को हुन् महात्मा गान्धीका हत्यारा हिन्दुवादी नाथुराम गोडसे, किन गरे त हत्या ?

को हुन्  महात्मा गान्धीका हत्यारा हिन्दुवादी नाथुराम गोडसे, किन गरे त हत्या ?

नयाँ दिल्ली,  माध्यमिक तहको पढाइ छोडेका नाथुराम गोडसे लुगा सिउने काम गर्थे

सन् १९४८ को ज्यानुअरी ३० को साँझ नाथुराम विनायक गोडसेले मोहनदास करमचन्द गान्धीलाई नजिकैबाट गोली हानेर हत्या गरे।

भारतका सबैभन्दा सम्मानित व्यक्ति महात्मा गान्धीलाई राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा एकदमै नजिकैबाट गोली हानिएको थियो।

अठतीस वर्षीय कट्टरवादी गोडसे दक्षिणपन्थी सङ्गठन हिन्दू महासभाका सदस्य थिए।

उक्त सङ्गठनले गान्धीमाथि मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दूहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो।

उनीहरूले गान्धीमाथि भारत(पाकिस्तान विभाजनमा मच्चिएको रक्तपातको दोष पनि लगाएका थिए।

सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएपछि उक्त विभाजनबाटै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए।

एउटा अदालतले गान्धीको हत्याको एक वर्षपछि गोडसेलाई मृत्युदण्डको सजाय सुनायो।

उच्च अदालतले उक्त फैसलालाई सदर गरिदिएपछि सन् १९४९ को नोभेम्बरमा गोडसेलाई मृत्युदण्ड दिइयो।

उनीसँगै उनका साथी नारायण आप्टेले पनि मृत्युदण्ड पाए भने अन्य छ जनालाई जन्मकैदको सजाय दिइयो।

आरएसएसका सदस्य

हिन्दू महासभामा आबद्ध हुनुपूर्व गोडसे राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)का सदस्य थिए।

आरएसएस भारतको अहिलेको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)लाई जन्माउने मुख्य माउ सङ्गठन हो।

भारतमा हिन्दू राष्ट्रवादको ९५ वर्षे अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पनि लामो समयदेखि आरएसएसको सदस्य रहेका व्यक्ति हुन्।

अहिले पनि उनको सरकार र बाहिर पनि आरएसएसले गहिरो तथा प्रभावशाली भूमिका खेल्छ।

अहिले कसैका आदर्श

दशकौँदेखि आरएसएसले गोडसेलाई “राष्ट्रपिता”का हत्याराका रूपमा “एक पतित व्यक्ति” का रूपमा चित्रित गर्दै आएको छ।

गान्धीलाई भारतीयहरू सबैभन्दा सम्मानित व्यक्तित्वका रूपमा मान्ने गर्छन्।

यद्यपि पछिल्ला वर्षहरूमा हिन्दू दक्षिणपन्थीहरूले गोडसेलाई आदर्शका रूपमा चित्रित गर्न र गान्धीको हत्या भएको दिनलाई खुला ढङ्गले उत्सवका रूपमा मनाउन थालेका छन्।

गत वर्ष भाजपाकी एक सांसदले गोडसेलाई “देशभक्त”को सङ्ज्ञा दिएकी थिइन्।

त्यसले धेरै भारतीयलाई आक्रोशित बनाएको थियो। आरएसएस भने गान्धीको हत्या गर्नुअघि नै गोडसेले उक्त सङ्गठन छाडिसकेको पुरानै अडानमा कायम देखिएको छ।

यद्यपि एउटा नयाँ पुस्तकले त्यो सत्य नभएको दाबी गरेको छ।

महात्मा गान्धीको शवयात्रामा जलसेनाको एउटा टोलीले सुरक्षा प्रदा गरेको थियो

के काम गर्थे गोडसे?

माध्यमिक शिक्षा अध्ययन गर्दागर्दै पढाइ छाडेका गोडसले महासभामा सदस्य बन्नुअघि लुगा सिउने काम गरेका थिए र फलफूल बेच्ने काम पनि गरे।

महासभाको सदस्य भएपछि भने उनी उक्त संस्थाको पत्रिका सम्पादन गर्थे।

अदालतमा बयानका बेला उनले एउटा अनुच्छेद पढ्न पाँच घण्टाभन्दा बढी समय लगाएका थिए।

उनले महात्मा गान्धीको हत्या गर्ने कुनै पनि “षड्यन्त्र नभएको” बताएर आफ्ना साथीहरूले गलत कार्य नगरेको प्रमाणित गर्न खोजेका थिए।

उनले आफ्ना नेता विनायक दामोदर सवारकरको उक्त हत्यामा कुनै मार्गनिर्देशन थियो भन्ने आरोपलाई अस्वीकार गरे।

सवारकरलाई भारतमा हिन्दूत्व र हिन्दूपनको जन्मदाता मानिन्छ।

सवारकरमाथि लागेका सबैखाले आरोपबाट उनलाई मुक्त गरिएको थियो तर पनि आलोचकहरू गान्धीको उग्र घृणा गर्ने उनी उक्त हत्याकाण्डमा संलग्न भएको ठान्छन्।

गोडसेले अदालतमा आफूले गान्धीको हत्या गर्नु धेरै अघि आरएसएस छाडिसकेको बताएका थिए।

‘गान्धीज् अस्यासिन’ का लेखक धीरेन्द्र झाका अनुसार हुलाकका एक कर्मचारी पिता र गृहिणी आमाका छोरा गोडसे आरएसएसका एक “प्रमुख कार्यकर्ता” थिए।

उनका दाबीमा गोडसेलाई उक्त संस्थाबाट हटाइएको कुनै प्रमाण देखिँदैन।

अदालतको कारबाही सुरु हुनुअघि रेकर्ड गरिएको गोडसेको एउटा बयानमा उनले “हिन्दू महासभाको सदस्य बनेपछि आफूले आरएसएस छाडेकोबारे बताएका छैनन्।”

यद्यपि अदालतमा बयानमा भने गोडसेले “आरएसएस छाडेपछि हिन्दू महासभाको सदस्य बनेको तर आफूले त्यसो गर्दा मौन रहेको” बताएका छन्।

“गान्धीको जीवनबारे उक्त दाबी एउटा सबैभन्दा बहसयुक्त विषयका रूपमा रहेको छ,” झा भन्छन्।

उनलाई “आरएसएस समर्थक” लेखकहरूले त्यसलाई प्रयोग गरेको जस्तो लाग्छ।

उनीहरूले त्यसैलाई प्रयोग गर्दै “गोडसले हिन्दू महासभामा सहभागी भएपछि गान्धीको हत्यापूर्व करिब एक दशकअघिदेखि नै आरएसएससँग सम्बन्ध भङ्ग गरिसकेको” लेखेका छन्।

अमेरिकी शोधकर्ता जेए करेन जुनियरका दाबीमा गोडसेले सन् १९३० मा आरएसएसको सदस्यता लिएका थिए र त्यसको चार वर्षपछि आरएसएस छाडेका थिए। तर आफ्नो दाबीका लागि उनले कुनै पनि प्रमाण पेस गरेका छैनन्।

अदालतमा बहस सुरु हुनुपूर्व सार्वजनिक भएको वक्तव्यमा गोडसेले सँगसँगै दुवै संस्थामा काम गरिरहेको स्वीकारेका छन्।

गोडसेका परिवारका सदस्यहरू पनि विगतमा उक्त बहसमा संलग्न भएका छन्।

सन् २००५ मा मृत्यु दिवङ्गत भएका नाथुराम गोडसेका भाइ गोपालले आफ्नो दाजुले “आरएसएस नछाडेको” बताएका थिए।

त्यस्तै सन् २०१५ मा गोडसेका एक नातेदारले पत्रकारहरूलाई उनले सन् १९३२ मा आरएसएसको सदस्यता लिएको र त्यसपछि कहिले पनि उनलाई “न हटाइएको न त उनले संस्था छाडेको” बताएका थिए।

अभिलेखहरू केलाएका झाले ती दुई हिन्दू सङ्गठनबारे पनि प्रकाश पारेका छन्।

उनी हिन्दू महासभा र आरएसएसबीच “एकमाथि अर्को खप्टिएको जस्तो र तरल सम्बन्ध” रहेको तथा विचारधारा समान रहेको देखिएको लेख्छन्।

उनले त्यसलाई उजागर गर्दै लेखेका छन्, “गान्धीको हत्याका बेलासम्म ती दुई समूहबीच नजिकको सम्बन्ध रहेको र कहिलेकहीँ सदस्यता पनि एक अर्कामा खप्टिएको देखिन्छ।”

के भन्छ आरएसएस?

