काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मा केन्द्र सरकारलाई दिने भ्याली मेयर्स फोरमको निर्णय
काठमाडौँ । काठमाडौँ भ्याली मेयर्स फोरमको छैटौँ बैठकले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको काम नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ ।
गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौँ महानगरपालिकालाई कार्यान्वयनका निमित्त पठाए पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न आग्रह गर्ने निर्णय भएको मेयर्स फोरमले बतायो ।
काठमाडौँ उपत्यकाको फोहोर विसर्जनको थलो नुवाकोटको बञ्चरे डाँडामा फोहोरको वैज्ञानिक व्यवस्थापन र दीर्घकालीन समाधानको लागि संघीय सरकारको लगानी छ । यसको जिम्मा २०१८ मा नेपवेस्ट नामको निजी कम्पनीलाई सरकारले दिइसके पनि पूर्णरुपमा काम हुन सकेको छैन ।
पछिल्लो समय त काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा भनिएको मेयर्स फोरममा विवाद देखिएको छ । यस विवादले फोहोरको व्यवस्थापनमा समेत प्रभाव परिरहेको छ । ललितपुरका मेयर चिरीबाबुले यसअघि पनि महानगरले फोहोरको फाइल अड्काएको भन्दै असन्तुष्टि जनाएका थिए ।
बैठकले काठमाडौं उपत्यकामा अबबाट स्मार्ट सिटी लाइट जडान गर्दा एउटै प्याकेज गरेर अघि बढ्ने यसअघिको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । विद्युत् प्राधिकरणले स्थानीय पालिकाहरूको बक्यौता सडक बत्ती, मठ, मन्दिर, शिवालय, देवालयमा बालेको बत्तीहरूको बिल भुक्तानीको निमित्त गरेको पत्राचारमा पालिकाहरूले असहमति प्रकट गरेका छन् । प्राधिकरणले हचुवाको भरमा पञ्चायतकालदेखिको बिल पठाएको मेयर्स फोरमको भनाइ छ ।
नायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत
नारायणगढ। नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोर्खा आरुघाटका राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक चितवन खैरहनीका अनोज अधिकारी, नवलपरासी विनयत्रिवेणीका सन्तोष भुषाल, सविना भुषाल र भारत घर भएर पोखरा बस्ने कुमार साह हुनुहुन्छ। भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।
टेनिस खेलाडी सेलिशाको निधन
काठमाडौँ। नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो। ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा खेल्नुभएको थियो। उहाँले सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो। अखिल नेपाल टेबल टेनिस संघले सेलिशाको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता पनि आयोजना गरेको थियो। सेलिशाको उपचारका लागि सहयोग जुटाउन टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो।
सुर्खेतमा फोर्स गाडी दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, २५ घाइते
काठमाडौं । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ । शुक्रबार अपराह्न सुर्खेतको वीरेन्द्र नगरपालिका–१४ स्थित रातानाङ्लामा भएको दुर्घटनामा घटनास्थलमै उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य २५ जना घाइते भएका छन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा आज बिहान भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएको थियो । माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको भरतपुर अस्पताल र तीनजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस