ठूला हत्याकाण्ड किन पत्ता लाग्दैन?

ठूला हत्याकाण्ड किन पत्ता लाग्दैन?

काठमाडाैं, चैत ५  । मध्यरात सेना गस्तीमा थियो । नेपालगन्जका सडक सुनसान थिए । सेना त्यही स्थान भएर जाँदै थियो जुन घरको माथिल्लो तलामा एक परिवारका चारजनासहित पाँचजनाको हत्या हुँदै थियो ।घटना २३ फागुन ०६२ को हो । द्वन्द्वको समय भएकाले सेनाले गस्ती गरिरहेको थियो । मध्यरातमा नेपालगन्ज सुनसान हुने गर्थ्यो । सुनचाँदी व्यवसायी दीपक हेमकारको घर पनि बाहिरबाट देख्दा सुनसान थियो ।

तर, भोलिपल्ट त्यही घरमा पाँचजनाको शव भेटियो । सबैलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । मारिनेहरूको रुद्रघण्टी छिनाइएको थियो ।

घटनामा दीपककी श्रीमती दीपा मात्र बाँचेकी थिइन् । त्यो दिन उनी घरमा नभई माइतमा थिइन् । घटनामा गुलामदेवी हेमकार (८२), जगदेव हेमकार (६२), सीतादेवी हेमकार (४५), दीपक हेमकार (३२) को हत्या भएको थियो । सबैलाई सुतिरहेकै स्थानमा हत्या गरिएको थियो । सबैको शव ओछ्यानमा नै फेला परेको थियो । घटनामा हेमकार परिवारको पसलमा काम गर्ने १५ वर्षीय रामसनिच्चर चौधरीको समेत हत्या भयो ।

हत्या भएको रात तीन अपरिचित व्यक्ति घरमा आएको प्रहरीले तथ्य फेला पारेको थियो । संकटकालको वेला नगरको व्यस्त सडकमा रहेको सुनचाँदी पसलको माथिल्लो तलामा घरभित्र पाँचजनाको हत्या गरी ज्वेलर्सबाट नगद र सुनचाँदीसहित करिब २९ लाखबराबरको सम्पत्ति लुटिएको थियो ।

घटनापछि प्रहरी प्रधान कार्यालयबाटै डिएसपीको कमान्डमा अनुसन्धान टोली खटिएको थियो । घटना भएका वेला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक शिव लामिछाने थिए । जिल्ला प्रहरीले पनि अनुसन्धान गरेको थियो । तर, अनुसन्धान अझै पूरा हुन सकेको छैन । ११ वर्ष बित्दा पनि घटनाका अभियुक्त पक्राउ परेका छैनन् ।

अपराध अनुसन्धान विभागबाट कुकुरसहितको टोली झिकाएर पनि प्रहरीले हत्यारा पत्ता लगाउने प्रयास गरेको थियो । तत्कालीन भेरी अञ्चल प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले पनि हत्याको अनुसन्धान गरेका थिए ।

अहिले घटनाको फाइल प्रहरीले बन्द गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको अर्को टोली पनि अनुसन्धानमा खटिएको थियो । पाँच सय पृष्ठको अनुसन्धान प्रतिवेदन र मिसिल तयार भए पनि दुवै टोलीले घटनाको निष्कर्ष निकाल्न सकेनन् ।

हत्याको ६ वर्षपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिई पुनः अनुसन्धान थालेको थियो । तर, घटनामा उनीहरूको संलग्नताबारे केही पत्तो नलागेपछि प्रहरीले त्यसै छोडेको थियो । तत्कालीन बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उदय तामाङले हत्यारा नेपाल र भारत दुवैतिर भएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने बताएका थिए । तर, कोही पनि पक्राउ परेनन् ।

प्रहरीले अनुसन्धानबाट सो हत्याकाण्डमा परिवारकै केही सदस्य संलग्न रहेको आधार फेला पारेको दाबी गरेको थियो । तर, प्रहरीको यो दाबीको पनि ठोस प्रमाण मिलेन । एक्लै बाँचेकी हेमकार परिवारकी बुहारी दीपा हेमकारप्रति प्रहरीको आशंका थियो । तर, प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धानको दायरमा भने ल्याएन । उनी अहिले भारतमा बस्छिन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक एवं मुद्दा फाँट इन्चार्ज वीरबहादुर थापाले हेमकार हत्याकाण्डको फाइल बन्द नभएको बताए । उनले घटनाको अनुसन्धान जारी रहेको दाबी गरे । ‘पुराना मुद्दाका फाइलसमेत हामीले नियमित रूपमा हेरिरहेका छौँ, नयाँ नेतृत्व फेरिँदैमा पुराना मुद्दाका फाइल बन्द हुने कुरा हुँदैन,’ उनले भने ।

