गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्न लागेको गण्डकी प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको हो।

सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।

संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।

आगलागी पिडीतलाई राहत उपलब्ध गराउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्डले  आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। पार्टी अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा(एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।  यसअघि प्रधानमन्त्री प्रचण्डले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमुना मा.वि.को नवनिर्मित भवनको उद्घाटन गरेका थिए।

सहकारी समस्या समाधानकाे ठोस योजना ल्याउँछौं : प्रधानमन्त्री

काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको विषय गम्भीर रहेको बताउँदै अर्को मन्त्रीपरिषद् बैठकले यसबारे ठोस योजना ल्याउने बताएका छन्।   शनिबार काठमाडौँमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै अध्यक्ष प्रचण्डले सहकारीको विषयमा उत्पन्न समस्या हल गर्न लागिरहेको बताएका छन्। बैठकमा सहभागी एक सदस्यका अनुसार  यसबारेमा विपक्षी दलसँग पनि संवाद जारी राखेको तर निचोड ननिस्किएको प्रचण्डको भनाई छ।   बैठकमा उनले भने–‘सहकारीको जटिलता गम्भीर बनेको छ, अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ। कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु। विपक्षी दलसँग संवाद जारी छ, निचोड निक्लिएको छैन।केही दिनमा सर्वदलीय बैठक बोलाएर निकास खोज्न लागेको छु।’ सरकारले महत्त्वपूर्ण विधेयक संसद्मा पेस गरेको बताउँदै सबै सक्रिय भएर छिटो पास गर्नका लागि पनि प्रचण्डले आग्रह गरेका छन् ।   टिआरसी विधेयकबारे संसद्मा गम्भीर बहसमा भाग लिन र संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्नका लागि सांसदहरूलाई निर्देशन समेत दिएका छन्।संसद्को चौथो अधिवेशनलाई प्रभावकारी बनाउन सबै संसदहरुलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै नीति तथा कार्यक्रम र बजेट रचनात्मक र प्रभावकारी बनाउन सुझाव दिन प्रचण्डले आग्रह गरेका छन्।

अन्तिम खेलमा ६ विकेटले नेपाल विजयी

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजविरुद्धको ५ खेलको टी २० सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले जितेको छ ।  नेपालले वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।  जितका लागि वेष्ट इन्डिजले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ७ बल बाँकी हुदा पुरा गर्न सफल भयो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको योगफल तयार पारेको थियो ।  नेपालका लागि अनिल साह र आसिफ सेखले अर्धशतक हाने । अनिलले ४५ बलमा ५८ रन तथा आसिफले ३५ बलमा ५१ रन बनाए । यस्तै, कुशल मल्लले अविजित ३७ रन, कुशल भुर्तेलले १३ रन जोडे भने दिपेन्द्रसिंह ऐरीले ५ रन जोड्दा कप्तान रोहित पौडेल शुन्य रनमा नै अविजित रहे । त्यसअघि वेष्ट इन्डिजका एलिक अथानाजे ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे।  नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए। सागरले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। सोमपालले आफ्नो स्पेलमा १६ रन खर्च गरे ।   अविनास बोहोराले एक विकेट लिए । आजको नतिजा सँगै सिरिजलाई नेपालले नेपाल ३–२ बनाएको छ । पहिलो खेलमा चार विकेटको जित निकालेको नेपाल त्यसपछिका खेलमा लगातार हार बेहोर्दै आएको थियो ।शृङ्खलाको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो। विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल हो । नेपाली टोली आजको खेल पछि विश्वकपका लागि वेष्ट इन्डिज प्रस्थान गर्नेछ ।

बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलाए । विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताए ।  ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा आजदेखि सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता यही वैशाख २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । 

ईडीभीको नतिजा : यसरी हेर्नुहोस्

काठमाडौं । अमेरिकाले सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज आउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति ९ः४५ बजे ईडीभी २०२५ को नतिजा हेर्न सकिनेछ।   आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा राखेर ईडीभी परे वा नपरेको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ। यसबाहेक अन्य माध्यमबाट ईडीभीको नतिजा हेर्न नमिल्ने पनि दूतावासले स्पष्ट पारेको छ।  अमेरिकाले आफ्नो देशमा विश्वका विभिन्न मुलुकका नागरिकलाई भित्र्याउन हरेक वर्ष ईडीभी चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

