कति पढेका छन् हाम्रा नेता र मन्त्रीले ?

कति पढेका छन् हाम्रा नेता र मन्त्रीले ?
एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ । डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको टिप्पणीसमेत हुने गरेको छ । त्यहीमाथि अहिले इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद् गठन भएको छ । यही सन्दर्भमा वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको शैक्षिक योग्यता खोतलिएकाे छ ।

पिएचडी गरेका एक्ला मन्त्री – डा. गोपाल दहित
५४ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्र पिएचडी गरेका मन्त्री छन् । भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले कानुन र संस्कृतिमा विद्यावारिधि (पिएचडी) गरेका छन् । साथै, उनले व्यवस्थापनमा स्नातकोत्तरसमेत गरेका छन् । वर्तमान मन्त्रिपरिषद्मा पिएचडी गर्ने उनी एक्ला मन्त्री हुन् । दहित नेपाल लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन् ।

डबल डिग्री गरेका दुईजना
मन्त्रिमण्डलमा दुईजनाले दोहोरो स्नातकोत्तर गरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा एमए गरेका छन् । त्यस्तै वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राजनीतिशास्त्र र अंग्रेजीमा एमए तथा कानुनमा स्नातक गरेका छन् ।

तस्विर: नयाँ पत्रिकाबाट

प्रधानमन्त्री एमए पास
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै एमए गरेका हुन् ।

    • अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
    • रक्षामन्त्री भीमसेनदास प्रधानले रसायनशास्त्रमा एमएस्सी गरेका छन् ।
    • भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले गणित विषयमा एमए गरेका छन् ।
    • स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कानुनमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक गरेका छन् ।
    • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक पनि सकाएका छन् ।
    • खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले विज्ञान (गणित)मा स्नातकोत्तर गरेका छन् ।
तस्विर: नयाँ पत्रिकाबाट
    • युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी अर्थशास्त्रका स्नातकोत्तर हुन् ।
    • भर्खरै राप्रपा (प्रजातान्त्रिक)को कोटाबाट उद्योगमन्त्री बनेका सुनीलबहादुर थापाले अमेरिकाबाट एमए गरेका छन् । उनले जनप्रशासन विषयको डिग्री हासिल गरेका हुन् ।
    • भौतिक योजना तथा यातायात राज्यमन्त्री सीता गुरुङ राजनीतिशास्त्रकी स्नातकोत्तर हुन् ।
    • शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिशास्त्रमा एमए गरेका छन् ।
    • वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द वाणिज्यशास्त्रका स्नातकोत्तर हुन् ।
तस्विर: नयाँ पत्रिकाबाट
  • अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अमेरिकाबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमए गरेका छन् । उनी इतिहास विषयका स्नातक पनि हुन् ।
  • युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले व्यवस्थापनमा एमए गरेका छन् । त्यस्तै, उनले शिक्षाशास्त्रमा स्नातक पनि गरेका छन् ।
  • संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विज्ञान (गणित) विषयमा एमए गरेका छन् ।
  • महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसेनले वाणिज्यशास्त्रमा एमए गरेका छन् ।
  • स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले समाजशास्त्रमा एमए गरेका छन् । साथै, उनले कानुनमा समेत स्नातक गरेका छन् ।
  • गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

बिए गरेका मन्त्रीहरु

  • उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शिक्षाशास्त्रमा स्नातक गरेका छन् ।
  • उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले इतिहास विषयमा बिए पास गरेका छन् ।
  • उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् ।
  • गृहमन्त्री जनार्दन शर्माले शिक्षा संकायमा स्नातक गरेका छन् ।
  • विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।
  • सहरी विकासमन्त्री प्रभु साह कानुनका स्नातक हुन् ।
  • सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत अर्थशास्त्रकी स्नातक हुन् ।
  • कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा राजनीतिशास्त्रका स्नातक हुन् ।
  • सिँचाइमन्त्री सञ्जयकुमार गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् ।
  • सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले व्यवस्थापन र भेटेरेनरी जेटिए दुवैमा स्नातक गरेका छन् ।
  • महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले शिक्षाशास्त्रमा स्नातक गरेकी छिन् ।
  • वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले मानविकीमा बिएसम्म पढेका छन् ।
  • कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले मानविकी (अर्थशास्त्र र इतिहास)मा स्नातक गरेकी छिन् ।
  • खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकगद्दीले पनि मानविकीमा स्नातक गरेका छन् ।
  • श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले स्नातकसम्म अध्ययन गरेका छन् ।
  • भूसंरक्षण तथा व्यवस्थापन राज्यमन्त्री यशोदाकुमारी लामा राजनीतिशास्त्रकी स्नातक हुन् ।
  • ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठ व्यवस्थापन विषयका स्नातक हुन् ।
  • उद्योग राज्यमन्त्री रेसम लामाले व्यवस्थापन विषयमा स्नातक गरेका छन् ।

आइए पढेका मन्त्रीहरु

  • आपूर्तिमन्त्री शिवकुमार मण्डलले मानविकी संकायमा आइए गरेका छन् ।
  • पशुपक्षी विकासमन्त्री सन्तकुमार थारूले पनि आइसम्म अध्यययन गरेका छन् ।
  • जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले आइसम्म पढेकी छिन् ।
  • सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले मानविकीमा आइएसम्म पढेका छन् ।
  • पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले अर्थशास्त्र विषयमा आइएसम्म पढेकी छिन् ।

