उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव; विश्वविद्यालयमा उपकुलपति व्यवस्था खारेज गर

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव; विश्वविद्यालयमा उपकुलपति व्यवस्था खारेज गर

काठमाडौँ, पुस ७ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विश्वविद्यालयहरूमा विद्यमान पदाधिकारीको व्यवस्था खारेज गरेर नयाँ व्यवस्था गर्न सुझाव दिएको छ । आयोगले विश्वविद्यालयमा कुलपति, सहकुलपति र उपकुलपतीय पद्धति खारेज गर्न सिफारिस गरेको हो ।

आयोगले विश्वविद्यालयहरूमा पदाधिकारीदेखि कर्मचारी नियुक्ति राजनीतिक भागबन्डामा हुने गरेको भन्दै खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सरकारलाई सुझाव दिएको छ ।

आयोगले कुलपति, उपकुलपतिको सट्टा प्राज्ञिकमध्येबाट विश्वविद्यालयको ‘प्रेसिडेन्ट’ छनोट गर्नुपर्ने सुझाव पनि दिएको छ ।

‘खुला प्रतिस्पर्धाको माध्यममा कन्ट्रयाक्टमा आधारित छनोट प्रक्रियामार्फत प्राज्ञिकहरूमध्येबाट विश्वविद्यालयको प्रेसिडेन्ट छनोट गर्नुपर्छ,’ आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । अधिकारसम्पन्न प्रेसिडेन्टले रजिस्ट्रार नियुक्त गर्ने र प्रतिस्पर्धाका आधारमा डिन, डाइरेक्टर, विभाग प्रमुख, क्याम्पस प्रमुख आदि नियुक्ति गर्नुपर्ने सुझाव दिइएको हो ।

उच्च शिक्षाका शिक्षण संस्थाहरूलाई सञ्चालन र व्यवस्थापन गर्न अविलम्ब उच्च शिक्षा ऐन तर्जुमा गर्न आवश्यक रहेको आयोगको ठहर छ । विद्यमान व्यवस्थामा विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्थालाई लाई खारेज गर्दै संघीय विश्वविद्यालयहरूको संरक्षक प्रधानमन्त्री र प्रदेश विश्वविद्यालयहरूको संरक्षक मुख्यमन्त्री रहने व्यवस्था गर्न भनिएको छ ।

हालसम्म सरकारले उपकुलपतिलगायत पदाधिकारी नियुक्ति गर्दै आएको छ । यसरी नियुक्त हुँदा योग्यभन्दा राजनीतिक पहुँचका आधारमा पदाधिकारी नियुक्त हुने गरेको आरोप लाग्दै आएको छ ।

छनौटको एउटै मापदण्ड

प्रतिवेदनले प्राध्यापक र कर्मचारी छनोट गर्न एउटै विश्वविद्यालय सेवा आयोग बनाउने प्रस्ताव गरिएको छ । सेवा आयोगले प्राध्यापक र कर्मचारी छनोट गर्न हरेक वर्ष अनिवार्य विज्ञापन खुलाउनुपर्नेछ । प्रतिवेदनमा करारमा शिक्षक र प्राध्यापक नियुक्ति गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव समेत दिइएको हो ।

मन्त्रिपरिषद्बाट गठित शिक्षा आयोगका अध्यक्ष एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरूमा शैक्षिक सुशासन आवश्यक रहेको बताए । ‘विश्वविद्यालयहरूको मापदण्ड तोकेर अनुदान आयोगलाई पुन:संरचना गर्न जरुरी छ,’ उनले भने । अनुदान आयोगलाई उच्च शिक्षा आयोगमा रूपान्तरण गर्नुपर्ने सुझाव दिइएको हो ।

आयोगमा बोर्ड अफ डिरेक्टर रहनेछ । जसमा ६० प्रतिशत पदाधिकारी ख्याति प्राप्त प्राज्ञमध्येबाट खुला प्रतिस्पर्धामा र ४० प्रतिशत सरकारले नियुक्ति दिने संरचना निर्माण गर्न भनिएको छ । बोर्ड मातहतमा कार्यकारी बोर्ड रहने व्यवस्था गर्न र त्यसका पदाधिकारी खुला प्रतिस्पर्धाबाटै छनोट गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रादेशिक सम्बद्धता

उक्त आयोगको काम उच्च शिक्षाका संस्थाहरूको अनुगमन, मूल्यांकन, नियमन गर्ने र मापदण्ड तयार गर्ने रहनेछ । मापदण्ड पूरा नगरेका र थोरै विद्यार्थी भएका विश्वविद्यालय र क्याम्पसलाई गाभ्ने र खारेज गर्ने अन्तिम अधिकार पनि सोही आयोगलाई हुने सुझाव प्रस्ताव गरिएको हो ।

उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्था र विश्वविद्यालयहरूलाई भौगोलिक क्षेत्र र विषयका आधारमा वर्गीकरण गर्नुपर्नेमा आयोगले जोड दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘जुन प्रदेशमा जुन विश्वविद्यालयको केन्द्रीय कार्यालय र क्याम्पस छ, त्यही प्रदेशसँग सम्बद्ध हुने गरी वर्गीकरण उपयुक्त हुन्छ ।’

जथाभावी सम्बन्धनमा नियन्त्रण

उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय, अध्ययन प्रतिष्ठान, कलेजहरू अनुसन्धान र अन्वेषणको केन्द्र हुनुपर्ने आयोगको ठम्याइ छ । त्यसका लागि राष्ट्रिय अनुसन्धान कोष स्थापना गर्नुपर्नेमा जोड दिइएको छ । कोषको व्यवस्थापन उच्च शिक्षा आयोगले गर्नेछ ।

देशभर हाल ११ वटा विश्वविद्यालय सञ्चालित छन् । आंगिकभन्दा सम्बन्धन प्राप्त निजी कलेज बढी छन् । मुलुकभरका १ हजार ४ सय ७ कलेजमध्ये ९८ वटा आंगिक, ५ सय ३२ सामुदायिक र ७ सय ७७ निजी छन् । अब खुल्ने र खुलिसकेका विश्वविद्यालयले पनि सम्बन्धन नदिने नीति अख्तियार गर्नुपर्ने सुझाव छ । सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयलाई वर्गीकरण गर्नुपर्ने आयोगको सुझाव छ ।

शिक्षाको २५ वर्षे दूरदृष्टिसहित आयोगले प्रतिवेदन तयार पारेको हो । संघीय संरचनाको शिक्षा नीति तय गर्न आयोगले प्रतिवेदन तयार पारेको शिक्षा सचिव खगराज बरालले बताए । जसमा ५ वर्षभित्र उच्च शिक्षामा विद्यार्थीको भर्नादर २५ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ ।

अहिले उच्च शिक्षाको भर्नादर करिब १३ प्रतिशत मात्रै छ । प्राविधिक धारतर्फको २० प्रतिशत भर्नादरलाई बढाएर ५ वर्षभित्र ३० प्रतिशत पुर्‍याउने नीति लिन सरकारलाई सुझाव दिइएको छ । आयोगले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरूलाई कडाइ गर्नुपर्ने जनाएको छ ।

विदेशी विश्वविद्यालयहरूमाथि नियन्त्रण

अन्तर्राष्ट्रिय मानकमा उत्कृष्ट ५ सयभित्र पर्ने विश्वविद्यालयले मात्र नेपालमा क्याम्पस सञ्चालन गर्न स्वीकृति पाउने व्यवस्था गर्न प्रतिवेदनमा भनिएको छ । त्यसभन्दा तल्लोस्तरका हाल नेपालमा सञ्चालित कलेजहरूलाई ५ वर्षको समयावधि दिने नीति लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसरी सञ्चालन हुने कलेजले एउटा मात्रै विश्वविद्यालयबाट सम्बन्धन लिन पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

प्राध्यापकको राजनैतिक आबद्धतामाथि रोकको प्रस्ताव

आयोगले विश्वविद्यालयका प्राध्यापकको शैक्षिक योग्यता पनि प्रस्ताव गरेको छ । उपप्राध्यापक र सहप्राध्यापक हुन न्यूनतम एमफिल र पीएचडी हुनुपर्ने भनिएको छ । स्थायी सेवामा प्रवेश गरेका प्राध्यापकलेआफ्नो क्याम्पसभन्दा अन्यत्र अध्यापन गर्न नपाउने व्यवस्था गर्न जोड दिइएको छ ।

प्राध्यापकहरूले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र दलनिकटका प्राध्यापक संगठन खारेज गरी साझा संघ गठन गर्नुपर्ने सुझाव छ । आयोगले विद्यार्थी भर्ना, परीक्षा र मूल्यांकन प्रणाली सुधार गर्नुपर्ने औंल्याएको छ । कम्तीमा ७५ प्रतिशत हाजिर भएका विद्यार्थी मात्रै परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्न भनिएको छ ।

विश्वविद्यालयले विषयगत रूपमा एउटै प्रवेश परीक्षा लिनुपर्ने र उक्त परीक्षा उत्तीर्ण भएकाले मात्र उच्च शिक्षा पढ्न पाउने प्रबन्ध गर्न सुझाव छ । २४ सदस्यीय आयोगले राजधानीमा राष्ट्रिय सम्मेलन गरेर प्रतिवेदनमाथि सरोकारवालासँग छलफल थालेको हो ।

पूर्वशिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा गठित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनलाई पनि अहिलेको नीति र प्रतिवेदनमा समेटिएको बरालले जानकारी दिए । कान्तिपुर

जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै

काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ ।  यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ ।   कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ ।  ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ ।  काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ ।  खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो।  विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।  अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

लोकप्रिय