एमडीएमएस प्रणाली आजदेखि लागु हुने, आईएमईआई नम्बर दर्ता नभएका फोनहरू ब्लक गरिने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आज (कात्तिक २० गते) करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा आईएमईआई नम्बर दर्ता नभएका महँगा फोनहरू प्राधिकरणले दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने भएको हो ।
भन्सार पास भएर आउने सबै फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउने व्यक्तिले बोक्ने र ल्याउने फोनको आईएमईआई नम्बर पनि निःशुल्क दर्ता गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।
यसबाहेक कालोबजारीबाट भित्रिएका फोनहरु मात्रै एमडीएमएसमा दर्ता नहुने भएको भन्दै प्राधिकरणले त्यस्ता फोनमाथि प्रतिबन्ध लगाउने भएको हो ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आज ८०० भन्दा बढी ‘हाई रेन्जका–महँगा’ फोन प्रतिबन्ध गरिने बताएका छन् । बाह्रखरीसँग उनले भने, “नियमित रुपमा एमडीएमएसमा दर्ता नभएका फोनहरुमा दूरसञ्चार सेवा अवरुद्ध गर्छौं । हामीले टेक्नोलोजी र मूल्यअनुसार हेरिरहेका छौँ । सोमबार हाई रेन्जका ८०० भन्दा बढी फोन ब्लक हुन्छन् ।”
उनले त्यसपछि दर्ता नभएका अन्य फोनहरु दैनिक रुपमा प्रतिबन्ध गरिने बताए । नेटवर्क अपरेटर र पूरै नेटवर्कको सिस्टममै काम गर्नुपर्ने भएका कारण ‘पिक आवर’बाहेकका समयमा ती फोन प्रतिबन्ध गरिने उनले बताएका छन् । उनले भने, “सोमबार पिक आवरभन्दा अघिपछि कतिबेला हुन्छ, हेरेर हामीले ती फोन प्रतिबन्ध गर्छौं ।”
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।