पानी अभावले दुर्गन्धित अस्पताल

सल्यान, माघ २९। चौबिसै घन्टा पानीको आवश्यक हुने सल्यान जिल्ला अस्पतालमा पानीको अभाव भएपछि त्यहाँकाे अवस्था निकै नै कष्टकर बनेकाे छ । पानी अभावका कारण दैनिक हुने सरसफाइमा समेत समस्या देखिएको छ ।

दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ ।

हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिए ।

अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको उनले बताए । शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा रावलको जिकिर छ । उनले भने, “अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापर्बाहीले पनि भएको छ ।” अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ ।

अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उनको भनाइ छ ।

 

स्वास्थ्य शिविरबाट एक दिनमा दुई हजार बढीको परिक्षण

कैलाली, २३ माघ । नेपाली सेनाले कैलालीको टीकापुरमा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालयको सहकार्य आज संचालन गरेको सो निःशुल्क स्वास्थ्य शिविरमा सेनाको विशेषज्ञ डाक्टरसहितको ५० जनाको मोबाइल हस्पिटलको टोली रहेका थिए । उक्त टोलीले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । शिविरमा कैलाली जिल्ला प्रशासन कार्यालयले निःशुल्क औषधिको व्यवस्था गरेको थियो । स्वास्थ्य शिविरबाट प्रदान गरिएको सेवाका बारेमा रक्षामन्त्री बालकृष्ण खाँण, नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापालगायतले जानकारी लिएका थिए ।

क्यान्सरका कारण हरेक वर्ष नेपालमा १५ हजार मानिसको मृत्यु

ललितपुर, माघ २२ । सन् २०२५ सम्म विश्वभरि एक करोड ९३ लाख क्यान्सरका बिरामी हुनसक्ने एक तथ्याङ्कले देखाएको छ । उक्त बिरामीका सङ्ख्यामध्ये प्रत्येक वर्ष ५६ प्रतिशतका दरले मृत्यु हुनेसमेत विभिन्न अध्ययन अनुसन्धानबाट देखिएका छन् । विश्वभरिबाट वार्षिक ८२ लाख क्यान्सर बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा मात्र हरेक वर्ष १५ हजार मानिस क्यान्सरका कारण अकालमा मृत्यु हुनुपरेको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका प्रमुख एवम् क्यान्सर विशेषज्ञ डा। सुदीप श्रेष्ठले बताए । उनका अनुसार हाल यहाँ ५० हजारको सङ्ख्यामा क्यान्सरका रोगी रहेका छन् । विकसित देशमा भन्दा विकासोन्मुख मुलुकमा क्यान्सरका बिरामी बढ्दोक्रममा छ, डा। श्रेष्ठले भने(खासगरी गरिबीले ग्रस्तभएका देशमा यो रोगको प्रभाव बढी देखिने गरेको छ । सूर्तिजन्य बस्तुको सेवनले क्यान्सरका बिरामी दिनानुदिन बढ्दै गएको उनले बताए । यसबाहेक पोलेको मासु खानाले पनि क्यान्सर लाग्ने गरेको बताइएको छ । शारीरिक व्यायामको कमी, अधिक मात्रामा मासु तथा नुन खानु, बासी खानाको प्रयोग, वंशाणुगत, सूर्यको किरणबाट समेत क्यान्सर हुने गरेको डा। श्रेष्ठको भनाइ छ । नाक, कान, घाँटी, फोक्सो, आमाशय, ठूलो आन्द्रा, महिलाको स्तन तथा पाठेघरमा बढी क्यान्सर हुने गरेको जनाएको छ । क्यान्सर बिरामीको उपचार महङ्गो हुने भएकाले यसलाई सरल र सहज बनाउन व्यक्तिको बिमा भए सकारात्मक हुने उनले बताए । क्यान्सर उपचारका लागि केमोथेरापी, रेडियोथेरापी तथा विभिन्न औषधिको प्रयोग गरिने गरेको भक्तपुर क्यान्सर अस्पतालका प्रमुख लोकेन्द्रकुमार श्रेष्ठले बताए । अस्पतालले क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिँदै आएको छ, उनले भने(महिला भन्दा पुरुषमा क्यान्सर बढी देखिएको छ । दैनिक रुपमा सेवन गर्ने खानपानमा उचित ध्यान दिनसके क्यान्सर बिरामीको सङ्ख्या न्यून हुनसक्ने डा। श्रेष्ठको भनाइ छ । ‘रासायनिक समिश्रणलाई तयार पारेर बनाइएको औषधिलाई बिरामीको मुख तथा नसामार्फत क्यान्सरको कोषिका नष्ट गर्ने वा रोगबाट उत्पन्न पीडालाई कम गर्ने उपचार प्रविधि नै केमोथेरापी हो(’उनले भने । रेडियसन अनकोलोजी अन्तर्गत टेलिथेरापी, ब्राची थेरापी र सिमुल्याटर उपचार प्रविधि रहेको पनि डा। श्रेष्ठले बताए । क्यान्सर रोगी न्यून गराउन गाउँरगाउँमा जनचेतना फैलाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले भने( बिरामीको उपचार सुलभ बनाउन राज्यको तर्फबाट आवश्यक सहयोग भइरहेको छ । क्यान्सर दिवसमा मात्र सिमित नभएर यो रोग विरुद्ध अन्य समयमा पनि सर्वसाधारणमा जनचेतना फैलाउन सके सकारात्मक सन्देश जाने उनले बताए । क्यान्सर विरुद्ध तयार पारिएको “हामीले गर्न सक्छौं, मैले गर्न सक्छु” भन्ने नाराका साथ क्यान्सर दिवस मनाउँदै गर्दा यसले कति सार्थक रुप लिन सकिएला त्यो भने हेर्न बाँकी नै छ । अङ्ग्रेजी वर्षको फेबु्रअरी महिनाको ४ तारिखका दिन विश्व क्यान्सर दिवस मनाउँदै आएको छ । यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो ।

तीन सय ६३ जनाकाे निःशुल्क गर्भपतन

झापा, माघ २१ । सरकारले सुरक्षित गर्भपतनका लागि औषधि निःशुल्क गरेसँगै झापामा ३६३ जनाले निःशुल्क गर्भपतन सेवा लिएका छन् । आर्थिक वर्ष २०७३÷७४ को छ महिनाको अवधिमा झापाका ११ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट उनीहरुले गर्भपतन सेवा लिएका हुन् । नौ हप्ता (६३ दिन) को गर्भपतन गराउने औषधि ‘मेटाबोन’ गत असोजदेखि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सो अवधिमा धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रबाट ७८ जना, शनिअर्जुनबाट २८ जना, सुरुङ्गा स्वास्थ्य चौकीबाट ६८ जना, बनियानीबाट १६, शिवगञ्जबाट ३५, शान्तिनगरबाट १८ जना, चन्द्रगढीबाट २०, अनारमनिबाट ५१, तोपगाछीबाट १० र गौरादहबाट ३१ जनाले गर्भपतन सेवा लिएका हुन् । साउन र भदौ महिनामा ती संस्थाबाट रु ५०० तिरेर महिलाले सेवा लिए पनि असोजयता सेवा निःशुल्क गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अनिता ओलीले जानकारी दिएकी छिन् । सूचीकृत ती संस्थालाई प्रतिव्यक्ति रु ८०० सरकारले नै दिने उनले बताइन् । त्यस्तै, सोही अवधिमा मेडिकल र सर्जिकल दुवै माध्यमबाट मेरी स्टोप सेन्टर बिर्तामोडबाट ५५३ जनाले गर्भपतन सेवा लिएका छन् । त्यस्तै, परिवार नियोजन सङ्घ झापाले पनि ३३८ जनालाई गर्भपतन सेवा प्रदान गरेको छ । सम्बन्धित महिलाको मन्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक रुपमा तुहाउन सक्ने अधिकार २०६० को स्वास्थ्य नीतिले सम्बन्धित महिलालाई दिएको छ । चिकित्सकको परामर्शमा नौ हप्तासम्मको गर्भ औषधिको माध्यमबाट तुहाउन सक्ने कानुनी व्यवस्था रहेको छ ।

रोटरीले दियो मनिहर्सलाई ९ करोड बराबरको स्क्यानर

माघ २० । रोटरी क्लब अफ राजधानीले मनिहर्स डाइग्नोस्टिक सेन्टरलाई नौ करोड बराबरको अत्याधुनिक जीएसआई सीटी स्क्यान मेसिन प्रदान गरेको छ । क्लब र मन्हिर्ष डाइग्नोस्टिक सेन्टरको पहलमा अत्याधुनिक स्क्यानर भित्र्याएको जनाइएको छ । विहीबार राजधानीमा एक कार्यक्रमबीच स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्क्यानरको उद्घाटन गरेका हुन् । रोटरी फाउन्डेसनकोसमेत सहयोग रहेको क्लबले जनाएको छ । अमेरिकामा निर्मित यस अत्याधुनिक सीटी स्क्यानर ९ लाख डलर अर्थात् ९ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको रहेको छ । यो स्क्यानरपछि नेपालमै मुटुसम्बन्धी रोगको उपचारमा थप सहजता आउने विश्वास व्यक्त गरिएको छ । यस प्रविधिले सुक्ष्मरुपमा मुटु र रक्तनलीलाई प्रस्ट देखाउने, बिरामीमा हुनसक्ने मुटुरोगको उत्कृष्टताका साथ निदान गर्नसक्ने जनाइएको छ ।

