तेह्रथुममा प्रधानमन्त्री, १ करोड सहयोगको घोषणा (फोटो फिचर)

तेह्रथुममा प्रधानमन्त्री, १ करोड सहयोगको घोषणा (फोटो फिचर)

तेह्रथुम, पौष १९ । प्रधानमन्त्री प्रचण्ड तेह्रथुम पुगेका छन् । तेह्रथुमको स्रंक्रान्ती बजारमा पौष १ गते भएको आगलागीबाट भएको क्षति तथा प्रभावितहरुको अवस्था अवलोकन गर्न तथा स्थानीय जनतासँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान तेह्रथुम पुगेका हुन ।

प्रधानमन्त्री प्रचण्डलाई स्थानीय जनसमुदायले भव्य स्वागत गरेका छन् । सुरक्षा निकायका तर्फबाट प्रधानमन्त्री सलामी प्रदान गरिएको छ । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले तेह्रथुमको संक्रान्ति बजारमा आगलागीबाट भएको क्षतिको पुननिर्माण तथा राहतका लागि दैवी प्रकोप उद्धार कोषबाट एक करोड सहयोग दिने घोषणा समेत गरे । यसका साथै प्रधानमन्त्री जिल्ला सदरमुकाममा रहने गरी एउटा दमकल समेत राज्यका तर्फबाट उपलब्ध गराउने बताए ।

जिल्ला भ्रमणका क्रममा प्रधानमन्त्रीले स्थानीय बिभिन्न कार्यालयका राष्ट्रसेवकलाई सम्बोधन गर्नुका साथै स्थानीय जनसमुदायसँग समेत भेटघाट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले जनताले अनुभूति गर्ने गरी सेवा प्रदान गर्न निर्देशन दिनुका साथै आगलागी पीडितहरुलाई राहत र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि सरकारबाट सक्दो सहयोग दिने समेत बताए ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईहरु घरबारबिहीन हुनुभएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु । संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्नेछु, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने कुरा पनि म यहाँहरुको बीचमा अवगत गराउँछु ।’

प्रधानमन्त्रीले भन्नुभयो, ‘सानो भएपनि संक्रान्ति बजार ऐतिहासिक महत्व बोकेको ठाउँ हो । यहाँ आगलानीले ३२ घर र ५६ परिवारमा क्षति भएको छ । यसको आफ्नै ऐतिहासिक छ । यसको पूनर्निर्माण सरकारको प्राथमिकतामा छ । म तपाईहरुसँग दुख र भावना साट्न यहाँ आएको छु । तेह्रथुम नेपालको राजनीति र सत्तामा स्थापित नेताहरु जन्मिएको ठाउँ हो । यसले मलाई थप जिम्मेवारी महशुस भएको छ ।’

संकटका बेला एकतावद्ध हुने नेपाली संस्कार भएको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘१२ बुंदेबाट सुरु भएको सहकार्यको यात्रा अहिले पनि जारी छ । हामी मिलेर मात्रै ठूलठूला सङ्कट समाधान गरेका छौं । अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौं, त्यसका लागि संसदको गतिरोध हट्न जरुरी छ । मलाई विश्वास छ, राजनीतिक गतिरोध सम्वादकै माध्यमबाट समाधान गर्नेछौं । हामी छिटै राजनीतिक गतिरोध चिरेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानेछौं ।’

निर्देशनपूर्व प्रधानमन्त्रीले संक्रान्ति बजारको आगलागी स्थलको निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का प्रमूख सचेतक भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमूख स्वकीय सचिव जोखबहादुर महरा, सांसदहरु सीता गुरुङ, गणेश बिमल, भवानी खापुङ, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत उपस्थित हुनुहुन्थ्यो ।

गत पौष १ गते दिउँसो लागेको आगोका कारण संक्रान्ति बजारका ३२ घरका ५६ परिवारमा पूर्ण क्षति भएका थिए । आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिनुभयो । पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत, सरकारको तर्फबाट अस्थायी टहरा बनाएको छ भने विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका थिए ।

आगलानीको निरीक्षणपछि प्रधानमन्त्रीले जिल्लास्थित नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधन र निर्वाचनद्धारा संविधान कार्यान्वयन गर्नु राष्ट्रिय कार्यभार भएकोमा जोड दिँदै निर्वाचनकेन्द्रित कार्यक्रममा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

तेह्रथुमपछि प्रधानमन्त्री प्रचण्ड झापातफ लागेका छन् । झापामा प्रधानमन्त्रीले धान उत्पादनका लागि घोषणा भएको सुपर जोनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं  : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्‍यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।

आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।

सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।

श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। “घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भन्नुभयो, “हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।” जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भन्नुभयो, “जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन।” कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

लोकप्रिय