ओली युगको अन्त्य : पाठक आन्दोलनको भ्रुण

ओली युगको अन्त्य : पाठक आन्दोलनको भ्रुण

भवानी बराल । आन्दोलनको विषय प्रवेश गराउने पहिलो माध्यम निर्वाचन हो । आन्दोलनको आयतन र जनताको चेतन यहिँबाट मापन हुन्छ । पञ्चायत विरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाइ उपयोग गरेबाट यसको सार्थक अभ्यास भएको थियो ।

पञ्चायतको भण्डाफोर गरेको केही वर्षमै पञ्चायतको पतन भयो । यसरी नै संसदीय व्यवस्था भण्डाफोर गरेको एक कार्यकाल पछि नै नेपालमा जनयुद्धको थालनी भयो । निर्वाचनका समयमा बैचारिक मुद्धाहरु सतहमा ल्याउनु पर्छ । निर्वाचन मुद्धामय बन्न सकेन भने निर्वाचनका अन्य प्राविधिक कुराले घर गर्छ । यस्तो मुद्धाहीन निर्वाचनले देश र जनतालाइ फाइदा गर्दैन । यस्तै काममा यतिखेर लेखक, पत्रकार र सामाजिक अभियानकर्ता युग पाठक झापा क्षेत्र नं ५ को निर्वाचनमा हेलिएका छन् । निर्वाचन परिणामको गणित कोट्याएर मात्र आजको वैश्विक समस्या हल हुँदैन । तथाकथित नश्लीय राष्ट्रवाद अहिलेको समाजको आवश्यकता हैन । परिवर्तनका लागि आफ्नो विवेक प्रयोग गर्नु पर्छ । आजको युग नयाँ विचारको खोजी हो ।

ओजुलेसनको मर्म 
प्रान्सिस फुकुयामाले इतिहासको अन्त्य लेखे तर, इतिहासको अन्त्य भएन । केहीले भाषाको अन्त्य वा विचारको अन्त्य भनेर लेखे त्यो पनि भएन । अन्त्य न इतिहासको भएको छ न भाषा, विचारको । यसको अतिरिक्त नयाँ दर्शन विचारको अभाव भएको भने खड्किएको विषय हो । विचारमा खिया लागेको शब्दावली केहि समयदेखि सुनिँदै आएको हो । परम्परागत दर्शन र विचारहरु युगीन नेतृत्व गर्न अक्षम भएको वर्षौंं वित्यो । वैज्ञानिक विचारहरु पनि परिमार्जन हुन नसक्ता तीनको उपयोगितामा प्रश्नहरु उठ्न थालेका छन । उदारवाद मात्र हैन माक्र्सवाद वा मालेमावादमा पनि प्रश्नहरु उठेका छन् । माक्र्सवाद, लेनिनवाद हुँदै माओवादमा आएर मालेमावाद टक्क अडिएको छ । एउटा काल्पनिक युटोपिया जिवन मानव समाज अभिसप्त छ । र, आजको विश्व समाजको नेतृत्व गर्न यो वैचारिक धारमा बगे्रल्ती प्रश्नहरु उठेका छन् । प्रश्नहरु भने उत्तरित छैनन् । यहिँनेर आएर नयाँ दर्शन र विचारको आवश्यकता भएको हो भन्ने बहसले विमर्स खोजेको छ । त्यो विमर्स युग पाठकले ‘ओजुलेसन मुभमेण्ट’ अर्थात उत्स्रवण आन्दोलनको नाममा सार्वजनिक गरेका छन् ।

केहि वर्ष अगाडिदेखि विश्व अर्थ राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ शब्दको खुबै प्रयोग हुँदै आएको छ । यो शब्दलाई नेपाली भाषामा लगभग ‘प्रतिमान परिवर्तन’ भन्ने अर्थ लगाउँदा हुन्छ । प्रतियोगितात्मक काम कार्वाहीहरुमा नमूनाको रुपमा कायम गरिएको माथिल्लो स्तरको दृष्टान्त नै प्रतिमान परिवर्तन हो । प्रख्यात लेखक थमस कुहनले आफ्नो पुस्तक ‘स्टक्चर अफ साइण्टिफिक रिभुलेसन’मा प्याराडायमको व्यापक चर्चा गरेका छन् । कुहनले प्याराडाइमलाइ विज्ञानसम्मत विश्वास र मान्यताको प्रणाली भनेर वर्णन गरेका छन् ।

