जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह

जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताए ।

अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए। उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने जानकारी दिए। उनले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको बताए । उनले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको जनाए

अर्थमन्त्री महतले विश्व बैङ्क र एडिपीले पनि नेपालको ठुलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताए। उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिए। अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरेको दाबी गरे। उनले आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताए । उनले बैङ्क तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठुलो योगदान पुर्‍याएको जानकारी दिए ।

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठुलो चुनौती भोगिरहेको बताए । उनले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए । उनले डिजिटल बैङ्किङसँगै विश्वसनीयता र सुरक्षा महत्त्वपूर्ण रहेको जानकारी दिए।

माओवादी र भ्रष्टहरू आमनेसामने हुने स्थिति बनेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र भ्रष्ट तत्व आमनेसामने हुने स्थिति बनेको बताउनुभएको छ । शनिबार दाङमाको घोराहीमा माओवादीको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले त्यसविरुद्ध माओवादीले शान्तिपूर्ण संघर्ष गर्ने समेत बताउनुभयो।  ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं,’ प्रचण्डले भन्नुभयो, ‘यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो।’ उहाँले थप्नुभयो, ‘शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ।’  प्रचण्डले गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिने समेत बताउनुभयो। ‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ। ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु।’उहाँले भन्नुभयो ।

उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक : अध्यक्ष प्रचण्ड

घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो। शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने बताउनुभयो । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी उहाँले शिक्षालय परिवारलाई  आग्रह गर्नुभयो। सहिद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतिक भएको नेपाली समाजमा स्थापित भइसकेको बताउनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित सहिद कृष्णसेन इच्छुकको प्रतिमामा माल्यर्पण गर्नुभएको थियो।

रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै

बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै छन्।बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो, पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, सो  हाजिरी जमानीमा रिहा भएका थिए।  रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो, जसका कारण उनी बिहिबार अदालतमा उपस्थित भए पनि थुनछेक बहस भने सकिन पाएन। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो।  प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो। उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन। बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका अधिकांश भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश, बागमती र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ । यस्तै कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लोकप्रिय