चितवन–३ का उम्मेदवार डा. अधिकारीको भोट माग्ने शैली ‘थाइराइड ठीक छ ?’

चितवन–३ का उम्मेदवार डा. अधिकारीको भोट माग्ने शैली  ‘थाइराइड ठीक छ ?’

चितवन। भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा। भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ ?’ भनेर गरिएको प्रश्न टिकटकमा यतिबेला धेरैले हेरिरहेका छन्। फिजिसियन डा.अधिकारीले उक्त क्षेत्रका धेरै बिरामीको थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको नियमित परीक्षण गर्दै आएका थिए।

आफ्नो बिरामी देख्नेबित्तिकै डा। अधिकारीको पहिलो प्रश्न हुने गर्दछ, स्वास्थ्यको। बिमारअनुसार उनले अवस्था सोध्ने र बुझ्ने गर्छन्। झण्डा हालिएको गाडीमा पछाडि भोट माग्ने अभियानमा आफ्नो क्षेत्रका धेरै मतदाता अधिकारीका नियमित बिरामी छन्। मतदाताले विकास निर्माणभन्दा स्वास्थ्यका कुरा धेरै सोध्ने गरेका छन्।

अधिकारीसँगै प्रचारमा रहेका साजन अधिकारीका अनुसार पहिलो प्रश्न उपचारकै हुने गर्दछ। लामो समयदेखि डा।अधिकारीको परीक्षणमा औषधि खाइरहेकाहरूले जितेर आफूहरूलाई नजाँच्ने हो भने भोट नै हाल्दैनौँसमेत भन्ने गरेका छन्। डा। अधिकारीले भने, ‘मसँग धेरैले स्वास्थ्यको प्रश्न गर्छन्।’ हिँड्दै गर्दा आफ्ना बिरामी देखेपछि सोध्न मन लाग्ने भन्दै उनले फकाउनका लागि भन्दा पनि अरु बेलामा झैँ सोध्ने गरेको बताए। उनले भने ‘अरु बेलामा पनि म बिरामीलाई भेटेपछि स्वास्थ्य अवस्थाका बारेमा सोध्ने गर्छु।’

भरतपुर अस्पताल विकास समितिका अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उभिएका अधिकारी जिल्लाका चिनिएका फिजिसियन डाक्टर हुन्। दुई हजारभन्दा बढी आफ्ना नियमित बिरामी आफू चुनाव लड्दै गरेको क्षेत्रमा रहेको उनको भनाइ छ। प्रचारकै क्रममा कतिपय बिरामी प्रेस्क्रिप्सन बोकेर देखाउन आउने गर्दछन्। कतिपय जटिल बिरामीलाई डा. अधिकारीले गाडीबाट झरेर अवस्था बुझी आवश्यक सुझाव दिने गरेका छन्।

औषधि सकिएकाहरूलाई थप गर्न र मङ्सिर १० गतेपछि अस्पताल आउन डाक्टरले सुझाव दिने गरेको सहयोगी साजनले बताए। कतिपयले आफू डाक्टरको उपचारले निको भएको भन्दै खुशी प्रकट गर्ने गरेको साजनको भनाइ छ। दश वर्षपछि राजनीति गर्ने तयारीमा रहेका अधिकारी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गोरखामा निर्वाचनमा उम्मेदवार हुन गएपछि प्रचण्डको उत्तराधिकारीका रूपमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार छन्। रासस

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय