तीन घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन्

पर्वत । सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् ।
पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययनका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नु छ । पाखापानीमा माध्यमिक तह तीन वटा भए पनि दश जोड दुई सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययनका लागि टाढा जानु परेको हो । पाखापानीका सिम्ले, भण्डारीथर, कोखे, चौडिल्ला लगायतका बस्तीका विद्यार्थी बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्न र फर्किंदा डेढ घण्टाभन्दा बढी हिँडेर घर आउन बाध्य भएका हुन् ।
बस्तीभन्दा विद्यालयको दूरी टाढा छ । लामतुनमा रहेको जनविकास माविमा पुग्नुपर्ने उनीहरुको बाध्यता छ । एसइईसम्मको अध्ययन स्थानीय स्वधर्म मावि र विश्वज्योति माविमा पढे पनि दश जोड दुईका कक्षा नहुँदा टाढा हिँडेर जानुपर्ने बाध्यता रहेको कक्षा १२ मा अध्ययनरत राहुल भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता छ । उकालो बाटोमा निकै थकानका साथ पुग्नु पर्दा पठनपाठनमा समेत असर पर्ने गरेको र ग्रामीण भेग भएकाले सवारीसाधनको व्यवस्थासमेत नभएको उहाँको गुनासो थियो ।”
त्यस्तै सोही स्थानकी विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा टाढा विद्यालय हुँदा सास्ती खेप्नु परेको छ भन्दै उहाँले भन्नुभयो, “नजिकमा विद्यालय भएको भए बिहानभरि पढेर, थोरै समयमै विद्यालय पुग्न सकिन्थ्यो तर टाढा हुँदा न त बिहान पढ्ने समय नै हुन्छ न त घरको काम गर्ने ।” विद्यालय भएको बस्ती लामतुनमा भन्दा पैदल हिँडेर जाने विद्यार्थीको संख्या उल्लेख्य रहेको वडा सचिव झलकशर्मा पौडेलले बताउनुभयो । “विद्यालय भएको बस्तीभन्दा टाढाका बस्ती सुगम भएकाले पनि त्यहाँ जनघनत्व बढी छ तर त्यहाँका विद्यालयमा कक्षा ११, १२ पढ्ने सुविधा छैन, त्यसैले यहाँका विद्यार्थीले निकै सास्ती पाएका छन्”, पौडेलले भन्नुभयो । “कि त महाशिला गाउँपालिका–५ मा रहेको महेन्द्रज्योति उच्च माविमा पुग्नु पर्छ,” उक्त विद्यालयमा जानका लागि पनि यति नै समय लाग्ने पौडेलले जानकारी दिनुभयो ।
भिरको बाटो भएर विद्यालय जानुपर्ने भएकाले हावाहुरी र वर्षा हुँदाको दिन पहिरोको डरले त्यहाँ नजाने गरेको अर्की विद्यार्थी सृजना क्षेत्रीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ साथी नपाउँदा एक्लै जानसमेत समस्या छ ।” बस्ती नजिकै रहेका स्वधर्म मावि र विश्वज्योति माविमा उच्च मावि नखुल्दा आफूजस्ता ५० जनाभन्दा बढी विद्यार्थीले सास्ती पाउने गरेको उहाँले बताउनुभयो । दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँडेर जानुपर्ने बाध्यतामा यो गाउँका ५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रअ चक्रबहादुर क्षेत्रीले टाढाबाट आउने विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै थोरै समय कुर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी विद्यालयमा आइसकेपछि मात्र पठनपाठन शुरु गर्ने गरेका छाँै,” नजिकका विद्यार्थी चाँडो आए पनि केही समय पर्खेर, उनीहरु आउने÷नआउने निधो गरेर पढाउन शुरु गरिने प्रअ क्षेत्रीले बताउनुभयो । सिंगो वडाकै एउटा मात्र दश जोड दुई सञ्चालन भएको विद्यालय भएकाले विद्यार्थीको संख्यासमेत धेरै छ । अहिले प्लस टू मा मात्रै १५० विद्यार्थी रहेको विद्यालयले जनाएको छ । रासस
अध्यक्ष ‘प्रचण्ड’बाट एसईई परीक्षार्थीलाई शुभकामना
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले एक सन्देशमार्फत परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सफलता प्राप्त गरेका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका छन्। उनले सफलतामा विद्यार्थीहरूको मेहनत, लगनशीलता र दृढ संकल्पको उल्लेख गर्दै यस यात्रामा साथ दिने शिक्षक, शिक्षिका तथा अभिभावकप्रति विशेष आभार पनि व्यक्त गरेका छन्। उनले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। “राष्ट्र निर्माण र समृद्धिका लागि आजको उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामनासहित तपाईंहरू सबैको उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गर्दछु,” प्रचण्डको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
एसईईको नतिजा सार्वजनिक, नन-ग्रेड विद्यार्थीलाई साउन २९ देखि पुनः परीक्षा दिने मौका
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार, यस वर्षको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। परीक्षा २०८१ साल चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन गरिएको थियो। बोर्डले नतिजा आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरिसकेको जनाएको छ। यद्यपि, वेबसाइटमा सम्पूर्ण नतिजा लोड हुन केही समय लाग्न सक्ने बोर्डले जानकारी दिएको छ। विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा वा विद्यालयमार्फत हेर्न सक्नेछन्। यसैबीच, बोर्डले ग्रेड नपाएको (नन-ग्रेड) विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। नन-ग्रेड विद्यार्थीहरूले यस अवसरमा परीक्षा दिई आफ्नो शैक्षिक भविष्य सुरक्षित गर्न सक्नेछन्। परीक्षा फारम भर्ने र अन्य प्रक्रियाको सम्बन्धमा बोर्ड चाँडै विस्तृत सूचना सार्वजनिक गर्ने तयारीमा रहेको छ।
जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै
काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ । यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ । कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ । ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ । काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ । खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो। विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस