आतंकवाद नियन्त्रण र अल्पविकसित मुलुकका मुद्दा राख्न सुझाव

आतंकवाद नियन्त्रण र अल्पविकसित मुलुकका मुद्दा राख्न सुझाव

काठमाडौँ, भदौ ३० । नेपालले संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा जलवायु परिवर्तनका असर, आतंकवाद नियन्त्रण र अल्पविकसित तथा भू–परिवेष्ठित मुलुकका मुद्दालाई उठाउनुपर्ने कूटनीतिज्ञ तथा परराष्ट्रविद्हरूले सुझाव दिनुभएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउनु पर्ने विषयका बारेमा राससले राखेको जिज्ञासामा उहाँहरूले दिगो विकासका लक्ष्य हासिल गर्न विश्वको प्रयास, गरिबी उन्मूलन, आणविक हतियारमुक्त विश्व र अल्पविकसित मुलुकसँग सम्बन्धित साझा एजेण्डालाई बुद्धिमत्तापूर्ण तरिकाले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज ३ गते त्यसतर्फ जाने कार्यक्रम रहेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रसंघको महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई स्वीकृत गरिसकेको छ ।

नेपालका लागि संयुक्त राष्ट्रसंघका पूर्व स्थायी प्रतिनिधि डा जयराज आचार्यले आतंकवादविरुद्ध विश्व एकमत भएर लड्नुपर्ने, जलवायु परिवर्तनका असरबाट नेपालजस्ता मुलुकले भोग्नुपरेको समस्या, गरिबी निवारणमा विश्वको सामूहिक प्रभावकारी प्रयासलगायत विषयलाई नेपालले महासभामा प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो ।

अल्पसंख्यक आदिवासी÷जानजाति समुदायको विस्थापनको समस्या समाधानका लागि विश्वको ध्यान केन्द्रित हुनुपर्ने धारणा राख्दै कूटनीतिज्ञ आचार्यले भन्नुभयो, “आणविक हतियारमुक्त विश्वका लागि नेपालले जोडदाररुपमा कुरा उठाउनुपर्छ ।”

नेपालले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएपछि महासभामा निरन्तर सहभागिता जनाउँदै आएको छ । नेपालको तर्पmबाट प्रधानमन्त्रीको हैसियतले सबैभन्दा पहिले सन् १९६० को महासभालाई तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले सम्बोधन गर्नुभएको थियो ।

नेपालको परराष्ट्र नीति पञ्चशीलका सिद्धान्तमा सधैँ अटल रहेको नेपालले राष्ट्रसंघको आह्वानमा झण्डै छ दशकदेखि विश्व शान्ति स्थापना कार्यमा ४० भन्दा बढी मुलुकमा नेपाली सेना खटाएर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतका पूर्व राजदूत रहिसक्नुभएका डा सुरेश चालिसेले नेपालले एशिया तथा मध्यपूर्व एशिया क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाको शान्तिपूर्ण समाधानका लागि पहल गर्न विश्व समुदायलाई आग्रह गर्नुपर्ने बताउनुभयो ।

“यस क्षेत्रमा देखिएको हतियारको होडबाजी नेपालजस्ता साना मुलुकका लागि चिन्ताजनक अवस्था भएकाले यसमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउनुपर्छ”, परराष्ट्रविद् चालिसेले भन्नुभयो ।

उहाँले सन् २०२२ सम्म नेपालले अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकको स्तरमा पुग्न गरेको प्रयासमा प्राप्त भएका सफलताका बारेमा विश्व जगत्लाई जानकारी गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालले संविधानसभाबाट संविधान जारी गरी संविधानअनुसार स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न गर्नाका साथै संघीय प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनको मिति घोषणा गरी निर्वाचनको तयारीमा जुटेको अवस्थामा प्रधानमन्त्री देउवाको यो विदेश भ्रमण हुन लागेको हो ।

नेपालले संयुक्त राष्ट्रसंघअन्तर्गत अन्तर्राष्ट्रिय मानवाधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको सन्दर्भमा र यसअघिका ७०औँ र ७१औँ महासभामा नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमा भ्रमण नभएकाले प्रधानमन्त्री देउवाको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राष्ट्रसंघको सदस्य भएको नाताले नेपालले विश्वका विभिन्न भागमा घटेका घटना र नेपाल आफूले हासिल गरेका राजनीतिक सफलताका बारेमा विश्वलाई अवगत गराउनुपर्ने बताउनुभयो ।

परराष्ट्र सल्लाहकार भट्टराईले भन्नुभयो, “नेपालले संविधानसभाबाट संविधान जारी गरी कार्यान्वयनको प्रक्रियामा रहेको र यो प्रक्रियालाई समावेशीरुपमा कसरी अघि बढाइरहेको छ भन्ने सन्देश विश्वलाई दिनुपर्छ ।”

नेपालले सशस्त्र द्वन्द्वलाई वार्ता र संवादका माध्यमबाट शान्तिपूर्ण संवैधानिक प्रक्रियामा कसरी अवतरण गर्न सफल भयो र त्यसपछि हरेक क्षेत्रमा समावेशितालाई कसरी अगाडि बढाइरहेको छ भन्ने सन्देश विश्वका लागि प्रेरणादायी हुने उहाँको भनाइ छ ।

उहाँले राष्ट्रिय हितलाई सर्वाेपरि राखेर छिमेकीसँगको सम्बन्धलाई विश्वासमा आधारित बनाएर विश्व समुदायको सद्भाव, सहयोग र समर्थनबाटै मुलुकको विकास, गरिबी उन्मूलन आर्थिक समृद्धि पछौटेपन कसरी हटाउने भन्नेमा नेपालको परराष्ट्र नीति केन्द्रित रहेको बताउनुभयो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय