डेढ आनामै सात-आठ तले घर

डेढ आनामै सात-आठ तले घर

काठमाडौं, बैसाख १२ ।  काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा ती भवनवरपरका बासिन्दा त्रासमा बाँच्न बाध्य छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

असन
असनको गल्ली निकै साँघुरो छ । खचाखच घरहरू छन् । स्थानीय किरण श्रेष्ठको घरको टुप्पो टाढैबाट देखिन्छ । धरहराको झल्को मेटाउने उक्त घर बनेको जमिन भने एक आना मात्रै छ । नियमअनुसार १२ फिटसम्मको चौडा घर तीन तलाभन्दा अग्लो बनाउन पाइँदैन । वा, घरको चौडाइको साढे दुई गुणाभन्दा अग्लो घर निर्माण गर्न नपाइने प्रावधान छ ।

किरण श्रेष्ठको परिवार सो घरमा बस्दैन । घरको भुइँतलामा इलेक्ट्रोनिक्स पसल गरेर बस्ने राजेन्द्र श्रेष्ठले भने, ‘उहाँ त बानेश्वर बस्नुहुन्छ । एक–एक महिनामा आउनुहुन्छ, अनि भाडा जम्मा गरेर हिँड्नुहुन्छ ।’

राजेन्द्र १२ वैशाख ०७२ मा भूकम्प गएको दुई महिनापछि पुनः त्यही घरमा पसल गर्न आएका थिए । उनी भन्छन्, ‘यति ठूलो घरमा बस्न त कहाँ मन हुन्छ र ? पेटका लागि भए पनि ज्यान धरापमा राखेर व्यापार गरिरहेका छौँ ।’

किरणका अर्का छिमेकी ओमकृष्ण श्रेष्ठले पहिले निकै डर लाग्ने भए पनि पछिल्लो समय भने भूकम्पको भय कम हुन थालेको बताए । ‘साइडमा अरू घर जोडिएका कारण अलि कम रिस्क छ । तर, छेउमै यति अग्लो घर भएपछि डर त लागिहाल्छ नि,’ उनले भने ।

असनका गल्लीमा सानो क्षेत्रफलको जमिनमा दर्जनौँ अग्ला घर बनेका छन् । स्थानीय शान्तराम मानन्धरको घर ठडिएको जग्गा पनि साढे एक आनाभन्दा बढी छैन । तर, उनको घर सात तला अग्लो छ । त्यही घरको छेउमा मुन्नाकुमार गुप्ता फेन्सी पसल सञ्चालन गरेर बसेका छन् ।

जमलबाट असनतर्फ छिर्नासाथ रातो पेन्टिङ गरेको नौ तले अग्लो घर देखिन्छ । जुन घरको जमिन डेढ आनाभन्दा बढी छैन । तर, उनको घरछेउमै भूकम्पले छियाछिया पारेको अर्को माटोको तीनतले घर छ । माटोको घरमा ‘आरआर सु सेन्टर’ सञ्चालन गरेर बसेका राजन सुवेदीले भने, ‘यति अग्लो घर किन बनाइस् भनेर भन्न नमिल्ने, जति डर लागे पनि चुपचाप बस्नुको विकल्प छैन हामीसँग ।’ उनका अनुसार त्यही अग्लो घरका कारण एकातिरको जमिन पनि भासिएको छ ।

सुन्धारा
सुन्धारामा एउटा नौतले भवन छ । टेकप्रसाद गौचनको सो भवन करिब साढे दुई आनामा मात्र निर्माण भएको छ । १२ वैशाख ०७२ मा जब भूकम्प गयो, दुई महिना गौचनको घरमा कोही पनि बसेनन् । त्यसको केही समयपछि गीता श्रेष्ठले जोखिम मोलेर निकुट होटेल सञ्चालनमा ल्याएकी थिइन् । ‘अहिले पनि चार तलाभन्दा माथि कोही पनि बस्दैनन्,’ उनी भन्छिन्, ‘पहिले हामी पनि यो घरको नवौँ तलामा बस्थ्यौँ । अहिले भने तीन तलामा बस्दै आएका छौँ ।’

