दाङको ‘राम्री दुर्घटना’ मा गुमेका ‘राम्रा शिक्षक’

दाङ, पुष १३ । दिदी लक्ष्मीको जन्मदिन। गत शुक्रबार बिहान साढे तीन बजे घोराही उपमहानगरपालिका–२ का प्रदीप घिमिरेले दिदीलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका थिए। दिदीसँगै आफ्नो तस्बिर पोस्ट गरेर प्रदीप बिहान ६ बजेतिर विद्यार्थी लिएर सल्यान उक्लिए।
सहिद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयमा अध्ययनरत आफ्ना विद्यार्थीलाई सल्यानस्थित वनस्पति उद्यान अवलोकन गराएर फर्कने क्रममा राम्री भन्ने ठाउँमा बस दुर्घटनामा परी प्रदीपको निधन भयो।
‘तिहारयता भाइसँग भेट हुन पाएको थिएन’, लक्ष्मीले भनिन्, ‘जीवनभर हामीलाई शोकमा डुबाएर आफैँ अस्तायो। मैरै जन्मदिनमा उसलाई गुमाउनुपर्दाको पीडा म भुल्न सक्दिनँ।’
आफ्ना गुरु तेज कुँवरसँग प्रदीपले बाचा गरेका थिए, ‘सल्यानबाट फर्कनासाथ सरसँग रमाइलो भेटघाट गर्छु।’ ३१ वर्षीय प्रदीप गुरुसँग कहिल्यै भेट नहुने गरी अस्ताए। ‘सल्यान विद्यार्थी लिएर जाँदैछु, फर्किएपछि गुरुसँग रमाइलो भेटघाट हुनुपर्छ भनेर बाचा गरेका थिए’, कुँवर भन्छन्, ‘तर उनी सल्यानबाट फर्कनै पाएनन्।’
गुरुचेला दुवैजनाले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका थिए। ‘हामी एउटै कलेजमा अध्यापन गराउँदै आएको भए पनि प्रदीपले मलाई कहिल्यै सर भनेर बोलाएनन्, गुरु भनेरै सम्बोधन गर्थे’, कुँवर भन्छन्, ‘उनी मेरो मनमष्तिष्कबाट कहिल्यै नमर्ने एक कुशल चेला हुन्।’ अध्यापन कौशलकै कारण पछिल्लो समय प्रदीप महेन्द्र बहुमुखी क्याम्पसलगायत अन्य थुप्रै कलेजमा पढाउँथे।
‘उहाँ हाम्रो सर मात्रै हुनुहुन्नथ्यो’, महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत श्रीयम्सी सुवेदीले भनिन्, ‘सर साथीजस्तो व्यवहार गरेर पढाउनुहुन्थ्यो।’ विद्यार्थीका अनुसार उनी चर्को स्वरले कहिल्यै बोलेनन्।
प्रदीपले आफ्नो पुरानो घटना सुनाउँदै आयु लम्बिएको सुनाइरहन्थे। ‘म एकपटक कालको मुखबाट फर्केर आइसकेको छु, अब म कम्तीमा ९० वर्ष बाँच्छु भन्नुहुन्थ्यो,’ दीपशिखा माविमा अध्ययरत छात्रा संहिता अधिकारीले भनिन्, ‘हाम्रा प्रेरणाका स्रोत अकालमै जानुभयो।
उहाँ जस्तो सहयोगी शिक्षक कमै हुन्छन्’। आठ वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रदीपको लामो समयसम्म आइसियूमा उपचार भएको थियो। प्रदीपले महेन्द्र बहुमुखी, दीपशिखा, कृष्णसेन प्राविधिक शिक्षालय, मदन भण्डारी, सिद्धार्थ, सञ्जीवनी, रझेना, विद्यानीलकण्ठ, चौघेरा, पद्मोदयलगायतका शिक्षण संस्थामा वनस्पतिशास्त्र पढाउँथे।
तंग्रिदै थियो नरेशको जीवन
रुकुम पूर्वका नरेश ओलीले घरबाट पत्नी र दुई वर्षीया छोरीलाई दाङ बोलाएका थिए। बिहीबार साँझ आमाछोरी घोराही आइपुगे। घोराहीमै डेरा गरेर सपरिवार बस्ने योजनाका साथ पत्नी र छोरीलाई बोलाएका नरेशले आफ्नो परिवार दाङ बोलाएको भोलिपल्टै प्राण त्यागे। ‘अब परिवार सबै घोराहीमा बस्ने भनेर बुहारी र छोरीलाई बोलाएको थियो,’ नरेशका दाजु सर्कबहादुर ओलीले भने, ‘भोलिपल्ट आफैं बित्यो।’
नरेशको पनि प्रदीपसँगै दुर्घटनामा परी निधन भएको हो। लामो समयदेखि आर्थिक अभावमा बाँचिरहेका नरेश भर्खर तंग्रिन थालेका थिए। पूर्वी रुकुमको सामान्य परिवार। सानै छँदा बाबुको निधन भयो।
