चुनावी चहलपहल बढ्यो
भद्रपुर, चैत १७। नेपाल सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि जिल्लामा रहेको निर्वाचन कार्यालयले पनि आफ्ना गतिविधिलाई तीव्र पारेको छ । कुन गाउँपालिका वा नगरपालिकामा कति मतदाता छन् भन्ने यकिन विवरण भने स्पष्ट भई नसकेको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताए ।
उनका अनुसार एक÷दुई दिनमै सबै गाउँपालिका र नगरपालिकाका मतदाताको नामावली स्पष्ट हुनेछ । झापाको सदरमुकाम रहेको नेपालकै पुरानो भद्रपुर नगरपालिकाको प्रमुख, उपप्रमुख लगायत पदमा हुने निर्वाचनमा चार पक्षीय भिडन्त हुने देखिएको छ ।
यस अघि भद्रपुर नगरको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले राख्दै आएको वर्चश्वलाई परिवर्तित संरचनाका कारण नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक सबलताले चुनौती थपिदिने विश्लेषण गरिएको छ ।
भद्रपुर नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट गणेश पोखरेल, मोहन महर्जन, चण्डी पराजुली र राजेन्द्र घिमिरे आकांक्षीका रुपमा देखा परको वरिष्ठ पत्रकार चिन्तामणि दाहालले बताउनुभयो । उपमेयर पदका लागि गोमा भट्टराई, लता कार्की, शर्मिला अधिकारी र भूमादेवी घिमिरे देखिएका छन् ।
पोखरेल क्षेत्रीय सभापति र नगर संयन्त्र प्रतिनिधिको जिम्मेवारीमा छन् भने महर्जन नगर सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् । यस्तै पराजुली पुराना काँग्रेस कार्यकर्ता तथा उद्योगी हुन् ।
यसैगरी, माओवादी केन्द्रबाट मेयर पदका दावेदारहरुमा नरेश सञ्जेल, नरपति सुब्वा, शिवराज भण्डारी र राधाकृष्ण घोष देखापरेका छन् । उपमेयरमा सीता न्यौपाने, सोनाका सिंहको चर्चा छ । सञ्जेल निर्वतमान क्षेत्रीय संयोजक र भद्रपुर नगर संयन्त्रको प्रतिनिधि हुन् भने सुब्वा लिम्बुवान् मोर्चाका केन्द्रीय उपमहासचिवको जिम्मेवारीमा रहेका नेता हुन् ।
यस्तै, एमालेबाट मेयर पदका दावेदारहरुमा जीवन कुमार श्रेष्ठ, यामबहादुर श्रेष्ठ र चन्द्र श्रेष्ठ असारु राजवंशी र उपमेयर पदका दावेदारमा मीना पराजुली, मित्रा भट्टराई, कमला थुलुङ देखिएका छन् । जीवन श्रेष्ठ पूर्व उपप्रमुखका रुपमा भद्रपुर नगरपालिकाको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर पदका लागि झापा कै चर्चित व्यापारी पर्शुराम अग्रवाललाई अघिसार्ने तय भएको बताइन्छ । पछिल्लो समयमा नवराज पनेरु मेयर पदका उम्मेदवार बन्ने चर्चा पनि छ । अग्रवालको उम्मेदवारी रोकिएमा काँग्रेसका आकांक्षी राजेन्द्र घिमिरेले पार्टीले टिकट नदिए पनि स्वतन्त्र रुपमा मेयर पदमा लड्ने चर्चाले यहाँ व्यापकता पाएको छ ।
धान उत्पादन चार प्रतिशतले बढ्यो
काठमाडौं । यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८१/८२ मा धानको उत्पादन ४.०४ प्रतिशतले बढेर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । गत आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कुल उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यस वर्ष बर्खे र चैते गरी १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो, जुन गत वर्षभन्दा १.२८ प्रतिशतले कमी हो । गत वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएको थियो । यस वर्ष धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले रासायनिक मल, उन्नत जातको बिउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जानकारी दिनुभयो । धानको औसत मूल्य प्रतिकिलो ३२ रुपियाँका दरले हिसाब गर्दा यस वर्ष एक खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपियाँ बराबरको धान उत्पादन भएको छ । चालु आवका लागि सरकारले मोटा धान प्रतिक्टिन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा निर्धारण गरेको छ । यस वर्ष बाढीपहिरोका कारण केही प्रदेशमा धानको उत्पादन घटे पनि केही प्रदेशमा उत्पादन बढ्दा धानको राष्ट्रिय उत्पादन बढेको गोरखापत्र दैनिकमा समाचार छ ।
लेखा समिति सभापतिका स्वकीय सचिव ठगी धन्दामा, पक्राउको तयारीपछि निष्काशन
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्नको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् । संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका छन् । उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । परमादेश पुस ११ मा प्रमाणीकरण भएकोमा शुक्रबारसम्म सभापति पोखरेलको स्वकीय सचिवमा अनिल पोखरेलले नै काम गरिरहेका थिए । सभापति पोखरेलले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, 'मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।' ‘माथिसम्म पहुँच रहेको’ भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएका थिए । अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए । ऋषिकेश पोखरेले सांसद भएर सार्वजनिक लेखा समितिको सभापति बनेदेखि नै अनिलकुमार पोखरेल स्वकीय सचिव थिए ।
आज तीन प्रदेशमा मौसम बदली, तराई र उपत्यकामा हुस्सु
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका धेरै स्थानसहित उपत्यका क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तीन प्रदेशको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन। ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
जनमत पार्टीले मनायो राष्ट्रिय धोती दिवस
काठमाडौं । काठमाडौं- जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त(सिके) राउतले लामो संघर्षपछि मुलुकमा गणतन्त्र आइसक्दा पनि पश्चगामी मानसिकता अझै कायम रहेकाले धोती दिवस मनाउन बाध्य भएको बताएका छन्। बुधबार माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नेपाल विविधतापूर्ण देश हो। यहाँ अनेकौँ, जातजातिहरु, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरु छन्। हाम्रो लागि त्यो कमजोरी होइन। यो हाम्रो लागि सम्पती हो। यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ,’ उनले भने,’नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो। लामै संघर्ष गर्यौँ। त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ। त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ। आज कुनै एकल जाजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन। सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो।’ उनले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गरे। उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए। उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नो-आफ्नो पोशाक लगाइ पोशाक दिवस मनाउनुपर्ने बताए। उनले अरुलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए। राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरु धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए। उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।