कृषिमा आत्मनिर्भर हुने बजेट आउँछ–कृषि मन्त्री

भक्तपुर, चैत १९ । कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ ।
आजबाट भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको दुई दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उहाँले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको हो ।
कृषि सहकारीको माध्यम एवम् निजी कृषि संस्थाबाट पनि कृषिको विकासका लागि सरकारले साझेदारी रुपमा काम गर्न खोजेको बताउँदै उहाँले कृषिलाईमाथि उठाउन सरकारले थप कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।
कृषिमा आत्मनिर्भर बन्नसक्ने क्षेत्र भनेको कृषि, ऊर्जा, पर्यटन क्षेत्र नै भएको बताउँदै उहाँले कृषिको विकास, ऊर्जाको विकास एवम् प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकास गर्न सके नेपाल पूर्णरुपमा आत्मनिर्भर बन्नसक्ने बताउनुभयो ।
त्यस अवसरमा जिल्ला कषि सहकारी सङ्घका अध्यक्ष उत्तम सापकोटाले भक्तपुरलाई नमुना कृषि जिल्लाको रुपमा विकास गर्न मेला आयोजना गरिएको बताउँदै मेलामा ३५ हजार भन्दा बढी कृषकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्णा ढुङ्गाना, डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रमुख प्रेम श्रेष्ठ, राष्ट्रिय सहकारी बैँक लि.का सञ्चालक सरिता भट्टराई, सहकारी विद् कैलाशभक्त प्रधानाङ्ग, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवाललगायतले मेलाले कृषकलाई कृषि क्षेत्रमा लाग्न अभिप्ररित गर्ने बताउँदै कृषकले उपलब्धिहरु पनि हासिल गर्न सक्नेमा जोड दिनुभयो ।
दुई दिने मेलामा कृषक, व्यावासायिक कृषि फार्म, अगुवा किसान, कृषि कम्पनीबाट उत्पादित कृषि उपज, कषि प्रविधि, कृषि औजार, कृषि ऋण, कृषि बिमा, मल, कृषि सम्बन्धी परामर्श, च्याउ तथा आलुका परिकारसहितको ४५ वटा भन्दा बढी स्टल रहेको मेलाका संयोजक सनिश लागेजुले बताउनुभयो ।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।
सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।
श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड
ललितपुर , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। “घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भन्नुभयो, “हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।” जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भन्नुभयो, “जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन।” कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।