सुन्धारामै रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जनको घर पनि उस्तै छ । उनको घर झट्ट हेर्दा बाँसुरीजस्तो देखिन्छ । निकै सानो क्षेत्रफलमा बनेको महर्जनको घर सात तला अग्लो छ । उनकै घरछेउको उत्रै जग्गामा उत्तिकै अग्लो घर बनेको छ । तर, महर्जनको घरमा रेस्टुरेन्ट र फेन्सी पसल निर्धक्क चलेका छन् । सो घरको भुइँतलामा जुत्ता पसल गर्ने विनय महर्जन भन्छन्, ‘भूकम्प गएको एक महिनापछि मात्र यहाँ आएका हौँ । अहिले भने त्यति डर छैन ।’

न्युरोड
न्युरोडमा अवस्थित बाराही ज्वेलर्स रहेको घर पनि उस्तै छ । सात तला अग्लो सो घर निकै सानो क्षेत्रफलमा बनेकोे छ । घरका छेउछाउमा थुप्रै घर टाँसिएर बनेका छन् ।

बागबजार
बागबजारमा बाँसको झल्को दिने आठतले घर छ । उक्त जग्गाको क्षेत्रफल डेढ आनाभन्दा बढी देखिँदैन । होचा घरहरूबाट घेरिएको छ, त्यो बाँस घर । सो घरको छेउमै बस्ने देवी अर्यालले भनिन्, ‘छेउमै यति अग्लो घर हुँदा डर त निकै लाग्छ । तर, के गर्नु, हामीले भनेर नहुने ।’ भूकम्प गएपछि उनी दुई महिनासम्म तराई गएर बसिन् । उनी भन्छिन्, ‘के गर्नु, पैसा हुनेहरूले जे मन लाग्यो त्यही गर्छन् । घरवालालाई पनि डर र छिमेकीलाई पनि ।’

गोंगबु
गोंगबुमा भूकम्पले ठूलो क्षति पु¥यायो । दर्जनौँ घर भत्कन पुगे । तर, अझै पनि गोंगबुमा सानो क्षेत्रफलमा अग्लो घर बनाउने क्रम रोकिएको छैन । पश्चिमाञ्चल दोहोरी साँझ रहेको ६ तले भवनमा डराई–डराई फेन्सी पसल राखेका छन् रविन तामाङले । भूकम्प गएको पाँच महिनापछि मात्र उनले पसलको सटर खोलेका थिए । उनी भन्छन्, ‘अग्लो घर भएका कारण अर्को घरमा सरौँ जस्तो त हुन्छ । तर, आठ लाख रुपैयाँ हालेर पसल किनेको छु, कसरी अर्को ठाउँमा जानू ?’

दीपज्योतिस्थित १३ नम्बर टोलको ३९८ नम्बरको घर पनि उस्तै अग्लो छ । नौतले उक्त भवन भूकम्पले समेत चर्किएको थियो । तर, त्यही भवनमा मनकुमारी परियारले होटेल गरी बसेकी छन् । उनलाई डर त छ, तर पनि उनी त्यही घरमा व्यवसाय गर्न बाध्य छिन् ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । उपत्यकामा यसरी मापदण्डविपरीत घर निर्माण गर्नेको संख्या सयौँ छ । भूकम्पताका महानगरपालिकाले मापदण्डविपरीतको घर भत्काउने बताए पनि ऊसँगै त्यस्ता घरहरूको तथ्यांकसमेत छैन ।

काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै

भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, उजुरी संकलन गरिए, त्यस्ता घर भत्काइएन । घर भत्काउन धेरै उजुरी काठमाडौं महानगरपालिकामा परेको थियो । महानगरको तथ्यांकअनुसार त्यसवेला जोखिमयुक्त घर भत्काइपाऊँ भन्दै तीन हजार पाँच सय ३८ उजुरी परेका थिए । ती सबै उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरियो । तर, प्रशासनले कुनै पहल गरेन । काठमाडौं महानगरपालिकाका अधिकृत डा. उत्तरकुमार रेग्मीले उजुरी संकलन गरिएको, तर घर भत्काइएको घटना थाहा नभएको बताए । ‘महानगरपालिकाभित्रको उजुरी संकलन मैले नै गरेको हुुँ । ती उजुरी सिडिओ कार्यालयमा पेस गरिएका पनि हुन् । तर, त्यसमा कारबाही अघि बढाइएको मलाई सम्झना छैन,’ उनले भने ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय