । अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै गएको हो। त्यसरी मोटोपन हुनु मिर्गौलामा समस्या हुने सङ्केत बन्ने सम्भावना रहन्छ । त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा दिव्यसिंह ठकुरी मधुमेह, र उच्च रक्तचापका बिरामीमा पनि मिर्गौलामा समस्या बढी देखिने बताउँछिन् । यस्ता कारणले मात्र पनि मिर्गौलामा खराबी नदेखिने भएकाले बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौैलाको अवस्थाबारे थाहा पाइ राख्नुपर्नेमा उनको राय छ ।

सर्वसाधारणलाई इन्फुलएन्जाबाट सर्तक रहन अपिल

तनहुँ, फागुन २५ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ । जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सो अपिल गरेको हो । स्वास्थ्य कार्यालयले पत्रपकार सम्मेलन आयोजना गरी सो अपिल गरेको हो । यतिखेर बर्डफ्लु र स्वाइर्नफ्लु सर्ने सम्भावना रहेकाले ती रोगबाट बच्न सबै सजग हुनुपर्छ जिल्ला जनस्वास्थ्य अधिकृत गौरव ढकालले पत्रकार सम्मेलनमा भने । त्यस्तै पत्रकार सम्मेलनमा डा पवनजङ्ग रायमाझीले समेत इन्फुलएन्जाबाट सर्तक रहनुपर्नेमा जोड दिए ।