हुम्लावासीलाई बंगलादेशले दिएको खाद्यान्न कसले पार्यो गायब !
हुम्ला, फागुन ५ । सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् ।
गत वर्ष परेको खडेरीका कारण बङ्गलादेश सरकारबाट नेपाल सरकारलाई राहत स्वरुप आएको सो खाद्यान्न कर्णाली अञ्चलका केही जिल्लामा बितरण गरिएपनि ती गाविसका बासिन्दालाई भने वितरण गरिएको छैन । मिमि गाविसका कृषक लक्ष्मीप्रसाद चौलागाईंले गुनासो गर्दै भने- ‘अाफूहरुले विद्युत् बाटोघाटोसमेतको कार्य सम्पन्न गरिसक्दा पनि अहिलेसम्म केही खाद्यान्न पाइएको छैन ।’
नेपाल खाद्य संस्थान हुम्ला शाखाका प्रमुख नारायणसिंह केसीले सो भेगका लागि अहिलेसम्म खाद्यान्न नआएको र आएपछि मात्र वितरण गर्ने जानकारी दिए ।
जडीबुटीबाट औषधि बनाइ उपचारमा व्यस्त अजवीर शाही
हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने मेल्छाम गाविस–७ बस्ने अजवीर शाहीले जडीबुटीबाट औषधि बनाई मानिस र पशु समेतको औषधि तयार गरी उपचार गर्दै आउनुभएको छ । उनले कमलपित्त, दम, खोकी, टाउको दुख्ने, हात खुट्टाको भाँचिए पनि हुम्लामै निःशुल्क उपचार गराउँदै आएको राससलाई बताए ।
खाद्यान्नका लागि भीड
खाद्यान्नका लागि गत मङ्गलबारदेखि कर्मचारी, शिक्षक, विद्यार्थी, सङ्घ संस्था समेतका पदाधिकारीको बिहानदेखि जिल्ला प्रशासन कार्यालयमा खाद्यान्न सिफारिसको लागि घुइँचो लागेको छ ।
हुम्लामा खाद्यान्न मौज्जात रहे पनि कर्मचारीले बाहिरबाट आएको मैदाका साथै स्थानीय खाद्यान्न जुटाई गुजारा गर्न बाध्य भएका छन् ।
हिमपात नहुँदा विद्युत् भार कटौती बढ्यो
यस वर्ष पर्याप्त मात्रामा हिमपात नहुँदा जिल्लाको सदरमुकाम सिमिकोट हिल्दुम साना जलविद्युत् वितरण केन्द्रको पानीको मुहान सुकेकाले अधिकांश समय विद्युत् भार कटौती हुन थालेको छ । विद्युतभार कटौतिका करण पहिलेकै जस्तो सल्लाको दियालो बाल्न बाध्य स्थनीय पीडित व्यक्तिले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सोही अवसरमा नजिकिदै गरेकोे प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थी पनि प्रभावित भएको निवासी छात्रा विमला सिंहले दुखेसो पोखे ।
काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ । विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
आज क्रिसमस डे मनाइँदै
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो । दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।
अखिल क्रान्तिकारीमा नीति र नेतृत्व छान्न देशैभरि चुनाव हुने
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोगका पदाधिकारीसहितको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । त्यसका लागि पुस १३ गते निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । शर्माका अनुसार उमेर हदसम्बन्धी निर्वाचन ७७ जिल्लामा हुनेछ । नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो । दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।
हुम्लामा हिमपात, जनजीवन प्रभावित
हुम्ला । हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् । रासस