काठमाडौँ उपत्यकामा नो हर्न अभियान पुनः सुरु

काठमाडौँ उपत्यकामा नो हर्न अभियान पुनः सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरे।

नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरूमा सचेतना फैलाउनका लागि आजबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।


हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले बताए ।

काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।

कार्यक्रम रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट शुरुवात भएको थियो साथै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी तथा भोलन्टियर र पद्मकन्या क्यामप्सका प्राध्यापक र विद्यार्थीहरूले सिंहदरबार चोकमा गई सार्वजनिक तथा निजी सवारी साधनहरूमा नो हर्न लेखिएको स्टिकर टाँस्नु भएको थियो ।

उक्त कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बागबजार स्थित पद्मकन्या बहुमुखी क्याम्पस र धापासीस्थित कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलले संयुक्त आयोजना गरेको हो । कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।  काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।

कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।

बाराको गढीमाई मन्दिरमा मेला शुरु

बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।

लोकप्रिय