गान्धीको हत्यापछि आरएसएसलाई एक वर्षभन्दा बढी समयका लागि प्रतिबन्धित गरिएको थियो।

आरएसएसले सधैँ नै गोडसेले सन् १९३० कै दशकमा उक्त सङ्गठन छाडिसकेको भनी अदालतमा दिएको बयानलाई नै दोहोर्‍याउने गर्छ। अदालतको फैसलाले आफ्नो सङ्गठनको उक्त हत्यामा कुनै पनि सम्बन्ध नभएको देखाइसकेको उसको तर्क हुने गर्छ।

“उनी आरएसएसका सदस्य थिए भनेर भन्नु राजनीतिक उद्देश्यका लागि प्रस्तुत गरिने झुट मात्र हो,” आरएसएसका वरिष्ठ नेता राम माधवले भनेका छन्।

आरएसएसका प्रभावशाली नेतामध्येका एक एमएस गोलवालकर गान्धीको हत्यालाई हत्यारा देशकै र हिन्दू पनि भएकाले त्यो “अतुलनीय त्रासदी वा त्यसभन्दा पनि बढी” भएको रूपमा वर्णन गर्छन्।

हालै आरएसएस नेता एमजी वैद्यले गोडसेलाई “हत्यारा” भनेका थिए।

उनले भारतका सबैभन्दा सम्मानित व्यक्तिको हत्या गरेर हिन्दूत्वकै “अपमान” गरेको बताएका थिए।

विक्रम संपतजस्ता लेखक आरएसएस र हिन्दू महासभाबीच अशान्त खालको सम्बन्ध रहेकोमा विश्वास गर्छन्।

उनले सवारकरबारे विस्तृत रूपमा दुई खण्डको जीवनी लेखेका छन्।

उनी लेख्छन्, “हिन्दू महासभाको हिन्दूहरूको हित रक्षाका लागि स्वयंसेवकहरूको गोप्य विद्रोही समाज बनाउने निर्णयले आरएसएससँगको सम्बन्धमा कष्ट पैदा गरिदिएको थियो।”

संपतका अनुसार आरएसएसले महासभाका नेता सवारकरले विश्वास गर्नेजस्तो “व्यक्ति पूजा र मूर्ति पूजा” विपरीत बाटो लिएको थियो।

सवारकर भने “व्यक्ति पूजा र अतिरञ्जनामा” विश्वास गर्ने खालका थिए।

अर्को पुस्तक ‘आरएसएसस् अ भ्यू टु द इन्साइड’ मा वाल्टर के एन्डरसन र श्रीधर डी दामले कसरी आरएसएसले आफ्ना पूर्वसदस्य नाथुराम गोड्से गान्धी हत्यामा संलग्न भएको कुरालाई ढाकछोप गरेको थियो भन्नेबारे चर्चा गरेका छन्।

यद्यपि गोडसे आरएसएसका अंश थिए र उनले कहिल्यै पनि आरएसएस छाडेका थिएनन् भन्ने कुरामा देखिएको द्विविधा कहिल्यै मेटिएन।

सन् १९४९ नोभेम्बर १५ मा फाँसी दिइनुअघि गोडसले आरएसएसको प्रार्थनाका चार पङ्क्ति वाचन गरेका थिए।

“त्यसले फेरि एक पटक उनी उक्त संस्थाका सक्रिय सदस्य थिए भन्ने देखाउँछ,” झा भन्छन्, “गान्धीको हत्याबाट आरएसएसलाई अलग राख्नु भनेको इतिहासमाथिको जालसाजी हो।” (बिबिसीबाट साभार गरिएको)

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका थिए भने अन्यले सम्मान र प्रमाणपत्र पाएका थिए। वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो । ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको थियो ।

क्यानडाविरुद्धकाे जीतमा नेपालका अनिल र भीमको कीर्तिमानी साझेदारी र दुबैको शतक

काठमाडौं, २९ माघ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।तर तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पुरा गरे । अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यो जित सँगै नेपालले तीन वटै खेल जितेर प्रतियोगितामा क्यानडा विरुद्ध क्लिन स्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोडेको थियो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए। विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। ४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १(१ विकेट लिए। फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग–२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब भएको बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताएका हुन् । “म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे । यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।” पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।” उनले राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सोनाम ल्होछार–२८६० को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो । नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् । सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् । नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो । हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ । संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ । नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ । राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन । त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ । पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ । मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् । अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

लोकप्रिय