किसानको साग किनेर गुन्द्रुक बनाउँदै माओवादीले नेतृत्व गरेको भुम्लु गाउँपालिका

काभ्रेपलाञ्चोक । गत स्थानीय निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार भई अध्यक्ष निर्वाचित भएका पालिका अध्यक्ष प्रेम बहादुर भुजेल नेतृत्वको काभ्रे जिल्लको भुम्लु गाउँपालिले स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेर बजारीकरण गर्ने भएको छ । 

यसअघि मोहीको ब्राण्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको यसपालिकाले अब स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ। साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको छ ।

सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो । प्रतिकिलो रु २५ का दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताउनुभयो ।

भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महङ्गो भाडा पर्ने भएपछि गाउँपपालिकाले खरिद गर्न लागेको हो ।

हाल रहेको साग तथा प्रतिबर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरेको छ ।काभ्रेको बजारमा पर्ने खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयसँग साग खरिद गर्ने छ । गाउँपालिकाकै ब्यवस्थापनमा गुन्द्रुक बनाएर विक्री गरिने छ ।

बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्राण्डिङ गरी मोही–प्रवर्द्धन गर्न लागिएको हो।

जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अविधेशनको दोस्रो नगरसभा बैठकले पारित गरी मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने भएकोल छ। नगरमा उत्पादन भएको दुध स्थानीय बजारमा विक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ।

तातोपानी कुण्डको संरक्षण आवश्यकः प्रचण्ड

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म विहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उहाँले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताउनुभयो । आफू केही वर्षअघि केही मन्त्रीहरुसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उल्लेख गर्दै उहाँले यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताउनुभयो । अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरु अरु पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । बेनी–ढोरपाटन सडक निर्माण पनि आफूहरुको प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको काम अघि बढिसकेको बताउनुभयो । ‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयवासीले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छौं’– उहाँले भन्नुभयो । सो क्रममा उहाँले स्थानीयबासीसँग अन्तर्क्रिया पनि गर्नुभएको थियो ।    

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले

पोखरा । गण्डकी प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । पोखरामा आज सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य विभु भुसालले जानकारी दिए ।  महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) सानेबहादुर नेपाली, जनजाति सचिवमा दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भएका छन् ।  सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत भएका छन् । 

मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास

चितवन, माघ २१ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार ६ कोठे विद्यालय भवनको शिलान्यास गर्नुभएको छ । भरतपुर ६ मा रहेको देवज्योति आधारभूत विद्यालयको ६ कोठे भवनको एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले देवज्योति आधारभूत विद्यालय भरतपुर ६ लाई नमुना विद्यालयका रुपमा अगाडि बढाइएको बताउनुभयो । भरतपुर महानगरपालिकाले गत वर्ष ४ कोठे भवनको निर्माण गरिसकेको र अहिले फेरि वागतमी प्रदेश सरकार र महानगरको साझेदारीमा ६ कोठे भवन निर्माण गर्न लागिएको उल्लेख गर्नुभयो । प्रमुख दाहालले विद्यालयमा टहर र अति जिर्ण भवन रहेकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्नुपर्ने अवस्था आएको उहाँको भनाई थियो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहज वातावरण बनाउन पूर्वाधार निर्माण गर्नुपर्ने देखिएकाले गत वर्षदेखि भवन निर्माणलाई प्रथामिकतामा राखिएको प्रष्ट पार्नुभयो । ६ कोठे भवन निर्माण भएपछि विद्यालयसँग प्रयाप्त  भौतिक संरचना हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज सापकोटाका अनुसार यसअघिको ८० जना रहेको विद्यार्थी संख्या वृद्धि भइ १ सय ५२ जना पुगेको छ । यसैबीच ईलाका प्रहरी कार्यालयको निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको छ । सोमाबार श्रीपञ्चमीको अवसरमा प्रहरी कार्यालय भवनको भरतपुर महानगरपालिका प्रमुख दाहालले शिलान्यास गर्नुभएको छ । भाडामा बस्दै आएको कार्यालय भवन निर्माणको लागि अरुणोदय कलेजले करिब ५ कठ्ठा जग्गा उपलब्ध गराएको हो । भवन निर्माण भएपछि शान्ति, सुरक्षा र अमन चयन हुने विश्वास लिइएको छ ।

अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । उहाँले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटे र  ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गर्नुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उहाँहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताउनुभयो । आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उहाले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका  लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्ने बताउनुभयो ।

सिमकोटमा छ करोडको आलु बिक्री

हुम्ला । जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यस वर्ष छ करोड रुपियाँभन्दा बढी मूल्यको आलु बिक्री भएको छ । किसानले व्यवसायिक आलु खेती गर्न थालेपछि सो मूल्यको आलु बिक्री भएको हो । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले यस वर्ष गाउँपालिकाका आठ वटै वडामा गरी छ करोड २५ लाख रुपियाँ बराबरको आलु उत्पादन गरी बिक्री गरिएको  बताउनुभयो । गाउँपालिकाभर ६४० हेक्टर आलु खेती गर्दा १२ हजार पाँच सय क्विन्टल आलु उत्पादन भएको छ । सदरमुकाम सिमकोटमा आलु प्रतिकेजी ५० रुपियाँ पर्छ । उहाँले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन पाँच सय क्विन्टल कम भए पनि आलु किसानका लागि आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो । आलु खेतीबाट आम्दानी हुने भएपछि किसानले व्यावसायिक रूपमा खेती गर्दा  आलु उत्पादन गर्न सकेका हुन् ।  गाउँपालिकाका अधिकांश घरधुरीमा आलु खेती गर्ने गरिन्छ । उहाँले त्यसैले प्रत्येक घरधुरीको आम्दानीको स्रोत आलु नै भएको बताउनुभयो । यो आलु सिमकोट बजार, ठेहे,  खार्पुनाथ र सर्केगार्ड गाउँपालिकासम्म जाने गर्छ । आलु खेती आम्दानीको स्रोत भएका कारण गाउँपालिकाले आलु खेतीलाई विस्तार गर्ने कार्यक्रमसमेत ल्याउने जानकारी उहाँले दिनुभयो । गोठे तथा प्राङ्गारिक मलबाट आलु खेती गरिने भएका कारण हुम्लाको आलु विषादीरहित हुने गरेको छ ।    

भीम रावल धनगढी पुग्दा समर्थकले गरे ओलीविरुद्ध नाराबाजी

धनगढी । नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका नेता भीम रावल धनगढी पुगेका छन् । आज धनगढी पुगेका नेता रावललाई उनका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गरेका छन् ।  उनको पक्षमा जिन्दावादका नारा लगाएका उनका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका थिए । भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उनी अछाम जानेछन् । 

घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक छः प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक रहेको बताउनुभएको छ । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले घले समुदायलाई सूचिकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उल्लेख गर्नुभयो । प्रमुख दाहालले भरतपुर महानगरपालिका सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, सँस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढी रहेको उल्लेख गर्नुभयो । महानगरपालिकाले आदिवासीमा सूचिकृत गर्न ऐन कानुन हेरेर यहाँको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पहिचान र अधिकार प्राप्त गर्न एकजुट भई राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गर्नुपर्ने उहाँको धारणा व्यक्त गर्नुभयो । यो विषयमा एकजुट हुन नसके प्राप्त उपलब्धिहरु गुम्ने र थप अधिकार प्राप्त गर्न असम्भव रहको धारणा राख्नुभयो । घले समाजका केन्द्रीय अध्यक्ष दिनेश कुमार घलेले पहिचानको मुद्धालाई अझ शसक्त बनाउनुपर्ने उल्लेख गर्नुभयो । नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि बिभिन्न आदिवासी जनजातिहरु सूचिकृत हुने क्रममा घलेहरुलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दावी छ । ‘हामीलाई कतै तामाङकरण गरियो, कतै मगरकरण गरियो, कतै गुरुङकरण गरियो’ लिःल फङका अध्यक्ष घलेले भने ‘हाम्रो पहिचान मेटाउन पहिचानवादी भनिएकाहरु नै एकजुट भए ।’ घलेलाई गुरुङ नै भनेर धेरैले बुझे पनि आफूहरु गुरुङ नभएको अध्यक्ष घलेले बताउनुभयो । घलेहरुको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ । नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो । ०६८ सालको जनगणना अनुसार करिब २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन । माघ १ गतेलाई थारु,मगर र हिन्दू समुदायको पर्वका रुपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरुको माग छ ।

भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट

चितवन । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आईतबार विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । एक सय ४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको कार्यक्रम संशोधन तथा रकमान्तर भएको रु १४ करोड २८ लाख ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उहाँले बताउनुभयो । बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा  पुर्याउन, साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताउनुभयो । चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगति स्थितिको विष्लेशणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवम् समायोजन गरिएको उहाँले बताउनुभयो । महानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५६ करोड १ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो । नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख  दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणधिन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रकृया सुरु भएको बताउनुभो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको, एशियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । यस्तै ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा १ हजार ३ किमि कालोपत्रे सडक निर्माण भएको बताउनुभयो । महानगरको प्रशासकीय भवन, सिटी हल, जंगली जनावरबाट मानव तथा पशु वालीमा हुने क्षति न्युनीकरणको लागि फाउण्डेशन सहितको मेस जाली निर्माण भइरहेको उल्लेख गर्नुभयो । उत्पादनमा आधारित अनुदान कार्यक्रमले दुध उत्पादनमा उल्लेख्य वृद्धि भई आम कृषकको आर्थिक अवस्थामा सुधार आएको बताउनुभयो  । विभिन्न निकाय सँगको समन्वयमा ७ हजार ९ सय विगाहा क्षेत्रफलमा सिंचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिंचाई आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको  जानकारी दिनुभयो । संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८ सय ९१ जना छोरीहरूको बालउमङ्ग जीवन बिमा गरिएको बताउनुभयो । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र २ लाख ८४ हजार वाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेका बताउनुभयो । महानगरको फोहर व्यवस्थापनका लागि भ्याट बाहेक रू ७ करोड ६१ लाखमा तीन वर्षे आय ठेक्का सम्झौता भई मंसिर १ गतेबाट फोहोरमैला संकलन र व्यवस्थापनको काम सुरु भएको बताउनुभयो । अति सीमान्तकृत र लोपोन्मुख ७९६ जना र दलित समुदायका ४हजार ९सय ७६ जना गरी सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययतरत लक्षित वर्गका सबै बालबालिकाहरूलाई शैक्षिक प्रोत्साहन कार्यक्रम अन्तरगत छात्रवृत्ति वितरण गरिएको उहाँको भनाई थियो ।

कर्णाली प्रदेशको अदुवा र बेसार यूरोपेली बजारमा

सुर्खेत । सुर्खेत– कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो । कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताइन् । उनले भनिन्, ‘बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहीँ लाग्नुपर्छ ।’ उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ  । एक हजार चार सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ । चालु आवमा आठ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ । २२ लाख किलो खरिद गरेर र दुई सय ३० टन सुकेको अदुवा यूरोप पठाउने लक्ष्य कम्पनीको छ । सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ । कम्पनीमा एक सय ५० जना कामदार छन् । दैनिक एक सय २० जनाले काम गर्छन् । बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दालचिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताइन् । डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छन् । उद्योगका अनुसार सबैभन्दा बढी अदुवा उत्पादन सल्यानमा हुन्छ । सल्यानबाट एक सिजनमा एक हजार दुई सय मेट्रिकटनसम्म अदुवा ल्याउने गरिएको छ । रुकुमबाट आठ सय र सुर्खेतबाट दुई सय मेट्रिकटनसम्म अदुवा उद्योगमा ल्याउने गरिएको छ । उद्योगले सिस्नो र टिमुर पनि प्रशोधन गर्दै आएको छ । किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

कञ्चनपुर । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन्।  चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए।   उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको  छ। कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ। तस्विरः एआई

माओवादी केन्द्र पुथाउत्तरगंगामा निर्वाचन, अध्यक्षमा संगम रोका विजयी

रुकुमपूर्व । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्वको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पालिकाको केन्द्र तकमा तीन दिनसम्म चलेको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षमा संगम रोका निर्वाचित हुनुभएकाे छ । अध्यक्ष पदको लागि संगम रोका र गंगा पुन, सचिवमा राजकुमार सुनार र शुक्रराज विक तथा कोषाध्यक्षमा दलप्रसाद रोका र देविका सुनारको उम्मेदवारी परेकाे थियो । २३ मत प्राप्त गरेर संगम रोका अध्यक्षमा निर्वाचित हुनभएको हो । रोकाका प्रतिस्पर्धी गंगा पुनले २१ मत प्राप्त गर्नुभयाे । यस्तै सचिवमा राजकुमार सुनारले १७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी शुक्रराज विकले १२, मैत्या घर्तीले १० तथा उज्वल सेनले ५ मत प्राप्त गरेको निर्वाचन अधिकृत कलिभान बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कोषाध्यक्षमा दलप्रसाद रोकाले २७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी देविका सुनारले १७ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा थमन बुढा, रामकुमारी बुढा र रजग सुनार तथा सह सचिवमा लाेकेन्द्र पुन सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।  अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत टुंगिएको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा निर्वाचन गरिएको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ । यो सँगै जिल्लाका तीन वटै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ । सिस्ने र भूमेमा सर्वसम्मत नेतृत्व चयन भएकाे थियाे । 

बझाङमा जीप दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु

बझाङ ।  बझाङमा भएका दुई वटा  छुट्टाछुट्टै  जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए । दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । यस्तै, शुक्रबार राति नै करिब नौ बजे तिर मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक जय बहादुर डाँगाले बताए ।

माओवादी केन्द्र आठबीसकोटमा नेतृत्व चयन गर्न निर्वाचन, अध्यक्षमा बटाला

रुकुमपश्चिम । नेकपा (माओवादी केन्द्र) आठविसकोट नगरपालिकाको नयाँ नेतृत्व निर्वाचन मार्फत टुङगिएको छ । शनिबारबाट सुरु भएको तेस्रो नगर अधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसक्दा निर्वाचन प्रक्रिया मार्फत सोमबार नयाँ नेतृत्व टुङगिएको हो । अध्यक्ष, उपाध्यक्ष र सह-सचिवमा मतदान भएको थियो । अध्यक्ष पदमा मनिराज बटालाले २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी  धनबहादुर बस्नेतले १३ र टिकाराम सुनारले ११ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा ३२ मत प्राप्त गरी खुम्बे कुसारी, २८ मत प्राप्त गरी सिता शाह र २७ मत प्राप्त गरी टेकबहादुर थापा विजयी हनुभएको छ । उहाँका प्रतिस्पर्धी केशरमान विकले  २२ मत प्राप्त गर्नुभएको छ ।  त्यस्तै सह-सचिवमा खुमराज ओलीले २८ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी कविराम विकले १५ मत प्राप्त गर्नुभयो ।  जम्मा ४८  मत खसेको थियो ।  सचिवमा दलजित विक र कोषाध्यक्षमा रुपा विक निर्विरोध निर्वाचित हुनुभएको छ । ६ जना पछि थप्ने गरी ४९  सदस्यीय नगर  समिति निर्माण गरिएको नव निर्वाचित अध्यक्ष मनिराज बटालाले जानकारी दिनुभयो ।   

माओवादी केन्द्र सानीभेरीको अध्यक्षमा पुनः पुन

रुकुमपश्चिम । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको अधिवेशन सकिएको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट पुनः धर्मबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति गठन भएको छ ।  जसको उपाध्यक्षमा इन्दिरा ओली, दीपक बाँठा र वीरसिंह विक, सचिवमा बालकृष्ण विक, सह सचिवमा बालकुमार नकाल र कोषाध्यक्षमा चक्र केसी निर्वाचित हुनुभएको छ । नेतृत्व सर्वसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाले जनाएको छ ।  अन्य पालिकाहरूमा अधिवेशन चलिरहेको छ । हिजोबाट सुरु भएको अधिवेशन अन्तगत पाँच पालिकामा बन्द सत्र सुरु जारी रहेको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन आज सकिने छन् ।  ३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिमका सबै पालिकाहरूमा अधिवेशन एकै दिन हिजोबाट सुरु भएको हो । पालिका अधिवेशनका लागि जिल्ला तहमै पहिलो पटक पालिका अधिवेशन कार्यविधि २०८१ बनेर जिल्ला समिति बैठकबाट पारित भई कार्यान्वयन आएको छ । जसले अधिवेशन सहज र विधिसम्मत नेतृत्व चयनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।  अधिवेशनको लागि मुसिकोट नगरपालिकामा केन्द्रीय सदस्य गोपाल शर्मा, आठविसकोट नगरपालिकामा केन्द्रीय सदस्य वसन्त शर्मा, चौरजहारी नगरपालिकामा जिल्ला संयोजक गोविन्द रोका, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा विमला केसी र बाँफिकोट गाउँपालिकामा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।