हत्याको दिन दीपा र उनका पति दीपक नेपालगन्जबाट भारत गएका थिए । हेमकार परिवारका अन्य सदस्यले समेत हत्यामा दीपा संलग्न भएको आशंका गरेका थिए ।

अहिले सो घटनाको फाइल बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले हेरिरहेका छन् । नयाँ घटना थपिँदै जाने भएकाले पुराना फाइलमा धेरै समय दिन नसकेको प्रहरीले बताउने गरेको छ । पुराना र नयाँ फाइललाई मिलाएर अनुसन्धान भइरहेको प्रहरीले दाबी गरे पनि पुराना घटनाका फाइललाई प्रहरीले खासै समय नदिने गरेको सर्वसाधारणको भनाइ छ । ‘हेमकार घटनालाई नजिकबाट अनुसन्धान गर्ने कार्य भइरहेको छ,’ प्रहरी उपरीक्षक राईले भने ।

अदालतको स्रेस्ता फरक पर्दा समस्या
अदालतले कैद र जरिवाना फैसला गरेका दोषीको नाम र वतन स्पष्ट खुल्न नसक्दा पक्राउ गर्न समस्या हुने गरेको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य एवं प्रहरी नायब निरीक्षक भीमबहादुर खड्काले बताए ।

उनले फैसलाबमोजिमका व्यक्तिलाई खोज्न जाँदा बसाइँसराइ गरेर अन्यत्र जाने र नाम स्पष्ट नहुँदा पक्राउ गर्न समस्या हुने गरेको बताए । ‘अदालतको स्रेस्तामा कुमार हुन्छ, नागरिकतामा बहादुर र प्रसाद भइदिँदा पहिचान गर्न गाह्रो हुने गरेको छ, पहिचान गर्न नसक्दा दोषीले उन्मुक्ति पाउने र निर्दोषले दुःख पाउने भइराखेको छ,’ उनले भने ।

खुला सिमानाका कारण अदालतले दोषी करार गरेकाहरू भारतमा गएर लुक्ने गरेकाले पनि फैसला कार्यान्वयनमा समस्या आउने गरेको बाँके जिल्ला अदालतका तहसिलदार नारायण सापकोटाले बताए । उनले भने, ‘दिनभर भारतमा लुकेर बस्ने, रातमा मात्र घर आउँदा पक्राउ गर्न कठिन भएको छ ।’

उनले स्रोतसाधनको कमीका कारण पनि फैसला कार्यान्वयनलाई तीव्रता दिन नसकेको बताए । दोषीलाई पक्राउ गर्न व्यवस्था गरिएको सीमित जनशक्ति, अपर्याप्त साधन र आर्थिक अभावले पनि पक्राउ गर्न नसकिएको उनले बताए ।

बाँकेमा कैद र जरिवाना भुक्तानमा वृद्धि
फैसला कार्यान्वयन विशेष अभियान सुरु भएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य डम्मर विष्टले बताए । उनले हालसम्म तीन सय पाँच वर्ष चार महिना एक दिन कैद भुक्तान भएको र अदालतको फैसलाबमोजिम चार करोड ८० हजार दुई सय ६१ रुपैयाँ असुल भएको जानकारी दिए ।

उनले एक हजार आठ सय ९६ वर्ष नौ महिना साढे ११ दिन जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षको सात सय ४१ वर्ष ११ महिना २२ दिन गरी दुई हजार ६ सय ३८ वर्ष नौ महिना साढे ५ दिन कैद असुल हुन बाँकी रहेको बताए । उनले तीन करोड ६० लाख ३१ हजार चार सय १३ रुपैयाँ ८० पैसा जरिवाना असुल हुन बाँकी रहेकोसमेत बताए ।

नेतृत्व फेरबदलपछि प्राथमिकता तल–माथि
नेतृत्व फेरबदल हुनासाथ कामको प्राथमिकतासमेत तल–माथि पर्ने हुँदा असफल पुराना घटनाको चाङ बढ्ने गरेको नेपाल प्रहरीका पूर्वडिएसपी कृष्णमान श्रेष्ठ बताउँछन् । नयाँ प्रहरी अधिकारी पुराना फाइल हेर्नुभन्दा आफू कार्यरत रहेसम्म त्यहाँ ठूला आपराधिक घटना हुन नदिन र घटनालाई छिटो किनारा लगाउन चाहने भएकाले पुराना घटना पेन्डिङ हुने गरेको श्रेष्ठले बताए । ‘जसको पालमा घटना भएको हो, त्यसैले उक्त घटनाको किनारा लगाउनुपर्ने कानुन बनेको खण्डमा पुराना मुद्दा पेन्डिङ हुने थिएन,’ उनले भने ।

नयाँ नेतृत्वले आफ्नो बायोडाटा बढाउन पुरानाभन्दा नयाँलाई प्राथमिकता दिने गरेको पूर्वडिएसपी श्रेष्ठले बताए । उनले नयाँ–नयाँ मुद्दा थपिने भएकाले पुराना मुद्दा प्राथमिकतामा नपर्ने गरेको बताए ।

घटना पुराना भए प्रत्यक्षदर्शी, प्रमाण र साक्षी हराउने भएकाले पनि अनुसन्धान फितलो भई मुद्दा कमजोर हुने गरेको श्रेष्ठले बताए । ‘घटना पुरानो भएपछि पीडितले समेत प्रहरीलाई दबाब दिँदैनन्, पीडितले दबाब नदिएपछि प्रहरीले पनि वास्ता गर्न छाड्छ,’ पूर्वडिएसपी श्रेष्ठले भने ।

यस्ता छन् सफल अनुसन्धान
अपहरणपछि हत्याकाअभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले बालक अपहरणपछि हत्या आरोपमा नेपालगन्ज–२३ का रंगौ भन्ने रिजवान साईलाई घटनाको साढे दुई वर्षपछि पक्राउ ग¥यो । १४ असोज २०६७ मा नेपालगन्ज–१५ का दुई स्कुले बालक कपिल द्विवेदी र लीलाधर भट्टको अपहरण गरी फिरौती लिएर हत्या गरेको अभियोगमा साईलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए । राईका अनुसार अभियुक्त साई २६ असार २०६९ मा नेपालगन्ज–१० का २२ वर्षीय मुन्नु भन्ने मोहम्मद आमिर अन्सारीको अपहरण गरी नौ लाख रुपैयाँ फिरौती लिएर बेपत्ता बनाउने कार्यमा संलग्न थिए । मुन्नु हालसम्म बेपत्ता छन् ।

साईकै अगुवाइमा नेपालगन्ज–१ का महेन्द्र शाहीलाई ३ वैशाख २०७० मा अपहरण गरी १० दिनसम्म शरीर बन्धक बनाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

अभियुक्त साईले भूमिगत तराई जनतान्त्रिक मधेस पार्टीको नाममा सीमावर्ती भारतको रुपइडिहा बजारमा विभिन्न सहयोगीलाई परिचालन गरी अपहरण र चन्दा असुली गर्दै आएका थिए । उनी लागुऔषध चरेसको कारोबारमा भारतमा तीन वर्ष सजाय पाएर छुटेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक राईले अभियुक्त साईविरुद्ध अपहरण तथा हत्याका छुट्टाछुट्टै तीन मुद्दा र एक अपहरणको गरी चार मुद्दा अदालतमै विचाराधीन रहेको बताए ।

बाँके इन्द्रपुर–३ का वकिल दर्जी भनिने जियाउल मनिहारलार्ई दुई ग्राम लागुऔषध ब्राउन सुगरसहित १८ असार ०७० मा नेपालगन्जको बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो । आफ्नो नाम वकिल दर्जी बताउँदै लागुऔषध कारोबारमा सक्रिय रहेका उनी सोही मुद्दाको अनुसन्धान गर्ने क्रममा मात्र बालक अपहरण र कर्तव्य ज्यान मुद्दाको अभियुक्तसमेत भएको प्रहरीले थाहा पाएको थियो ।

उनी भूमिगत सशस्त्र समूहमा संलग्न भई जिल्लामा हत्या, अपहरण, चन्दा असुली र फिरौती रकम माग गर्नेलगायत घटनामा संलग्न थिए । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका मनिहारले सुरुमा आफ्नो घर भारतको रुपइडिहा र नाम वकिल दर्जी बताएका थिए । तर, अनुसन्धानका क्रममा मोस्ट वान्टेड सूचीका फरार अभियुक्त भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाँकेले तथ्य फेला पारेको थियो ।

यसैगरी २८ कात्तिक ०६६ मा इन्द्रपुर ७ स्थित देवीप्रसाद राढको रहरबारीमा खजुराखुर्द–१ का गंगाराम पासी र मुन्नु भन्ने मुन्ना यादवलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा समेत मनिहार संलग्न थिए ।

गुन्डा नाइकेले गरे आत्मसमर्पण
नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरको हत्यामा संलग्न भएको आरोपमा अदालतले चार वर्ष कैद सजाय फैसला सुनाएका नेपालगन्ज–५ का सोहनसिंह ढकाल (रिगल) ले ६ कात्तिक ०७१ मा आत्मसमर्पण गरे । रिगलले अदालतको आदेश पालना गरेको प्रहरीसमक्ष बयान दिएको बताइएको छ ।

फरार अभियुक्त ढकाल घटनापछि भारत बस्दै आएका थिए । पक्राउ पर्नुभन्दा केही दिनअघि मात्रै उनी नेपाल आएका थिए । १५ जनाको समूहले २८ असार ०७१ मा नेपालगन्ज–८ का मानन्धरलाई धम्बोझी चोकनजिक सुर्खेतरोडमा लखेट्दै खुँडा प्रहार गरी हत्या गरेका थिए । सो घटनामा संलग्न मुख्य अभियुक्त रिगलसहित १३ जना हाल कारागारमा छन् ।

जेल सजाय भुक्तानीका लागि अदालतमा आफै‌ हाजिर
अवैध चोरीसिकारी गरेको अभियोगमा अदालतले ६ महिना जेल सजाय सुनाएका नैनसिंह सार्की, मुन्नु चौधरी र भिखुलाल थारू ६ फागुनमा कैद भुक्तानीका लागि बाँके जिल्ला अदालतमा आफै‌ हाजिर भए । उनीहरूलाई अदालतले ६ महिना जेल सजाय तोकेको थियो । सवारी ज्यान मुद्दामा ६ दिन जेल सजाय पाएका बलबहादुर थारू पनि कैद र जरिवाना भुक्तानीका लागि फागुनमै अदालतमा हाजिर भए ।

जिल्ला अदालतले फैसलाबमोजिम बक्यौता बुझाउन समय–समयमा सूचना जारी गरेपछि कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरू आफैँ अदालतमा आउने गरेको बाँके जिल्ला अदालतका तहसिलदार नारायण सापकोटाले बताए । ‘फागुन महिनामा मात्र कैद भुक्तानीका लागि अदालतमा पाँचजना आफँै हाजिर भएका छन्, कैद र जरिवाना भुक्तानीका लागि आफैँ आउनेलाई अदालतले विशेष छुट व्यवस्था गरेकाले कैद भुक्तानीका लागि आफैँ हाजिर हुन आउने गरेका छन्,’ उनले भने ।

फैसला कार्यान्वयन विशेष अभियान सुरु भएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको बाँके जिल्ला अदालतले जनाएको छ । जिल्लामा फैसला कार्यान्वयन विशेष अभियान टोलीले सक्रियता देखाएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको हो ।

माघ मसान्तसम्म तीन सय पाँच वर्ष चार महिना एक दिन कैद भुक्तान भएको र अदालतको फैसलाबमोजिम चार करोड ८० हजार दुई सय ६१ रुपैयाँ जरिवाना असुल भएको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य एवं बाँके जिल्ला अदालतका नायब सुब्बा डम्मर विष्टले बताए ।

उनले एक हजार आठ सय ९६ वर्ष नौ महिना साढे ११ दिन जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षको सात सय ४१ वर्ष ११ महिना २२ दिन गरी दुई हजार ६ सय ३८ वर्ष नौ महिना साढे पाँच दिन कैद असुल हुन बाँकी रहेको बताए । उनले तीन करोड ६० लाख ३१ हजार चार सय १३ रुपैयाँ ८० पैसा जरिवाना असुल हुन बाँकी रहेकोसमेत बताए ।

यो खबर अाजको नयाँ पत्रिकामा छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो ।  अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ ।  ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तनहुँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  तनहुँको ब्याँस नगरपालिका ४ जलदेवी टोल बस्ने ६२ वर्षीय कालु गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १० जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लोकप्रिय