भारतमा लोकसभा : जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द

धनुषा। भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ। भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण यही वैशाख २३ देखि २५ गतेसम्म रेल सेवा बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध निरञ्जन झाले शनिबार एक सूचना जारी गर्दै आइतबारदेखि मङ्गलबारसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द रहने जानकारी दिएका हुन्। इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा तीन दिन बन्द रहने सूचनामा उल्लेख गरिएको छ। भारत मधुवनी जिल्लाको भन्झारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोक सभा चुनाव हुँदैछ ।

महासंघको २७औं महाधिवेशन : काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं ।नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा आयोजना गरिएको नेपाल पत्रकार महासंघको २७औं महाधिवेशले काठमाडौं घोषणापत्र जारी गरिएको छ । 'नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि तपसिल बमोजिमको घोषणापत्र जारी गर्दछ', महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । १.प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतद्वारा पछिल्ला ेपटक भएको आदेशप्रति यस महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ । अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन÷प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रुपमा मुद्दा चलाउने निर्णय गर्नु संविधानविपरीत रहेको ठहर गर्दै यो महाधिवेशन संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग जोडदार माग गर्दछ । २. आगामी २०८१ जेठ २६ गते नेपाल पत्रकार महासंघको निर्वाचन गर्ने घोषणा गर्दछ । त्यसका लागि सम्पूर्ण तयारीका लागि महासंघलाई निर्देश गर्दछ । साथै, सदस्यता शुद्धीकरणसम्बन्धी सबै विषय महासंघको विधान र शुद्धीकरण मापदण्ड २०७९ अनुसार बैशाख महिनाभित्रै टुंगो लगाई सार्वजनिक गर्न यो महाधिवेशन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई निर्देश गर्दछ । ३. नेपाल पत्रकार महासंघलाई आफ्ना गतिविधि, कार्यक्रम, पुरस्कार तथा सम्मानजस्ता विषयमा निर्णय गर्दा समावेशी, समानुपातिक, वर्ग, क्षेत्र, लिंग, भाषाभाषी, धर्म, संस्कृतिको आत्मसम्मान र प्रतिनिधित्व रहने गरी कार्यविधि र स्पष्ट मापदण्डका आधारमा मात्र गर्न र महासंघको साझा चरित्रलाई व्यवहारमा कार्यान्वयन गर्न यो महाधिवेशन निर्देश गर्दछ । ४. कानुन निर्माणका क्रममा रहेका मिडियासम्बन्धी विभिन्न विधेयकहरुलाई पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुनेगरी मिडियामैत्री बनाउन यो महाधिवेशन तीनै तहका सरकारसँग जोडदार माग गर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कुनै पनिनीति तथा क्रियाकलाप नगर्न माग गर्दछ ।   ५. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा हाल उत्पन्न विवादलाई दृष्टिगत गरी उक्त विषयमा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग तथा इतिहास विभागसँगको समन्वयमा अध्ययन÷अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्न यो महाधिवेशन महासंघलाई निर्देश गर्दछ । ६. सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनको रकम दोब्बर बृद्धि गर्न र श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी पूर्णरुपमा कार्यान्वयन गर्न यो महाधिवेशन सरकारसँग जोडदार माग गर्दछ । ७. प्रेस काउन्सिल नेपालद्वारा पछिल्लो दिनमा क्षेत्राधिकारविपरीत सञ्चारमाध्यमलाई समाचार सामग्री हटाउन निर्देशन दिएको विषयप्रति यो महाधिवेशन खेद प्रकट गर्दै काउन्सिललाई संविधान र विद्यमान कानुनको परिपालना गर्न सचेत गराउँदछ । ८. श्रमजीवी पत्रकारहरुले लामो समयदेखि पारिश्रमिक तथा सेवासुविधा नपाएकोप्रति दुःख व्यक्त गर्दै यो महाधिवेशन सम्बन्धित सञ्चारमाध्यमलाई तत्कालपारिश्रमिक उपलव्ध गराउन माग गर्दछ । साथै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न र समस्याको दीर्घकालीन समाधान खोज्न मिडिया सञ्चालक, श्रमजीवी र सरकारबीच आवश्यक समन्वय र सयन्त्र विस्तार गरी अघि बढ्न आव्हान गर्दछ । ९. साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चारमाध्यमको दिगो र भरपर्दोविकासका लागि जोड दिँदै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न यो महाधिवेशन माग गर्दछ । १०. छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्दछ । साथै, द्वन्द्वपीडित, दलित, अपांगता भएका, तेस्रोलिंगीर पत्रकार महिलाहरुले सञ्चालन गरेका सञ्चारमाध्यमहरुलाई हाल पाइआएको सेवासुविधालाई दोब्बर गर्न यो महाधिवेशन सम्बन्धित पक्षसँग माग गर्दछ । ११. स्थानीय र साना लगानीका सञ्चारमाध्यमहरुलाई संरक्षण र सम्बद्र्धनका लागि आवश्यक पहलको अपील गर्दै यो महाधिवेशन समानुपातिक विज्ञापन नीति लागु गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने वाध्यकारी व्यवस्था गर्नसरकारसँग माग गर्दछ । १२. श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी प्रभावकारी कार्यान्वयन गर्न यो महाधिवेशन सरकारसँग माग गर्दछ । १३. मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानहरूका विषयवस्तु र संरचनालाई लैंगिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानहरुलाई आव्हान गर्दछ । १४. सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवासुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यवहारिक प्रावधान तत्काल खारेज गर्न माग गर्दछ । १५. पत्रकार आचारसंहिताको पालना गर्न, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न विशेष जोड दिन र सकारात्मक पत्रकारिताको माध्यमबाट समाजलाई जागृत गर्ने कार्यमा लाग्न सबै पत्रकारहरुलाई यो महाधिवेशन अपील गर्दछ । १६. पत्रकारिता क्षेत्रमा देखिएका नयाँ आयाम तथा चुनौतीहरुको समाधानका लागि पत्रकारहरुको क्षमता अभिवृद्धिमूलक नीति तथा कार्यक्रम ल्याउन र पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहने पत्रकारहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दछ । १७. जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि ‘पृथ्वीका लागि पत्रकारिता‘ भन्ने मूल मर्मलाई आत्मसात गर्दै कलम चलाउन यो महाधिवेशन सम्पूर्ण सञ्चारकर्मीहरुलाई अनुरोध गर्दछ । १८. नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, महासंघका पूर्वअध्यक्षहरु, पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरूका साथै देशभरका सबै केन्द्रीय परिषद् सदस्यहरुलाई यो महाधिवेशन धन्यवाद ज्ञापन गर्दछ ।

