इन्धनको मूल्य बढाउने सरकारको बाध्यात्मक निर्णय : मन्त्री बडू

इन्धनको मूल्य बढाउने सरकारको बाध्यात्मक निर्णय : मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने सरकारको बाध्यात्मक निर्णय भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्यतामा पेरर मूल्य बढाउनुपरेको बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महंगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताए । मन्त्री बडूले सरकारले बढेर आएको मूल्यमा कर घटाएर १० रुपैयाँ मूल्य कम गरेको स्मरण गराए ।

मन्त्री बडूले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताउए। सरकारले तत्कालको लागि १० रुपैयाँ भन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर गरे ।

मन्त्री बडूले असार २ गते आएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा पुगेको बताए । सरकारले १० रुपैयाँ घटाएर १९९ रुपैयाँ कायम गरिएको उनको भनाइ छ ।

मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको बताए। आयल निगमलाई अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको दाबी गरे ।

उद्योगमन्त्री बडूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशभित्र भएका उद्योगको क्षमता विकास र रुग्ण उद्योग सञ्चालन गर्ने गरी आएको दाबी गरे। उनले अहिले नेपालमा भएका राष्ट्रिय उद्योगहरु ७० प्रतिशत भन्दा बढी क्षमता चल्न नसकेको अवस्था रहेको बताए ।

मन्त्री बडूले भएका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आएमात्रै राष्ट्रिय उत्पादन बढ्ने बताए । उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन भएमा समस्या र उद्योगीको मागलाई सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

सरकारको नीति तथा कार्यक्रम अनुसार नयाँ चालु आर्थिक वर्ष लागेको एक महिनाभित्र नै रुग्ण उद्योग सञ्चालन मोडालिटि ल्याउने तयारी भइरहेको बताए ।

उद्योग मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले चिनी उद्योगको संरक्षण गर्ने नाममा भन्सार दर बढाउँदा बजारमा मूल्यवृद्धि भएको दाबी गरे। देशमा भएका चिनी उद्योगको उत्पादनले माग धान्न नसक्ने अवस्था भएको बताउँदै उनले अहिले ४० प्रतिशत भन्सार कर लगाइएको बताए ।

सचिव पाण्डेले मूल्यवृद्धि कम गर्नको लागि सरकार आफैँले चिनी आयात गरेर बजारमा उपभोक्ता माग पु¥याउनु पर्ने आवश्यकता रहेको बताए ।

सचिव पाण्डेले सरकारले किसानहरुलाई सहज रूपमा जनतालाई मल उपलब्ध गराउने प्रयास गरिरहेको बताए । उनले त्यसको लागि भारत सरकारसँग कुराकानी भएको र भारत नेपाललाई चाहिने मल दिन तयार भएको बताए ।

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

पूर्वी नेपालका ६ जिल्लामा भारी वर्षा, अब पश्चिमतर्फ सर्दै

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार देशका विभिन्न जिल्लामा अति भारी वर्षा भएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १६ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको छ ।  महाशाखाका अनुसार कोशी प्रदेशको झापामा अति भारी वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ । इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ । झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । त्यस्तै पाल्पाको जाल्पा र अर्चलेमा समेत धेरै भारी वर्षा भएको छ । जाल्पामा पछिल्लो २४ घण्टामा १४८ र अर्चलेमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै मोरङ, सप्तरी र उदयपुरमा समेत पछिल्लो २४ घण्टामा धेरै वर्षा भएको छ । एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै २४ घण्टाको अवधिमा २ सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ । त्यसैगरी ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।

संस्कृत विश्वविद्यालयका ताला तीन महिनापछि खोलियो

दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुन्डीमा लागेका सबै ताला तीन महिनापछि खुलेका छन् । विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गर्दै आएकोमा बिहीबार सबै संगठनले ताला खोलेको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले जानकारी दिनुभयो ।  यसअघि विद्यार्थी संगठन र आंशिक प्राध्यापकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरूले यसअघि नै ताला खोले पनि विद्यार्थी संगठनहरूको बाँकी थियो । लामो वार्ता र छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएको शर्माले जानकारी दिनुभयो ।  विश्वविद्यालयको बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्ण रूपमा प्रभावित भएका थिए । तालाबन्दीका कारण असार २० मा मन्त्रिपरिषद्बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न पाएको थिएन ।

स्थानीय तह उपनिर्वाचनको  निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको  निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।  उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने आयोगले उल्लेख गरेको छ ।

लोकप्रिय