चुनाव चिन्ह नपाएपछि टेडियो संघीय समाजवादी पार्टी
काठमाडौँ, वैशाख १३। नेपाल संघीय समाजवादी पार्टीले साना दलहरुलाई चुनाव चिन्ह नदिई स्थानिय तहको निर्वाचन घोषणा गरेको भन्दै आपत्ति जनाएको छ ।
पार्टीले आज एक विज्ञप्ति जारी गरी नेपाल सरकारले संविधानप्रति सबै वर्ग तह, जात जाती र समुदायहरुको अधिकारलाई समाबेश गरी जनताको अपनत्व बढाई निर्वाचनको घोषणा क्रमश संघ प्रदेश र स्थानिय तहको गर्नु पर्नेमा बहुदलिय प्रतिस्पर्धाको मर्म र आफैले जारी गरेको वर्तमान संविधानको भावना विपरित राजनितिक दलहरुलाई चुनाव चिन्ह नदिई ३ दलिय सिन्डीकेटले घोषणा गरेको स्थानिय तहको निर्वाचन भन्दै आपत्ति जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ ‘जेष्ठ ३१ गते घोषणा गरिएको दोस्रो चरणको निर्वाचन मुस्लिम समुदायको पवित्र व्रत्र रमजानको १ महिने उपवासलाई अपेक्षा गर्दै जवरजस्ती मुस्लिम दाजुभाई दिदि वहिनीहरुको भावनामा चोट पु¥याएको भन्दै पार्टीको गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।’ राज्यले सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्नेमा त्यसको समेत खिल्ली उडाएको भन्दै असन्तुष्ट पक्षको माग सम्बोधन गरी अव्यवहारिक अवैज्ञानिक निर्वाचन मिति रद्द गरी नयाँ निर्वाचन मिति घोषणा गर्न माग गरेको छ ।
सिजाङ भूकम्पको क्षतिप्रति पूर्वप्रधामन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै भन्नुभएको छ–‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकका परिवारजन, महामहिम राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु
काठमाडौं । काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो । स्थानीय अधिकारीहरूले उद्धार कार्यका लागि यातायात, जलस्रोत, आवास तथा शहरी–ग्रामीण विकास विभाग, गाउँ–नगरका प्रतिनिधिहरूलाई परिचालन गरेका छन्। साथसाथै, अफ्टरशकको प्रभावबाट बच्न स्थानीय बासिन्दाको सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गरिरहेको डिङ्ग्री काउन्टीका प्रमुखले जानकारी दिए। आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार, बिहान ९:२० बजे शिगात्सेको फायर ब्रिगेडका ७५ जना कर्मचारी र ६ वटा सवारी साधन तयारी अवस्थामा थिए। अग्रभाग टोलीका १५ जना कर्मचारी र तीनवटा सवारी साधन भूकम्पको केन्द्रबिन्दुतर्फ जाँदै थिए। बिहान ९:४५ बजे सम्ममा, २१५ जना उद्धारकर्मी केन्द्रबिन्दुतर्फ जाँदै थिए, जसमा तिब्बती वन फायर ब्रिगेडको १० जना र तीन सवारी साधन तथा विशेष कार्य टोलीका ९० सदस्य समावेश थिए। चीनको सैन्य स्रोतका अनुसार, जनमुक्ति सेना (PLA), सशस्त्र प्रहरी बल, साथै मिलिसिया र रिजर्भ फोर्सका ५०० भन्दा बढी सदस्य पूर्ण रूपमा परिचालनका लागि तयारी अवस्थामा छन्। शिन्ह्वाका अनुसार, चीनको भूकम्प नेटवर्क केन्द्र (CENC) ले दिएको विवरणअनुसार, भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो। CCTV न्यूजका अनुसार, भूकम्पको केन्द्रबिन्दुको पाँच किलोमिटर परिधिमा सात गाउँहरू र २० किलोमिटर परिधिमा दुई नगरहरू रहेका छन्। केन्द्रबिन्दुको वरपरको पाँच किलोमिटर क्षेत्रमा औसत उचाइ लगभग ४,२५९ मिटर रहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, मंगलबार ०१:०५:१६ GMT मा नेपालको लोबुचेबाट ९० किलोमिटर उत्तरपूर्वमा ७.० म्याग्निच्युडको भूकम्प गएको छ। शिन्ह्वाका अनुसार, यसको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा २८.५८ डिग्री उत्तर अक्षांश र ८७.३९ डिग्री पूर्व देशान्तरमा रहेको थियो।
नेपाल–चीन सिमानामा ७ म्याग्निच्यूटको भूकम्प
काठमाडौं । मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पविद् अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना नजिक दिङ्गे काउन्टी हो । भूकम्पको धक्का लामो समय महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । भूकम्पको धक्का नेपालभर महसुस भएको थियो । भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ। भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो। भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए। वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको हो। नेपालमा २०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्यूडको भएकम्प गएको थियो। गोरखा केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पपछि नेपालमा लागतार सानाठुला भूकम्प गएका थिए। पछिल्लो दुई महिनामा मात्र पश्चिम नेपालमा चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प पटकपटक गहिरहेको थियो।
पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश, आज र भोलि वर्षा र हिमपात
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना रहेको हो । “हिजो साँझबाट पश्चिमी भूभागमा बादल प्रवेश गर्न सुरु गरिसकेको छ । त्यसको प्रभावस्वरुप आज र भोलि वर्षा र हिमपात हुने हो,” मौसमविद् प्रतिभा मानन्धर बाह्रखरीसँग भन्छिन्, “आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपात र वर्षा हुनेछ ।” हाल नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । मौसमविद् मानन्धरका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार काठमाडौंमा आज बदली मात्र हुनेछ । काठमाडौंमा आज बिहान ५ : ४५ को न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस छ । दिउँसो १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमबाट पूर्वतर्फ सर्दै जाँदा भोलि भने काठमाडौंमा वर्षाको सम्भावना छ । “भोलि काठमाडौंमा वर्षाको सम्भावना छ । भोलि मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् मानन्धर भन्छिन्, “हल्का वर्षा मात्रै हुने हो । ठूलो वर्षा कतै पनि हुने सम्भावना छैन ।” उनका अनुसार बुधबारबाट मौसम क्रमिक रूपमा सफा हुँदै जानेछ । पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि मौसम सफा हुने उनको भनाइ छ । बादल, वर्षा, हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।