अर्थमन्त्रीले दिने जवाफमा एमालेले भाग नलिने

अर्थमन्त्रीले दिने जवाफमा एमालेले भाग नलिने

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रतिनिधिसभामा अर्थ मन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्माले दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउनु माग गरेका हुन् । उनले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको प्रति गम्भीर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको बताए ।

उनले भने,‘ हिजोबाट नै संसद्‍मा अर्थमन्त्रीको विषय प्रवेश गराएका छौँ । यति गम्भीर विषयमा प्रमुख प्रतिपक्षी दलले संसद्मा उभिएर अब्जेक्सन गरिसकेपछि सभामुखले विनियोजन विधेयक माथिको छलफल जारी राख्ने भन्दै कार्यसूचीको ९ नम्बरमा अर्थ मन्त्रालय राख्नु भएको रहेछ । जब अर्थमन्त्री ज्युको काम क्रियाकलाप माथि यति गम्भीरतापूर्वक प्रश्न उठेपछि नेकपा एमालेको तर्फबाट अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न विल्कुलै तयार छैन । आजको कार्यसूचीबाट अर्थमन्त्रीको जवाफ हटाइयोस् । त्यसपछि मात्रै अरू मन्त्रालयहरूसँगको सम्बन्धित कुरामा बस्छौँ । छलफल गर्छौँ । सभामुखको आग्रह स्वीकार गर्छौँ । तर त्यसभन्दा अगाडि अर्थ मन्त्रालयको आजको सूचीबाट हटाउनका लागि सभामुखसँग गम्भीरताका साथ आग्रह गर्न चाहन्छु ।’ प्रमुख सचेतक भट्टराईले बैठकको ९ नम्बर सूचिमा रहेको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाए मात्रै बैठकमा भाग लिने बताए ।

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

पूर्वी नेपालका ६ जिल्लामा भारी वर्षा, अब पश्चिमतर्फ सर्दै

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार देशका विभिन्न जिल्लामा अति भारी वर्षा भएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १६ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको छ ।  महाशाखाका अनुसार कोशी प्रदेशको झापामा अति भारी वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ । इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ । झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । त्यस्तै पाल्पाको जाल्पा र अर्चलेमा समेत धेरै भारी वर्षा भएको छ । जाल्पामा पछिल्लो २४ घण्टामा १४८ र अर्चलेमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै मोरङ, सप्तरी र उदयपुरमा समेत पछिल्लो २४ घण्टामा धेरै वर्षा भएको छ । एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै २४ घण्टाको अवधिमा २ सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ । त्यसैगरी ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।

संस्कृत विश्वविद्यालयका ताला तीन महिनापछि खोलियो

दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुन्डीमा लागेका सबै ताला तीन महिनापछि खुलेका छन् । विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गर्दै आएकोमा बिहीबार सबै संगठनले ताला खोलेको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले जानकारी दिनुभयो ।  यसअघि विद्यार्थी संगठन र आंशिक प्राध्यापकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरूले यसअघि नै ताला खोले पनि विद्यार्थी संगठनहरूको बाँकी थियो । लामो वार्ता र छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएको शर्माले जानकारी दिनुभयो ।  विश्वविद्यालयको बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्ण रूपमा प्रभावित भएका थिए । तालाबन्दीका कारण असार २० मा मन्त्रिपरिषद्बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न पाएको थिएन ।

स्थानीय तह उपनिर्वाचनको  निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको  निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।  उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने आयोगले उल्लेख गरेको छ ।

लोकप्रिय