यसरी लाग्यो औषधि व्यवसायीलाई चुनाव

विर्तामोड, माघ १५ । नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै त्यहाँ चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा सङ्घको ११ औं अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो । चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् । विर्तामोडका औषधि व्यवसायी नरेन्द्रप्रसाद बरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले औषधि व्यवसायीको हकहितका लागि आफू्ले उम्मेद्वारी दिन लागेको बताएका छन् । बराल विर्तामोडका ओसिएन फर्माका सञ्चालक हुन् । सङ्घको अधिवेशनले १७ सदस्यीय नयाँ अञ्चल समिति चयन गर्नेछ । नयाँ समितिको कार्यकाल तीन वर्षको हुनेछ । मेची अञ्चलभर चारसय ५० औषधि व्यवसायी रहेका छन् । त्यसमध्ये चारसय २२ जना सङ्घमा आवद्ध रहेको जनाइएको छ ।

जाडोबाट बच्नका लागि यस्ता छन् केही घरेलु उपायहरु

माघ १३ । जाडोमा आफ्नो स्वास्थ्यलाई अलि बढी नै ध्यान दिनुपर्ने हुन्छ । किनभने चिसोका कारण मानिहरुलाई रुघाखोकी तथा ज्वरोले समेत अत्याधिक सताउने गर्दछ । जसका कारण एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना भएर बस्नुपर्ने अवस्था पनि आउन सक्छ । तसर्थ जाडोको समयमा आफ्नो स्वास्थ्यको हेरचाहका लागि केही घरेलु उपायहरु यसप्रकार छन् : १. अदुवाको टुक्राको रस २० मिलिदेखि ३० मिलिसम्म दिनमा तीन पटक लिनाले चिसोबाट बच्न सकिन्छ । २. दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघि सेवन गर्ने । ३. एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक खाने । ४. बेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउने । ५. कालो मरिच डढाएर धुवा सुँघ्नाले बन्द नाक खुल्छ । ६. अलिकति अदुवा, अजवाइन ९ चम्चा, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ । ७. एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।

चुइगम खानुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पार्ने नकारात्मक असरहरु

माघ १३ । चुइङगम चपाउने अनि पड्काउने अधिकांश किशोर किशोरीहरु हुन्छन् । चुइगमको प्रयोग गरे दाँत सफा हुन्छ भन्ने भ्रम पनि छ कतिमा तर यसको हानिकारक पक्षबारे भने कोही सचेत भएको पाईंदैन । प्राचिन ग्रीकमा पनि मानिसहरु दाँत सफा गर्न र श्वास स्वच्छ राख्न रुखको चोप चपाउँथे । आनन्दका लागि रुखको चोप चुइङगमको रुपमा चपाउने गर्थें । अचेल चुइङडम विश्वव्यापी रुपमा प्रयोग गरिन्छ । इजरायलको तेलअबिब विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानका अनुसार बच्चा तथा किशोरहरुमा चुइङगम चपाउने बानीले टाउको दुखाइएको समस्या निम्त्याउँछ । अध्ययनमा संलग्न मेर मेडिकल सेन्टरका डा. नाथन बोटेम्बर्गका अनुसार चुइङगम चपाउने बानी छाडिदियो भने टाउको दुख्ने समस्या निकै समाधान हुन्छ । यस्ता छन् चुइगमले मानिसको जीवनमा पार्ने केहि नकारात्मक असरहरु : १. गुलियो पदार्थ प्रयोग गरिएको चुइङगमले दाँत सड्नेदेखि गिजाको रोगसमेत निम्त्याउँछ । तत्कालै ब्रस गरिएन भने चुईङगमा भएको गुलियो पदार्थले विस्तारै दाँतको इनामेलमा घटाउँछ ।अप्राकृतिक गुलियो प्रयोग गरिएको चुईङगमले कसैलाई एलर्जी, चिडचिडापन र टाउको दुखाई निम्त्याउन सक्छ । २. चुइङगम चपाउने बानीले बंगारामा दबाब सिर्जना गराउन सक्छ । तत्काल वास्ता गरिएन भने यसले ‘टेम्पोरोमान्डि ज्वाइन्ट डिस्अर्डर (टिजेडी) हुन सक्छ, जसबाट असैह्य रुपमा अनुहारको दुखाई र घाँटीमा असजिलोपना हुनसक्छ । ३. लगातार चुईङगम खानाले पेट र पाचन प्रणालीमै असर पर्न सक्छ । खाना खाएपछि पच्न केही समय चाहिन्छ । तर, लगातार चुईङगम चपाइरहेपछि मुखबाट निस्किएको ¥यालले खाना पचाउने समय दिदैंन । यसले गर्दा ग्यास्ट्रिक र दुखाईको समस्या आउँन सक्छ । ४. यदि दाँतमा मक्र्युरी भरिएको छ भने चुइङगम लगातार चपाउँनाले त्यो निस्कन्छ । मक्र्युरी मेटाबोलिजमका लागि खतरनाक हुन्छ । मक्र्युरीले रगत, पिसाब नली, नसा र ब्रेनलाई असर पार्छ । ५. किशोर उमेरमा अत्यधिक चुइङगम खानाले बंगाराको हड्डी तथा मांसपेशी तन्कन्छ र अनुहार ठुलो बन्न सक्छ ।