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी निःशुल्क कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको हो । सूचनामा महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि निःशुल्क लोकसेवाको तयारी कक्षा सञ्चालन गरिने उल्लेख छ । महानगरले इच्छुक उम्मेदवारलाई नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र महानगरपालिकाको सामाजिक विकास विभागमा आवेदन पेस गर्न आग्रह गरेको छ ।

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछिन् ।परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री योकोले नेपाल ओर्लिए लगत्तै भोलि नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीइ औपचारिक वार्ता गर्ने तय भएको परराष्ट्रले जनाएको छ ।उक्त वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ । यस्तै, अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।जापानबाट अहिलेसम्म तीनजना विदेशमन्त्रीले नेपाल भ्रमण गरेका छन् भने कामिकावा चौथो हुन्। कामिकावा आइतबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

भारतका प्रधानन्यायाधीश डा.चन्द्राच्युड नेपालमा

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डा.डीवाई चन्द्राच्युड नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका छन् । भारतका प्रधानन्यायाधीश डा.चन्द्राच्युडसहितको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आइपुगेको हो। भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराईले स्वागत गरे। भारतका प्रधानन्यायाधीश चन्द्राच्युडले केन्द्रीय बाल न्याय समितिले शनिबार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ । शनिबार साँझ नेपालका प्रधानन्यायाधीश र भारतका प्रधानन्यायाधीशबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको छ। नेपालका प्रधानन्यायाधीशले भारतको प्रधानन्यायाधीशको सम्मानमा शनिबार नै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ। भ्रमण दलमा भारतका प्रधानन्यायाधीशसहित उनकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोट मास्टर चेतन अरोरा छन् । भ्रमण दल आइतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । रासस

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरू गरेको छ।  यस्ता छन् निर्णयहरू  

डीभीको नजिता भोलि आउने

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।  वैशाख २२ गते (भोलि) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।  यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

नेपाली नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं। सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए। उनले भने, ‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ ।’ सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

६ जना सचिवको सरुवा : को कहाँ पुगे?

काठमाडौँ । सरकारले राजपत्राङ्कित केही विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डा.गणेशप्रसाद पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संस्कृति तथा पर्यटन मन्त्रालय  र डा.गोविन्द्रप्रसाद शर्मा कृषि तथा पशुपक्षी मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको छ।  डा.दीपककुमार काफ्ले संस्कृति तथा पर्यटन मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।डा.रेवतीकुमार पौडेल पशुपन्छी विकासबाट कृषि विकासमा सरुवा भएका छन्। राधिका अर्याल लुम्बिनी मन्त्रिपरिषद्को कार्यालयबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएकी छन्।

इन्टरनेट सेवा अवरुद्ध गरे हदैसम्मको कारबाही हुन्छ : प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाहि गर्ने चेतावनी दिएको छ ।  बिहीबार केही प्रमुख इन्टरनेट सेवा प्रदायकको इन्टरनेट करिब ६ घण्टा अवरुद्ध भएको थियो।प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको समेत प्राधिकरणले जनाएको छ। “तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरूबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा सुचारु भएको,” प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ। “आम उपभोक्तालाई निर्वाधरूपमा सेवा उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिइएको,” प्राधिकरणले भनेको छ, “अन्यथा दूरसञ्चार ऐन, २०५३ लगायत  प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सेवा प्रदायकहरूलाई जानकारी गराइन्छ ।” नेपाल सरकार र प्राधिकरणलाई आरोप लगाएर ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचारमा समेत ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ । यस्तो छ विज्ञप्ति  २०८१ साल बैशाख २० गतेका दिन केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ्र सो पश्चात प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा सुचारु भएको व्यहोरा जानकारी गराइन्छ ्र नेपाल सरकार र प्राधिकरणलाई समेत आरोप लगाई विभिन्न सञ्चार माध्यमहरुमा ब्याण्डविथ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भनी जनमानसमा भ्रम पार्ने गरी प्रकाशित धारणा, विज्ञप्ति एवं समाचारहरु प्रति प्राधिकरणको ध्यानाकृष्ट भएको छ ्र सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत दूरसञ्चार ऐन, २०५३ को दफा ३२ र दूरसञ्चार नियमावली, २०५४  को नियम २६ बमोजिम कूल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी र नेपाल दूरसञ्चार प्राधिकरण ९ग्रामीण दूरसञ्चार विकास कोष० विनियमावली, २०६८ को विनियम ५९१० बमोजिम दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था रहेकोमा धेरैजसो सेवा प्रदायकहरुले नियमानुसार तिर्नु बुझाउनु पर्ने रकम भुक्तान गरी निर्वाध रुपमा प्राधिकरणबाट विदेशी मुद्रा सिफारिस लगायतका सहजीकरणका सुविधाहरु लिईरहेको अवस्था रहेको छ ्र तर सीमित सेवा प्रदायकहरुले वर्षौदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि स्पष्ट गरी बारम्बार ताकेता गर्दा समेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएको अवस्थामा दूरसञ्चार उपकरण आयात तथा बिदेशी मुद्रा सटही सिफारिस सम्बन्धी ९कार्यविधि० विनियमावली, २०७६ को ४९घ० बमोजिम विदेशी मुद्रा सिफारिस गर्न मिल्ने नदेखिएको ्र साथै उक्त विषय सम्मानित सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको अवस्थामा दूरसञ्चार जस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रुपमा लिन सकिने देखिदैन । इन्टरनेट सेवा अत्यावश्यक सेवा समेत भएको हुँदा दूरसञ्चार ऐन, २०५३ तथा अनुमतिपत्रको शर्त बमोजिम भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी आम उपभोक्तालाई निर्वाध रुपमा सेवा उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायकहरुलाई निर्देशन दिइएको छ ्र अन्यथा दूरसञ्चार ऐन, २०५३ लगायत  प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरिने व्यहोरा सम्बन्धित सेवा प्रदायकहरुलाई जानकारी गराइन्छ ्र साथै भरपर्दो तथा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न नेपाल दूरसञ्चार प्राधिकरण प्रतिवद्ध रहेकोले आम उपभोक्तालाई विश्वस्त रहन अनुरोध गर्दछौ। सन्तोष पौडेल प्रवक्ता मितिः २०८१/०१/२१