डडेल्धुरामा आक्रामक माओवादी, देउबाकै परिवारका सदस्य माओवादी केन्द्रमा प्रवेश
डडेल्धुरा, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको जिल्लामा माओवादी केन्द्रले आक्रामक संगठन बिस्तारको अभियान शुरु गरेको छ ।
संविधान सभाको पहिलो निर्वाचनमा झिनो मतका कारण पराजित माओवादी यसपटक भने सबै गाँउपालिका, वडा र नगरपालिकामा संगठन बिस्तारमा जुटेको हो ।
पार्टी फूटले कार्यकर्ता र जनतामा निराशा छाएको थियो, अहिले आक्रामक ढंगले अघि बढेका छौं ।” माओवादी केन्द्रका जिल्ला इन्चार्ज नन्द सार्कीले एभरेष्टदैनिकडटकमसँग भने, “जनतामाझ फेरी जोडिँदा बेग्लै उत्साह देखिएको छ ।”
स्थानीय तह पुनर्संरचना अन्तर्गत डडेल्धुरामा दुईवटा नगरपालिका र ५ वटा गाउँपालिकाको माग गरिए अनुरुपको व्यवस्था भएपछि सबै तहमा संगठन बिस्तारमा माओवादी केन्द्र लागेको उनले बताए ।
संगठन बिस्तारका क्रममा पुराना कार्यकर्ताहरुको नवीकरण र नव प्रवेशीहरुलाई सदस्यता आवेदन माग गर्ने क्रम चलिरहेको उनले बताए । “चैतमा जिल्ला सम्मेलन गर्ने भनेका छौं, अहिले धेरै जसो वडामा कमिटि निर्माण गरेका छौं, केही बाँकी छन, छिट्टै सक्छौं ।” उनले भने ।
देउबाकै गढमा माओवादी केन्द्र
डडेल्धुरामा अत्यन्तै प्रभाव राख्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको गृह गाउँमा समेत माओवादी केन्द्रले बलियो उपस्थिति बनाएको छ ।
असिग्राममा भएको कार्यक्रममा नेपाली कांग्रेसबाट दर्जनौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सभापति देउबाका काका तथा यसअघि उक्त क्षेत्रका क्षेत्रपाल भीम बहादुर देउबा, बिक्रम देउबालगायत दर्जनौं माओवादी केन्द्रमा प्रवेश गरेको सार्कीले बताए । हालसम्म १५ सय बढी कार्यकर्ताले नवीकरण गरेको र १ हजार भन्दा बढीले नयाँ सदस्यताका लागि आवेदन दिएको सार्कीले बताए । “एमाले र कांग्रेसबाट प्रवेश गर्ने लहर बढेको छ । माओवादी जनताबाट टाढा नजाओस् भन्ने खोजेका छन् सबैले” उनले भने ।
माओवादी केन्द्रले जिल्लाका अजयमेर गाउँपालिकामा ४५ सदस्यीय समिति निर्माण गरेको छ । यसैगरी भाग्ेश्वरमा ३७ सदस्यीय समिति गठन भएको छ । हिजोका गाउँ विकास समितिलाई वडाका रुपमा लिँदै केन्द्रले गणेशपुर, असीग्राम (देउबाको गृह गाउँ), मष्टमाण्डौं, कैलपाल, भागेश्वरलगायतका गाउँपालिकामा सम्मेलन सम्पन्न गरिसकेको छ ।
१ नगर र ४ गाउँपालिकामा जित्ने दावी
“यही स्पिरिटमा गए हामी एउटा नगरपालिका र ४ वटा गाउँपालिकामा जित्छौं” सार्कीले भने, “बगरकोट, नवदुर्गा, भागेश्वर गणापधुरा गाउँपालिका र पर्शुराम नगरपालिकामा हाम्रो जीत सुनिश्चित छ ।”
विगतमा पार्टी टुटफुट हुँदा जनता र कार्यकर्तामा निराशा छाएपनि केन्द्रमा पार्टी एकता र चुनावको माहौल बन्दै जाँदा संगठनप्रति आशा र आकर्षण पलाएको उनले बताए । “इमान्दार कार्यकर्ता सबै हामीसँगै छन्, नेतृत्वले कार्यकर्ता र जनतालाई छोड्नु भएन, जनतालाई समेट्ने कार्यक्रम ल्याउनुपरयो । सरकारका तर्फबाट समेत आम जनताका, जिल्लाका विकासका कामहरुमा ध्यान दिनुपरयो भन्ने आम जनमत छ ।” उनले बताए ।
यतिखेर डडेल्धुरामा संगठन निर्माण गर्न केन्द्रीय देखि स्थानीय नेताहरु जुटिरहेका छन् । माओवादी केन्द्रका नेता खगराज भट्ट, मञ्जु भट्ट, उमेश भट्टलगायत क्षेत्रमा खटिरहेका छन् ।
काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ । विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
आज क्रिसमस डे मनाइँदै
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो । दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।
अखिल क्रान्तिकारीमा नीति र नेतृत्व छान्न देशैभरि चुनाव हुने
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोगका पदाधिकारीसहितको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । त्यसका लागि पुस १३ गते निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । शर्माका अनुसार उमेर हदसम्बन्धी निर्वाचन ७७ जिल्लामा हुनेछ । नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो । दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।
हुम्लामा हिमपात, जनजीवन प्रभावित
हुम्ला । हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् । रासस