न्युरो अस्पताल बाँसबारीमा झडप, दर्जनौ चिकित्सकसहित प्रहरीसमेत घाइते

काठमाडौ, माघ ९ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारत एक विरामीको मृत्यु भएपछि त्यहाँ अहिले स्थिति तनावग्रस्त बनेको छ । सवारी दुर्घटनामा घाइते भएका युनिस नगरकोटीको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापर्वाहीले विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा तोडफोड गर्न थालेका हुन् । नगरकाेटीकाे मृत्यु हुनासाथ उनकाे अाफन्तजनले अन्धाधुन्ध परिसरमा अाक्रमण गरेका थिए । अस्पतालका सामान तथा चिकित्सकहरुमाथि नै अाक्रमण गरेपछि चिकित्सकहरुकाे भागाभाग भएकाे   थियाे । अाक्रमणबाट दर्जनौ चिकित्सक तथा कर्मचारीहरु घाइते भएका छन् । स्थितिलाई नियन्त्रण गर्न खोज्दा महानगरिय प्रहरी परिषर महाराजगञ्जबाट गएको टोली र विरामीका आफन्तबीच पनि केही समय झडप भएको थियो । झडपमा केही प्रहरी समेत घाइते भएका छन् । अाक्रमणमा स‌ंलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा  लिएकाे छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. पन्त

काठमाडौं, माघ ७ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. राजेन्द्र पन्त नियुक्त भएका छन् । बालस्वास्थ्य महाशाखाका निर्देशक डा. पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी विहीबार स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । नवनियुक्त महानिर्देशक पन्तले शुक्रबार नियुक्तिपत्र बुझेका छन् । विभागका महानिर्देशक डा. पुष्पा चौधरीलाई प्रसूतिगृहमै काजफिर्ता गरिएको सल्लाहकार पौडेलले बताए । यसैगरी, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रियाअघि बढाएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठान बनाउने सरकारले तयारी गरेको हो । विहीबारको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताए । सल्लाहकार पौडेलकाअनुसार प्रतिष्ठानको विधेयक तयार भइसकेकाले चाँडै संसदमा दर्ता हुनेछ । सरकारले यो प्रतिष्ठाने प्रदेश नम्बर–५ का लागि स्थापना गर्न लागेको हो । सरकारले डा. गोविन्द केसीले प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज हुनुपर्ने मागमा सहमति गरेसँगै यो प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

‘आमा छोरी एकैसाथ सुत्केरी हुन्छन्’

