गोलभेँडा खेतीबाट मनग्य आम्दानी

पाल्पा, भदौ १७ । रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ ।
“गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,” बम्रेलले भन्नुभयो,– “गोलभँेडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी यहाँ नै लिन सकिन्छ ।” गोलभेँडा खेतीबाट अहिले रु १० लाखसम्म आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो ।
श्रम र पसिना पोखे स्वदेशका भिरपाखमा पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण म आफैं बनेको छु, बम्रेल भन्नुभयो – “राम्रो आम्दानी हुन थालेपछि अहिले यहाँका युवाहरु जग्गा भाडामा लिएर भए पनि गोलभेँडा खेती शुरु गरेका छन् ।”
अर्का युवा तिलक रानाले पनि भाडाकै जग्गामा गोलभेँडा खेती गरेर वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन थालेका छन् । राम्रो आम्दानी हुन थालेपछि उनी पनि गोलभेँडा खेतीमा हौसिएका छन् । गाउँमा गोलभेँडा खेतीबाट रु ५० हजारदेखि १० लाखसम्म आम्दानी लिनेको संख्या वर्षेनी बढ्दै गएका छन् ।
गोलभँेडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेशिने युवाको संख्यामा पनि यहाँ कमि हुँदै गएको छ । व्यावसायिक गोलभेँडा खेतीबाट मनग्य आम्दानी हुन थालेपछि सयौँ घरपरिवारको जीवनस्तरमा समेत सुधार आएका छन् । गोलभँेडा खेतीबाट जीवनस्तरमा सुधार आएपछि यहाँका परिवारमा खुशी छाएका छन् ।
पाल्पाली गोलभँेडाको माग बजारमा एकदमै राम्रो रहेको र यस वर्ष मूल्य पनि राम्रो भएकाले किसान आफ्नो बारीको गोलभेँडाको बोटलाई निकै स्याहार गर्न व्यस्त देखिन्छन् ।
गोलभेँडाको बजार मूल्य अहिले प्रतिकिलो रु १०० को हाराहारी छ । गत वर्र्षभन्दा यस वर्ष प्रतिकिलो रु ७० देखि ८० बढी पाउने भएपछि किसान खुशी भएको मुझुङ्ग कृषि सहकारी संस्थाका सदस्य चन्द्रवीर कार्कीले बताउनुभयो ।
बजारको समस्या झेल्न नपर्ने भएपछि किसानलाई गोलभेँडा खेती गर्न झनै सजिलो भएको छ । सहकारीले बजार व्यवस्थापन, मल, बीउ, प्राविधिक सहयोग र ऋणसमेत व्यवस्था गरेपछि गोलभँेडा खेतीमा स्थानीय आकर्षित बनेका हुन् ।
यहाँ उत्पादित गोलभेँडा सदरमुकाम तानसेन र बुटवलमा मात्र बिक्री हुँदै आएकोमा यतिखेर पोखरासम्म बिक्री हुँदै आएका छन् । यहाँ दैनिक ५० देखि ६० क्विन्टल गोलभँेडा उत्पादन हुँदै आएको बजार व्यवस्थापनका संयोजक अम्बरबहादुर कार्कीले बताउनुभयो ।
प्रतिनिधिसभामा १० मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल सम्पन्न
काठमाडौं । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १० वटा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी शीर्षकमा छलफल भएको हो। छलफलमा सांसद डा. चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मीना तामाङ, लालप्रसाद साँवा लिम्बू, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे, दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी थिए। सभामुख देवराज घिमिरेले मन्त्रालय र सचिवालयहरूसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीहरूको जवाफका लागि असार ८, ९ र १० गते समय तोकिएको जानकारी गराए। सभामुख घिमिरेका अनुसार आगामी आइतबार (असार ८) बस्ने प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ तथा सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने छ। प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।