एसएलसी मात्र गरेका

  • श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले एसएलसीसम्म मात्र पढेका छन् ।
  • ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि एसएलसीभन्दा बढी पढेका छैनन् ।
  • कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले एसएलसीसम्म पढेका छन् ।
  • सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले एसएलसीभन्दा बढी पढेकी छैनन् ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीको शैक्षिक योग्यता पनि एसएलसीसम्म मात्र छ ।
  • आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको एसएलसीसम्मको मात्र शैक्षिक योग्यता छ ।
  • सामान्य प्रशासन राज्यमन्त्री ओङ्दी शेर्पा पनि एसएलसीवाला हुन् ।

अन्डर एसएलसीवाला/स्वअध्ययनवाला

  • गोरखा क्षेत्र नं.–३ बाट माओवादी केन्द्रबाट निर्वाचित सांसद भएर हाल सामान्य प्रशासन राज्यमन्त्री भएका छमबहादुर गुरुङले १० कक्षासम्म मात्र अध्ययन गरेका छन् ।
  • कांग्रेसबाट सिँचाइ राज्यमन्त्री बनेका अमरसिंह पुनले आफूले हाइस्कुलसम्म पढेको बताए । रोल्पाका सांसदसमेत रहेका उनले समाजशास्त्र र राजनीतिशास्त्र स्वअध्ययन गरेको बताएका छन् ।

यी हुन् विदेश पढेका नेता

शेरबहादुर देउवा : हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै विदेशमा अध्ययन गरेका नेता हुन् । ०४५/४६ सालमा अध्ययनका लागि उनी बेलायतको लन्डन गएका थिए । कांग्रेसका एक नेताका अनुसार उनी पार्टीको सिफारिसमा त्यहाँ गएका हुन् । लन्डन स्कुल्स् अफ इकोनोमिक्सको स्कलरसिप पाएका उनी अर्थशास्त्र पढ्न भनेर त्यहाँ पुगेका थिए । पोस्ट ग्य्राजुएट गर्न गएका उनी पढ्न नसकेर फर्किएको स्रोतको दाबी छ । विदेशी कलेजमा असफल भए पनि देउवाले नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक भने गरेका छन् ।
डा. रामशरण महत : पटक–पटक अर्थमन्त्री भएका डा. रामशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य महत त्यसकारण अर्थशास्त्रका ज्ञाता मानिन्छन् । उनी पनि पार्टीले मिलाएको छात्रवृत्तिमा अमेरिका पढ्न गएका थिए । उनलाई गिरिजाप्रसाद कोइरालाले पढ्न पठाएका थिए ।

डा. प्रकाशशरण महत : पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनलाई प्रधानमन्त्री देउवाले स्कलरसिप मिलाएका थिए ।

महेश आचार्य : पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले जर्मनीबाट अर्थशास्त्रमा एमए गरेका छन् ।

डा. मीनेन्द्र रिजाल : कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले अमेरिकामा पढेका हुन् । पार्टीले स्कलरसिप मिलाइदिएपछि त्यहाँ पुगेका उनले तथ्यांकशास्त्रमा पिएचडी गरे ।

रामबहादुर थापा : माओवादी केन्द्रका नेता रामबहादुर थापा रसिया पढ्न गएका थिए । इन्जिनियरिङ (बिई) पढ्न भनेर गएका उनी पढ्न नसकेर फर्किएको स्रोत बताउँछ ।

पशुपतिशमशेर राणा : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका ग्य्राजुएट हुन् । उनले त्यहाँ साइन्समा ग्य्राजुएसन गरेका थिए । उनले आइएस्सी पनि अक्सफोर्डबाटै गरेका हुन् ।

डा. प्रकाशचन्द्र लोहनी : राप्रपा (राष्ट्रवादी)का संयोजक डा. प्रकाशचन्द्र लोहनीले अमेरिकाको क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनी विद्यार्थीकालमा निकै ट्यालेन्ट थिए ।

डा. आरजु राणा देउवा : प्रधानमन्त्रीपत्नी एवं सांसद आरजु राणा देउवाले अमेरिकामा पढेकी हुन् । उनले साइक्लोजीमा पिएचडी गरेकी छिन् ।

डा. नारायण खड्का : कांग्रेस नेता डा. नारायण खड्काले क्यानडाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनीसँग क्यानडाको पिआर पनि भएको बताइन्छ । क्यानडाको पिआर भएकै कारण उनलाई चीनले राजदूत हुनबाट रोकेको थियो । सन् १९८९ मा इटालियन–क्यानेडियन युवतीसँग विवाह गरेपछि पिआर पाएको स्रोतको दाबी छ । तर, अन्तर्वार्ताहरूमा भने डा. खड्काले भारतको पूर्णेबाट पिएचडी गरेको बताउने गरेका छन् । उनले युरोपका विभिन्न क्षेत्रमा गएर स्टडी गरेको पनि बताइन्छ । उनकी श्रीमतीले समेत फिजिक्समा पिएचडी गरेकी छिन् ।

भारतमा पढ्ने धेरै
नेपालकै पहिलो कलेजका रूपमा वि.सं. १९७५ मा त्रि–चन्द्र कलेज स्थापना भएको थियो । त्यसभन्दाअघिको पुस्ताका सबै नेता भारतमा पढेका छन् । बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, डा. केशरजंग रायमाझीजस्ता नाम कहलिएका नेताले भारतमा अध्ययन गरेका हुन् । डा. बाबुराम भट्टराई, खुमबहादुर खड्कादेखि डा. शशांक र डा. शेखर कोइरालासम्म पनि भारतका विभिन्न स्थानमा पढेका नेतामा पर्छन् । त्यस्तै एमालेका सांसद राजन भट्टराईले पनि भारतमा पढेका हन् । कुनै समय भारतमा पढ्ने नेताहरू धेरै हुने गरेकोमा पछिल्ला वर्षमा छात्रवृत्तिमा चीनमा पढ्न जाने नेताहरू पनि बढ्दै गएका छन् । नेपालमा आफ्नो प्रभाव बढाउन दुवै छिमेकी देशले नेताहरूलाई छात्रवृत्तिमा पढाउने गर्दछन् ।

के भन्छन् कम पढेका मन्त्री ?

अमरसिंह पुन, राज्यमन्त्री, सिँचाइ : म रोल्पाको विकट ठाउँमा (सदरमुकामदेखि २६–२७ कोस टाढा) जन्मिएको मान्छे हुँ । त्यतिवेला स्कुल जान चार–पाँच घन्टाको बाटो हिँड्नुपथ्र्यो । जसका कारण मैले स्कुल लेभलसम्म मात्र बल्लतल्ल पढेँ । त्यसो त त्यतिवेला हाम्रोतिर पढ्नैपर्छ भन्ने सामाजिक मान्यता पनि विकास भइसकेको थिएन । औपचारिक शिक्षा धेरै नलिए पनि मलाई मन्त्रालय चलाउन गाह्रो भएको छैन । मैले राजनीतिशास्त्र र समाजशास्त्रको स्वअध्ययन गरेको छु ।
मेरो विचारमा नेताले पढेको छ या छैन भन्दा पनि उसले जनताको पक्षमा काम गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । नेता पढेको होस् या नहोस्, तर ऊ विषयवस्तुको भने ज्ञाता हुनुपर्छ । उसले जनताको पक्षमा काम गर्नुपर्छ । कोही नेता विदेशमा पढेको, डिग्री हासिल गरेका होलान्, तर ऊ कर्णाली र मुस्ताङसँग परिचित हुन पाएको छैन भने त्यसको औचित्य हुँदैन । तसर्थ, नेता पढेकोभन्दा पनि नेपाली समाजलाई बुझेको हुनुपर्यो ।

पढाइ नै निर्णायक होइन

नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन्

डा. सुरेन्द्र केसी : राजनीतिज्ञले औपचारिक शिक्षा उच्चस्तरको लिनैपर्छ भन्ने छैन । तर, उनीहरूका लागि शिक्षा गहना भने हो । गहना लगाएर मात्र सुन्दर देखिन्छ भन्ने पनि छैन । त्यो लगाउने तरिकामा भर पर्छ । नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन् । तर, हाम्रोमा त्यस्तो कल्चर छैन । कतिपय नेताहरूको आफ्नो पनि पढाइ–लेखाइ हुँदैन । विज्ञहरूलाई पनि प्रयोग गर्दैनन् । यसले गर्दा काम बिग्रिराखेको हुन्छ ।
विदेशी नेताको कुरा गर्दा त्यहाँ विश्वस्तरका युनिभर्सिटीमा पढ्नुपर्छ भन्ने मान्यता छ । समाजवादी भनिएको चीनका नेता पनि फ्रान्स गएर पढेका छन् । तर, त्यो कति इफेक्टिभ भएको छ, भन्ने पनि खोजी हुनुपर्छ । धेरै देशमा बाहिर पढेका नेताले राम्ररी देश चलाएका उदाहरण पनि छन् । कतिपय अवस्थामा पढाइभन्दा क्षमता ठूलो कुरा हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले एसएलसी मात्र गरेका थिए । तर, उनको क्षमतालाई हामीजस्ता पिएचडी गरेकाले माथ गर्न सक्दैनौँ । तसर्थ, निष्कर्षमा भन्दा, ‘पढाइ सुनमा सुगन्ध मात्रै हो, निर्णायक होइन ।’ -नयाँ पत्रिकाबाट

पहिचानको खोजीमा महाउत समुदाय

नेपालगञ्ज । बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ता टोलका केलाराम महाउत रोजगारीको खोजीमा नेपालगञ्जमा भौंतारिन थालेको तीन वर्ष भयो । शहरमा कुनै रोजगार नमिल्दा उहाँको मन खिन्न छ । ‘मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्थ्यो, मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै अहिले नयाँ पेशा र पहिचानका लागि कष्टकर जीवनयापन गर्नुपरेको छ’– केलारामले भन्नुभयो– ‘महाउत समुदाय अहिले गरिबी, अभाव र संकटबाट गुज्रिएको छ, पेशा र पहिचानबिना जीवन चलाउन कठिन भएको छ ।’ समुदायबाटै पहिलोपटक एसएलसी पास गर्नुभएका केलाराम कृषक समूह गठन गरेर खेती किसानीको काम गर्दै आउनुभएको छ । पढेलेखेर पनि बेरोजगार बस्नु पर्दा महाउत समुदायमा पढेर पनि केही नहुने गलत धारणाको विकास भएको उहाँको बुझाइ छ । ‘महाउत बस्तीमा गरिबी र अशिक्षाको चरम रुप छ । बालबालिकालाई विद्यालय पठाउन सम्झाइबुझाइ गर्दा पनि अभिभावकहरू मान्दैनन्’– केलारामले भन्नुभयो– ‘जसोतसो विद्यालयमा भर्ना गराइदिए पनि बीचबाटै विद्यालय छोड्ने समस्या छ ।’ महाउत समुदायका अधिकांश बालबालिका शिक्षाबाट बञ्चित छन्, महिलाको स्वास्थ्य अवस्था नाजुक छ । डरलाग्दो बालविवाहको समस्या मात्र होइन, सिंगो समुदाय प्रत्येक दिन छाक टार्ने समस्याबाट माथि उठ्न सकेको छैन । मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै मगन्ताबाट महाउत बनेको यो समुदायलाई यतिबेला नयाँ पेशा र पहिचान नपाउँदा जीवन चलाउन कठिन भएको केलारामको बुझाइ छ । बाँकेको हिरमिनियालगायत विभिन्न ठाउँमा दुई सय घरपरिवारको करिब एक हजार जनसंख्या छ । महाउत समुदायका युवा पुस्ताले अब मागेर हुँदैन, काम गर्ने र त्यसअनुसारको ज्याला लिनुपर्छ भन्ने बुझेका छन् । मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायलाई नै मगन्ता जातिको परिचय दिइए पनि अहिले युवाहरूलाई आफ्नो नामको पछाडि झुन्डिने मगन्ता शब्द मन परेको छैन । त्यसैले महाउत लेख्ने गरेको युवा विशाल महाउतले बताउनुभयो । एक पुस्ता अघिसम्म यो समुदायका मानिसको नागरिकतामा नामको पछाडि मगन्ता थर लेख्ने गरे पनि अहिले त्यसलाई परिवर्तन गरेर महाउत लेख्ने गरिएको छ । पुर्खाहरूले नाममा मगन्ता नै लेखाए तर अहिले युवाहरूले नामको पछाडि महाउत लेख्न थालेपछि केही आत्मसम्मान मिलेको विशालको अनुभव छ । अल्पसंख्यक र सीमान्तकृत समुदाय भए पनि सूचीकृत भइनसकेकाले यो समुदायले कुनै विशेष सुविधा पाउन सकेको छैन । राज्यले आफूहरूलाई अल्पसंख्यक समुदायमा सूचीकृत गरी पेशा गर्ने व्यवस्थाको माग उनीहरूले गर्दै आएका छन् । खेती गर्नका लागि आफ्नै जग्गा जमिन, रोजगारीका लागि सीप र व्यापार–व्यवसायका लागि पुँजी नभएका कारण महाउत समुदायमा अधिकांश परिवार साँझ के खाउँ, बिहान के खाउँ भन्ने समस्या खेप्न विवश रहेको स्थानीय अमृता महाउतले बताउनुभयो । मगन्ता समुदायको बस्तीमा शुद्ध पिउने पानी छैन, बस्तीमा सडक बनेको छैन । स्थानीय सरकारले मगन्ता समुदायको विकासका लागि छुट्याएको बजेट कहाँ, कसरी, कसले खर्चिन्छ, उनीहरूले थाहा पाउन सकेका छैनन् । अन्य लोपोन्मुख तथा सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि राज्यसँग लडिरहेको समय आफूहरूले भने आफ्नो पहिचान समेत कायम गर्न नसकेको अमृताको भनाइ छ । ‘महाउत समुदायको पुख्र्यौली पेशा तथा काम भनेको मागेर खाने हो’– महाउत समुदायकी अगुवा एवं डुडुवा गाउँपालिका कार्यपालिका सदस्य जवन्ती महाउतले भन्नुभयो– ‘अहिले खेती किसानी र मजदुरी गरेर जसोतसो जीविकोपार्जन गर्दै आए पनि महाउत समुदाय सबै क्षेत्र र अवसरबाट पिछडिएको छ ।’ महाउत समुदायकै एक्ली जनप्रतिनिधि बाँकेमा अल्पसंख्यक महाउत समुदायकी एक्ली जनप्रतिनिधि जवन्ती महाउतले विभिन्न चुनौती चिर्दै समुदाय र टोल बस्तीको विकासमा खटिनुभएको छ । महाउत समुदायको उत्थान र वडाको समग्र बस्ती विकासका लागि काम गर्ने आफूमा हुट्हुटी भए पनि राजनीतिक खिचातानीले सोचेजस्तो काम गर्न नपाएको उहाँको अनुभव छ । स्थानीय तह निर्वाचन २०७९ मा जवन्ती बाँकेको डुडुवा गाउँपालिका–६ बाट महिला सदस्यमा निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वडा सदस्य जित्नुभएकी जवन्तीलाई उक्त पार्टीले कार्यपालिका सदस्य बनाएको थियो । कार्यपालिका सदस्य बनेपछि थुप्रै चुनौतीका बीच जवन्तीले काम गर्दै आउनुभएको छ । ‘हाम्रो समुदायलाई लोपोन्मुख अल्पसंख्यक जातिमा सूचीकृत गर्नुपर्नेछ, मगन्ता वस्तीलगायत वडाका समग्र टोलको विकास गर्नुछ’– जवन्तीले भन्नुभयो– ‘कार्यपालिका बैठकमा पटक–पटक हाम्रो समुदाय र वस्तीको कुरा उठाएकी छु तर अहिलेसम्म सम्बोधन भएको छैन ।” बालबालिका विद्यालय बाहिरै अल्पसंख्यक महाउत समुदायका बालबालिका आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित हुँदै आएका छन् । विद्यालय उमेर समूहका अधिकांश बालबालिका मजदूरी गर्ने ठाउँमा भेटिन्छन् । ‘गाउँमा धेरै पढेको कोही छैन, मैले तीन कक्षासम्म पढेर छोडिदिएँ’– विद्यालय उमेर समूहका नौकुश महाउतले भन्नुभयो– ‘स्कुल जान कापी किताब, झोला र पोशाक चाहिन्छ, घरमा कसैले दिदैन । त्यसैले अहिले मजदुरी गर्न थालेको छु ।’ काशी महाउतका विद्यालय उमेर समूहका चार छोरा र एक छोरी छन् तर कोही पनि विद्यालय जाँदैनन् । साना बालबालिका बाख्रा, बङ्गुर चराउन जाने र अलि ठूलो भएपछि मजदुरीमा जाने गरेको काशीले बताउनुभयो । ‘पढे लेखेर के हुन्छ, कसैले केही काम पाएका छैनन्, त्यही भएर हाम्रा छोराछोरी स्कूल जाँदैनन्’– काशीले भन्नुभयो– ‘घरमा खान बस्नकै समस्या छ, विद्यालय पठाउन कापी किताब, झोला र पोशाक कहाँबाट ल्याउने ?’

जब हजार जनाले पानीको मुहान खोल्न थाले

काठमाडौं । लगाएको चैते धानको खेतमा धाँजा फाट्न थाल्यो । मकै पहेंलो हुँदै सुक्न थाले । चिसापानी हुँदै कर्णालीमा पानी त बगिरहेको छ तर स्थानीय किसानका लागि त्यो विरबलको खिचडी जस्तै भयो । किसानसँग दुई वटा विकल्प थिए । एउटा आकाशबाट पानी आउला र आफ्नो वाली सप्रेला भनेर आश गर्नु, अर्को चिसापानीबाट कर्णाली बग्दै गरेको पानी ल्याउनु । बाली सुक्न खोज्दै थियो । किसान आकाशतिर फर्किए । तत्काल खेत भिज्नेगरी पानी आउने सम्भावना देखिएन । त्यसपछि सुरु भयो बुढीकुलोमा पानी ल्याउने कुरा । किसानका समस्या साझा थियो । त्यसैले जुट्न समय लागेन । स्थानीय दयाराम बैद्य भन्छन्, ‘हामी २० जना भएर गयौं, अलिअलि पानी खोल्यौं ।’ २० जनाले पानी कुलोमा पु¥याउन कठिन थियो । तर समस्या त सबै किसानको साझा थियो । पटक पटक योजना परेको र काम हुने नगरेको यो कुलोमा पानी ल्याउन आफै जानुपर्ने सबै किसानको सोच थियो । २० जना गएर काम सुरु गरेको थाहा पाएपछि होस्टेमा हैंसे गर्न पानी लगाउनुपर्ने सबै किसान जम्मा हुने निधो गरे ।  चैत्र छ गते सल्लाह भयो । अर्को दिन अर्थात सात गते विहान ८ बजे बुढीकुलोमा पानी ल्याउनका लागि सबै जम्मा हुने । धेरै खबर गर्नै परेन । किनभने पानी ल्याउनु र खेतमा सिंचाई गर्नु मुख्य कुरा थियो । बुढीकुलोमा पानी लिन जनकनगर, बगहिपुर, भठेरा, सर्खोल, बनखेत, गोला र अन्य गाउँका किसानहरु आफै जम्मा भए । हामीले फोन गर्दा दयाराम बैद्य कुलोमा पानी ल्याउन ढुङ्गो पल्टाउँदै थिए । ‘हामी करिब हजार जना जति जम्मा भएका छौं । अब बुढिकुलोमा पानी जान्छ ।’ उनले सुनाए ।  कुलोमा पानी भएपछि बुढीकुलोबाट सिंचाई हुने करिब साढे दश हजार हेक्टर क्षेत्रफल सहित अन्य तीन कुलो पनि मिलाएर छ गाउँका हजार बढि परिवारलाई राहत हुने बैद्यले सुनाए । हजार जनाको श्रममा अहिले बनाएको कुलोले यस पटकको हिउँदे बाली जोगिने भयो । बैद्य ढुक्क छन्, ‘बैशाखसम्म कुलोमा पानी पुगेपछि यसपटकको बाली जोगिनेछ ।’ त्यसो त वर्षात्को समयमा मुहान फेरि उस्तै हुनेछ । हजार जनाको अहिलेको लगानी क्षणभरमै बगर हुनेछ । यो पनि किसानलाई थाहा नभएको होइन । तर यसपटककै बाली जोगाउन कुलोमा पानी ल्याउन मुहान बनाउनुको विकल्प थिएन ।  ‘स्थायी संरचना बनाउन पालिका तथा सरकारबाट पहल भएको छैन त ?’ प्रश्न खस्न नभ्याउँदै बैद्यले लामै गुनासो गरे, ‘पहल भएको भन्छन्, काम भएको छैन । आश्वासन मात्रै पाइन्छ । मन्त्री आएपनि हेरेर मात्रै गए । अहिलेसम्म केहि भएन । मुहान नै नभएपछि के गर्ने ? तलतिर मात्रै आयोजनाको काम भनेर भएन । ११ गाविसलाई काम लाग्ने भनेको छ, भजाई खाने बाटो मात्रै भयो ।’ मुहान बनाउनका लागि दुई करोड आएको भन्ने सुनेका किसानहरु त्यो रकम खर्च गराउन पनि पटक पटक ताकेता नगरेका होइनन् । बैद्य भन्छन्, ‘एकले अर्कोलाई देखाउँदै आफु पन्छिने काम मात्रै भयो । सीडीयोले अर्कोलाई देखाउँछ, अर्कोले सीडीयोलाई ।’   यो वर्ष खोला बढि डाइभर्ट भएकाले खोलामा पानी कम भएको उनले सुनाए । त्यसैले पनि यस वर्ष बढि मिहनेत गर्नुपरेको छ । बुढिकुलोको मुहान बनाउनका लागि कर्णाली सिंचाई आयोजनाले अग्रसरता देखाउनुपर्नेमा आयोजना यो विषयमा पनि गम्भिर नबनेको स्थानीय किसानको आरोप छ ।  गेरुवा गाउँपालिकाले भने मुहानको काम सक्नका लागि बजेट सहितको हेर्ने काम प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको बताए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले भने, ‘दुई करोड सहितका सबै यो आयोजनाको काम हेर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीले लिनुभएको हो ।’   गेरुवा गाउँपालिका वडा नम्बर १, बर्दियामा रहेको यो कुलोको मुहान बनाउनका लागि प्रमुख जिल्ला अधिकारीले फेरि आयोजना प्रमुखलाई जिम्मा दिएको किसान बनाउँछन् । प्रमुख जिल्ला अधिकारी परिवर्तन भएपछि पनि काम अघि बढाउन समस्या भएको स्थानीय बताउँछन् । गएको पुस ८ गते कार्यालयमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई यसै विषयमा सोध्न खोज्दा सम्पर्कमा आएनन् ।

सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कदम

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ । गत वर्ष यही समयमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन नागरिकको राति २ बजेदेखिको ठेलमठेल भीड अहिले देख्न सकिँदैन । सुन तस्करी तथा नक्कली कागजात तयार पारी राज्यलाई नै हानि पु¥याउने (नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) कार्यको सञ्जाललाई नै ध्वस्त बनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनको एक वर्ष पुग्दा यी र यस्ता केही देखिने तथ्यहरुले गएको वर्ष तस्करी र अपराध नियन्त्रणका दृष्टिले सफल मान्न सकिने राजनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । सरकारबाट अझै धेरै गर्न भने बाँकी रहेको उहाँहरुको प्रतिक्रिया छ । छिटफुट केही योजना सोचेअनुसार सफल हुन नसकेकाले गति बढाउनुपर्ने स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउँदै आएका छन् । अर्को वर्ष लागेसँगै नयाँ ढङ्गले जाने उहाँले यसअघि नै उद्घोष गरिसकेका छन्। अहिले उहाँ मन्त्रालयगत प्रगति विवरण अध्ययनकै चरणमा हुनुहुन्छ भने अधिकांश मन्त्रालयले प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेका छन् । कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री दाहाल सबै अध्ययन र समीक्षापछि अर्को नयाँ चरणको घोषणा गरेर अघि बढ्ने तयारीमा हुनुहुन्छ । सरकारले पहलकदमी लिएको एक वर्ष नपुग्दै मिटरब्याजी पीडितका समस्या समाधानको चरणमा अघि बढेको छ । नागरिकता समस्या तथा प्रशासनिक निकायमा हुने ढिलासुस्ती र हैरानी पनि कम भएको छ । छिटोछरितो रुपमा राष्ट्रिय परिचयपत्र पाउने वातावरण बनेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत अब जनताले हैरानी खेप्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । दशकौँदेखि जकडिएर रहेको मिटरब्याजी समस्याका कारण तराईका कैयौँ नागरिक घरबारविहीन भएका थिए । कतिपय पीडित हिंसामा परेका थिए । आफ्नै छोरी चेलीहरु साहुबाट जोगाउन मुस्किल भएको थियो । अझ दिन दुई गुणा रात चौगुणा मिटरब्याजको थिचोमिचोले भयभित नागरिक घर छाडेर हिँड्न बाध्य परेको अवस्थाबाट पीडितले विस्तारै राहत पाउन थालेका छन् । झण्डै नौ महिनाको अवधिमा उक्त समस्या एक चरणमा हल भएर मिटरब्याज अपराधका रुपमा परिभाषित भई कानुन तर्जुमा भएकाले अब विगतमा जस्तो मिटरब्याजबाट नेपाली नागरिकले हैरानी खेप्नुपर्ने अवस्थाको अन्त्य भएको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बताए। सुन तस्करी नियन्त्रणमा पनि सरकारले ठूलो पहलकदमी लिँदा सङ्गठित तस्कर, विचौलिया, सहयोगीहरु पक्राउ परेका छन् भने पछिल्लो एक वर्षमा मात्रै झण्डै १०० किलो सुन बरामद गरिएको छ । गृहमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि पहिलो निर्णय नै सुराकी खर्च हटाउने निर्णय गरेर सुशासनको जग तयार पारे। यसले हरेक महिना गृहमन्त्री र सचिवले कानुनी आधार बिनै लिन पाउने लाखौँ रकम जोगिएको छ । त्यसपछिका दिनहरुमा गृह मन्त्रालयबाट लगाताररुपमा शान्ति सुरक्षा, अमनचलन कायमका सवालका साथै चोरी, तस्करी, अपराध नियन्त्रणमा ठोस कदम चालिएको छ । अर्को महत्वपूर्ण घटना भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहको सेटिङ नै भत्काइएको छ । उक्त कदमको सर्वत्र प्रशंसा भएको छ । शरणार्थी प्रकरणमा राजनीति व्यक्तिदेखि उच्च सरकारी कर्मचारी तथा विचौलियालगायतका व्यक्तिहरु पक्राउ परेका छन् । उनीहरु अहिले पुर्पक्षका लागि कारागारमा छन् भने केही कारागार बाहिर बसेर मुद्दा लडिरहेका छन् । वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले अनलाइन माध्यमबाटै श्रम अनुमति आवेदन दिने तथा सामाजिक सुरक्षाको दायरामा ल्याउने काम पनि भएको छ । दुई–दुई पटक सङ्घीय संसद्ले पारित गरी राष्ट्रपति कार्यालय पठाइएको नागरिकता विधेयक यसपटक भने टुङ्गोमा पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित विधेयक ऐनका रूपमा कार्यान्वयन आइसकेको छ । यसले लामो समयदेखि आफ्नै देशमा पनि अनागरिक भएर बसेका नागरिकले नेपाली नागरिकता प्राप्त गर्न थालेका छन् । यस्तै गैरआवासीय नेपालीले समेत नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ । धेरैले नागरिकता समेत प्राप्त गरिसकेका