खबरदारी सभाको तयारी तीब्र, यस्तो हुनेछ जुलसको रुट
९ कात्तिक, २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्तिक १० गते गर्ने खबरदारीसभाको तयारी तीब्र बनाएको छ । पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा सभा हुँदैछ । विरोध प्रदर्शनमा ३० बढीको उपस्थिति रहने अनुमान गरिएको छ । जसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने छ । यस्तो छ रुटः खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोक्ने छन् । जुलुशको बीचमा साउण्डसिस्टम जडित तीनवटा गाडीहरु हुनेछन् । सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले ले सम्बोधन गर्नुहुनेछ । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ । सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाका अनुसार विरोध सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट मात्र कार्यकर्ताहरुको सहभागिता रहने छ । उहाँले यसपटक राजधानी बाहिरबाट कार्यकर्ता नल्याउने र प्रदर्शन उपत्यका केन्द्रित गर्ने बताउनुभयो । सभामा ३० देखि ३५ हजार जना सहभागी हुने अनुमान गरिएको उहाँले बताउनुभयो । यो पनि पढ्नुहोस् माओवादी केन्द्रले भन्यो– देशमा व्याप्त बेथिति र कुशासन रोक्न खबरदारी सभा यो पनि पढ्नुहोस् माओवादी केन्द्रले कात्तिक १० गते गर्ने खबरदारी सभाका लागि १० एजेण्डा तय