रोल्पा, पुस २८ । अझै पनि कतिपय दम्पतीहरु परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको घर सन्तानले भरिएको पाइन्छ भने कतिपय अवस्थामा आमाछोरी सँगसँगै सुत्केरी हुने गरेका पनि छन् । लिबाङ नगरपालिका–५ देउरालीकी ४१ वर्षीया गौसरी वली र उनका श्रीमान् ४८ वर्षीय खटकलाल वलीले छोराको आशमा १२ सन्तानको जन्म दिइसके । तीन सन्तानको सानैमा मृत्यु भएको भएपनि वली दम्पतीका ९ सन्तान छोरीहरु जीवितै छन् । कमजोर आर्थिक अवस्था रहेका वली दम्पतीले अझैपनि परिवार नियोजनका साधनहरु प्रयोग गर्न नमानेको महिला स्वास्थ्य स्वयंसेविका सुनिता महराले जानकारी दिइन् । उनका अनुसार वली दम्पतीका जेठी छोरीको करिव ४ वर्ष पहिले विवाह भइसकेको छ । हाल उनीहरुबाट छोरा जन्मिसकेको छ । तर पनि वली दम्पतीबाट सन्तान जन्मने प्रकृया रोकिएको छैन । “आमाछोरी सँगसँगै सुत्केरी हुन्छन्,” वली परिवारका छिमेकीले भन्छन् । वली दम्पतीले छोराको आशमा परिवार नियोजनका साधनहरु प्रयोग नगरेको महिला स्वास्थ्य स्वयंसेविका महराले जानकारी दिइन् । त्यसैगरी, लिबाङ–१ रोल्पाका ४० वर्षीया कली रोका र उहाँका श्रीमान् ४५ वर्षीय गने रोकाले परिवार नियोजनका साधन प्रयोग नगर्दा नौ सन्तानको जन्म दिइसकेकी छिन् । तीमध्ये तीन सन्तानको मृत्यु भएको भएपनि हाल रोका दम्पतीका छ सन्तान जीवितै छन् । उनीहरुको पनि जेठी छोरीको विवाह भएर दुई सन्तान (नातिनातिनी) जन्मिसकेका छन् । यता, रोका दम्पतीको सन्तान जन्माउने प्रकृया रोकिएको छैन । गतः मङ्सिर महिनामा कली पुनः सुत्केरी भएकी छिन् । यसरी कली लगातार सुत्केरी हुन थालेपछि महिला स्वास्थ्य स्वयंसेविकाले उनीहरुको घरमै पुगी परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह दिँदै आएका छन् । कलीले तीनमहिने सुइ डिपो लगाइन् तर सुइले असर गरेको भन्दै साधन प्रयोग गर्न छोडेपछि कलीको पछिल्लो गर्भ रह्यो र छोरी जन्मियो । महिला स्वास्थ्य स्वयंसेविकाका अनुसार रोका दम्पतीलाई पटकपटक घरमै पुगी परिवार नियोजनका साधनको प्रयोग गर्न सल्लाह दिँदै आएको भएपनि उनीहरुले त्यसमा विश्वास गरेका छैनन् । करिव २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी कलीले परिवार नियोजनका साधन प्रयोग नगर्दा दुई–दुई वर्षको अन्तरालमा बच्चा जन्माउदै आएका छन् । लिबाङ–४ रोल्पाकी ३९ वर्षीया विष्णु रावत र उहाँका ४० वर्षीय श्रीमान् हर्कबहादुर रावतका पनि ४ भाइ छोरा र ३ बहिनी छोरी गरी ७ जना सन्तानले घर भरिएको छ । जेठी छोरीको दुई वर्ष पहिले विवाह भइसकेको भएपनि रावत दम्पतीले परिवार नियोजनका साधन प्रयोग नगर्दा उनीहरुको पनि बच्चा जन्मने प्रकृया रोकिएको छैन । जेठी छोरीको विवाह भएको करिव एक वर्षपछि विष्णुले कान्छी छोरीको जन्म दिएको महिला स्वास्थ्य स्वयंसेविका अनिता रावतले जानकारी दिइन् । उनका अनुसार हुर्किसकेका सन्तानले बाबुआमालाई अब बच्चा नजन्माउन सल्लाह दिँदै आएका छन् । तर पनि रावत दम्पतीमा साधन प्रयोग नगर्दा बिरामी परिने डर रहेको छ । ज्याला मजदूरी गरेर परिवार पाल्दैआएका रावतका श्रीमान् हर्कबहादुरमा साधनको प्रयोगबाट स्वास्थ्य कमजोर पो भइहाल्ला कि भन्ने चिन्ता छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको वार्षिक प्रतिवेदन अनुसार २०७०/७१ मा ४७ प्रतिशत, २०७१/७२ मा ३९ प्रतिशत र २०७२/७३ मा ३७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनहरुको प्रयोग गर्दै आएका छन् । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा साधन प्रयोगकर्ताहरुको सङ्ख्यामा वृद्धि हुँदै जानुको साटो घट्दै गएको देखिन्छ । यस जिल्लामा सन् २०१७ सम्ममा परिवार नियोजनको प्रयोगदर ६० पुर्याउने सरकारको लक्ष्य रहेपनि हाल सम्म यो सङ्ख्या आधी मात्रै पुगेको छ । यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगी वैदेशिक रोजगारीमा श्रीमान्हरु जाने भएकाले परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको सङ्ख्यामा कमी आएको हुन सक्ने बताउछन् । डाँगीका अनुसार मदिरा सेवन र छोरा जन्माउने लालसा सङ्ख्या कमी हुनुका अन्य कारण हुन् ।

बीच बाटोमै हराउँछन् ग्रामीण क्षेत्रमा जाने औषधि

नृपेन्द्रबहादुर मल्ल मुगु, पुस २६। जिल्ला जनस्वास्थ्य कार्यालयबाट जिल्लाका ग्रामीण भेगहरुमा पठाइएको औषधी बीच बाटोबाटै हरानाउने गर्दछन् । सरकारले जिल्ला अस्पतालबाट सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराउने ती औषधीहरुलाई विचौलियाहरुले बीचबाटोमै गायव बनाउने गरेको पाइएको छ । सरकारले सर्वसाधारणका लागि ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्र ५८ प्रकारका र स्वास्थ्य चौकीका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भएतापनि ती औषधीहरु बीचबाटोमै गायव हुन्छन् । सर्वसाधारणसम्म ती औषधीहरु पुग्दैनन् । कार्यालयले वार्षिक रुपमा रु १८ देखि २५ लाखसम्मको औषधि उपलब्ध गराउने गरेको र स्वास्थ्य सेवा विभाग मध्यपश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जबाट पनि उत्तिकै औषधि जिल्लाका लागि आउने भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा सधैँभरि औषधि अभाव हुने गरेको छ । सम्बन्धित कार्यालयको मागका आधारमा औषधि पठाउने गरेकाले हरेक वर्ष कति परिमाणको औषधि जिल्लामा पठाएको यकिन भन्न नसकिने नेपालगन्जस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोरका प्रमुख डिल्ली पोखरेलले बताए । केही समय अगाडि औषधिको अभाव देखिए पनि अहिले सार्वजनिक खरिद ऐनमा संशोधन भएपछि औषधि उपलब्ध गराउन सहज भएको उल्लेख गरे । यता जिल्लाका २४ वटा स्वास्थ्य चौकी, चार वटा एकाइ तथा एउटा प्राथमिक स्वास्थ्य चौकीमा सधैँभरि औषधि अभाव भइरहेको गुनासो आउने गरेको छ तर ती औषधि कहाँ गयो भन्ने कुरा पत्ता लगाउन निकै कठिनाइ भएको कार्यालय प्रमुख डा. सरोज अधिकारीले जानकारी दिए । जिल्लाबाट ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका लागि औषधि पठाइरहेको भएतापनि गाउँमा औषधि अभाव भएको र औषधि नपुगेको भन्ने गुनासो आउने गरेको डा.अधिकारी बताउँछन् । जिल्लाबाट पठाएको औषधि कहाँ जान्छ भन्ने कुरा रहस्यमय बन्ने गरेको छ यसप्रति हामी गम्भीर भएर लागेका छौँ – उनले भने । जिल्लाको पश्चिम क्षेत्रमा रहेका खत्याड भेगका सात वटा गाविसका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव रहेको कोटडाँडा गाविस रिखियाँ गाउँका रतनबहादुर शाहीको भनाइ छ । सात वटा स्वास्थ्य चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेको यस क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोलसमेत नपाइने अवस्था रहेको उनको गुनासो छ । त्यस्तै जिल्लाको पूर्वी भेगमा पर्ने करान क्षेत्रका पाँच वटा गाविसमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी दुई तीन महिनाको एकपटक गाउँमा पुग्ने र त्यतिबेला लिएको औषधि सबै घरधुरीमा दामासायीको दरले एकै दिनमा बाँडेर फर्किने गरेको स्थानीयवासीको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट सम्बन्धित स्वास्थ्य संस्थाका कार्यालय सहयोगीले औषधि बुझेर लिए पनि बीच बाटोमा नै औषधि हराउने गरेको मुगु गाविसका छोर्तेन लामाले बताए । उनले जिल्लाबाट औषधि पठाउने स्वास्थ्य संस्थामा नपुग्ने कारण कार्यालय सहयोगीले औषधिको गह्रौँ भारी नबोक्न बठ्याइ गरेको हुनसक्ने आशङ्का गरे । केही दिनअघि उत्तरी सोरु भेगका बासिन्दा गाउँमा औषधि नपुगेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा ध्यानाकर्षण गराउन आएका थिए । गाउँमा स्वास्थ्य चौकी छ, स्वास्थ्यकर्मी र औषधि हुँदैन हामीले सधैँ सिटामोल किन्न पनि निजी मेडिकलमा जानुपर्ने बाध्यता छ, जिमा गाविस सोरुकोट गाउँका तीर्थ मल्लले गुनासो गरे । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको मागका आधारमा नियमित रुपमा कार्यालयबाट औषधि पठाउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको औषधि भण्डार शाखा प्रमुख प्रेमबहादुर रावतको भनाइ छ ।

