कम्युनिष्ट एकता र विघटनको गहिरो मूल्यांकन र आत्मसमीक्षा जरूरी: प्रचण्ड
७ जेठ, २०८२
जाजरकोट, जेठ ६। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आलोचना र सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताउनुभएको छ। जनसंवाद अभियानमार्फत प्रत्यक्ष संवाद अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान अन्तर्गत जाजरकोटको भेरी नगरपालिकामा आयोजित अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार, नागरिक समाज र स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरिएको हो। विकासका चुनौती : जलविद्युत् अड्किएको, सडक पुगे पनि काम अधुरो कार्यक्रममा सहभागी वक्ताहरूले भेरी करिडोर, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा लोकमार्गजस्ता पूर्वाधार परियोजनाहरूमा केही प्रगति भए पनि नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेकोप्रति गुनासो व्यक्त गरे। उनीहरूले यस आयोजना तत्काल प्राथमिकतामा राख्नुपर्ने माग पनि गरे। संघीयता र प्रदेश सरकारको प्रभावकारितामाथि प्रश्न वक्ताहरूले प्रदेश सरकार कमजोर देखिएको र संघीयताको प्रभावकारी कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गर्दै अधिकार प्रत्यायोजन र संविधानको मर्मअनुसार राज्य सञ्चालन हुनुपर्नेमा जोड दिए। प्रचण्डको जवाफ : “जनताको सुझाव आत्मसात गर्दै अघि बढ्छौं” जनगुनासो र सुझावहरू सुनेपछि अध्यक्ष प्रचण्डले जनताको भावना र चिन्तालाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो। “तपाईंहरूले उठाएका प्रश्न र सुझावहरू महत्वपूर्ण छन्,” उहाँले भन्नुभयो, “हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने शैलीमा अघि बढिरहेका छौं।” भूकम्पपछिको राहत र पुनःस्थापनामाथि ध्यानाकर्षण पूर्व प्रधानमन्त्रीको हैसियतले प्रचण्डले भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारको काम सुरु गराएको स्मरण गर्दै पुनःस्थापनाका कामहरूमा अहिले पनि गति दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। कम्युनिष्ट एकता र विघटनको गहिरो मूल्यांकन र आत्मसमीक्षा जरूरी कम्युनिष्ट एकताको प्रसङ्ग उठ्दै गर्दा अध्यक्ष प्रचण्डले आफू नै उक्त एकताको प्रस्तावक रहेको र त्यसको परिणामस्वरूप केपी शर्मा ओली प्रधानमन्त्री बनेको स्मरण गराउनुभयो। “तर त्यो एकता किन टुट्यो? यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन,” उहाँले भन्नुभयो, “हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ, आत्मसमीक्षा गर्नुपर्छ।” संविधान कार्यान्वयनका विधेयकमा ढिलाइप्रति चिन्ता संविधान कार्यान्वयनका लागि आफू प्रधानमन्त्री हुँदा कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक, उच्च शिक्षा सुधार विधेयकजस्ता कानुनी तयारी गरिएको उल्लेख गर्दै प्रचण्डले ती विधेयकलाई अब अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले यो अभियान पार्टीको आत्मसमीक्षा र जनता तथा वर्गसँग पुनः सम्बन्ध जोड्ने ऐतिहासिक प्रयास भएको बताउनुभयो। “अब हामी रुकुमतर्फ अघि बढ्दैछौं,” उहाँले भन्नुभयो, “यो यात्राले हाम्रो राजनीतिक मूल्य, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धता बलियो बनाउने विश्वास लिएको छु।”