प्याराडाइम सिफ्टको अर्थ 
पाठकले अगाडि सारेको उत्स्रवण आन्दोलन पनि प्याराडाइम सिफ्टको मान्यतामा आधारित देखिन्छ । उत्स्रवण शब्द उत्थान शब्दसंग धेरै अर्थमा समानता राख्छ । उत्थान अंग्रेजी भाषाको ‘अपवेलिङ’ शब्द समान हो । उत्थान कुनै निम्न स्थानबाट उच्चस्तरमा पुग्ने अवस्था वा भाव, समृद्ध स्थिति, उन्नति, अभिवृद्धि हो । कुनै नौतुन कामको प्रारम्भ वा थालनी, उठान, उठ्ने वा उभिने कामलाई उत्थान भनिन्छ ।
यसअर्थमा उत्स्रवण आन्दोलन नै आजको उत्थान आन्दोलन हो । विचारलाई उठाउने आन्दोलन हो । विचारलाई पतन गराउने कतै होइन । अंग्रेजी शब्द ‘अपवेलिङ’ले आमूल परिवर्तन वा सफाइको अर्थ राख्छ संगसंगै उत्थानको । यसरी उत्स्रवण आन्दोलनको सरल नाम उत्थान आन्दोलन हुनुपर्छ । प्रतिमान परिवर्तन गर्ने नयाँ आन्दोलन जुन आन्दोलनले आजसम्म भए गरेका प्रतिमानको परिवर्तन गर्छ । विश्व राजनीतिलाइ नयाँ स्थानमा दिशाबोध गराउँछ ।

प्रशिद्ध लेखक जेरेमी रिपिकनका पुस्तकहरु ‘कामको अन्त्य’, ‘तेस्रो औधोगिक क्रान्ति’, पछि लेखिएको ‘शून्य सिमान्त लागतमा आधारित सहयोगी समाज’ २०१४मा आजको पुँजीवादको अन्त्य सन्निकट भएको तर्क गरिएको छ । तर, यो पुँजीवादको अन्त्यपछि आउने दार्शनिक धारको बहस गर्न नकार गर्नु पर्ने अर्थ छैन । यसकारण युरो औपनिवेशीक धारको अन्त्य अमेरिकी लेखकले गर्नु यहिँनेर आएर उत्स्रवण आन्दोलनले उठाउन खोजेको अर्थमा लिन सकिन्छ ।

ओजुलेसनको प्रस्तावना 
उत्स्रवण आन्दोलनको केहि प्रस्तावनाहरु छन् । युरो औपनिवेशिक दार्शनिक तथा वैचारिक व्युह रचनाकै वरिपरी आजसम्म विश्व घुम्यो । तर पाँचसय वर्ष अगाडि रचना गरिएको वैचारिक व्युह रचनाले के दियो ? राजनैतिक तनाव, घोर दक्षिणपन्थको उदय र कुनैपनि प्रकारको राजनैतिक समाधान दिन सकेन । केवल गोलचक्करमा फसाई रह्यो । प्रत्यक्ष उपनिवेश कायम गर्ने विषय त इतिहासमा देखिएकै हो । यसबीच औधोगिक क्रान्तिलाई छोड्ने हो भने पहिलो, दोस्रो र शित युद्धलगायत अनेकान घरेलु युद्धमा विश्वलाइ हेलाइ रह्यो । अहिले पनि यो व्युह रचनाले युद्धबाट मात्र राजनैतिक समाधान खोजिरहेको छ । जुन कुरा विचारधारात्मक हुँदै होइन । यहिँबाट अगाडि जाने प्रस्थान बिन्दू खोज्ने यसको पहिलो प्रस्तावना हो ।

युरो औपनिवेशिक व्युह रचनाले समाज, देश, बजार, व्यक्तित्व र मस्तिष्कमा औपनिवेशिक विचार थोप¥यो । दुइ विश्व दृष्टिकोण उदारवाद हुन वा माक्र्सवाद युरोपकै वैचारिक धार हुन । यि दुई धाराले विश्वलाई यहाँसम्म ल्यायो । तर, उदारवाद र माक्र्सवादी वैचारिक धारबाट अवको राजनैतिक संकट समाधान हुँदैन । या त माक्र्सवादमा नयाँ वैचारकि प्रस्तावना थप्न जरुरी छ । नयाँ विचारको निर्माण जरुरी भएको छ । माक्र्सवाद र उदारवाद युरो औपनिवेशिक धाराबाट अगाडि बढ्न नसकेको ठहर यो प्रस्तावनाको अर्को महत्वपूर्ण अवधारणा हो ।
जेरेमी रिपिकनले लेखेका छन, ‘सञ्चारविना हामी आर्थिक गतिविधि व्यवस्थापन गर्न सक्दैनौं । उर्जाविना हामी सूचना उत्पादन वा विजुली प्रशारण गर्न सक्दैनौ । रसदविना हामी मूल्य श्रृङ्खलामा आर्थिक गतिविधि निर्माण गर्न सक्दैनौ । यी तीन अपरेटिक प्रणालीहरुले एकसाथ नयाँ आर्थिक जीवनको संरचना निर्माण गर्दछ ।’ रिपिकनको यो भविष्यवाणीको पछाडिको तर्कमा बहस केन्द्रित भैरहेको छैन । यसर्थ अहिले वैचारिक राजनैतिक स्खलन सुरु भएको छ । यसर्थ राजनैतिक दलहरुसंग कुनै राजनैतिक मुद्धा छैन । छ त केवल चुनावदेखि चुनावसम्म, भोटदेखि भोटसम्म एउटा गोलचक्करमात्र छ ।

दुई विश्व दृष्टिकोणहरु माक्र्सवाद वा उदारवाद औपनिवेशीक कालखण्डको वैचारिक अवधारणा हुन । आन्दोलनका प्रस्तावक युग पाठकका अनुसार आजको पुँजीवाद उपनिवेशकालमा निर्माण भएको हो । यसर्थ यसको ‘डिएनए’ मै मान्छे समाजलाइ उपनिवेशिक मान्यता थोपर्ने हो । उनकै अनुसार यो पुँजीवाद शुद्ध पुँजीवादमात्र हैन ‘भाइसराय’ पुँजीवाद हो । अर्थात बेलायती औपनिवेशीक निगम ‘इष्ट इण्डिया कम्पनी’ले निर्यात गरेको अर्थ राजनीतिमा संकेन्द्रित छ आजको विचारधारा । यस्तो चिन्तनको अन्त्य गर्न आ–आफ्नो प्रांगारिक (अग्र्यानिक) आत्मनिर्भरतासहीतको राष्ट्रिय पुँजी निर्माण गर्ने हो । पर निर्भर अर्थतन्त्रको अन्त्य गर्ने हो । अर्थात औपनिवेशिक भाइसराय पुँजीवादको ठाउँमा नयाँ अर्थतन्त्रको विकास गर्ने । यसरी तेस्रो प्रस्तावना उपनिवेशकारी चिन्तन परम्पराबाट मुक्त हुने हो । यो आन्दोलनको वास्तविकता आजसम्मका मान्यताहरुको परिमार्जन हो ।

रहलपहल 
उत्स्रवण आन्दोलनको निश्कर्ष मानव संसार दर्शनको संकटमा परेको छ भन्ने हो । विश्व राजनैतिक रंगमञ्चका दुई विश्व दृष्टिकोण दार्शनिक प्रणालीहरु समस्या समाधान गर्न अक्षम भए । विश्व राजनीति दार्शनिक संकटमा गुजुल्टिएको छ । पाठकको घोषणापत्र अनुसार ‘पाँचसय वर्ष अगाडि रचना भएको यो राजनैतिक व्युहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविश्कार त ग¥यो तर साथसाथै मानव समाजलाइ अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्युहमा फँसाइ पनि दियो । अनि प्रकृतिको सन्तुलन नै खल्बल्याइदियो ।’

(लेखक बराललाई [email protected]मा सुझाब सल्लाह दिन सकिन्छ )

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका थिए भने अन्यले सम्मान र प्रमाणपत्र पाएका थिए। वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो । ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको थियो ।

क्यानडाविरुद्धकाे जीतमा नेपालका अनिल र भीमको कीर्तिमानी साझेदारी र दुबैको शतक

काठमाडौं, २९ माघ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।तर तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पुरा गरे । अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यो जित सँगै नेपालले तीन वटै खेल जितेर प्रतियोगितामा क्यानडा विरुद्ध क्लिन स्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोडेको थियो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए। विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। ४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १(१ विकेट लिए। फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग–२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब भएको बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताएका हुन् । “म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे । यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।” पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।” उनले राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सोनाम ल्होछार–२८६० को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो । नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् । सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् । नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो । हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ । संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ । नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ । राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन । त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ । पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ । मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् । अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

लोकप्रिय