चिकित्सकले अब निजी क्लिनिकमा काम गर्न नपाउने

चितवन, पुस २२। अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अब निजी अस्पतालमा काम गर्न नपाउने भएका छन् । अस्तव्यस्त अस्पताललाई सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको यो व्यवस्था अघि सारेको हो । अस्पताल सञ्चालक समितिले छिट्टै निर्णय गरेर यो व्यवस्था लागू गर्ने सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले बताए । मन्त्रिपरिषद्ले हिजो मात्रै रिक्त छ जना सदस्य मनोनयन गरेपछि क्यान्सर अस्पतालको सञ्चालक समितिले पूर्णता पाएको छ । क्यान्सर अस्पतालका चिकित्सकले निजी अस्पतालमा काम गर्दा अस्पतालको सेवा खस्किएको आरोप लाग्ने गरेको छ । यसअघि अस्पतालको अनुमति लिएर काम गर्न पाउने व्यवस्था गरिएको थियो । मानवीय जनशक्तिको कारण सेवा प्रभावित भएको भन्दै अनुमति लिएकाको पनि तुरुन्त खारेज गर्न मन्त्रालयले निर्देशन दिएको छ । निजी क्लिनिकमा जान रोक लगाएसँगै अस्पतालको विस्तारित सेवा (इएचएस) लागू गर्ने तयारी भएको छ । क्यान्सर अस्पतालको २०५५ सालमा बनेको नियमावलीले निजी क्लिनिकमा काम गर्न बन्देज लगाएको भए पनि २०६१ सालमा सञ्चालक समितिले समितिको स्वीकृति लिएर निजी क्लिनिकमा काम गर्नसक्ने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशनको पालना गर्दै निजी क्लिनिकमा काम गर्न दिएको अनुमति खारेज गरेर यो व्यवस्थाको अन्त्य गर्ने अध्यक्ष न्यौपानेले बताए । कार्यालय समयभन्दा बाहेक स्वीकृति लिएर अन्य अस्पतालमा सेवा दिन जाने चिकित्सकले अस्पतालले दिने गरेको प्रोत्साहन भत्ता आधा मात्रै कटौती हुन्छ । एकजना वरिष्ठ चिकित्सकले १९÷२० हजार रूपैयाँसम्म प्रोत्साहन भत्ता पाउँछन् । बाहिर गएर काम गर्दा त्योभन्दा कयौँ गुणा बढी कमाइ हुने भएपछि आधा प्रोत्साहन भत्ता छोडेर निजी क्लिनिकमा काम गर्न थालेका हुन । अस्पतालको नाम देखाएर बिरामी निजी क्लिनिकमा तान्ने गरेको आरोपसमेत क्यान्सर अस्पतालका चिकित्सकमाथि लाग्ने गरेको छ ।

हिजाेकाे मदिराले ह्याङ बनाएकाे छ ? ह्याङ हटाउन यसो गर्नुपर्छ

पुस २१ । साँझको रमझमलाई मदिराको चुस्कीले झनै उत्साहित बनाईदिएको हुन्छ । मदिरा पिउन सुरु गरेपछि साथीभाईसँगको त्यो रमाइलो क्षणमा कति थपिन्छ थाहा नै हुँदैन । ओभरडोज भएपछि भोलिपल्ट बल्ला पछुताउछन् मान्छेहरु । ओभरडोजले भोलिपल्टसम्म ह्याङओभर बनाउँछ । ह्याङओभरले नियमित काममा समेत प्रभावित पार्दछ । त्यसैले ह्याङओभर हटाउन निम्न उपायहरु अपनाउनु पर्छ । – ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा निकै कम हुन्छ । त्यसैले यस्तो बेलामा प्रशस्त मात्रामा पानी पिउनु पर्छ । सकभर नरिवलको पानी पिउनाले यसमा भएको चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुनाले ह्याङ भएको शरीरलाई राहत दिन्छ । – ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ । – ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ । यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ । यसले पेटलाई पनि शीतल गर्छ । – ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ । पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ । त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस् । यसमा पोटासियमको मात्रा उच्च हुन्छ । – कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ । त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ । – कफी अथवा चियाको लत भएकालाई ह्याङओभर भयो भने उनीहरूले हर्बल टी खानु राम्रो हुन्छ । यसले शरीरमा पानीको मात्रा घटाउँदैन । – अण्डा खानुपर्छ । अण्डामा हुने एमिनो एसिडले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटामिन बी पनि ह्याङओभर हटाउन उपयोगी हुन्छ ।

ब्लड प्रेसर लो छ ? यसो गर्नुस्

एजेन्सी । उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने समस्या हुनसक्छ । ब्लड प्रेसर लो आफैमा रोग होइन, तर यसले रोगले भन्दा कमी चाहिँ सताउँदैन । ब्लड प्रेसर लो भएका विरामीहरुले निम्न कुरामा ध्यान दिए त्यसबाट छुटकरा पाउन सकिन्छ । – मदिरा सेवन गर्ने वानी छ भने त्यसलाई आजैबाट हटाउनु पर्छ । मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा मदिरा पिउने वानी भने बसाल्नु हुँदैन । अत्यधिक अल्कोहलको मात्राले डिहाइडे«सन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ । – प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसो गर्नालेउ रक्त प्रबाह सशक्त र तीब्र हुन्छ । शरीरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ । – प्रेसर लो भयो भन्दैमा एक्कासी नूनको मात्रा बढाउने काम गर्नु हुँदैन । नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ । अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ । चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ । –  आकस्मिक शारिरिक गतिविधिहरुबारे सचेत रहनु पर्छ । जस्तो आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्युन रक्तचापका लक्षणहरु भएकोले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी अपनाउनुपछै । बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ । – उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम प्रयोग गर्नुपर्छ । कार्बोहाइडे«डयुक्त खानेकुरा घटाउँदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ । – बारम्बार खाना खानुहोस् । यसले हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्यालाई हटाउँछ । त्यसैले एकै पटक धेरै खाना खानुभन्दा बारम्बार अर्थात हरेक दुई घण्टामा खाना खानुपर्छ । – चिकित्सकको सुझाबमा स्टकिङ लगाउँदा पनि न्यून रक्तचापको समस्याबाट बच्न सकिन्छ ।

सर्वोच्चको आदेशः नेपालमा कोखको व्यापार गर्न पाईन्न

काठमाडौं, पुस १ । सर्वोच्च अदालतले महिलाको कोखको व्यापारिक प्रयोग गर्न नमिल्ने निष्कर्ष सहित ‘ व्यवसायिक सट्टा आमा’ अर्थात् कर्मसियल सरोगेसीलाई पूर्ण प्रतिबन्ध लगाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । त्यसैगरी कुनैपनि विदेशी नागरिकलाई नेपालमा सरोगेसी सेवा उपलब्ध नगराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । नेपालका केही अस्पतालहरुले गैरकानूनी रुपमा सरोगेसी सेवा शुरु गरेकोवारे विवाद बढ्दै गएपछि अधिवक्ता पुष्पराज पाण्डेले सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । त्यसैको फैसला गर्दै सर्वोच्च अदालतले व्यवसायिक रुपमा सरोगेसी सेवा सञ्चालन गर्न नपाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । प्रजनन क्षमता नभएका र सन्तान सुख प्राप्त गर्न नसक्ने दम्पतीका लागि भने ‘परोपकारी सट्टा आमा’सेवा सञ्चालनको बाटो भने सर्वोच्च अदालतले खोलिदिएको छ । त्यसका लागि सरकारले कानूनी व्यवस्था गर्नुपर्नेछ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश सुशिला कार्की र न्यायाधिश गोविन्द कुमार उपाध्यायले सरोगेसी मुद्दाका सन्दर्भमा १५ बुँदे आदेश जारी गरेका छन् । निर्देशनमा मेडिकल बोर्डको सिफारिसमा मात्रै परोपकारी सरोगेसी सेवा उपलब्ध गराउन, परोपकारी सरोगेट आमाले कुनै आर्थिक लाभ नपाउने व्यवस्था सुनिश्चित गर्न, सरकारी निकायको सिफारिसमा मात्रै सेवा दिने लगायतका व्यवस्था गर्न आदेश दिएको हो । यो आदेशसँगै सरकारी अनुमतीविना सरोगेसी सेवा दिएका ग्राण्डी, ग्राण्डी सिटी, ओम, भेनस लगायतका अस्पतालले अवैध रुपमा सरोगेसी सेवा दिएका थिए । सर्वोच्च अदालतको आदेशसँगै नेपालमा व्यवसायिक सरोगेसी सेवा अवैध भएको छ ।