छन् । गृह मन्त्रालयअन्तर्गतका निकायमा योग ध्यान शिविर चलाएर सरकारले कर्मचारी वर्गमै नयाँ सन्देश दिएको छ । सुराकी खर्च खारेज गृहमन्त्री श्रेष्ठले गत चैत १७ गते गृह मन्त्रालयमा पद बहाल हुनुभएको थियो । सरकारको एक वर्ष पुग्नै लाग्दा गृहमन्त्रीको एक वर्ष पुगेको छैन । तर पनि मन्त्री श्रेष्ठले सम्हालेको गृहले महत्वपूर्ण पहलकदमी लिएको छ । गृहको पुरानो चलन गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा लाखौँ खर्च गर्न पाउने कार्यविधिलाई खारेज गर्ने फाइलमा हस्ताक्षर गरी उनले पदबहाली गरेका थिए । त्यो रकमको अडिट, भरपाई बिलिङ नै हुँदैनथ्यो । आवश्यकताका आधारमा सुराकी खर्च भनेर गृहमन्त्री र सचिवबाट सामान्यतया १५ देखि २५ लाखसम्म मासिक खर्च हुन्थ्यो त्यसलाई गृहमन्त्री श्रेष्ठको प्रस्तावमा सरकारले खारेज गरिसकेको छ । मिटरब्याजी समस्या समाधान गत वर्षको यो समयमा मिटरब्याजी पीडित जिल्लामा आन्दोलित थिए । सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका उनीहरु केही सीप नलागेपछि चैतमा राजधानी केन्द्रित भए । सरकारले द्रुतगतिबाट उनीहरुको समस्या समाधानको बाटो समाएको थियो । सरकार गठनको एक वर्ष नबित्दै उक्त समस्याले समाधानको बाटो समाएको छ । विशेषत तराईमा मिटरब्याजमा लगाउने चलन थियो । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार यस विषयमा गृहमन्त्री श्रेष्ठ पहिलै जानकार हुनुहुन्थ्यो । मधेसमा एक लाख दिएर पाँच लाखको चेक लिने, पाँच लाख दिँदा २५ लाखको चेक लिने वा जग्गा जमिन लिने गरिन्थ्यो । विदेश जानेले एक(डेढ लाख रकम सापटी लिँदा १०(१५ लाखको जग्गा लिने पुरानो जकडिएको अपराध थियो । कानुनको अभावमा नहुँदा साहुले बनाएको कागज नै कानुनी आधार हुँदा धेरै पीडितहरु मुद्दा खेपेर थप पीडित बनेका थिए । मन्त्रालयमा आएको एक सातामै उनले मिटरब्याजीपीडितको माग सम्बोधन गर्नुभएको गिरी स्मरण गर्नुहुन्छ । त्यसबेला गृहमन्त्री श्रेष्ठले भन्नुभएको थियो, “ऐन ल्याएर समस्या हल गर्छु अहिलेको अवस्थामा सामन्तवादीजस्तो अपराध र अन्यायपूर्ण कुरालाई हल गर्छु ।” त्यति सहज नभएको उक्त काम प्रधानमन्त्री प्रचण्डको पूर्ण साथ र गृहमन्त्रीको आफ्नै पहलमा कानुन नै बनेर आएको र जाँचबुझ आयोगले काम सम्पन्न गरेको छ । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगमा २८ हजार निवेदन परेकामा हासम्ममा पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र भएको छ । आयोगका सदस्य पूर्वएआइजी उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी २१८ बिघा, १० कट्टा, ०७ धुर जग्गा ९७९३ कित्ता० साहुबाट पीडितलाई फिर्ता गराइएको छ । कूल रु एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र भएको छ । अहिलेसम्म ३९ जिल्लामा अनुचित लेनदेनको समस्या समाप्त भएको छ । अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृहमन्त्रालय र अन्तर्गतका जिल्ला प्रशासन कार्यालयले टङ्गङ्गो लगाउने गरी आयोगले प्रतिवेदन बुझाएको छ । संसद्ले यससम्बन्धी कानुनसमेत पारित गरी कार्यान्वयनमा आइसकेको छ । भुटानी शरणार्थी काण्ड अर्को डरलाग्दो काण्ड हो सक्कली नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराध । यो राज्य संयन्त्रकै उपस्थितिमा भएको जघन्य अपराध थियो । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रकम असुली गरेको आरोपमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुका बयानका आधारमा प्रहरीले लहरो तान्दै जाँदा बहालवाला सचिव तथा राजनीतिक उच्च नेतृत्वसम्म पुग्यो । उक्त मुद्दामा ३० जनाविरुद्ध झण्डै रु २९ करोड बिगो दाबीसहित मुद्दा दायर भएको थियो । जिल्ला अदालत काठमाडौँले पक्राउ परेकामध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार पठाएकामा पछि पुनरावेदन हुँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका केही व्यक्तिहरु धरौटीमा छाडिएका छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईलगायत कारागारमै छन् । सुन काण्ड अघिल्लो माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप) मा लुकाइछिपाइ ल्याएको नौ किलो सुन प्रकरण र ब्रेक शुमा हालेर ल्याइएको ६१ किलो सुन गत साउन २ गते विमानस्थलको भन्सार कार्यालय अगाडि बरामद गरिएको प्रकरणले नेपालमा सुन कसरी भित्रिन्छ भन्ने तथ्य उजागर गरिदिएको छ । उक्त प्रकरण अनुसन्धानमा स्वदेश र विदेशका ठूलो गिरोह सक्रिय रहेको पाइएको छ । सरकारले असोज १४ मा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेकोमा अहिले आयोगले काम गरिरहेको छ । ती ठूला सुन काण्डको अनुसन्धान जारी रहँदा गत भदौ ३ र असोज १३ गते रसुवा नाकाबाट तीन किलो, असोज १० र ११ गते दोलखाबाट सात किलो सुनसहित केही व्यक्तिलाई समात्यो । मङ्सिर २१ गते राति १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घलेसहितका व्यक्तिहरु समातिएका छन् । त्यसको केही दिनमै न्युरोड र नागढुङ्गाबाट नौ किलो सुन बरामद गरी पाँच जना पक्राउ परे । प्रहरीबाट प्राप्त विवरणमा पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको सात सय किलो सुन बरामद भएको छ । सुन ओसारपसारमा संलग्न छ सयभन्दा बढी समातिएका छन् । सुन भित्रिने अवैध बाटोको पहिचान र सुन ल्याउने तस्कर खोज्ने काम अझै पनि जारी छ । ललिता निवास काण्डमा उथलपुथल अर्को सरकारी जमिन घोटालाको नमूना उदाहरण रहेको ललिता निवास काण्ड २०४९ देखि २०६९ को समयभित्रको हो । त्यसको फाइल खोलेर सरकारले अर्को महत्वपूर्ण कदम अघि बढाएको छ । विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । यस प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायतविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले भदौ १० गते उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । गृह प्रशासन सुधारको पहल सरकारले गृह प्रशासन सुधारको पहल पनि सुरु गरेको छ । प्रधानमन्त्री प्रचण्डसँगको परामर्शपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल थालेका हुन्। उनले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि यही कात्तिक २६ गतेको निर्णयले पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा एक समिति र अन्य पाँच उपसमिति गठन गरेर आवश्यक कार्यादेश दिएका छन् । सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायको प्रभावकारिताका लागि आवश्यक सुझाव दिने गरी पौडेलको नेतृत्वमा समिति बनाइएको हो । “गृह प्रशासनलाई सबल र सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादन चुस्त हुनु जरुरी छ”, श्रेष्ठले भने, “यस प्रक्रियामा देखिएका समस्या तथा कमीकमजोरी र चुनौती पहिचान गरी सुधारका क्षेत्र तथा उपायहरू र त्यसको कार्ययोजनासमेत तयार गर्नु जरुरी देखिएकाले यो समिति बनाइएको हो ।” शान्ति सुव्यवस्था कायम राख्न, सेवालाई पारदर्शी, परिणाममुखी तथा चुस्त बनाउन, सङ्गठन तथा कर्मचारीलाई उत्तरदायी, सक्षम एवम् जवाफदेही बनाउन, नीतिगत, कानुनी तथा कार्यगत सुधारका क्षेत्रहरू पहिचान र कार्ययोजनाहरू तर्जुमा गर्न अध्ययन समिति तथा विषयगत उपसमितिहरूले सुझवा पेस गर्ने छ । केही बाँकी गर्न काम केही कामहरु भने थाती नै छन् । लामो समयदेखि प्रहरी समायोजन हुन नसकेकाले त्यसलाई अघि बढाउन जरुरी रहेको छ । एक चरणको छलफल भइसकेको र प्रदेशका मन्त्रीहरुबाट ध्यानाकर्षण गराइसकेकाले पनि सरकारले यसलाई गम्भीर चासोका साथ काम गरिरहेको जनाइएको छ । तीनै तहका सरकारको कामकारबाहीका बारेमा भएका बेमेल, शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनेदेखि सुरक्षा निकायबाट हुने गरेका कमीकमजोरीमा अझै पनि ठोस काम हुन नसकेको गुनासाहरु देखिएका छन् । चोरी तस्करी नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहहरुको सक्रियता बढिरहेको छ । युवाहरु विदेश पलायन हुने क्रम जारी छ, रोजगारीका नाममा मानव तस्करी बढिरहेको छ । यसतर्फ पनि सरकारले कदम अघि बढाउन जरुरी छ । यद्यपि सरकारी कर्मचारीले कमिसन खाएर भिजिट भिसामा नक्कली कागजातका आधारमा विदेश पठाउने गरेको पाइएकाले त्यसविरुद्ध अहिले कारबाही अभियान चलिरहेको छ । अहिलेसम्म ३५ जनाभन्दा बढीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । अझै पनि नागरिकले सोचेअनुसारको सेवा पाउन नसकेकोतर्फ पनि सरकार सचेत हुनुपर्ने नागरिकहरुबाट गुनासो छ ।

राष्ट्रका नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन, अब सरकारले गियर बढाउने (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे। दाहालले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताए। पूर्णपाठ 

लोकप्रिय