आर्थिक जोहो गर्ने उपाय नचलेपछि दाजु सर्कबहादुरले नै उनलाई पढाएका थिए। ‘घरको आर्थिक अवस्थाले नभ्याउने भए पनि म विदेश गएर पैसा पठाएर पढाउन थालेको थिएँ’, सर्कबहादुरले भने, ‘जेनतेन गरेर पढाइरहेको थिएँ।’ नरेश पढाइमा अब्बल थिए। उनी झन्डै एक वर्षदेखि महेन्द्र बहुमुखी क्याम्पससहित अन्य कलेजमा अध्यापन गर्दै आएका थिए।
राम्री बस दुर्घटनामा गुमेका दुई शिक्षक प्रदीप र नरेशको निधनले दाङको शैक्षिक क्षेत्रमा ठूलो नोक्सान भएको महेन्द्र बहुमुखी क्याम्सका प्रमुख सुदर्शन रिजाल बताउँछन्।
अध्यापन शैलीमा अब्बल तथा शालीन स्वभावका दुई शिक्षकको निधन आफ्ना लागि निकै पीडादायी बनेको उनले बताए। ‘अध्यापन र व्यक्तिगत स्वभावका कारण दुवैजना सबैका प्रिय हुनुहुन्थ्यो’, उनले भने, ‘क्याम्पसले मात्र होइन जिल्ला नै राम्रा शिक्षक गुमाएको छ।’ गत शुक्रबार राम्रीमा भएको बस दुर्घटनामा प्रदीप र नरेशसँगै २३ जनाको मृत्यु भएको थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
अध्यक्ष ‘प्रचण्ड’बाट एसईई परीक्षार्थीलाई शुभकामना
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले एक सन्देशमार्फत परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सफलता प्राप्त गरेका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका छन्। उनले सफलतामा विद्यार्थीहरूको मेहनत, लगनशीलता र दृढ संकल्पको उल्लेख गर्दै यस यात्रामा साथ दिने शिक्षक, शिक्षिका तथा अभिभावकप्रति विशेष आभार पनि व्यक्त गरेका छन्। उनले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। “राष्ट्र निर्माण र समृद्धिका लागि आजको उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामनासहित तपाईंहरू सबैको उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गर्दछु,” प्रचण्डको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
एसईईको नतिजा सार्वजनिक, नन-ग्रेड विद्यार्थीलाई साउन २९ देखि पुनः परीक्षा दिने मौका
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार, यस वर्षको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। परीक्षा २०८१ साल चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन गरिएको थियो। बोर्डले नतिजा आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरिसकेको जनाएको छ। यद्यपि, वेबसाइटमा सम्पूर्ण नतिजा लोड हुन केही समय लाग्न सक्ने बोर्डले जानकारी दिएको छ। विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा वा विद्यालयमार्फत हेर्न सक्नेछन्। यसैबीच, बोर्डले ग्रेड नपाएको (नन-ग्रेड) विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। नन-ग्रेड विद्यार्थीहरूले यस अवसरमा परीक्षा दिई आफ्नो शैक्षिक भविष्य सुरक्षित गर्न सक्नेछन्। परीक्षा फारम भर्ने र अन्य प्रक्रियाको सम्बन्धमा बोर्ड चाँडै विस्तृत सूचना सार्वजनिक गर्ने तयारीमा रहेको छ।
जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै
काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ । यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ । कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ । ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ । काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ । खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो। विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस